स्थानीयमा महिला, बाल संरक्षणका सवाल बुझ्न नसक्ने समस्या छ


प्रकाशित मिति :2017-02-10 16:09:16

भूकम्पबाट प्रभावित दोलखा जिल्लामा महिला तथा बालबालिकाको अवस्था र महिला तथा बालबालिका कार्यालयको काम कारवाही सम्बन्धमा कार्यालय प्रमुख लक्ष्मी ढकालसँग गरिएको कुराकानीको सारांश ।

लक्ष्मी ढकाल/ प्रमुख महिला विकास अधिकृत, दोलखा

जिल्लामा महिला तथा बालबालिका कार्यालयले कसरी काम गरिरहेको छ ?
कार्यालयको लक्षित समूहमा ग्रामीण क्षेत्रका २० वर्ष माथिका, विद्यालय नगएका वा गएता पनि प्रवेशिका परीक्षासम्म उत्तीर्ण गर्न नसकेका, शैक्षिक रुपमा वञ्चित र आफ्नो जग्गा वा आम्दानीको नियमित स्रोतबाट वर्षदिन खान नपुग्ने परिवारका महिला पर्दछन् । लक्षित महिलाको न्यूनतम सशक्तिकरणको स्तर हासिल गर्नेगरि महिला विकास कार्यक्रममा मूलप्रवाहीकरण, समावेशीकरण तथा सशक्तिकरणका तीन आयाम र लैङ्गिक समता, प्रजनन् स्वस्थता, जीवनोपयोगी शिक्षा, पुगिसरि सम्पन्नता तथा संस्थागत सहभागिता जस्ता पाँचवटा प्राथमिकता निर्धारण गरेर अगाडि बढिरहेको छ ।

स्थानीयस्तरमा महिला तथा बालबालिका कार्यालयको भूमिका कस्तो छ ?
स्थानीय स्तरमा कार्यालयले लक्षित विपन्न महिलाको सशक्तिकरणका लागि समुदाय तहमै प्रत्यक्ष सामाजिक परिचालनको काम गर्ने, विकेन्द्रित विकास प्रक्रियामा लैङ्गिक तथा बालअधिकारको मूलप्रवाहिकरणमा सहजीकरण गर्ने गर्छ । यसैगरि, बालबालिकाका साथै ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति एवं गैरसरकारी संस्थाका लागि सम्पर्क सेवा स्थापित गर्न समूह, समिति गठन र संस्था दर्ता, बाल संरक्षण तथा सम्बद्र्धन सम्बन्धी कार्यहरु, विद्यालय जानबाट वञ्चित किशोरीको बहुआयामिक विकास कार्यक्रम, संस्थागत विकास र सामुहिक गतिशिलताका कार्यक्रम छन् । महिला समिति अन्तर्गत व्यवसायिक समूह विकास, गरिबी विरुद्ध महिला अभियान, लैङ्गिक हिंसा निवारण, सन्देशमुलक सूचना प्रचार र प्रसारण रहेको छ । यस्तै, आपत्कालीन संरक्षण सेवामा महिला संस्थाको परिचालन, ज्येष्ठ नागरिक तथा अपाङ्गता परिचयपत्र वितरण जस्ता भूमिका निर्वाह गरिरहेको छ ।

जिल्लामा महिला तथा बालबालिकाको प्रमुख समस्या के पाउनु भएको छ ?
स्थानीयमा महिला, बाल संरक्षणका सवालहरु बुझ्न नसक्ने समस्या रहेको छ । जिल्लामा पीडित महिलाका लागि सेवा केन्द्र (सुरक्षित आवास) को अभाव छ । बालगृहको व्यवस्थापन हुन सकेको छैन । बालमैत्री स्थान, बालबालिकाको लागि खेल मैदान, पार्क, बालमैत्री शिक्षा, जोखिममा परेको बालबालिकाको लागि दिर्घकालीन ठोस कार्यक्रम छैनन् । बालश्रम, बालविवाह, बहुुविवाह जस्ता समस्या छन् ।

भूकम्पपछि महिला तथा घरेलु हिंसा बढेको बताइन्छ । के छ अवस्था ?
अस्थायी आवास र साघुँरो आवासले किशोरीहरु हिंसामा परिरहेका देखिन्छन् । खासगरि बलात्कारका घटना बढेका छन् । प्रहरीको तथ्याङ्क अनुसार गतवर्ष महिला हिंसाका १०१ वटा घटना दर्ता भएका छन् जसमा ३० वटा घरेलु हिंसा र १५ वटा बलात्कारका घटना छन् । भूकम्पपछि अहिलेसम्म २८ वटा जर्बजस्ती करणीका घटना भएका छन् ।

हिंसा न्युनिकरणको लागि कार्यालयले के गरिरहेको छ ?
हामीले जिल्लाका विभिन्न संघ संस्थाहरुसँगको समन्वयमा पीडित महिलाका लागि आवाज नेपाल मार्फत सेवा दिईरहेका छौं । कार्यालयको वार्षिक कार्यक्रममा पनि समस्या समाधानको लागि कार्यक्रम राखिएको छ । गाउँस्तरीय समिति गठन तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । बालबालिका तथा महिलाको लागि राहत, उद्धार र आकस्मिक कोषको परिचालन गरिएको छ । पीडित महिला र बालबालिकाका लागी तत्काल सहयोग र उनीहरुलाई आवश्यक कानुनी वकालत, बहस, पैरवी जस्ता कुरामा सहयोग गरिरहेका छौं ।

गैर सरकारी संस्थाको कामले कस्तो प्रभाव पारेको पाउनु भएको छ ?
भूकम्पपछि विभिन्न गैरसरकारी संघसंस्थाले काम गरेकोले महिलामा स्वरोजगारी र चेतना बढेको छ । महिलाले विभिन्न काममा अवसर पाएका छन्, बाल संरक्षणका सवालमा चासो देखाएको छन् । विपत्मा परेका महिला र बालबालिकाको उद्धारमा प्रभावकारिता बढेको छ ।

प्रस्तुतिः सर्मिला बुढाथोकी

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: