कृषक पाठशालामा महिलाको चासो


प्रकाशित मिति :2017-01-31 12:31:27

शिवराज खत्री

कृषि प्राविधिकबाट आलु गोडमेल गर्ने तरिका बारे जानकारी लिँदै मंगलसेन देवलबाडाका महिला

अछाम । बारीमा आलु उम्रिएर हरियै छ, त्यहि आलु बारीमा २०–२५ जना महिला छन् । प्रायः सबैको हातमा कापी कलम छ । सँगै कसैले कुटो कोदाली पनि बोकेका छन् । एकजना पुरुष हातमा कोदाली लिएर आलु गोड्दै छन् । सबै महिलाको ध्यान त्यहि आलु गोडिरहेका पुरुष तर्फ छ । ‘आलुको डाँठ पुरै ढाक्ने गरी माटो लगाउनुपर्छ, डाँठ जति माटोले ढाक्न सक्यो त्यति नै धेरै आलु फल्छ’ आलु गोडिरहेका ती पुरुष भनिरहेका थिए–‘तपाईहरू किन यति टाढा आलु रोपेको भन्नु हुन्थ्यो, हेर्नुस् टाढा आलु रोप्दा यति परसम्मको माटो खनेर डाँठ ढाक्न सकिन्छ, गोड्ने तरिका राम्रोसँग ध्यान दिएर हेर्नुस् सबैले ।’

आफैले आलु गोडेर महिलालाई सिकाउने ती पुरुष कृषि प्राविधिक जनकबहादुर सिंह हुन् । मंगलसैन नगरपालिकास्थित देवलगडा कृषक समूहका सदस्यलाई ती कृषि प्राविधिकले आलु गोडमेल गर्ने तरिका सिकाउँदै थिए । प्रत्येक शुक्रबार बिहान समूहका २५ जना सदस्य आलु बारीमा जम्मा भएर यसैगरी कृषि प्राविधिकको उपस्थितिमा आलु गोडमेल गर्ने, मलखाद प्रयोग गर्ने, आलुमा लाग्ने सत्रु जीव र मित्र जीवको पहिचानका साथै सुत्र जीवको नियन्त्रण र मित्र जीवको संरक्षण गर्ने तरिका बारे किसानले जानकारी लिने गर्दछन् ।

‘आलु लगाउँदा जहिले पनि एउटा ड्याङदेखि अर्को ड्याङसम्मको दुरी ७० सेन्टिमिटर र बोटदेखि बोट सम्मको दुरी २५ सेन्टिमिटर राख्दा बोटले प्रशस्त मलखाद पाउने र बीचमा अन्य झारपात पनि उम्रिन पाउँदैनन् अनि आलु राम्रो उत्पादन हुन्छ’ कृषि प्राविधिक जनकबहादुर सिंह किसानलाई आलु लगाउने तरिका बारे जानकारी दिइरहेका छन्–‘आलु जति जनिक र जति धेरै बिउ रोप्यो त्यति धेरै फल्छ भन्ने सोचाई दिमागबाटै हटाउनुहोस् ।’

जिल्ला कृषि विकास कार्यालय अछामले उक्त समूहमा यसवर्ष आलुखेतीमा कृषि तथा खाद्य सुरक्षा कृषक पाठशाला संचालन गरिरहेको छ । ‘प्रत्येक हप्ता शुक्रबार बिहान आलु बारीमा जम्मा भएर हामी कृषि प्राविधिकबाट उन्नत तरिकाले आलु खेती गर्ने उपाय सिकिरहेका छौ’ देवलगडा कृषक समूहकी अध्यक्ष निशा भट्टराईले सुनाईन्–‘आलु लगाउनलाई जमिन खनजोत गर्नेदेखि आलु उम्रिसकेपछिसम्म पाठशाला संचालित छ ।’

एउटै बारीको एकातर्फ उन्नत तरिका अपनाईएको आलु लगाईएको छ भने अर्कोतर्फ परम्परागत तरिका नै अपनाएर आलु खेती लगाईएको छ । जमिनको क्षेत्रफल, आलुको बिउको मात्रा, लगाईएको मिति सबै बराबर र एउटै छ । ‘कृषकले परम्परागत तरिकाले आलु खेती गर्दा र उन्नत तरिकाले आलु खेती गर्दा उत्पादनमा कति फरक पर्छ भनेर देखाउन परम्परागत र उन्नत दुबै तरिकाबाट आलु खेती गरिएको हो’ कृषि प्राविधिक सिंहले सुनाए–‘बिउ लगाउनेदेखि आलु कोर्ने बेलासम्म प्रत्यक्ष रुपमा कृषक कै सहभागितामा दुई तरिकाले आलु खेती गर्दा त्यस बीचमा हुने फरक आफैले छुट्याउन सकुन यसो गरिएको हो ।’ उन्नत तरिकाबाट लगाईएको आलु परम्परागत तरिकाले लगाईएको भन्दा पक्कै पनि बढी फल्ने हुँदा कृषकले उन्नत तरिका अपनाएर खेती गरुन् भन्ने पाठशालाको उद्देश्य भएको उनले जानकारी दिए ।

‘हामीले आलु खेती गर्दा सकेसम्म नजिक लगाउने र बिउ रोप्दा पनि एउटै दानाको तीन–चार टुक्रा पारेर रोप्ने गर्दछौ’ पाठशालामा सहभागी लक्ष्मी भाटले सुनाईन्–‘हामीले खेती गर्ने तरिकार उन्नत तरिकामा आकास पातालको फरक रहेछ, पाठशालामा सहभागी हुँदा बल्ल पो जानकारी पाईयो ।’ गत वर्ष मंगलसेन–१० जुपुमा आलु खेतीका लागि संचालित पाठशालामा सात सय ग्रामसम्मको एउटै दाना फलेकोमा यस वर्ष त्यो भन्दा पनि राम्रो बोट भएकाले एक किलोग्रामसम्मको आलु फल्ने अनुमान कृषि प्राविधिक सिंहले गरे । आर्थिक वर्ष ०७१/ ७२ बाट जिल्ला कृषि विकास कार्यालयमार्फत संचालित कृषि तथा खाद्य सुरक्षा आयोजना अन्तर्गत चालु आर्थिक वर्षको हिउँदे बाली मध्ये आलुमा पाँच र गहुँमा १५ वटा पाठशाला संचालनमा छन् । सुरुका वर्ष दुई, त्यस पछिल्लो वर्ष र यस वर्ष गरी १० गाविसमा उक्त कार्यक्रम संचालित छ । सुरुका दुई वर्ष गहुँमा ३८, मकैमा छ, धानमा चार र आलुमा दुई गरी ५० वटा पाठशाला सम्पन्न भइसकेका छन् ।

उन्नत तरिका अपनाएर खेती गरिएको बालीमा परम्परागत तरिका भन्दा उत्पादनमा निकै सुधार आएको पाईएको छ । जिल्ला कृषि प्राविधिक अधिकृत अमृत पाण्डेका अनुसार पाठशाला संचालन गरिएका ठाउँमा आलु प्रति रोपनीमा करिव सात क्वीन्टल, गहुँ प्रति रोपनी एक क्वीन्टल, मकै प्रतिरोपनी एक क्वीन्टल तथा धान प्रति रोपनी ५० किलोग्रामका दरले उत्पादनमा वृृद्धि भएको छ । परम्परागत तरिकाले खेती गर्दै आएका किसानले उन्नत तरिकाबाट खेती गर्ने क्रममा बेर्ना निकै दुरीमा रोपेको देख्दा सुरु सुरुमा जमिन बाँझो राखिदियो भनेर गुनासो गर्ने गरेकामा उत्पादन हेरेर भने निकै खुसी हुने गरेको पाण्डेले सुनाए ।

उनका अनुसार पाठशालामा नयाँ जातका बीउको परीक्षण गरिनुका साथै नयाँ प्रविधिसमेत हस्तान्तरण हुने भएकाले एक किसानबाट अर्को किसानले बीउ साट्ने र अनुभवसमेत आदान प्रदान हुने गरेको छ । ‘नयाँ परीक्षण भएका बीउका जात राम्रो उत्पादन हुँदा छिमेकी गाउँका किसानले समेत बीउ साटेर रोप्ने गरेका छन्’ मंगलसैन–४ कि किसान कोकीला केसीले सुनाईन्–‘कुनै पनि बाली लगाएदेखि कट्दासम्म प्राविधिकसँग बारीमै हुँदा धेरै ज्ञान पाएका छौं ।’

उक्त कार्यक्रम लागू भएका गाविसका किसान तथा अन्य गाविसका किसानमा उन्नत बीउ बिजन तथा मलखाद प्रयोग गर्ने दरमा दोव्वरले फरक रहेको जानकारी बरिष्ठ कृषि विकास अधिकृत विष्णुहरी देवकोटा दिए ।

उन्नत बीउबिजन र मलखाद प्रयोग गर्ने किसानको संख्या बढ्नुले खाद्यान्न उत्पादन समेत बढेर खाद्य सुरक्षामा टेवा पुग्ने उनको विश्वास छ । कृषि, पशु र स्वास्थ्य गरी तीन वटा विषयगत कार्यालयमा संचालित कार्यक्रम अन्र्तगत कृषिमा कृषक पाठशाला, नयाँ जात परीक्षण, प्रविधि अवलम्वन, मुल्यांकन, अवलोकन गरिन्छ । किसानलाई चाहिने आवश्यक सामग्री खरिदका लागि प्रति समूहमा साना अनुदानवापत तीन लाख रुपैयाँ नगदसमेत प्रदान गरिँदै आएको देवकोटाले जानकारी दिए । पाठशालाका राम्रा सिकाई कृषि विकास कार्यालयले अन्य गाविसमा समेत अवलम्बन गर्दै लैजाने सोच बनाएको देवकोटाले सुनाए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: