‘होम स्टे’ले भ्याइनभ्याई


प्रकाशित मिति :2017-02-14 17:15:09

बेलिना थापा

लमजुङ । घलेगाउँकी सीता गुरुङ (३१) लाई हिजोआज पाहुना स्वागत गर्न भ्याईनभ्याई छ । एक वर्षदेखी होम स्टे संचालन गर्दै आएकीे सीता अहिले पर्यटक आउने मौसम भएकोले व्यस्तता बढेको बताउँछिन् । फागुनमा मात्रै करिब डेढ सय पर्यटकहरुलाई घरमा बस्ने व्यवस्था मिलाएकी सीता यो कामले आनन्द दिएको बताउँछिन् । भन्छिन्, ‘पर्यटकको स्वागत गर्दा खुशी लाग्छ ।’

अहिले उनको घरमा आउनेमध्ये धेरैजसो विद्यार्थी छन् । जाडोको समयमा विद्यालय बन्द हुँदा विद्यार्थीहरुले घुम्न पाएको उनी बताउँछिन् । ‘भदौ असोजमा विदेशी पर्यटक धेरै हुन्छन्, अहिले चाँहि विद्यार्थीहरुको लर्को नै लागेको छ,’ उनी भन्छिन् ।

दक्षिण एशियाकै बहुचर्चित लमजुङको पर्यटकीय गाउँ अहिले आन्तरिक पर्यटकले भरिएको सीता बताउँछिन् । उनी फुर्सद हुँदा परिवारले गर्ने खेतीमा पनि सहयोग गर्छिन् । होम स्टेसँगै आफ्नो घर व्यवहार चलाउन सहज भएको उनको अनुभव छ । ‘सीजनमा महिनामै १५ हजारसम्म आम्दानी हुन्छ, अरुबेला पनि २÷३ हजार भइरहन्छ,’ उनी भन्छिन् ।

सिता झैं घलेगाउँका धेरै महिलाले होमस्टेलाई आम्दानीको माध्यम बनाएका छन् । अरुबेला घाँस दाउरा गर्दै दिन बिताउने ती महिला पर्यटक आउँदा स्वागत सत्कारमा व्यस्त भइहाल्छन् ।

जोगाउ परम्परा

विगत १० वर्षदेखी होमस्टे चलाउँदै आएकी हिराकाशी घलेले सञ्चालकहरुको रोल मिलाएर घर घरमा पर्यटकलाई राखिने बताउँछिन् । पालो अनुसार सबैको घरमा पर्यटक आउने हुँदा गाउँमा सबैलाई आम्दानीको स्रोत नै बनेको छ, होम स्टे ।

०५७ देखि होमस्टे सञ्चालनमा आएको उत्तरकन्या गाविसका वडा नम्बर १, २ र ३ घलेगाउँमा ३३ घरले पर्यटकलाई खाने, बस्ने सुविधा दिइरहेका छन् । सोही सेवामै लागेकी स्थानीय डिलमाया गुरुङ नेपाली र विदेशी दुवैखाले पर्यटकलाई त्यहिँ उत्पादन गरिएको कुखुराको मासु, ढिँडो, सिस्नु, गुन्द्रुक, भटमास जस्ता खानाका परिकार दिने गरेको बताउँछिन् । भन्छिन्, ‘पर्यटकले यहिँ फलाएका खाद्यान्न मन पराउँछन्, धेरैजसोले सिस्नुको साग र ढिँडो खान खोज्छन् ।’

विगतमा चिसो मौसममा आगन्तुकहरुको संख्या घट्ने गरेपनि यो वर्ष धेरै आएको घलेगाउँ पर्यटन विकास समितिका अध्यक्ष प्रेम घले बताउँछन् । उनका अनुसार चालु आर्थिक वर्ष ०७३÷७४ को हालसम्ममा २५ हजार भन्दा बढी पर्यटक घलेगाउँ पुगेका छन् । होम स्टे संचालकको रुपमा महिला पनि उल्लेख्य रहेकाले आर्थिक रुपमा पनि महिलालाई फाइदा पुगेको घलेको भनाई छ । उनका अनुसार गाउँमा पर्यटकको ओइरो लागेकाले पनि होम स्टे सञ्चालन तर्फ महिलाहरु निकै उत्साहित भएका हुन् ।

लमजुङको सदरमुकाम बेशीसहरबाट दुई घण्टामा घलेगाउँ पुग्न सकिन्छ ।  समुद्री सतहबाट २ हजार १ सय मिटर उचाइमा रहेको घलेगाउँबाट देखिने मनास्लु, अन्नपूर्ण ४, गंगापूर्ण, हर्क गुरुङ पिक लगायतका हिमालले त्यहाँ पुग्ने जोसुकैलाई लोभ्याउने गरेको छ । यसबाहेक उत्तरकन्या मन्दिर, चियाबगान, भेडीगोठ समेत पर्यटकीय आर्कषणका रुपमा रहेका छन् ।

हिमालको काखमा रहेको र झन्डै सातसय वर्ष पुरानो इतिहास भएको घलेगाउँमा हिमाली दृश्यावलोकनसँगै सुधारिएको होम स्टे, परम्परागत गुरुङ संस्कृति झल्कने घाँटु, सोरठी, सेर्गा, कृष्ण चरित्र लगायतका नृत्य, नमुना चिया बगानको अवलोकन, गुरुङ खाना, सूर्योदय र सूर्यास्तको दृश्यावलोकन, पर्यटन संग्रहालय अवलोकन गर्न सकिन्छ । यस्तै, सामूहिक भेडापालन, बोटानिकल गार्डेन र भ्यु टावर पनि पर्यटकलाई आर्कषण गर्छन् ।

पर्यटकको आगमनसँगै घलेगाउँस्थित दलित बस्तीमा पनि २ वटा सुधारिएको होमस्टे सञ्चालन गरिएको छ  । गाउँको तीन ठाउँमा उद्यान निर्माण समेत गरिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: