न्याय नपाएपछि आत्महत्या


पारिवारिक दवाव र सामाजिक समस्याका कारण न्याय नपाएका महिला आत्महत्याको बाटो रोज्न वाध्य हुन्छन्

प्रकाशित मिति :2017-02-28 17:43:22

इन्दिरा खनाल

वुटवल । वुटवल उपमहानगरपालिका, १५ वेलवास कीरीमा विश्वकर्माले ११ असार २०६५ मा २ छोरी र १ छोरा सहित विष सेवन गरी आत्महत्या गरिन् । रीमाका नातेदार अविराम विकका अनुसार उनले आत्महत्या गर्नुको कारण श्रीमानले दिने यातना थियो । “आयश्रोत पनि भएन, श्रीमानको यातना सहन नसकेर नै रीमा त्यो अवस्थामा पुगेकी हुन्, उनी भन्छन् “समाजका अगुवाहरुले लगाएको आक्षेप पनि अर्काे  कारण हो ।”

घर परिवारबाट हुने हिंसा र त्यसको कानुनी उपचार नपाउँदा महिलाहरु आत्महत्या रोज्न वाध्य छन् । चारवर्ष अघि पाल्पाकी एकजना महिलाले पनि आफ्नो बच्चा सहित आत्महत्या गरिन । उनका श्रीमान वैदेशिक रोजगारमा गएका थिए । उनी सीप सिक्न र आफ्नो खुट्टामा उभिन चाहन्थिन् । तर, समाज र घरपरिवारले उनको त्यो विचार पचाउन सकेन । श्रीमान नभएकाले परपुरुससँग सम्वन्ध राखेको आरोप उनीमाथि लगाइयो ।

 पीडित महिला न्यायका लागि माइती नेपाल भैरहवामा आइन । माइती नेपालको पहलमा श्रीमानसंग मेलमिलाप भएपछि उनीफर्किन । तर, त्यसको नौ महिना पछि परिवारबाटै आफूमाथी हुँदै आएको हिंसा नरोकिएपछि वाध्यभएर आत्महत्या गरेको उनले लेखेको पत्रमा उल्लेख थियो । माइती नेपाल भैरहवाकी प्रमुखप्रभा खनालका अनुसार श्रीमान वैदेशिक रोजगारबाट फर्केपछि दुईजनाबीच मनमुटाव नै उनले आत्महत्या गरेकीहुन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पछिल्लो ७ महिनामा ३१ जना महिलाले आत्महत्या गरेको छ । त्यस्तै आर्थिक वर्ष २०६९/०७० मा ७५ जना, ०७०/०७१ मा ७४ जना, ०७१/०७२ मा ७५ जना, ०७२/०७३ मा ७० जना महिलाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ । 

्श्रीमान, श्रीमतीबिच पारिवारीक मेलमिलापनहुनु, फरक बसाईमा रहँदा उत्पन्न सामाजिक समस्या, डिप्रेशन, आर्थिक रुपले महिला सक्षमनहुनु”लगायतका कारणले अधिकांश महिला आत्महत्याको बाटो रोज्ने गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक रबिन्द्र सिंह धानुकले बताए ।

माइतीपक्षले न्यायका लागि प्रहरी वा अदालत सम्मपुग्ने बाटो रोक्दा पनि महिलाहरुमा हिंसा सहनुको विकल्प छैन । यस्तै एउटा उदाहरण हुन्, (नाम परिवर्तन) रुपकला शर्मा । रुपकला शर्मा माथि श्रीमान र सासु–ससुराले दिने यातनाको कुनै सीमा थिएन । दाइजो नल्याएको निहुँमा उनीमाथि दिनहुँ कुटपीट हुन्थ्यो । रुपन्देहीको हरैयाकी उनको १० वर्षअघि अर्घाखांचीकानाम परिवर्तन (हरेराम) सँग विवाह भएको थियो । “विहे भएको महिनादिनपछि दाइजो नल्याएको भनेर कुट्थे,” उनी भन्छिन् “परिवारबाट भएको कुटपीटको कुरा माइतीमा गएर भन्दा छोरीको जात हो, घर गरेर खानुपर्छ भन्दै उल्टो मलाई नै दोषि देखाउनुभयो ।” आड भरोसा माइतीकै थियो । तर, माइतीले पनि कुरा नसुनेपछि विचार गरिन्,‘अब मर्छु ।’ सन्तानको मायाँले तान्यो । मर्ने विचार त्यागिन । तर, दुखका दिन भने गएनन् । न्यायका लागि प्रहरी र अदालतसम्म जाने सोंचेपनि माइतीले असहयोग गरेपछि जान नसकेको उनी बताउँछिन् ।

हिंसाको जड घरपरिवार नै हो । परिवारका सदस्यबाटै पीडित भएको धेरै महिलाहरुको अनुभव छ । हिंसाबाट पीडित भएका महिला सम्वन्ध विच्छेदका लागि तयार भएपनि कि अदालतसम्मै आउन सक्दैनन् । अदालतले महिलाकै पक्षमा फैसला गरेपनि कार्यान्वयन हुन सक्दैन । दयानगर ५ रुपन्देहीकी(नाम परिवर्तन) बाटिका शर्मालाई श्रीमानसँग सम्वन्ध विच्छेदसँगै अंश दिनुपर्ने फैसला जिल्ला अदालत रुपन्देहीले गर्‍यो । तर, अदालतको फैसला अनुसार अहिलेसम्म उनले अंश पाउन सकेकी छैनन् ।

उनको १० वर्षअघि जिल्लाकै कम्हरियाका (नाम परिवर्तन) गोठेराम शर्मासँग विवाह भएको थियो । सन्तान नभएपछि श्रीमान र घरपरिवारबाट पीडित भएकी उनी सम्वन्ध विच्छेदको माग गर्दै जिल्ला अदालत गएकीहुन् । त्यसैगरी जिल्लाको तिलोत्तमानगरपलिका २१ पर्सहवाकी ३३ वर्षीय लक्ष्मी पौडेललाई पनि जिल्ला अदालत रुपन्देहीले मानाचामल अन्तरगत अंश दिनुपर्ने फैसला गर्‍यो। तर, लक्ष्मीका श्रीमानले पहिले नै अंश लिएको दावि गर्दै ससुरा हरीबहादुर कार्की उच्च अदालत पुगेका छन् । २०७१ मा जिल्ला अदालतले गरेको फैसला कार्यन्वयन भएको छैन ।

दाईजोको निहुँमा सासु ससुरा, देवरले कुटपीट गरेर घरमा बस्न नदिएपछि उनी न्यायका लागि अदालतको ढोका ढकढक्याउन पुगेकी हुन् ।

अर्घांखांची शुवर्णखालकी २२ वर्षीया बबिता ओलीले ६ वर्ष पहिले बांके कोहलपुर निवासी चन्द्रबहादुर ओलीसंग प्रेम विवाह गरिन् । करिब ६ महिनाको प्रेम सम्बन्धपछि बैवाहिक जिवनमा बाधिएकी ओलीले घर पुग्दानपुग्दै सौता बेहोर्नु प¥यो । “माईतीलाई धोका दिएर विवाह गरे, माईती फर्कने नैतिकता छैन घर बसौं सौताको लुछाचुडी”ओलीले भक्कानीदै भनिन् । विवाह गरेकै भोलीदेखि सम्बन्ध चिसिदै गयो, श्रीमानको व्यवहार फेरींदै गयो, घर न घाटकी भए” उनी भन्छिन् ।

त्यस्तै रुपन्देही सालझण्डी १ झिम्झीमेकी अनिता बस्नेतको पिडा पनि बबिताको भन्दाकम छैन् । अहिले उनी २५ वर्षकी भईन । ५ वर्ष पहिले नवलपरासी बन्जरियाका नवराज बस्नेतसंग उनको विवाह भएकोथियो । विवाह भएको अर्कोवर्ष छोरी पनि जन्मियोे । छोरी जन्माएकै कारण श्रीमानले कुटन थाले ।“कतिदिन त भोकभोकै दिन कटाए, ४ वर्ष लगातार सहें , कति सहनु ?” उनले प्रश्न गरिन् । “मदिरा सेवन गर्नु, जवरजस्ति यौन सम्बन्ध राख्नु र कुट्नु हरेक दिनचर्या थियो श्रीमानको“उनी भन्छिन ।

समाज घरपरिवार र आफन्तको दवावका कारण अहिलेपनि महिला अदालतसम्म आउन सक्दैनन् । कतिपय ठाउँमा अदालतका कर्मचारीको व्यवहार पनि महिला अदालतसम्म पुग्न नसकेको माइती नेपाल भैरहवाकी प्रमुख प्रभा खनाल बताउँछिन् ।

कानुन व्यवसायी मीना पाण्डे पनि महिला हिंसाका थोरै मात्र मुद्दा अदालतमा आउने बताउँछिन् । पाण्डे भन्छिन् –“जनचेतनाको कमी, सामाजिक परिवेश र परिवारको दवावले अदालतसम्म आउन सक्दैनन्, अदालतसम्म आउने वातावरण सिर्जना गर्न कानुनी उपचारको बारेमा जानकारी गराउनुपर्छ ।”

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: