नागरिकता पाउन सर्वोच्च अदालत


आमाको नामबाट नागरिकता दिन राज्यबाटै असहज

प्रकाशित मिति :2017-02-15 15:34:45

खेमा बस्नेत

काठमाडाै‌‌ । काठमाडाै‌‌की भूमिका भण्डारी नागरिकताको प्रमाणपत्र बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौं धाउँदा–धाउँदा हैरान भइसकेकी थिइन् । उनका बाबु लामो समयदेखि बेपत्ता छन् । तर, आवश्यक सबै प्रक्रिया पूरा गरेपनि प्रशासनले बुबाको नागरिकता माग्न छोडेन । कुनै सीप नचलेपछि उनले आमाको नामबाट नागरिकता पाउँ भनि सर्वोच्च अदालतमा निवेदन गरिन् ।

उनको मुद्धामाथि सर्वाेच्च अदालतले फैसला सुनाउँदै १७ भदौ २०७३ मा आमाको नामबाट नागरिकता दिन आदेश दियो । यो आदेशले कृतिका लगायत अन्य ९ जनाले पनि आमाको नामबाट नागरिकता पाए । यद्यपी निवेदक मध्ये २ जनाले अझै पाउन सकेका छैनन् ।

काठमाण्डौ निवासी भोला नगरकोटी र शान्ति नगरकोटी दुई दाजुबहिनी हुन् । नागरिकता विहिन उनीहरुले पनि बंशजको आधारमा नागरिकता माग गर्दै १२ पुष २०६९ मा जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा निवेदन दिए ।

बुबाको राष्ट्रियता र पहिचान खुल्न नसकेपछि प्रशासनले दुवैलाई नागरिकता दिन मानेन । बुबा बेपत्ता भएर आमाको हेरचाहमा हुर्किएका उनीहरुले पनि आमाको नामबाट नागरिकता पाउन सर्वोच्चलाई गुहारे ।

सर्वोच्चको आदेशले नेपालको संविधान २०७२ को धारा ८ (२) को खण्ड (ख) बमोजिम उनीहरुले आमा धन नगरकोटीको नामबाट नेपाली नागरिकताको प्रमाणपत्र पाउने देखियो । यसपछि दुवैले नागरिकता पाए ।

सर्वोच्च अदालतको २०७३ भदौ १७ गतेको फैसलाले आमाको नामबाट पनि नागरिकता प्राप्त गर्ने प्रर्याप्त वैधानिक आधार खोलीदिएको छ, तर त्यसको सहज कार्यान्वयन नहुँदा आमाको नामबाट नागरिकता लिन चाहनेहरुले सास्ती भोग्नुपरेको छ ।

प्रशासनले मागेका कागजात पुर्याउँदा पनि आमाको नामबाट दिन नमानेपछि सर्वोच्चको ढोकासम्म पुग्नुपर्ने बाध्यता बनेको छ ।

स्थानीय प्रशासन र कर्मचाहीको लापरवाहीले धेरैले नागरिकताबाट वञ्चित हुनु परेको गुनासो बढ्दो छ । कतिपयले अदालतको फैसलापछि समेत नागरिकता पाएका छैनन् । यस्तैमध्यकी एक हुन् सोेलुखुम्बुकी कान्तीमाया तामाङ । सर्वोच्चको सर्वोच्चले उनको नामबाट छोरीहरुले नागरिकता पाउने बताएपनि प्रशासनले अझै ५ जना साक्षी चाहियो भनिरहेको छ । उनी अहिले साक्षीहरुलाई जुटाइरहेकी छिन् ।

पर्यटकको भारी बोकेर कान्तिमायाका श्रीमान् काठमाडांै छिरे तर घर फर्केनन् । श्रीमानले घर छोड्दा उनको साथमा एक छोरी थिइन् । अर्की पेटमा । पेटमा भएकी छोरी जन्मेपछि पनि श्रीमान् नफर्केपछि दुई छोरी सहित उनी पनि काठमाण्डौं आइपुगिन् ।

यसपछि काठमाडौं नै उनको कर्मथलो बन्यो । छोरीहरु हुकँदै गए । गलैंचा कारखानामा कामगरी जसोतसो छोरीहरु हुर्काइन्, तर उनीहरुको पढाई अघि बढाउन नागरिकता चाहिने भयो ।

यसपछि उनी पनि नागरिकता नपाउने पीडित बन्न पुगिन् । कान्तिमायाले छोरीलाई नागरिकता दिलाउन थुप्रै प्रयास गरिन्, तर सकिनन् । सर्वोच्चको फैसलाले नागरिकता पाउन बाटो खोलेपनि उनका छोरीहरुले नागरिकता पाउने अझै टुंगो लागेको छैन ।

दोलखा लामीडाँडाकी सविना दमाईले आमाको नामवाट नागरिकता पाउन दिएको निवेदन नै फिर्ता पठाइयो । नागरिकताको लागि जिल्ला प्रशासन कार्यलय दोलखामा निवेदन दिएकी उनले बुबाको ठेगाना र पहिचान नभएको भन्दै नागरिकता पाइनन् । ९ भदौ २०६७ मा नागरिकताको निवेदन दिएकोमा यहि कारण देखाउँदै तीन दिनमै अर्थात १२ भदौ ०६७ मै उनको निवेदन फिर्ता आएको थियो । यसपछि उनले आफु पहिचान बिना र राज्यविहिन अवस्थामा बाँच्न बाध्य भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरिन् ।

अदालतले २०६७ माघ २४ गते सविनाको पक्षमा फैसला सुनायो । बाबुको ठेगान नभएपनि आमाको पहिचानबाट उनले नागरिकता पाइन् ।

काठमाडौ न्युरोडकी अस्मिता थापाले २५ चैत ०६५ मा नागरिकता पाइन् । तर नागरिकता लिन उनलाई बुबाको नामथर र ठेगाना हुँदा समेत एक वर्ष धाउनुपर्यो । उनको जन्मदर्ता पनि थियो तरपनि बाबु बेपत्ता भएको भन्दै प्रशासनले उनको नागरिकता बनाउन आनाकानी गरिरहेको थियो । प्रमुख जिल्ला अधिकारीको रवैयाका कारण आफुले नागरिकता नपाएको बताउने अस्मिताले २ जना प्रजिअ फेरिएपछि मात्र नागरिकता पाएकी थिइन् । तेस्रो प्रजिअले पनि बुबाको नाम ठेगाना राखेर मात्र आमाको सनाखतबाट नागरिकता दिलाएका थिए ।

कानुनी रुपमा आमाको नामबाट नागरिकताको प्रमाणपत्र प्राप्त गर्न सक्ने स्पष्ट व्यवस्था हुँदाहुँदै पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको कानुन व्यवसायीहरु बताउँछन् । उनीहरु यसलाई कर्मचारीको लापरवाही र अल्छीपन समेत मान्छन् ।

अधिवक्ता सुष्मा गौतम सामान्यताय आमाको नामबाट नागरिकता पाउनका लागि गाविसदेखि सर्वोच्चसम्म आउँदासम्म कम्तिमा ३५ दिन देखि पाँच वर्षसम्म लाग्ने गरेको बताउँछिन् । ‘आमाको नामवाट ३५ दिनमै नागरिकता पाएको केस पनि छ । पाँच वर्ष लागेको केस पनि छ,’ उनी भन्छिन् ।

उनका अनुसार आमाको नामबाट, आमाले सनाखत गरेर, विवाहित छोरीलाई बुबाको नामवाट नागरिकता नपाएको मुद्धा धेरै आइरहेका छन् । ‘धेरै महिला आफ्ना सन्तानको नागरिकता लिन जाँदा सरकारी पदमा बसेका व्यक्तिको व्यवहारबाट निरास हुन्छन्,’ अधिवक्ता गौतम भन्छिन्, ‘धेरैले नागरिकता दिन मिल्दैन भन्दै फकाई दिन्छन्, तर कसैले सहजरुपमा दिन्छन् । सरकारी पदमा बस्ने व्यक्तिको व्यवहारले यस्ता घटना दोहोरिरहेका छन् ।’

नागरिकताको लागि महिलाले राज्यका निकायसँग गर्नुपरेको लडाँइ महिला कानुन र विकास मञ्चले गरेका मुद्धाहरुबाट पनि अध्ययन गर्न सकिन्छ । आर्थिक वर्ष ०७३ सम्ममा मञ्चको सहजीकरणबाट २५ जनाले आमाको नामवाट नागरिकता र नाबालक परिचयपत्र पाएका छन् । मञ्चका अनुसार ती सबैले सर्वोच्च अदालतकाे फैसलावाट अामाकाे नामवाट नागरिकता पाएका थिए ।

नेपालको अन्तरिम संविधान धारा ८(२) अनुसार आमाको नामवाट नेपाली नागरिकता प्राप्त गर्न सक्ने प्रष्ट व्यवस्था रहेको छ । यसले बाबुको ठेगान नभएपनि नेपाली आमाबाट नेपालमा जन्मेका बालबालिकाले आमाको नामबाट नागरिकता पाउन सक्ने स्पष्ट व्यवस्था गरेको छ ।

( पीडित महिलाको नामथर परिवर्तन गरिएको छ )

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: