धनसराको धन कमाउने जुक्ति


प्रकाशित मिति :2017-02-17 18:41:17

शिवराज खत्री

अछाम । सिद्धेश्वरकी धनसरा खड्का (४५) लाई जिल्लामा नचिन्ने शायदै कोही होलान् । नचिनुन् पनि किन, उनी जिल्लाकै सफल व्यवसायी जो बनेकी छिन् । अरुले खेती गरेको तरकारी संकलन गर्दै बजारमा लगेर बिक्री गर्ने धनसरालाई बजारमा एकदिन नभेट्दा सोधीखोजी गर्नेहरु प्रशस्तै हुन्छन् । ‘एक दिन नभेट्दा पनि हिजो कता जानुभएको थियो भनेर सोध्ने गर्छन्, ताजा तरकारी खोज्नेहरु मात्र होइन, किसान र बजारका साथीहरुले पनि सोधीखोजी गर्छन्,’ उनी भन्छिन् ।

उनको यो चिनारी सजिलै बनेको भने होइन । श्रीमान्ले दोस्रो बिहे गरेर अर्कै बाटो हिँडेपछि भौतारिदैं हिँडेकी धनसरालाई एक्लै अघि बढ्न निकै ठूलो चूनौति थियो । जीवनभर साथ दिन्छु भन्नेले नै धोका दिएपछि अरु कसैलाई विश्वास गर्नुपनि उनलाई सहज थिएन ।

त्यसमाथि, श्रीमान्ले छाडेपछि समाजले लगाउने लाञ्छना र आरोप खेप्नुपर्ने पीडा पनि छँदैथियो । तर यी सब कुरालाई वेवास्ता गर्दै ‘म आफैं केहि गर्न सक्छु, आफ्नो पहिचान आफैं बनाउँछु’ भन्ने दृढ संकल्प लिइन् उनले । ‘श्रीमानले साथ छोडे भनेर हरेस खाएर बसेको भए म यो अवस्थामा पुग्ने थिइनँ,’ उनी सुनाउँछिन् ।

अरुको सहारामा बाँच्नुभन्दा आफ्नै मेहनत र कर्मलाई विश्वास गरिन् उनले । जीवन गुजारा गर्न सुरुमा उनले गाउँमै तरकारी खेती गर्न थालिन् । तरकारी खेतीमा भन्दा व्यापारमा फाइदा देखेपछि उनले किसानले उत्पादन गरेका सामाग्री खरिद गर्ने र बजारमा लगेर बिक्री गर्न थालिन् । साढे तीन वर्षदेखि उनी यहि काममा व्यस्त छिन् ।

यहिकारण गाउँगाउँदेखि धनसराको खोजी हुन थालेको छ ।

श्रीमान्ले छोडेपछि विवाहपछि जन्मिएको एक छोरालाई हुर्काउने जिम्मेवारी उनैमाथि आइपर्यो । तरकारी बेचेकै कमाईले छोरालाई हुर्काइन्, पढाइन् र अहिले विदेश पठाएकी छिन् ।

‘मेहनत गरे अनुसारको आम्दानी राम्रै भइरहेको छ,’ धनसरा भन्छिन्, ‘बिना लगानी मासिक २० हजार कमाई त कहिँ जाँदैन ।’
शुरुको वर्ष उनले सदरमुकाम मंगलसेनमा एक पसल अगाडिको खुल्ला ठाउँमा तरकारी बिक्री गरिन् । पछिल्लो दुई वर्षदेखि भने पसल नै भाडामा लिएर उनले तरकारी बिक्री गर्दै आएकी छिन् । ‘मैले गरेको मेहनतबाट मलाई मात्र फाईदा नभएर तरकारी उत्पादन गर्ने किसान, उपभोक्ता र सामान ढुवानी गर्नेलाई पनि फाईदा हुने गरेको छ,’ उनी सुनाउँछिन् ।

मंगलसेनमा अधिकांश तरकारी भारत तथा तराईका आउने हुँदा स्थानीयले ढिलोगरि पाउने र विषाक्त खाद्यपर्दाथ पनि उपभोग गर्नुपर्ने बाध्यता थियो । धनसराका कारण एकातर्फ ताजा तथा बजारको मूल्य भन्दा निकै सस्तोमा स्थानीयले तरकारी खान पाएका छन् ।
उनको सक्रियतामा गाउँमा तरकारी खेती गर्ने किसानको समुह निर्माण गरेर साँफेबगरमा संकलन केन्द्र राखिएको छ । त्यहाँ जयगढ, गाँज्रा, जनालीकोट लगायतका ठाउँबाट तरकारी संकलन गरेर राखिन्छ । उनी यहिँबाट सदरमुकाममा बिक्री हुने तरकारी छुट्याउँछिन् ।
‘मैले सडक छेउछाउका गाउँमा मात्र पुगेर तरकारी ल्याउँछु, टाढाका गाउँमा उत्पादन भएको तरकारी संकलन गर्नसके जिल्लाबाहिर समेत पठाउन सकिन्थ्यो, धेरैले अवसर पाउँथे,’ उनी भन्छिन् ।

पछिल्लो समय धनसराले गाउँमा उत्पादित अन्य सामाग्रीलाई पनि बजारमा बिक्री गर्न थालेकी छिन् । उनले निगालोबाट बनेका डोका, डालो, छाप्रो लगायतका सामाग्री, दाल लगायत गाउँमा बनाइने ताजा घ्यू समेत ल्याएर पसलमा राखेकी छिन् । उनी सदरमुकाममा सस्तो पाईने सामान जयगढ, साँफेबगर लगायतका क्षेत्रमा पनि लगेर बिक्री गर्छिन् ।

उनलाई करिब डेढ वर्षसम्म आफ्नो पसल अगाडि तरकारी बिक्री गर्न दिएका अछाम उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रप्रसाद ढुंगाना उनको मेहनत देखेर दंग पर्छन् । उनी भन्छन्, ‘एकल भएर पनि धनसराले गरेको परिश्रम समाजका लागि निकै उदाहरणीय छ, अरुको भर नपरी आफ्नै काममा ध्यान दिने धनसराको मेहनत प्रशंसनीय छ ।’

 

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: