श्रीमान् नहुँदा पाइएन नागरिकता


प्रकाशित मिति :2017-02-13 17:01:13

सर्मिला बुढाथोकी
दोलखा । काब्रे गाविसकी सुनिता मिजार ३६ वर्षकी भईन् । साथमा छन्, उनका छोरा उज्वल । छोरा पनि १० वर्षका भइसकेका छन्, तर न सुनिताको नागरिकता छ, न छोराको जन्म दर्ता नै भएको छ ।

‘श्रीमानले छोडेर गएपछि नेपाली भएर पनि म नागरिकता विहिन बनेकी छु । नागरिकता बनाउन श्रीमान चाहिने रहेछ, अब उसलाई कहाँ खोज्न जाउँ ?’ उनको दुःखेसो छ ।

विवाहअघि उनले नागरिकता बनाइनन् । झापाका सोनाम राईसँग प्रेमविवाह गरेकी सुनिताले भारतको गान्तोकतिरको बसाईंको क्रममा छोरालाई जन्म दिएकी थिइन् । छोरा जन्मेपछि सोनाम बेपत्ता भए, अनि सुनिता त्यहि छोरो च्यापेर माइती फर्किन् ।

कमाएको केहि रकमले उनले माइती नजिकै एउटा घडेरी पनि लिएकी छिन्, आमा सुन्तलीको नाममा । ‘नागरिकता नभएकोले न छोराको लागि केहि सेवा सुविधा लिन सकियो न आफुले किनेको जमिन आफ्नो नाममा गर्न सकियो,’ उनी सुनाउँछिन् ।

सुनिताकी ७० वर्षिया आमा सुन्तली र ८५ पुगेका बाबु नरबहादुर छोरीले नागरिकता नपाएकोमा दुःखी छन् । नागरिकताको सिफारिस बनाउन धेरैपटक गाविस कार्यालय धाएका नरबहादुर छोरीलाई आफ्नै नामबाट नागरिकता दिन चाहन्छन् । ‘छोरीलाई नागरिकता दिलाउन धेरै हिडिँयो, तर सकिएन,’ नरबहादुर भन्छन् ।

माइतीमा दाजु कामको लागि भारत गएपनि घरमा बसेकी भाउजूले साथ दिएकोले उनी नागरिकता बन्ने कुरामा अझै आशावादी छिन् । तर, नागरिकता बनाउन आवश्यक कागजात पुर्याउने मेसो नपाएकी सुनिता हरेक पटक रित्तो हात फर्किनुपर्दा निराश हुन पुग्छिन् ।
‘नागरिकताको लागि सिफारिस गर्न बुबाआमा तयार हुनुहुन्छ, तर गाविस, जिल्ला प्रशासन जता पुगेपनि श्रीमानकै खोजी हुन्छ,’ सुनिता भन्छिन्, ‘त्यतिबेला घर जाने र नागरिकता बनाउने बुद्धि आएन, अहिले आवश्यकता हुने थाहा पाउँदा नागरिकता बनाउनै सकिएन ।’

विवाह गरेर श्रीमानको घर नै नगएकी सुनितालाई श्रीमानको नाम बाहेक अरु केहि पनि थाहा छैन । ‘श्रीमानले घर झापा हो भन्थे, उनी नभई नागरिकता नबन्ने भन्ने थाहा पाएको भए त जसरी पनि घर गएर नागरिकता बनाउँथे होला,’ उनी भन्छिन् ।

जिल्ला प्रशासन कार्यालयले गाविसको सिफारिस भए नागरिकता दिन सकिने बताएको तर गाविसले सिफारिस नै नदिएको सुनिताको भनाई छ । काब्रे गाविसका सचिव नारायण दाहाल भने सुनिताले आफ्नो वास्तविक कुरा खुलाएर निवेदन दिए प्रचलित कानुन अनुसार काम गर्न सकिने बताउँछन् । उनी भन्छन्, ‘जोसुकै नेपालीले नागरिकता पाउनुपर्छ भन्ने हाम्रो मान्यता छ, तर सुनिताको  वास्तविक अवस्था के हो ? त्यसबारे जानकारी भएपछि मात्र कसरी नागरिकता दिन सकिन्छ भनेर सिफारिस गर्ने कुरा हुन्छ ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: