दालमोठ उधाेगबाट विदेश गए जत्तिकै आम्दानी


प्रकाशित मिति :2017-03-01 17:16:26

बेलिना थापा

लमजुङ । बेंसीसहर चण्डीस्थानकी भवानी अधिकारी रिमाल (२७) विदेश जाने तयारीमा थिइन् । तर, धेरै सोचविचार गरेपछि उनलाई ऋण काढेर विदेश जानुभन्दा स्वदेशमै उद्योग गर्नु ठिक लाग्यो । लमजुङ उद्योग वाणिज्य संघमा ६ वर्ष कार्यालय सहायकका रूपमा काम गरेको अनुभवले पनि उनलाई आफ्नै उद्योग खोल्ने प्रेरणा दियो । अहिले उनी आफ्नो एकल लगानीमा दालमोठ उद्योग सञ्चालन गरिरहेकी छिन् ।

‘पासपोर्ट बनाएँ, आवेदन दिएँ, उताबाट चिठी पनि आयोे,’ उनी भन्छिन्, ‘तर, ऋण काढेर विदेश जानुको सट्टा यहिँ केही गरौं भन्ने लाग्यो, मनस्थिति एकाएक परिवर्तन भयो र व्यवसाय सञ्चालन गरें ।’

सुरुमा ३२ लाख रुपैयाँको लगानीबाट सञ्चालनमा ल्याएको दालमोठ उद्योगमा उनी लगानी थप्ने योजनामा छिन् । ‘यताउता गर्दा २० लाख जुट्यो, अरु १२ लाख ऋण काढेर उद्योग तयार गरें’, उनी भन्छिन्, ‘अहिले महिनामा दुई लाख रुपैयाँभन्दा बढि रुपैयाँको दालमोठ बजारमा गइरहेको छ, विदेश गए जत्तिकै छ ।’

बेंसीसहरका साथै लमजुङका बजारमा चितवन, वीरगन्ज र पोखरामा उत्पादन गरिएका दालमोठ बिक्रीका लागि ल्याइन्छ । स्थानीयस्तरमै उत्पादन थालिएपछि यहाँका व्यवसायीले मन पराएको उनको भनाइ छ । उनी दालमोठ लिएर आफैं बजार जान्छिन् । अधिकारीकी ४ वर्षिया छोरी नजिकैको स्कुलमा पढछिन् । ‘बिहानको समय छोरीलाई पढाउने, तयारी गर्ने, स्कुल पठाउनेमा बित्छ । त्यसपछि बजार जान्छु र साँझपख ठाउँठाउँमा दालमोठ पुर्याउँछु’, उनी सुनाउँछिन् । उनका पति मदनबहादुर नेपाली सेनामा कार्यरत छन् । छुट्टीमा आउँदा उनले पनि अधिकारीलाई सहयोग गर्ने गरेका छन् ।

दालमोठ उद्योगमा एकजना हेडमिस्त्रीलाई मासिक २५ हजार र अन्य २ जनालाई मासिक १०÷१० हजार रुपैयाँ तलब दिएर राखेको उनले जानकारी दिइन् । ‘उद्योग वाणिज्य संघमा हुँदा धेरै व्यवसायीसँग चिनजान गर्ने मौका मिल्यो, अहिले बजार विस्तार गर्न सजिलो भएको छ,’ उनी भन्छिन् ।

उनको उद्योगबाट मिक्स, स्पेशल, भटमास, चना, केराउ फ्राई, फुरनदाना, बदाम, भुजिया, मुँगदालका दालमोठ उत्पादन भइरहेको छ । यीसँगै आलुचिप्स उत्पादनको पनि तयारी भइरहेको अधिकारीले जानकारी दिइन् । त्यहाँ उत्पादित दालमोठ मनाङ जिल्लामा पठाउने तयारी भइरहेको उनको भनाइ छ ।

उनलाई व्यवसायमा परिवारको पनि साथ छ । दिदी सुमित्रा घिमिरे र दाइ नाता पर्ने गुणराज सिलवालले व्यवसायमा सघाएको उनी बताउँछिन् । दिदी सुमित्राले बहिनीको उद्योगका लागि घरभाडा लिएकी छैनन् । लमजुङ उद्योग वाणिज्य संघका तृतीय उपाध्यक्ष समेत रहेका सिलवाल महिलालाई उद्योग सञ्चालनका लागि प्रोत्साहन गर्न हरेक तवरबाट सहयोग गर्नुपर्ने बताउँछन् । ‘सीप र जाँगरलाई सम्मान गर्न सके बेरोजगार हट्छ र रोजगारी खोज्दै विदेसिनु पर्दैन,’ उनले भने । संघका अध्यक्ष रामकुमार श्रेष्ठले महिलाको जोस र जाँगरलाई सम्मान गर्नुपर्ने बताए । ‘भवानी बहिनीको जोस, जाँगरले अरूलाई पनि केही गर्न सिकाउँछ,’ उनी भन्छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: