छाउपडी बार्नुपर्दा विभेद भयो भनेर उजुरी पर्लान् त ?


प्रकाशित मिति :2017-02-05 11:47:44

छाउपडी प्रथालाई कानुनी रूपमा सम्बोधन गरी अपराध मान्नु ठुलो उपलब्धि हो । तरपनि ती ठाउँका महिलाले छाउपडी बार्नुपर्दा हामीलाई विभेद भयो भनेर उजुरी दिन सक्लान भनेर भन्न सकिने अवस्था छैन । यसका लागि व्यापक चेतनाको विस्तार हुनु अति आवश्यक छ ।

केशवी जोशी
छाउपडी प्रथाकाबारेमा कयौं डकुमेन्ट्री बने । कयौं सरकारी र गैरसरकारी संस्थाले छाउपडी कै नाममा कयौं कार्यक्रम सञ्चालन गरे र गरिरहेका छन् । छाउपडी गोठ भत्काएर छाउपडी मुक्त क्षेत्र घोषणा गरे । तर, समस्या उस्तै छ । अवस्था झन विजोग छ ।

छाउपडी गोठ भत्काउँदैमा, कानुन भित्र समेट्दैमा र निर्देशिका बनाउँदैमा छाउपडी प्रथा उन्मुलन हुँदैन । जुन देखिसकिएको छ । भिन्न समाजबाट गएर उक्त प्रथालाई जरैदेखि फाल्नुपर्छ भनेर कार्यक्रम गर्दैमा त्यहाँका मानिसले त्यसलाई न त अहिलेसम्म अनुशरण गर्न सके, न त अब उजुरी नै दिन सक्लान् ।

सरकारी र गैरसरकारी संस्थाले विना कुनै अध्ययन, अनुसन्धान छाउपडी प्रथा उन्मुलन गर्ने नाउँमा छाउपडी गोठ भत्काईदिए । पैसा पाउने लोभमा समाजले पनि साथ दियो । तर, हट्नु पर्ने कुसंस्कार हटेन । त्यसैले अब यसलाई हटाउन अध्ययन गरेर अगाडि बढ्नु आवश्यक छ । किन छाउडी प्रथा हट्न सकेन र कसरी हटाउने भनेर कारण खोज्नुपर्ने बेला भएको छ ।

परिवर्तनका संवाहक परिचालन
समाज विकासको सिद्धान्त अन्तर्गतको प्रविधी ग्रहण (टेक्नोलोजी एडप्सन) को सिद्धान्तलाई अनुशरण गरेर अघि बढ्न सके छाउपडी प्रथालाई हटाउन सजिलो हुन्छ । जुन सिद्धान्त अनुसार समाजमा चार वर्ग हुन्छन् । जसलाई ‘चेन्ज एजेन्ट’ पनि भनिन्छ । जसमा इन्नोभेटर वर्ग सबैभन्दा माथि हुन्छन् । उनीहरू नयाँ प्रविधि, जीवनशैली र नयाँ कुराकोे अनुशरण गर्न सजिलै सहमत हुन्छन् । समाज परिवर्तनका लागि यो वर्गले बढी नै महत्व राख्दछ । यो वर्ग आर्थिकरुपमा पनि सवल हुन्छ भने पहुँचका हिसावले पनि बलियोे हुन्छ ।

त्यस्तै, दोस्रो वर्गको रुपमा ‘अर्लि एडप्टर’ पर्छन् । यो वर्ग पनि आर्थिक र शैक्षिकरुपमा सवल हुन्छ । अरुले अपनाएको जीवन शैली, प्रविधि अंगाल्न हतार गर्छ । यो वर्गमा देखासिकी गर्ने बानी हुन्छ । यो वर्गलाई पनि छाउपडी प्रथा हटाउन प्रयोग गर्न सकिन्छ । त्यसका लागि जनचेतना जगाउन सक्नुपर्छ ।

तेस्रो वर्ग हो ‘अर्लि मेजोरिटी’ र ‘लेस मेजोरिटी’ । अर्लि मेजोरिटी वर्गका मानिस कुनैपनि नयाँ प्रविधि, जीवनशैलीका बारेमा गहन सोच्ने गर्छन् । त्यसको फाईदा बेफाइदाका बारेमा निस्कर्ष निकाल्छन् । अनि मात्र त्यसलाई अनुशरण गर्छन् । तर, प्रचार गर्न चाहँदैनन् । यो वर्गको सम्बन्ध अर्लि एडप्टरसँग हुन्छ ।

लेस मेजोरिटी वर्गका मानिसहरू आर्थिक रुपले कमजोर हुन्छन् । उनीहरू नयाँ कुरा अनुशरण गर्न खासै रुची राख्दैनन् । तर, धेरैले गरेपछि समाजमा पछि परिने डरले उनीहरू पनि अघि सर्छन् ।

अन्तमा एउटा वर्ग हुन्छ । जसलाई ‘लिजार्ड’ भनिन्छ । जो आर्थिकरुपले कमजोर, शिक्षा र चेतनाको अभाव र उमेरले पाका हुन्छन् । यो वर्ग पुरानो प्रवृतिलाई छोड्न मान्दैन । छाउपडी प्रथाको लागि पनि यहि समूह तगारोको रुपमा उभिएको छ । तर, समाजमा रहेका बहुसंख्यकले नयाँ कुराको अनुशरण गरेपछि समाजबाट बहिष्किृत हुने डरले लिजार्ड वर्गले पनि त्यसलाई अपनाउने गर्छ ।

मध्यपश्चिम र सुदूरपश्चिमका जिल्लामा बढी यहि वर्गको बाहुल्य पनि छ । पुजारी, धामी, झाँक्री पनि यसै वर्ग भित्र पर्छन् । जसका कारण छाउपडी प्रथा हट्न सकिरहेको छैन ।

छाउपडी अन्त्य गर्न पुजारी, धामी, झाँक्रीको सोच बदल्न खोज्नु भनेको बालुवामा पानी खन्याउनु जस्तै हो । अहिलेसम्म कुनै पनि धर्म प्रवर्तक र प्रचारकले समाजमा विद्यमान अन्धविश्वास हटाउन सहयोग गरेको उदाहरण विरलै पाईन्छ । त्यस्तै, सुदूरपश्चिम र मध्यपश्चिममा विद्यमान छाउपडी प्रथाको अन्त्य भए उनीहरूले समाजमा आफ्नो वर्चश्व कायम राख्न सक्दैनन् ।

चरणबद्धरुपमा कार्यक्रम गरे आफै हट्छ छाउपडी
कुनैपनि कुप्रथालाई हटाउनको लागि केही समय लाग्छ । यसका लागि चरणबद्धरुपमा काम गर्नुपर्ने हुन्छ । बस्ने घरलाई छुँदा समेत देवी देवता लाग्छ, अनिष्ट हुन्छ भन्ने डरले जरा गाडेको समाजमा मन्दिरमा गएर पुजा गर्दा केही हुन्न भन्दा मान्छन् भन्ने सोच्नु नै मुर्खता हो । त्यसका लागि पहिले त महिनावारीका बारेमा राम्रो ज्ञान, सरसफाई र सोचाईमा परिवर्तन ल्याउन जरुरी छ ।

छाउपडी गोठ भत्काउनु भन्दा पहिले घरमा बस्दा केही हुँदैन भन्ने सोचको विकास गर्न जरुरी छ । चिसो, बन्द, साँघुरो ठाउँमा बस्नु पर्ने बाध्यता, बलात्कृत हुने डर जस्ता शारिरीक र मानसिक तनावबाट त मुक्त हुने थिए । सार्वजनिक पानी पँधेरामा छोए केही हुँदैन, सरसफाई गर्दा कुनै भगवान रिसाउँदैनन् भन्ने सोचको विकास गर्न सके त्यहाँका महिला धेरै रोगबाट पनि बच्ने थिए । त्यसका लागि त्यही क्षेत्रका अन्य समाजमा आएको परिवर्तनलाई उदाहरणका रुपमा देखाउन सकिन्छ ।

सदियौंदेखि मान्दै आएको कुरितीलाई एकैचोटी चटक्क छोड्न गाह्रो हुन्छ । त्यसलाई पत्र—पत्र गरेर छोड्नुपर्छ । जस्तो अहिले महिनावारी हँुदा छाउपडी गोठ र चौपाया सँगै बस्नेलाई घरको छुट्टै कोठामा बस्दा केही हुँदैन । यसले छोरीबुहारी रोग र शोक सवैबाट सुरक्षित हुन्छन् । बरु, पूजा गर्ने कोठामा नजानुहोस, भान्सा कोठामा नजानुहोस भनेर एक तहमाथि उठाउन सकिन्छ । त्यति मात्रै पनि गर्नसके महिलाहरूले राहत पाउँथे । आफ्नैबाट अपहेलित भएको महसुस गर्नुपर्ने बाध्यता हराउँथ्यो ।

दोस्रो चरणमा महिनावारी प्राकृतिक प्रकृया हो यसवेला मान्छेलाई छुँदा केही हुँदैन भन्ने चेतना जगाउन सकिन्छ । यस्ता कुरामा देखासिकी गर्ने प्रवृतिले ठूलो स्थान ओगट्छ । त्यसैले परिवर्तनका लागि त्यही समाजमा रहेका शिक्षित र युवा वर्गलाई यसमा परिचालन गर्न सकिन्छ । तेस्रो चरणमा भान्सामा जाँदा केही हुँदैन भन्ने मानसिकता विकास गर्न त्यही अनुसारका कार्यक्रम गर्नुपर्ने हुन्छ ।

मन्दिरमा पस्ने कुरा भन्दा पहिले मन्दिरको बाटो हिँड्दा केही हुँदैन भन्ने सोचको विकास गर्न आवश्यक छ । अझैपनि मन्दिरले समेटेको जमिनमा समेत महिनाबारीको समयमा टेक्नु हुँदैन भन्ने सोच छ । जसलाई हटाउन सक्नु पहिलो चूनौति हो । यति गर्न सक्यो भने छाउपडी प्रथा विस्तारै आफै हटेर जान्छ ।

पछिल्लो १० वर्षमा धेरै परिवर्तन भैसकेको छ । केही ठाउँमा माओवादी शसस्त्र युद्धपछिको १० वर्षमा छाउपडी गोठ र गाई भैंसीको गोठमा सुत्नु पर्ने बाध्यता हटेको छ । महिनाबारीको समयमा स्कुल जान हुँदैन भन्ने सोचको अन्त भएको छ । हाम्रा मिडियाले यस्ता विषयलाई स्थान दिदैनन् ।

भरखरै छाउपडी प्रथालाई कानुनी रूपमा अपराध मानिएको छ । छाउपडी, रक्तश्राव र सुत्केरीका समयमा गरिने विभेदजन्य व्यवहार अपराध भएकाले त्यस्तो गरेको पाइएमा सजाय भोग्नुपर्ने व्यवस्था छ । कसुर घोषित गरिएको छाउपडी प्रथालाई मान्यता दिएमा तीन महिनासम्म कैद, तीन हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्नेछ । तर, यो कानुनी रुपमा अगाडि बढाउन भने निकै चुनौतिपूर्ण र जटिल बन्ने पक्का छ । यद्यपी छाउपडी प्रथालाई कानुनी रूपमा सम्बोधन गरी अपराध मान्नु ठुलो उपलब्धि हो । तरपनि ती ठाउँका महिलाले छाउपडी बार्नुपर्दा हामीलाई विभेद भयो भनेर उजुरी दिन सक्लान भनेर भन्न सकिने अवस्था छैन । यसका लागि व्यापक चेतनाको विस्तार हुनु अति आवश्यक छ ।

यसअघि सर्वोच्च अदालतले २०६२ सालमा छाउपडी प्रथालाई कुरीतिको रुपमा घोषणा गरिसकेको थियो । त्यस्तै, सरकारले २०६४ सालमा यसलाई सामाजिक कुरीति घोषणा गर्दै जारी गरेको छाउपडी प्रथा उन्मुलन सम्बन्धि निर्देशिका–२०६४ हालसम्म पनि कार्यान्वयन हुन सकेको छैन ।

छाउपडी प्रथालाई नजिकबाट नियालेकी जोशी काठमाडौंमा कार्यरत पत्रकार हुन्

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: