श्रीमानहरु बाटोमै वेपत्ता भएपछि


प्रकाशित मिति :2017-03-06 15:57:36

प्रवासीका पीडा सम्बन्धि साँफेबगरमा आयोजित सार्वजनिक सुनुवाईमा महिलाहरु । तस्विर : शिवराज खत्री

शिवराज खत्री

अछाम । धन कमाउन भारत छिरेका श्रीमान् चार बर्षदेखि वेपत्ता भएपछि साँफेबगर नगरपालिका–९ का बसुन्धरा रावललाई घर ब्यवहार चलाउन साह्रै गाह्रो भएको छ । परिवारको लालनपालन गर्दै आएका श्रीमान् मीन बहादुर रावल बेपत्ता भएपछि बसुन्धरालाई श्रीमान गुमाउनुपरेको पिडा मात्र हैन, चार छोरा र दुई छोरीको जिम्मेबारीले पनि थिचेको छ ।

आयस्रोत केही नभएपछि उनले दुई छोरालाई पनि पढाई छुटाएर यसै बर्ष धन कमाउन भारत पठाएकी छन् । ‘श्रीमानको अत्तोपत्तो छैन, खोजी गर्नु भन्दा छाक टार्नलाई मुस्किल पर्यो, बसुन्धराले भनिन्– ‘चिन्ताले मर्नु न बाँच्नु भएकी छु ।’ मीनबहादुरले पटक–पटक गरी ४५ बर्षको उमेरसम्म करिब २० बर्ष भारतमा काम गरेर बिताए । पछिल्लो पटक वि.स.२०६८ साउन १७ गते घर फर्किदै छु भनेर फोन गरेका उनी अहिलेसम्म घर आइपुगेका छैनन् । ‘यताबाट निस्किए है भनेर फोन गर्नुभएको थियो आज सम्म घर पुग्नु भा छैन’ बसुन्धराले सुनाईन्–‘हामी बाटो हेर्दा हेर्दा थाकिसक्यौ ।’

साँफेबगरकै पदमादेबि कँुवरले पनि श्रीमान मनिराज वेपत्ता हुँदा घर व्यवहार चलाउन नसकेर जेठो छोरालाई कक्षा ८ को पढाई छुटाएर धन कमाउन भारत पठाएकी छन् । ‘पाँच छोराछोरी कसरी पालौँ । आयस्रोत छैन । अर्काको जग्गा अदिँया गरेपनि केही सिप लागेन ।’ आँखा रसिलो बनाउदै पदमादेविले दुःख पोखिन् । वेपत्ता श्रीमान ज्यूउदै छन् कि मरिसके भनेर धामी झाँक्रिलाई हेराउदा हेराउदा थाकि सकेको उनले सुनाईन् ।

अछाम सदरमुकाम मंगलसेनमा भारत कामका लागि जानेलाई बसमा बिदाई गर्दै महिला । 

बसुन्धरा र पदमाका श्रीमान जस्तै साँफेबगर नगरपालिका–२ लोलीकी तुल्छि बिकका श्रीमान तगत बिक पनि भारतबाट घर फर्किने क्रममा वेपत्ता भएका हुन् । २०६३ मा भारत छिरेका तगत ५ बर्षपछि २०६८ मा घर फर्किने बेला बाटोबाटै वेपत्ता भएको श्रीमति लोलीकीले बताइन् । धन कमाउने श्रीमान वेपत्ता भएपछि उनले दाउरा बेचेर छोराछोरीको लालनपालन गर्दै आएकी थिइन् । सामुदायिक बनले दाउरा काट्न पनि रोक लागएपछि उनी थप विच्चलीमा परेकी छन् ।

भारत गएर बेपत्ता भएका मीनबहादुर, तगत र मनिराजहरु त एक प्रतिनिधि पात्र मात्र हुन् । श्रीमती र छोराछोरीको आङ ढाक्नका लागि चाहिने एकसरो लुगा फाटो किन्न र घरखर्च चलाउने पैँसाको जोहो गर्नका लागि धन कमानउ भारत गएका धेरै अछामी बाटोबाटै बेपत्ता भएका छन् र अहिलेसम्म उनीहरुको अवस्था सार्वजनिक हुन सकेका छैनन् ।

हाल सम्म भारतमा कति अछामी युवाले अनाहकमै ज्यान गुमाए भन्ने एकिन तथ्यांक त कसैसँग छैन । यदापि साँफेबगर नगरपालिकाका ६१ जना भारत आवतजावतका क्रममा बाटोबाट वेपत्ता भएको प्रसावी संजाल अछामको तथ्यांक छ । संजालले साँफेबगरका प्रत्येक घरमै गएर तथ्याक संकलन गरेको जनाएको छ । संजालले ०५१ साल यताको बेपत्ता भएकाहरुको विवरण संकलन गरेको अध्यक्ष मिठ्ठु भाटले जानकारी दिनुभयो ।

संजालले तीन बर्ष पहिले वेपत्ता ६१ जनाको विस्तृत विवरण सहित खोजीका लागि पहल गरिदिन जिल्ला प्रशासन कार्यालय अछामलाई बुझाएको थियो । तर अहिलेसम्म राज्य स्तरबाट वेपत्ता नागरिकको खोजीका लागि ठोस पहल नभएको भाटले सुनाउनुभयो ।

किन पारिन्छ नेपालीलाई वेपत्ता

गरिबीका कारण श्रीमती र छोराछोरीको अङ ढाक्ने एकसरो लुगाफाटो जोहो गर्नैकै लागि यहाँका अधिकाशं पुरुषहरु कामको खोजीमा छिमेकी मुलुक भारत जाने परम्परा नै हो । खुल्ला सिमानाका कारणले बिना अनुमति, बिना योग्यता, उमेर, समय केहि नभए पनि कामका लागि भारत जान रोकावट छैन । त्यहाँ जाँदा, बस्दा र आउँदा बाटोमा नेपालीले भारतीय, प्रहरी, टाँगा, रिक्सा, बस, रेल तथा गुण्डाहरुबाट विभिन्न खाले दुःख भोग्नु पर्दछ ।

कोही धेरै पैँसा साथमै बोकेर ल्याएको निहुँमा, कोही धेरै सामान ल्याएको निहुँमा त केही परिचय खुल्ने कुनै प्रमाण साथमा नभएको निहुँ पारेर नेपालीलाई भारतमा बिभिन्न पक्षले दुःख दिने गर्दछ । ‘यो या त्यो बाहाना बनाएर नेपालीबाट जसरी पनि पैँसा झार्ने उद्देश्य त्यहाँका गुण्डादेखि प्रहरीसम्मको मिलेमतो हुन्छ’ मिठ्ठुले भन्नुभयो–‘भने जति पैँसा दिएन र बिबाद गर्न लागेमा कुटपिट गर्ने, वेपत्ता पार्ने र मार्नेसम्मको काम हुन्छ ।’

कतिपयले भारतका केहि ठाउँमा किड्नी निकालेर मानिसलाई फाल्ने गरिएको बताउछन् । किड्नी निकाल्ने काम गोद्रा नजिक धेरै हुने गरेको सुनेको भन्दै भाटले धेरै नेपालीहरु पनि त्यहि क्षेत्रमा वेपत्ता पारिएकाले आशंका व्यक्त गर्नुभयो । अछाम लगायत सुदूरपश्चिमका पहाडी जिल्लाका स्थानीयका लागि बैदेशिक रोजगारीको एक मुख्य गन्तव्य भारत हो । अछामका करिव ८० प्रतिशत पुरुष भारतमा काम गर्दै आएको अनुमान गरिन्छ । रोजगारका लागि भारतसँग निर्भर रहनुपर्ने अवस्था रहेपनि सरकारले बैदेशिक रोजगारको रुपमा कानुनी मान्यता दिएको छैन ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: