फोहोरबाट हस्तकला


प्रकाशित मिति :2017-02-08 12:57:40

महिला खबर

काठमाडौं । आफुलाई अनावश्यक कुरा काम नलाग्ने भन्दै फाल्नु सामान्य हो । धेरैले नचाहिने सामान फाल्नु नै उत्तम विकल्प मान्छन् । तर, इटहरीका महिलाले यस्ता फोहोरलाई काम लाग्ने बनाएका मात्र छैनन्, तिनलाई घरखर्च चलाउने माध्यम समेत बनाएका छन् ।

इटहरी चारकी यशोधा सुवेदी १० वर्षदेखि यस्तै काममा व्यस्त छिन् । उनी अरुले फालेका चाउचाउ, बिस्कुट, कुरमुरे लगायत तयारी खानेकुरा राखिएका प्लाष्टिकका खोलवाट विभिन्न सामाग्री बनाउँछिन् । उनी खासगरि प्लाष्टिकका गमला, फूलदानी, गुन्द्री, कप सेट, खेलौना लगायत सजावटका विभिन्न सामाग्री बनाउन सिपालु छिन् । यसरी बनाएका सामाग्री बेच्न आफ्नै पसल पनि खोलेकी यशोदा मासिक १५ हजार भन्दा बढि आम्दानी गर्छिन् ।

‘१० वर्ष भइसक्यो, आम्दानी पनि राम्रो छ, त्यहि भएर यसैलाई व्यवसाय बनाएको,’ उनी भन्छिन् । फोहोरवाट कामलाग्ने समाग्री बनाउँदा राम्रो आम्दानी गर्न सकिने, वातावरण र घर आँगन सफा हुने उनको भनाई छ ।

इटहरी चारकै रजनी शाह पनि फोहोरबाट हस्तकलाका सामाग्री बनाएर मासिक ५ देखि ७ हजार सम्म कमाउँछिन् । फोहोरबाट हस्तकला बनाउने सीप लिएपछि उनी यसप्रति आर्कषित भएकी थिइन् । उनी खासगरि फोहोर फाल्ने भाँडो, गमला, पर्स, अफिस फाइल, बाल्टिन जस्ता सामाग्री बनाउँछिन् ।

विगत ७ वर्षदेखि फोहोरबाट उपयोगी र नयाँ नयाँ सामाग्री बनाउन व्यस्त रजनी बिना कुनै लगानी आम्दानी हुने काम गरेकोमा मख्ख छिन् । ‘बनाउँदा केही पैसा लाग्दैन, तर मेहनत धेरै लाग्छ, राम्रो गर्न सके धेरै फाइदा लिन सकिन्छ,’ उनी भन्छिन् ।

‘फोहोरबाट धेरै उपयोगी सामाग्री बनाउन सकिन्छ । चाउचाउ, कुरकुरेका खोलबाट विभिन्न सामाग्री बनाउछु, महिनामा पाँच देखी सात हजारसम्ममा कमाइ हुन्छ । तर बर्खामा अलि बढी कमाइ हुन्छ,’ रजनी भन्छिन् ।

रजनीले यस्तो काम गर्न थालेपछि उनको फुर्सदको पनि सदुपयोग भएको छ । घरको सारा काम सकाएर उनी फुर्सदमा प्लाष्टिकका सामाग्री बनाउने गर्छिन् । ‘घरको सबै काम सकाएपछि सामान बनाउन थाल्छु, कमाएको पैसा जेमा काम लाग्छ त्यसैमा खर्च गर्छु,’ उनी सुनाउँछिन् ।

महिला सीप विकास केन्द्रकी अध्यक्ष राधिका कार्की थापा केन्द्रले अहिलेसम्म पाँच सय महिलालाई फोहोरवाट बन्ने विभिन्न सामग्रीको तालिम दिइसकेको बताउँछिन् । उनका अनुसार केन्द्रले फालिएका प्लाष्टिक खासगरि चाउचाउको खोल, चीजबल, कुरमुरेका खोलबाट फोहोर फाल्ने भाँडो, झोला, चुरा‍, क्याप जस्ता विभिन्न सामग्री बनाउन तालिम दिने गरेको छ ।

तालिममा कागजको लेदो र मिनरल वाटरको बोतलवाट बनेका खुत्रेके, अफिसका फाइलिङ राख्ने जस्ता विभिन्न सामग्री बनाउन पनि सिकाइने गरिएको छ ।

गृहणीको दिउँसोको समय सदुपयोग पनि हुने, आफ्नै घरवाट निस्केका फोहोरवाट विभिन्न सामग्री बनाएर प्रयोग गर्न तथा बेच्न पनि सकिने, घरआगँन पनि सफा हुने हुँदा धेरै महिला लाभान्वित भएको अध्यक्ष थापाको भनाई छ ।

उनका अनुसार विशेषगरि समयको सदुपयोग र सरसफाईको उदेश्यले यस्तो तालिम सुरु गरिएको हो । ‘गृहणीले दिउँसोको समयलाई सदुपयोग गर्न सक्ने, पैसा नलाग्ने बरु उल्टो घर वरपर सफा हुने हुनाले फोहोरबाट सामाग्री बनाउन तालिम दिएका हौं । अरुले गरेको देखेर धेरै महिलाले यसमा चासो पनि देखाइरहेका छन्,’ उनी भन्छिन् ।

अध्यक्ष कार्कीका अनुसार फोहोरबाट उत्पादित विभिन्न सामग्रीले विदेशी सामग्रीसँग प्रतिस्पर्धा गर्न नसकेपनि हातबाट बनाइएकोले स्वदेशमै माग बढ्दै गएको छ । ‘माग बढेको छ, तर हामीले माग अनुसार सामग्री उत्पादन गर्न सकेका छैनौं,’ उनी भन्छिन् । उहाँका अनुसार फोहोरबाट महिलाले बनाएका सामग्रीको माग धेरैजसो सरकारी कार्यालयबाट आउने गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: