हिंसाबारे सचेत छैनन्ः अधिकृत तामाङ


प्रकाशित मिति :2017-03-10 20:51:35

सिरहा जिल्लामा महिलामाथि हुने हिंसा न्यूनिकरणका लागि सरकारी तथा गैरसरकारी क्षेत्रका विभिन्न संघसंस्थाहरु सक्रिय छन् । तर, महिलाहरु हिंसामा पर्ने क्रम राेकिएकाे छैन । यसको कारण र हिंसा पीडित महिलाका लागि महिला बालबालिका कार्यालयले गरिरहेका काम कारवाहीका सम्बन्धमा जिल्लास्थित महिला बालबालिका कार्यालयका महिला तथा बालबालिका अधिकृत अनिता तामाङसँग गरिएको कुराकानीको सम्पादित अंश ।

सिरहास्थित महिला बालबालिका कार्यालयका महिला तथा बालबालिका अधिकृत अनिता तामाङ

जिल्लामा महिला हिंसाका घटना अन्य जिल्लामा भन्दा बढी हुने गरेको बताइन्छ । यसको कारण के होला ।

हिंसाका घटना भएका छन् तर, संख्यामा धेरै देखिए पनि यो संख्या हिंसा बढेको भन्दा पनि बाहिर आएको भनेर बुझ्नुपर्छ । संख्यात्मक रुपमा बाहिर आएका घटनालाई हिंसा बढेको रुपमा लिनु गलत हुन्छ । किनकी यसरी बाहिर आउनु पनि सकरात्मक नै छ । हिजो सहेर यातना खपेर बस्थे, तर आज सहनु हँुदैन भन्ने चेतना भइसकेको छ ।

महिला बालबालिका कार्यालयले आर्थिक, सामाजिक सशक्तिकरण र लैङ्गिक हिंसा न्यूनिकरणका कार्यक्रम सँगै लगिरहेको छ । यहाँ दाइजो प्रथा छ । दाइजोले बाल विवाहलाई बढावा दिइरहेको अवस्था छ । घुम्टो प्रथाका कारण हुने हिंसा त्यस्तै छ । छोरालाई एक किसिमको शिक्षा, छोरीलाई अर्कै शिक्षा छ ।

त्यस्तै, वैदेशिक रोजगारीका कारण हिंसाका घटना बढेका छन् । महिलामा शिक्षाको अभाव छ । चरम गरिबी छ । गुणस्तरीय शिक्षा छैन । किशारीहरु बीचमै स्कुल छोड्न बाध्य छन् । हिंसा गाउँ र शहर दुवैमा भएपनि ग्रामीण महिलाहरु जो आर्थिक, सामाजिक र शैक्षिक रुपमा कमजोर हुनुहुन्छ, वहाँहरु बढी हिंसामा परी रहनु भएको छ ।

तर, हिंसाका घटनामा परिवर्तन नआएको भने होइन, हिंसाको स्वरुप नै व्यापक र वृहत भएर त्यस्तो नदेखिएको हो । हाम्रा सामाजिक मुल्य मान्यता समुदाय, सामाजिक बनोट पनि सिरहाको परिप्रेक्ष्यमा फरक छ । एकै जातजातिको बाहुल्य भएका गाउँहरु छन् तर, परिवर्तन विस्तारै देखिँदै छ । हामीले परिवर्तन साना साना कुराबाट हेर्नुपर्छ ।

जस्तो, हिजोसम्म घुम्टोले आधा शरीर ढाकेर बाहिरी दुनियाँ नै नहेर्ने महिला अहिले पुरुषसँगै बसेर छलफल गर्छन् । महिलाहरु आफ्ना कामहरु लिएर सरकारी कार्यालय आइरहेका छन् । हिंसा सहनुहुन्न भनेर न्यायिक निकाय धाउन थालेका छन् । घर परिवारले सजिलै नबनाईदिए महिला आफैं धाएर नागरिकता लिन थालेका छन् । महिला आफैंले आफ्नो पहिचान खोज्न थालेका छन् । यो परिवर्तन होइन र ? यीनै साना–साना कुरा हुन परिवर्तन भनेको ।

धेरै खालको समस्या भएको ठाउँमा हामीले तुरन्तै ठूलो परिवर्तन एकै पटक पाउन सक्दैनौं । हाम्रो उदेश्य महिलालाई आर्थिक रुपले सशक्त बनाउने हो । जब आर्थिक रुपमा सशक्त हुन्छ अथवा महिलाहरु आत्मनिर्भर हुन्छन्, उनीहरु हिंसा सहेर बस्दैनन् ।

हिंसामा परेका महिलाका लागि कार्यालयका कस्ता कार्यक्रम छन् ?

हिंसामा परेका महिलालाई लक्षित वर्ग बनाएर कार्यालयले अति विपन्न, शिक्षा नपाएका, आफैं लगानी गरेर आत्मनिर्भर हुन नसक्ने महिलालाई समूह, समिति र संस्था बनाएर आर्थिक र सामाजिक सशक्तिकरण गरिरहेको छ । हिंसामा परेका, घर परिवारले सहयोग नगरेका, हिंसा विरुद्ध निवेदन दिएपछि फर्केर जाने ठाउँ हुँदैन । त्यसैले उनीहरुको लागि काम गर्न सरकारी निकाय जिम्मेवार हुनुपर्छ ।

तर, सरकारी निकायको पहलबाट मात्र सम्भव छैन । हिंसाको प्रकृति र क्षेत्र वृहत भएकाले स्वयं व्यक्ति, सरकारी, गैरसरकारी निकाय, राजनीतिक दल, नागरिक समाज सबै जिम्मेवार बन्नुपर्छ । हिंसा सहेर बसेका महिलाले म पनि मानव हुँ । म माथि अन्याय भएका कुरा बाहिर ल्याउनु पर्छ । मेरो पनि मानव अधिकार छ भन्ने बुझ्न नसक्दा महिलामाथि हिंसा धेरै भएको छ । आफ्नै श्रीमानले त कुटेको हो नि भनेर चुप लाग्ने ।

कतिपय हिंसा प्रभावित महिलाहरुको कार्यालयसम्म आउने पहुँच छैन । उनीहरुको लागि के काम भइरहेको छ ?

पीडित महिलालाई हाम्रो पहुँचमा ल्याउन हामीले सक्दो प्रयास गरेका छौं । म एउटा महिला बालबालिका अधिकृतको नाताले हरेक संचारकर्मी, अधिकारकर्मी, गैरसरकारी संस्थाहरुका कार्यक्रमहरुमा जाँदा हाम्रा आर्थिक सामाजिक सशक्तिकरणका कार्यक्रमबारे जानकारी तल्लो तहसम्म पुर्याउनका लागि जानकारी गराउने गरेको छु ।

यसैगरि, कार्यालयका सबै गाविस नगरपालिकामा समूह समितिहरु छन्, त्यहाँबाट जानकारी गराएका छौं । स्थानीय संचार माध्यमबाट सूचना प्रवाह गरेका छौं । तर, अझै पनि सूचना तल्लो तहमा पुग्न सकेको छैन । यसको पनि कारण छ, शिक्षामा धेरै महिलाको पहुँच छैन ।
यस विषयमा हामी वृहत रुपमा निरन्तर काम गरिरहेका छौं । लैङ्गिक हिंसा निवारणको लागि आर्थिक सहयोगको कुरा गर्दा लैङ्गिक हिंसा कोष अन्तर्गत बीउ पुँजी उपलब्ध गराएर वहाँहरुलाई आत्म निर्भर बनाउने कार्यक्रम छ । यो सहयोगबाट हिंसामा परेका महिला फर्केर घर जान नसके पनि व्यवसाय गरेर आत्मनिर्भर हुन सक्छन् ।

कार्यक्रम लागू भएपछि एकल महिला कोष तरकारी खेती र व्यापार गर्न १० जनालाई बीउ पुँजी उपलब्ध गराएका छौं । त्यसैगरि, तीन जनालाई औषधी खर्च र एक जनालाई यातायात खर्च उपलब्ध गराएका छौं । लैङ्गिक हिंसा निवारण कोष अन्तर्गत व्यापार, व्यवसाय, तरकारी खेतीका लागि ६ जनालाई बीउ पुँजी तथा सहायता रकम उपलब्ध गराएका छौं । यो कोषबाट सात जना महिलाले औषधी उपचारका लागि आर्थिक सहयोग दिइएको छ ।

समुदायमा हिंसा नै नहोस् भन्ने उदेश्यले निगरानी समूह र समितिहरु मार्फत हामी हरेक गाविस र नगरपालिकामा पुगेका छौं । निगरानी समूहले हिंसा भैहाले गाविस स्तरमा समस्या सम्बोधन गर्ने र सम्बोधन गर्न नसकेका वा नमिल्ने समस्यालाई सम्बन्धित ठाँउमा पठाउने काम गरिरहेको छ । यसले गाविस, नगरपालिकाबाट सिफारिस बनाईदिने, सर्जमिन गरिदिने, हिंसामा परेका महिलालाई प्रहरी कार्यालयसम्म पुर्याउने काम गरिरहेको छ ।

त्यस्तै, महिलालाई आर्थिक, सामाजिक सशक्तिकरण गर्ने कार्यक्रम गरिरहेका छौं । हामीले हाम्रा समूह र समिति मार्फत महिलाहरुलाई विभिन्न सीप, क्षमता र नेतृत्व विकासको तालिम दिएका छौं।

निगरानी समूहले हिंसामा परेका महिलालाई तत्काल दिनुपर्ने सेवा, खाना–खाजा खर्च, आवास खर्च, औषधी उपचार खर्च लगायतका कुराको सिफारिस गरेर पठाउँछन् । यस्तै, समूहमा रहेका महिलालाई साना उद्योगतर्फ अभिपे्ररित गर्न अगरबत्ती, मैनबत्ती, साबुन, सरफ, चुरी लहठी, मुडा बनाउने, ब्यूटीपार्लर जस्ता तालिम प्रदान गरेका छौं । सहकारीका लागि सहयोग गरेका छौ । तरकारी खेती गर्न आर्थिक सहयोग गरेका छौं । यी सबै तल्लो तहका गाविस स्तरमा गरिने कार्यक्रम हुन् ।

तर, कार्यालयका कामहरु त्यति प्रभावकारी हुन सकेका देखिँदैनन् नी !

जसले हिंसा सहेर बसिरहेको छ उसले आफूमाथि हिंसा भइरहेको छ भन्ने नबुझेर र अर्को उनीहरुलाई विकल्प नभएर हो तर, यसो भन्दैमा प्रभावकारिता नै छैन भन्ने होइन । तर, हाम्रो प्रभावकारिता ठूला परियोजनामा छैनन् र शिक्षित अगुवाहरुसँग हामीले काम गर्ने होइन । हामीले समुदायमा सबभन्दा पछाडी परेका, हिंसा विरुद्ध आवाज उठाउँदा घरबाट बाहिर निकालिएका र जोखिममा परेका महिलाका लागि काम गर्ने हुँदा अपेक्षा गरे जस्तो प्रभावकारिता नहोला तर, परिवर्तन धेरै भएको छ ।

एउटा समुदायमा भएका राम्रा अभ्यासहरु नमुनाको रुपमा अन्य समुदायमा लान मिश्रित समाजको आवश्यकता हुँदो रहेछ । तर, यहाँ त्यस्तो समाज नभएकोले राम्रा अन्य समाजका राम्रा कुराहरु ल्याउन सकिएको छैन । त्यस्तै, स्थानीय महिलाको शिक्षामा पहुँच छैन । यसले गर्दा नागरिक सचेतनाका कार्यक्रम लैजान समस्या भएको छ ।

सरोकारवाला निकायहरु कसरी बढि प्रभावकारी हुन सक्छन् ?

स्थानीय निकायको हकमा भन्ने हो भने एउटा महिलाले विवाह दर्ता गर्नका लागि सिफारिस लिने ठाँउ गाविस र नगरपालिका हो । महिलाले विवाह दर्ता वा नागरिकता बनाउने जस्ता काम लिएर आएका छन् भने गाविसले सहयोग गर्नुपर्यो । यस्तो काम लिएर आउँदा प्रक्रिया पुगेको छ, छैन के हो बाटो देखाई दिनुपर्छ । प्रशासनिक कामलाई पनि सरल बनाउनुपर्छ।

त्यस्तै, हिंसा न्यूनिकरणका लागि राजनीतिक दलहरुको बढी भूमिका हुन्छ । उनीहरुको सबभन्दा बढी आवाज सुनिन्छ । उहाँहरुले पनि पीडित महिलाको बारेमा बोलिदिनुपर्यो । यस्तो भयो भने महिलालाई जिल्ला सम्म धाईराख्नु पर्दैन, गाउँबाटै समाधान हुन्छ । त्यस्तै छुवाछुत, जातिय विभेद बोक्सी आरोप, महिलामाथि लैङ्गिक विभेद आदि कानुनले वर्जित गरेका कुरा हुन् । यी मिथ्या कुरा हुन् भनेर पैरवी गरिदिनुपर्यो ।

नागरिक स्वयं सरोकारवाला हो । समुदाय, वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्र, सामुदायिक मेलमिलाप समितिहरु छन् । महिला बालबालिका कार्यालयका समूह, समिति छन् । विभिन्न एनजिओ, आइएनजिओ सबैले आफ्नो भूमिका खेल्नुपर्छ । यो कुरा घरबाट शुरु हुनुपर्छ । राजनीतिक दलको प्रतिनिधि वा बुझेको व्यक्तिबाट हुनुपर्छ । हाम्रा कार्यालयहरुबाट हुनुपर्छ । यसरी सबै सरोकारवाला निकायको एकै खालको बुझाई भयो भने व्यक्तिले सजिलै न्याय पाउन सक्छ ।

प्रस्तुतिः यमुना खनाल

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: