कुष्ठरोगीको पीडा


प्रकाशित मिति :2017-01-30 14:47:02

उपचारपछि निको हुने भएपनि कुष्ठरोगप्रति रहेको अन्धविश्वासका कारण अहिले पनि उपचारबाट निको रहेका व्यक्तिलाई परिवारले स्वीकार नगर्दा अर्कैको आश्रयमा बाँच्न वाध्य छन् ।

इन्दिरा खनाल

 
बुटवल । शरीरमा फुर्सा र सेता दाग देखिंदा बाबु–आमाले धामी झाँक्रीको सट्टा अस्पताल पुर्‍याएको भए ६२ वर्षीया खगीसरा गुरुङ्ग जिन्दगीभर अपाङ्ग भएर बाँच्नुपर्ने थिएन । परिवारले गरेको त्यही सानो गल्तीले उनको जिन्दगीको सुख खोसियो । जिवनभर अर्काको सहारामा बाँच्न वाध्य बनायो । पाल्पा रामपुरकी उनी अहिले वुटवल १५ स्थित कुष्ठरोगीहरुको क्षेत्रमा काम गर्ने कल्याड नेपालको आश्रयमा छिन् । ‘धामी झाँक्रिले कहिले वोक्सी लागेको भन्थे, कहिले नाग’ विगत सम्झँदै उनी भन्छिन् ‘निको हुनुको सट्टा रोग झन बढ्यो, हात र खुट्टाका औंला झरे ।’

शरीरमा सेतो फुस्रो दाग देखिनु र उक्त दागमा चिमोट्दा नदुख्नु कुष्ठरोगको लक्षण हो । समयमै औषधी उपचार गरे कुष्ठरोग निको हुन्छ । तर, उपचार हुन्छ भन्ने थाहा नहुँदा र अन्धविश्वासमा धामी झाँक्रीको भरमा पर्ने धेरै व्यक्ति कुष्ठ रोगकै कारण अपाङ्ग भएका छन् । ती मध्येकी एक हुन, कालीकोट बडागाउँकी कली सुनार (६४) ।

चार वर्षको उमेरमा लागेको रोग, कुष्ठरोग रोग हो भन्ने २६ वर्ष हुँदा मात्र थाहा पाइन् । २१ वर्षसम्म उनका परिवार धामी झाँक्रिमै भर परे । पटक पटक घरमा बोलाइने धामीले कहिले बोक्सी त कहिले नाग लागेको बताउँथे । निको हुनुको सट्टा रोग बढ्दै गयो । ‘दाङ्गबाट गएका हुलाकीले कुष्ठरोग हो, अस्पताल गए सन्चो हुन्छ भनेर अस्पताल गएपछि पत्ता लाग्यो, कली भन्छिन् त्यतिवेलासम्म उपचार निकै ढिला भइसकेको थियो ।’ कलीपनि गुरुङ्गसँगै एउटै आश्रममा छिन् । बोक्सी र देउता लागेको बहानामा धेरै कुखुरा काटिएको उनी बताउँछिन् ।

भनिन्छ, रोगीलाई हेला होइन माया गर्नुपर्छ । त्यसले रोग निको हुन सहयोग पुग्छ । तर, कुष्ठरोगी पीडितले भने परिवारबाट माया पाउन सकेनन् । परिवारबाटै बहिस्कृत भएर निकालिएका उनीहरू अर्काको सहारामा बाच्न वाध्य छन् । तनहुँका ६३ वर्षीय पदम बहादुर बस्नेतलाई १७ वर्षको उमेरमा कुष्ठरोगको लक्षण देखियो । २५ वर्षको पुग्दा पोखराको आइ.एन. एफद्वारा संचालित कुष्ठरोग अस्पतालमा जचाउन गए । २०३५ सालमा पोखरा जाँच गर्दा रोग लागेको पुष्टि भयो । तर, अस्पतालबाट घर नफर्किंदै परिवारले उनलाई टाढा गराइसकेको थियो । अस्पतालबाट घर फर्किंदा आमालाई लिएर उनका भाई तनहुँ जिल्लाको अर्कै ठाउँमा बस्न गएको उनले भने । जन्म दिएकी आमाले नै नहेरेपछि वस्नेत घर छोडेर पोखरा लागे । अहिले उनीपनि आश्रममै छन् ।

कली सुनार कालीकोटबाट दाङ्ग आएर जाँच गरेपछि कुष्ठरोग लागेको पत्ता लाग्यो । तर, त्यसपछि गाउँमा बस्न सक्ने वातावरण भएन । सवैको छिः छिः र हेला भइन् । ‘जंगल पठाउनुपर्छ, गाउँमा राख्यो भने अरुलाई पनि रोग सर्छ, मरेपछि उतै दाहसंस्कार गरौला’ कलिलाई यसै भनेर मानिसहरु होच्चाउँथे । अति भएपछि उनले घर छोडिन् ।

पाल्पाकी खगीसराको त्यही पाल्पाकै व्यक्तिसँग विवाह भयो । विवाहपछि उनको रोगबारे घरपट्टिकाले पनि पत्तो पाए । त्यसपछि परिवार र समाजको उनलाई हेर्ने दृष्टिकोणमै फरक भयो । उनलाई निकाला गर्न गाउँले र परिवारका अरु सदस्यले श्रीमानलाई दवाव दिए ।

श्रीमती लिएर दुवै निस्किए । महिनौसम्म जंगलमा गिठा भ्याकुर खाएर निर्वाह गरेका उनीहरूको सम्वन्ध लामो समय टिक्न सकेन । श्रीमानले छोडेपछि उनी एक्ली भइन् । नवलपरासी हुँदै रुपन्देही आएकी उनको उपचारपछि कुष्ठरोग त निको भयो । तर, परिवारबाट टाढा भइन ।

कुष्ठरोग उपचारपछि निको हुने भएपनि एकपटक कुष्ठरोग लागिसकेपछि कहिल्यै निको हुन्न भन्ने अन्धविश्वास अझै पनि कायम छ । घर परिवारले घरमा लैजान नमानेका १५ जना व्यक्ति अहिले पनि जितगढी स्थित् आश्रय स्थलमा साहारा लिइरहेका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा १०९ जना कुष्ठरोगी भेटिएका छन् । गतवर्ष मात्रै ६६ जना नयाँ रोगी भेटिएका थिए । विभिन्न जिल्लाबाट बसाई सराई र खुल्ला सीमानाका कारण रुपन्देहीमा नयाँ रोगी भेटिएको जनस्वास्थ्य प्रशासक चुरामणी भण्डारी बताउँछन् । १०९ जना कुष्टरोगी मध्ये ३३ जना महिला भएको जिल्ला जनस्वास्य कार्यालयका कुष्ठरोग तथा क्षयरोग निरिक्षक टिकाराम घिमिरेको भनाई छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: