परिचयपत्र छ तर, छुट पाइँदैन


प्रकाशित मिति :2017-02-20 16:47:51

सर्मिला बुढाथोकी

दोलखा । भीमेश्वर नगरपालिकाकी कृष्णलक्ष्मी खत्री उमेरले ७० कटिसकेको उनको जेष्ठ नागरिक परिचयपत्रले बताउँछ तर, सार्वजनिक यातायातमा यात्रा गर्दा छुट पाएको उनलाई थाहा छैन । उमेर खुलाउने परिचयपत्र सधैं गलामा झुण्ड्याएर हिँड्ने खत्री छुट पाउने कुरा गर्दा यातायात व्यवसायीले थाहा नपाएको झैं गर्ने बताउँछिन् ।

‘हामी जस्ता वृद्धवृद्धालाई यात्रा गर्दा छुट दिन्छन् भन्छन् तर, बसमा जेष्ठ नागरिक परिचयपत्र देखाउँदा सहचालकले यो कार्डले तेल हाल्दैन आमै भन्ने जवाफ दिन्छन्’, कृष्णलक्ष्मीले गुनासो गर्दै भनिन् ।

भीमेश्वर नगरपालिकाकै अर्की वृद्धा नानीमाया कुसुलेको गुनासो पनि उस्तै छ । कृष्णलक्ष्मी भन्छिन्, ‘छुटको कुरा गर्यो भने बसका कर्मचारी झर्किफर्की मात्र गर्छन् बरु, यस्तो कुरा गर्दा सीटमा बस्न समेत नपाईने हो की भन्ने पो हुन्छ ।’

जिल्लामा आर्थिक वर्ष ०७३÷०७४ को माघ महिनासम्म ४७१ महिला र ५५२ पुरुष गरी कुल १ हजार २३ जनाले जेष्ठ नागरिक परिचयपत्र बनाएको महिला तथा बालबालिका कार्यालयले जनाएको छ । तर, परिचयपत्र बनाउने धेरै देखिएपनि थोरैले मात्र छुट पाउने गर्छन् ।

भीमेश्वर नगरपालिकाकी कृष्णलक्ष्मी सरकारले छुटको व्यवस्था व्यवहारमै कार्यान्वयन गर्नुपर्ने बताउँछिन् । ‘सार्वजनिक यातायातमा यात्रा गर्ने जेष्ठ नागरिकले छुट पाएका छन् की छैनन् सरकारले अनुगमन गर्नुपर्छ’, उनी भन्छिन् ।

दोलखा खोपाचाँगु गाविसकी ७८ वर्षिय नन्दी थामीलाई जेष्ठ नागरिक कार्ड भए बस भाडामा छुट हुन्छ भन्ने समेत जानकारी छैन ।

सार्वजनिक यातायातमा यात्रा गर्दा पाइने छुटबारे प्रश्न गर्दा उनी उल्टै प्रश्न गर्छिन्, ‘यस्तो कार्डले पनि कहिँ भाडा घटाउँछ त ?’

महिला तथा बालबालिका कार्यालय दोलखाका निमित्त प्रमुख सुर्जा दाहाल वृद्धवृद्धालाई सार्वजनिक यातायात, स्वास्थ्य संस्था लगायतका ठाँउमा पाउने छुटबारे जेष्ठ नागरिक कार्ड बनाउन आउने बेलामै जानकारी गराउने र सरोकारवाला निकायलाई पनि सरकारी व्यवस्था कार्यान्वयन गर्न अनुरोध गर्ने गरेको बताउँछिन् । जेष्ठ नागरिकलाई छुटको व्यवस्था कानुनी रुपमा रहेको भएपनि व्यवहारिक पक्ष भने कमजोर देखिएको उनको भनाई छ ।

सार्वजनिक यातायात सञ्चालकहरु भने सरकारले व्यवस्था गरेका हरेक कुराको पालना गरिएको बताउँदै जेष्ठ नागरिकहरुलाई पनि छुट दिने गरेको दाबी गर्छन् । अरनिको यातायात समितिका एक पदाधिकारी जेष्ठ नागरिक, फरक क्षमता भएका मानिस सबैलाई सम्मानका साथ सरकारले व्यवस्था गरे अनुसार नै यात्रामा सहभागी गराएको बताउँछन् ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: