वंश धान्ने नाममा ‘मेसिन’ बन्दै महिला


प्रकाशित मिति :2017-03-02 12:20:17

शिवराज खत्री

अछाम । बिन्धवासिनीकी गंगा विक सुरु सुरुमा छोरी जन्मिँदा खुशी नै थिइन् ।  एकपछि अर्को गर्दै छोरी मात्रै जन्मेपछि भने उनी चिन्तित हुन थालिन् । तर, सन्तान जन्मिने क्रम रोकिएन । हुँदा हुँदा छोरा पाउने आसमा उनले १२ छोरीलाई जन्म दिइन् । ‘एक छोरी बितिन्, अरु ११ बचेकै छन्’, गंगाले भनिन्–‘अब त छोरा हुन्छ कि भन्ने आस नै मरिसक्यो ।’

छोरा नहुँदा गंगाका पति गगनले गत वर्ष मात्र अर्को बिहे गरे । छोराको आसमा ल्याएकी कान्छीले तीन–चार महिनामै छोडेर हिँडेपछि गगनको छोरा पाउने आस नै मरेको छ । ‘के गर्ने हजुर, वंश चलाउन छोरा हुनैपर्ने रहेछ, छोरा नभई मरिने भइयो’, गगनले भने ।

साँफेबगर नगरपालिका नवाठानाकी राधिका कुँवरले पनि छोरा पाउने आसमा ९ छोरीको जन्म दिईन् । उनको छोरा पाउने आशा १० औँ सन्तान जन्म दिँदा मात्र पूरा भएको छ । तर, धोको पूरा गर्ने सुरमा उनको जीवन नै अस्तव्यस्त भएको छ । ‘छोरा जन्मिन्छ भनेर आस गर्दा गर्दा नौ छोरी जन्मिए’, राधिकाले भनिन्, ‘एकातर्फ पटक–पटक गर्भवती हुनु र अर्कोतर्फ बालबच्चाको लालनपालन गर्दैमा जिन्दगी त बाँच्नु र मर्नुमा कुनै फरक भएन ।’

नन्देगडा–५ की ६ छोरीकी आमा बिन्द्रा लुहारको छोरा पाउने आशा अझै छ । वर्षेनी सन्तान जन्माइरहेकी लुहारलाई श्रीमानको धम्कीका कारण पनि छोरा जन्माउनैपर्ने बाध्यता छ । ‘कान्छी छोरी गर्भमै हुँदा भारत गएका श्रीमानले छोरा जन्मिए मात्र घर फर्किने बताएका छन्’, लुहारले भनिन्, ‘छोरा नहुँदा गाउँ समाजले पनि हेलाँ गर्न थालेका छन् ।’ उनका श्रीमान् दुई वर्षदेखि भारतमै छन् ।

मार्कुकी पारु बोगटी छोरा जन्मिएपनि बचाउन नसक्दा पीडित भइन् । उनले पहिलो सन्तान नै छोरा जन्माएकी थिइन् तर जन्मिएको तीन महिनामै उसको मृत्यु भएपछि खुशी पीडामा परिणत भयो । १० महिना गर्भमा र तीन महिना लालन पालन गरेको, घर परिवार सबैको खुसी बोकेको छोराको मृत्युपछि बोगटीका दुःखका दिन शुरु भए ।

बोगटीले छोराको आसमा दोस्रो सन्तानको जन्म दिइन्, तर दोस्रो सन्तान छोरी जन्मेपछि उनको चाहना पूरा हुन सकेन । छोराको आसमा उनले एकपछि अर्को गर्दै बच्चा पाउँदा १३ औं सन्तानको रुपमा उनले छोरालाई जन्म दिइन् । जन्माएका १३ सन्तानमध्ये उनका आठ छोरी बाँचे, तीन गर्भमै तुहिए र एक छोरा र छोरी जन्मेको केहि समयमा बिते ।

‘छोरी त जति भए‘नि बिहे गरेर अर्काको घर जाने हुन्, बुढेसकालको सहारा छोरा त चाहियो नि हजुर’, बोगटीका श्रीमान् नवराजले सुनाए । वंश चलाउन छोरा नभइ नहुने उनको भनाइ छ । करिव दुई–दुई वर्षको अन्तरालमा १० सन्तानलाई जिवितै जन्म दिएकी ४५ वर्षीया पारुको ज्यान सन्तान जन्माउँदैमा बित्यो ।

‘छोरी मात्र जन्माउँदा समाजले पनि हेलाँको नजरले हेर्ने र छोरा पाउने जेठानी, देउरानीको अगाडी जान आफंैलाई शरम लाग्ने गथ्र्यो’, उनले भनिन् । सबै भन्दा कान्छो सन्तानको रुपमा जन्मिएको छोरालाई सुमसुम्याउँदै भनिन्, ‘छोराको आसमा छोरी जन्माउँदा ज्यान नै खतम भैसक्यो ।’ छोरी मात्र जन्मिँदा कहिले त जीवनदेखिनै निराश भएकाे उनले सुनाइन् ।

पारु, गंगा, राधिका र बिन्द्रा प्रतिनिधी पात्र मात्र हुन् । वंश चल्ने परम्परालाई निरन्तरता दिन र समाजको अगाडि शिर ठाडो पारेर हिँड्नका लागि मात्र भए पनि छोरा हुनैपर्ने मान्यताका कारण पारु, गंगा, राधिका र बिन्द्रा जस्ता ग्रामीण महिला सन्तान जन्म दिने मेसिन बन्न बाध्य छन् । यसमाथि छोरा र छोरी जन्मनुमा श्रीमान्को वंशीय कारण हुनेमा अन्जान यी महिला छोरा नजन्मनुमा आफ्नै दोष देख्छन् । यस्तोमा, श्रीमानले दोस्रो बिहे गर्न समेत छुट पाउँछन् ।

‘पछिलो पुस्ताका पढेलेखेका मानिसले प्रायः गर्भ परीक्षण गरेर छोरा भए राख्ने र छोरी भए भ्रुण हत्या गर्ने क्रम बढेकाले कम सन्तान जन्मिएको देखिएको हो’, जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक झपट ढुंगानाले भने, ‘अशिक्षित र अघिल्लो पुस्ताका मानिसले भने छोरा नजन्मिएसम्म जतिपनि छोरी जन्माउने प्रचलन छ ।’

छोरा जन्माउने आशमा धेरै सन्तान जन्म दिँदा एकातर्फ महिलाको ज्यान नै जोखिममा हुने गर्दछ भने अर्कोतर्फ पोषिलो खानेकुराको अभावमा बच्चा कुपोषित हुने गरेको ढुंगानाले जानकारी दिए । महिलाले जति सन्तान जन्म दिएपनि घरधन्दा, मेलापात गर्नैपर्ने बाध्यताले महिलाको स्वास्थ्य निकै कमजोर हुने गरेको ढुंगानाले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: