आठ महिला सम्मानित


‘प्रेरणादायी महिलाहरु’ पुस्तक लोकार्पण

प्रकाशित मिति :2017-03-02 14:24:57

महिला खबर

 

काठमाडौं । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस नजिकिएको अवसरमा मोतीदेवी स्मृति केन्द्रले ८ जना महिलालाई सम्मान गरेको छ । श्रमिक महिलाको सम्मानमा ८ मार्चमा विश्वभरि नै महिला दिवस मनाइन्छ ।

बुधबार राजधानीमा एक कार्यक्रम गरी महिला आन्दोलनका अगुवा स्नेहलता श्रेष्ठ र एमाले उपाध्यक्ष एवं केन्द्रका अध्यक्ष अष्टलक्ष्मी शाक्यले महिलाहरुलाई सम्मान गर्नुभएको थियो ।

पुराना राजनीतिज्ञ, सफल उद्यमी, सामाजिक अभियन्ता, कलाकार तथा चित्रकार र निजामती सेवामा पहिलो दृष्टिविहिन शाखा अधिकृत र पत्रकारलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा अन्नपूर्ण कुँवर, चन्द्रकला बराल, शारदा चित्रकार, लक्ष्मी भुसाल, निर्मला आचार्य, कल्पना लिम्बु, नीरा अधिकारी र रिंकु ठाकुर हुनुहुन्छ ।

अन्नपूर्ण कुँवर

सन् १९६४ मा वीर अस्पतालको नर्सिङ सेवाबाट काम सुरु गर्नुभएका कुँवर नेपाली सेनामा प्रथम प्रशिक्षित महिला उप–सेनानी नर्स हुनुहुन्थ्यो । उहाँ पहिलो नेपाली महिला ‘प्यारासुट जम्पर’ पनि हुनुहुन्छ । केही नयाँ काम गर्न खोज्ने आँटिली उहाँले त्यतिबेलाको समाजमा पुरुष सेनाले मात्र गर्ने मानिने प्याराजम्प गरेर महिला पनि त्यस्तो काम गर्न सक्छन् भनेर देखाउनुभएको थियो ।

चन्द्रकला बराल

वि.सं २००६ सालमा कास्कीमा जन्मिनुभएका बराल सानैदेखि शिक्षासँगै राजनीतिक होमिनुभयो । यसैक्रममा २०४६ सालमा जेल परेपछि राजनीतिमा सक्रिय रुपले लाग्नुभएका बरालमा सानैदेखि समाजका लागि केही गरुँ भन्ने भावना थियो । परिवर्तन आफैंबाट शुरु गर्नुपर्छ भन्ने उहाँ हाल क्यान्सर रोगबाट पीडित पनि हुनुहुन्छ ।

लक्ष्मी भुसाल

वि.सं. २००८ मा काठमाडौंमा जन्मिएका भुसाल सानैदेखि कलाकारिता पेशामा प्रवेश गरेर अहिले ६५ वर्षको उमेरसम्म यसै क्षेत्रमा हुनुहुन्छ । रेडियोमा बोलेकै कारण घरबाट निकालिनु भएकी भुषाल पारिवारिक रुपमा एक्लो जीवन गुजारा गरिरहनुभएको छ । ५१ वर्षदेखि निरन्तर रेडियो नेपालमा एउटै कार्यक्रम गरिरहनु भएका उहाँ आफूले जानेको सीप सिक्न चाहनेलाई सिकाउन पनि चाहनुहुन्छ ।

शारदा चित्रकार

वि.सं. १९९८ सालमा काठमाडौंमा जन्मिनु भएका चित्रकारले अक्षर लेख्न सिक्नुभन्दा अघि नै चित्र बनाउन थाल्नुभएको थियो । उहाँले जीवनका अधिकांश समय कलम, कुची, रङ र पानीमै बिताउनु भएको छ । महिलाले घरभित्रको काम बाहेक केही गर्नुहुँदैन भन्ने समयमा उहाँले आफ्नै बुबाको प्रेरणाले चित्र बनाउन सिक्नु भएको थियो ।

कल्पना लिम्बु

वि.सं. २०१९ सालमा पाँचथरमा जन्मिनुभएका लिम्बु संघर्ष गर्दै सानैदेखि राजनीतिमा समेत सक्रिय हुनुहुन्थ्यो । उहाँले विगत एक दशकमा उद्यमीको पहिचान समेत बनाउनुभएको छ । ढाका कपडा उत्पादनमा सक्रिय लिम्बु ढाकालाई राष्ट्रको पहिचानसँग जोड्नुपर्छ भनेर लागिरहनु भएको छ । उहाँको उत्पादन गाउँदेखि अन्तर्राष्ट्रिय बजारमा समेत पुगिसकेका छन् । जीवन संघर्ष हो भन्ने उहाँ आफ्नो जीवनमा राजनीतिक, आर्थिक र सामाजिक जीवन सँगसँगै अघि बढिरहेको मान्नुहुन्छ ।

निर्मला आचार्य

नेपालको एक मात्र सरकारी समाचार एजेन्सी ‘राष्ट्रिय समाचार समिति’ (रासस) को महाप्रबन्धक पदसम्म पुग्न सफल निर्मलाले पत्रकारिता करिब साढे २ दशकअघि शुरु गर्नुभएको थियो । उहाँले संवाददाता, प्रमुख समाचारदाता, सम्पादक हुँदै डेढ वर्षभन्दा बढी समय महाप्रबन्धकको जिम्मेवारी पनि सम्हाल्नुभयो । उहाँ गत माघमा सेवा निवृत्त हुनुभएको थियो ।

नीरा अधिकारी

नेपालको निजामती सेवा इतिहासमा उहाँ पहिलो दष्टिविहिन शाखा अधिकृत हुनुहुन्छ । ८ वर्षको उमेरमा बिरामी भएर आँखाको ज्योति गुमेपछि उहाँ दष्टिविहिन हुनुभएको थियो । भौतिक आँखा गुमाए पनि भित्री आँखाको ज्योतिले उहाँलाई बलियो बन्न र जीवनलाई अगाडि बढाउन सहयोग पुर्यायो । उहाँ हाल महिला मन्त्रालय अन्तर्गतको महिला तथा बालबालिका विभागमा कार्यरत हुनुहुन्छ ।

रिंकु ठाकुर (लोहार)

वि.सं. २०५४ मा पर्साको वीरगञ्ज छपकैयामा जन्मिनु भएका ठाकुर बालविवाह र दाइजो प्रथाविरुद्धको अभियन्ता बन्न चाहनुहुन्छ । १८ वर्षकै उमेरमा घरपरिवारले विवाह गरिदिने निर्णय गरेपछि विवाह गर्न नमान्दा उहाँले घर नै छोड्नुपरेको थियो ।
उहाँ हाल काठमाडौंस्थित एक संस्थाको आवासगृहमा बस्नुहुन्छ । तराईमा दाइजो प्रथाविरुद्ध काम गर्न चाहने उहाँ हाल आफू बसिरहेको संस्थामा समस्या लिएर आएका महिलालाई सहयोग समेत गरिरहनुभएको छ ।

‘प्रेरणादायी महिलाहरु’ नामक पुस्तक लोकार्पण

विभिन्न क्षेत्रमा लामो समयदेखि लागिरहेका अगुवा महिलाको जीवनी समेटिएको ‘प्ररेणादायी महिलाहरु’ नामक पुस्तक पनि बुधबार सोही कार्यक्रममा लोकार्पण गरिएको छ । मोतीदेवी केन्द्रले हरेक वर्ष यसप्रकारको पुस्तक प्रकाशन गर्दै आएको छ । केन्द्रका अध्यक्ष अष्टलक्ष्मी शाक्यले विभिन्न क्षेत्रमा योगदान दिएका महिलाको जीवनबाट धेरै कुरा सिक्न सकिने बताउँदै नयाँ पुस्ताका लागि पुस्तक उपयोगी हुने बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: