महिला शहीदको योगदान कति ?


‘शहीदको सपना पूरा भएन’

प्रकाशित मिति :2017-01-29 13:17:20

महिला खबर

काठमाडौं । शहीद भन्नासाथ राणा शासनविरुद्ध उभिँदा ज्यान गुमाएका चार विभूति दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र गंगालाल श्रेष्ठको सम्झना गरिन्छ । अनि, यी चार जनालाई मृत्युदण्ड दिइएको दिनलाई हामी शहीद दिवस भनेर मनाउँछौं । पछिल्लो समय, दोस्रो जनआन्दोलन अर्थात ०६२ / ०६३ को आन्दोलनमा मारिएका  शहीदलाई पनि सम्झन्छौं हामी ।

नेपालको इतिहासमा २००७ सालको प्रजातन्त्र, २००८ सालको विद्यार्थी आन्दोलन, २०१७ सालको राजा महेन्द्रको ‘कु’, २०१९ सालको बम काण्ड, २०२८ सालको झापा आन्दोलन, २०३१ सालको काँग्रेसको सशस्त्र संघर्ष, २०३६ सालको विद्यार्थी आन्दोलन, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन, २०४८ सालको कर्मचारी आन्दोलन, २०५२ सालको माओवादी जनयुद्ध, २०६१ को पूर्व राजा ज्ञानेन्द्रको कु, २०६२/०६३ को जनआन्दोलन, २०६३ को मधेस आन्दोलन, २०६४ को थारु र आदिवासी जनजाति आन्दोलन, खस आर्य आन्दोलन, २०७२ को मधेस आन्दोलनका क्रममा धेरै नेपालीले ज्यान गुमाएका छन् ।

नेपालमा पहिलो राणाकालीन शहीद लखन थापादेखि रंगेली काण्डका शहीद समेत गरी थुप्रै शहीद भैसकेका छन् । यद्यपी, शहीद कसलाई घोषणा गर्ने भन्ने आधिकारिक व्याख्या अहिलेसम्म कतै पाईंदैन । गृह मन्त्रालयसँग १ सय २४ शहीदको सूचि देखिन्छ । यस अनुसार जनआन्दोलन ०६२/ ६३ मा शहीदको संख्या २६ रहेको छ । यसैगरि, मधेश आन्दोलनका शहीद ३० जना छन् । धार्मिक शहीद ४, पत्रकार शहीद एकजना छन् ।

यसबाहेक मन्त्रालयले कर्मचारी शहीद भनेर पनि छुट्याएको छ । निजामती कर्मचारी शहीद, स्थानीय निकायको कर्मचारी शहीद, संस्थान कर्मचारी शहीद, शिक्षक कर्मचारी शहीद, वित्तीय क्षेत्रको कर्मचारी शहीद, कृषि अनुसन्धान परिषद्को कर्मचारी शहीद । यसैगरि, शिक्षक शहीद र विद्यार्थी शहीद पनि छन् ।

नेपाली समाजको परिवर्तनमा महिलाको पनि योगदान रहेको छ । तर, यी आन्दोलनमा संलग्न र आन्दोलनका क्रममा ज्यान गुमाएका महिलाको तथ्याङ्क न कतै राखिएको छ, न कसैले खोजेका छन् । यसले नेपालको प्रजातान्त्रिक आन्दोलनमा शहीद हुने महिलाको योगदान वेवास्ता गरिएको स्पष्ट देखिन्छ ।

इतिहास हेर्दा, नेपाल –अंग्रेजको युद्धदेखि नै महिलाले बहादुरी देखाएको भेटिन्छ । तर, अभिलेखन हुने बेलामा महिला योद्धाका बारेमा विस्तृतमा राख्ने काम कहिल्यै गरिएन । यसपछि, राणाशासनविरुद्ध लड्दा ज्यान गुमाएका धेरै महिला शहीदको खोजी हुन बाँकी नै छ । यी त भए पहिलाका कुरा, ०६२/०६३ को आन्दोलनबाट राजतन्त्र हटाई गणतन्त्र घोषणा सफल पार्न महिला शहीदको समेत भूमिका छ भन्ने हामी विरलै सम्झन्छौं ।

कति छन् महिला शहीद ?
गृह मन्त्रालयसँग ०६२/ ०६३ को दोस्रो जनआन्दोलन र सो पछि भएको मधेस आन्दोलनमा मारिएका ६ महिला शहीदको तथ्याङ्क छ । दोस्रो जनआन्दोलनमा बाँकेकी सेतु विक र चितवनकी तुलसी क्षेत्रीले ज्यान गुमाए । यसैगरि, ०६४ फागुनमा भएको मधेश आन्दोलनमा सम्झना राई (भोजपुर), रञ्जुदेवी झा (महोत्तरी), चन्द्रिका यादव (रुपन्देही), कोइली कोरी (बाँके) ज्यान गुमाए । यी सबैलाई सरकारले शहीद घोषणा गरेको छ ।

त्यसैगरी, जनकपुरका पत्रकार उमा सिंहलाई पत्रकार शहीद भनेर घोषणा गरिएको छ । सिंहको अज्ञात समूहको आक्रमणवाट २ माघ ०६५ मा हत्या गरिएको थियो । सरकारले २१ भदौ ०७३ मा द्ररौपदीदेवी चौधरी (मोरङ), रामशिलादेवी मण्डल (महोत्तरी), रञ्जना सिंह (रुपन्देही), नन्दनी पाण्डे (रुपन्देही) र सोमती मुराउ (रुपन्देही) लाई पनि शहीद घोषणा गरेको छ ।

नेताहरू भन्छन्ः शहीदको सपना पूरा भएन
नयाँ शक्ति नेपालका प्रदेश नम्बर ७ का संयोजक लिला भण्डारीले फोटोमा माला हाल्दैमा वा एक दिन शहीद दिवस मनाउँदैमा शहीदको सम्मान हुन नसक्ने बताउनुभयो । ‘जुन उद्देश्य र परिर्वनका लागि उनीहरू शहीद भएका थिए, त्यो उद्देश्य राजनैेतिक दलका नेता र राज्यले पुरा नर्गदा वास्तविक शहीदको अपमान भएको छ, ’ उहाँले भन्नुभयो ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं सांसद कमला पन्तले राज्यले देश र जनताको स्वतन्त्रताको लागी योगदान दिएका शहीदको सपनालाई पुरा गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘शहीदको सपनालाई हामीले पुरा गर्न सकेका छैनौं । केही सपना पुरा गरेता पनि त्यसको निरन्ततामा गर्ने सकेका छैनौं ।’

उहाँले घरदेखि बाहिर निस्किएर देश र जनताको स्वतन्त्रताको लागि महिलाले दिएको योगदान र बलिदानलाई पनि विर्सन नहुने बताउनुभयो ।

नेकपा एमाले केन्द्रिय सदस्य रामकुमारी झाँक्रीले शहीद शब्दलाई मजाक बनाएको आरोप लगाएकी छन् । उनले पछिल्लो समय जसलाई पनि शहीद घोषणा गर्ने प्रवृतिले शहीद शब्दको मर्मलाई नै मजाक बनाएको बताउनुभयो । उहाँले देश र जनताका लागि ज्यान गुमाउनेलाई शहीद मान्नुपर्ने समेत बताउनुभयो ।

‘लडाई, झगडा, दुर्घटनामा मृत्यु भएकालाई पनि शहीद भनिदिंदा शहीद शब्दको मर्म मजाक बनेको छ । दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र गंगालाल श्रेष्ठले देखेको सपना विपरीत गर्न हुँदैन, ’ उहाँले भन्नुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: