अधिकांशमा पोस्टपार्टम डिप्रेसन


प्रकाशित मिति :2017-03-18 07:15:14

मीना शर्मा

काठमाडौँ । २७ वर्षअघि कान्छी छोरी जन्मँदा पोस्टपार्टम डिप्रेसनको सिकार भएकी मेडिकल डाक्टर अरुणा उप्रेतीलाई आफ्नै समस्या थाहा पाउन तीन महिना लाग्यो । तीन महिनापछि औषधि सेवन गरेर निको भए पनि उनले आफ्ना समस्याबारे कसैलाई सुनाउन सकिनन् ।

सुत्केरी भएको केही दिनमा डा. उप्रेतीलाई कस्तो–कस्तो लागिरहने, रोऊँरोऊँ लाग्ने, जिउ थिलथिलो भएजस्तो थकाइ लागिरहने, कसैले केही बोल्यो कि रिस उठ्ने समस्या भयो । मानसिक रोग विशेषज्ञ श्रीमान् डा. विश्वबन्धु शर्माले ‘तिमीमा पोस्टपार्टम डिप्रेसनको लक्षण देखियो, केही समय औषधि खानुपर्छ भन्दा उनले ठूलै झगडा गर्नुप¥यो आफूलाई केही नभएको भन्दै ।

यस्तो समस्या भोग्दै बसेको करिब तीन महिनामा उप्रेतीले ‘टाइम’ म्यागजिनमा ‘पोस्टपार्टम डिप्रेसन’ बारेको रिपोर्ट पढेपछि भने आफूलाई समस्या भएको स्वीकार गरिन् । डा. उपे्रती भन्छिन्, ‘बच्चा जन्मिसकेपछि धेरै महिलामा यो समस्या आउँछ, तर पहिचान र उपचार नहुँदा अधिकांशले गम्भीर परिणाम भोग्नुपरिरहेको छ ।’ सुदूरपश्चिमका पहाडी गाउँमा स्वास्थ्य सुधारको कार्यक्रम लिएर पुगेपछि डा. उप्रेतीलाई अब यो समस्या बाहिर ल्याउनुपर्छ भन्ने लाग्यो । घर–घरमा सुत्केरीले भोगेको पीडा देखेपछि आफू खुलेर बाहिर नआए अरूलाई कसरी बाहिर निकाल्ने भन्ने सोचेर डा. उपे्रतीले अरूलाई पनि आफ्ना समस्या सुनाउँदै बाहिर आउन प्रेरणा दिन थालिन् ।

मानसिक समस्यालाई हेरिने सामाजिक दृष्टिकोण नकारात्मक भएकाले पनि आफूजस्ता बिरामी खुलेर बाहिर आउन नसकेको उनको बुझाइ छ । आफैं मेडिकल डाक्टर, श्रीमान् मानसिक रोग विशेषज्ञ यस्तो अवस्थामा पनि आफूलाई आफ्नो समस्या स्वीकार गर्न समय लागेजस्तै धेरै नेपालीको अवस्था पनि आफ्नोभन्दा फरक नरहेको उपे्रतीको बुझाइ छ । स्वास्थ्य कार्यक्रम लिएर आफू पुगेजति ठाउँमा पोस्टपार्टम डिपे्रसनबारे खुलेर कुरा गर्दै आएकी डा. उपे्रती भन्छिन, ‘२७ वर्षअघि यो समस्या स्वीकार गर्न मलाई जति कठिन थियो, आज पनि धेरै महिलाको अवस्था उस्तै छ ।’

बच्चा जन्मिएको २० दिनपछि खान मन नलाग्ने, रुन मन लाग्ने समस्या भोग्दै आएकी कपिलवस्तुकी रिमा (नाम परिवर्तन) विश्वकर्मालाई त झन् आफ्नो रोग पत्ता लगाउन ६ महिना लाग्यो । तेस्रोपटक छोरी जन्मेपछि परिवारका सदस्यले हेर्ने दृष्टिकोणमा परिवर्तन आएपछि उनलाई यो समस्या आएको हो । यसपटक त छोरा हुन्छ कि भनेर घरका सबैले आशा गरेको समयमा छोरी जन्मेपछि राम्रो स्याहार नगरेपछि आफ्नो तनाव बढेको विश्वकर्मा बताउछिन् । सुत्केरी भएको समयमा परिवारले दिएको पीडा सुनाउँदै विश्वकर्मा भन्छिन्, ‘यसपटक पनि छोरी जन्माइस् के खाना खान खोज्छेस्, अभागी रैछेस्, त्यो शब्दले मलाई मानसिक रोगी बनायो ।’ बच्चाको स्याहार नगर्ने, खाना नखाने, टोलाएर बस्ने गर्न थालेपछि उनलाई परिवारका सदस्यले अस्पताल पुर्याए ।

सुरुमा अस्पतालमा पनि उनको रोग पत्ता लागेन । खानामा गडबडी भएर यस्तो भएको होला भन्दै चिकित्सकले पनि खाना रुच्ने औषधि लेखिदिए । रोग बढ्दै जाँदा उनी फेरि अस्पताल त पुगिन्, तर परिवारको साथ नपाएपछि फेरि घर आइन् । चिकित्सकले बच्चा जन्मिएपछि लाग्ने पोस्टपार्टम डिपे्रसन हो भनेपछि सबैले मानसिक सन्तुलन ठीक छैन भन्दै नजिक पर्न डराए । त्यसपछि काखको बच्चा लिएर माइती गएकी उनी अहिले उपचारपछि निको त भइन्, तर पारिवारिक सम्बन्ध निको हुन सकेको छैन । हरेक दिन सुत्केरी हुने १० देखि २० प्रतिशत महिलामध्ये कसलाई यो समस्या हुन्छ केही पत्तो हुँदैन । परिवारमा राम्रो सम्बन्ध भएका महिलालाई पनि पोस्टपार्टम डिप्रेसन हुने भएकाले यो हिंसाका कारण मात्र हुन्छ भन्न मिल्दैन । तर, हिंसा पनि पोस्टपार्टम डिप्रेसनको मुख्य कारण भएको बताउँछन् मानसिक अस्पताल लगनखेलका प्रमुख कन्सल्टेन्ट तथा मानसिक रोग विशेषज्ञ डा. अनन्त अधिकारी ।

डा. अधिकारीले भनेजस्तै हिंसाकै कारण पोस्टपार्टम डिप्रेसनको सिकार भएकी रुद्रा भट्ट (नाम परिवर्तन) ले त डिप्रेसनकै कारण आत्महत्याको प्रयास गरिन् । दाइजोको कारण विवाहको दोस्रो दिनदेखि घरेलु हिंसा सहँदै आएकी भट्ट पहिलो बच्चा जन्मँदा पोस्टपार्टम डिप्रेसनको समस्यामा परिन् । पोस्टपार्टम डिप्रेसनका कारण आत्महत्याको प्रयास गरेकी भट्ट भन्छिन्, ‘दैनिक सहने हिंसाको असर यति धेरै परेछ कि त्यसले मलाई मानसिक अवस्थामा विक्षिप्त बनायो ।’ हिंसा नभोगेका सामान्य महिलालाई पनि पोस्टपार्टम डिप्रेसनको समस्या पर्ने भए पनि आफूले दोहोरो मार भोगेको उनको भनाइ छ ।

बच्चा जन्मिएको एक हप्तापछि रिस उठ्ने, बारम्बार पुरानो कुराको सम्झना आइरहने, बच्चा देख्दा रिस उठ्ने, निद्रा नलाग्ने, बच्चाको स्याहार नगर्नेजस्ता समस्या देखिएपछि उनलाई परिवारका सदस्यले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा पुर्याए । अस्पतालमा १५ दिन भर्ना भएर घर फर्कंदा उनका लागि घरको वातावरण झनै जटिल बन्यो । बिस्तारै समस्या कम भएर अस्पतालबाट फर्केको दिन सासूले भनेको तितो शब्दले अहिले पनि उनलाई भस्काउँछ । सासूले भनेको कुरा सम्झिँदै भट्ट भन्छिन्, ‘बरु क्यान्सर लागेको भए सहन सकिन्थ्यो, समाजका अगाडि के भन्ने होला हाम्रो इज्जत जाने भो भन्दै सासू कराएको भर्खरजस्तो लाग्दछ ।’ ०५७ मा बच्चा जन्मँदा सुरु भएको पीडाले उनलाई लामो समयसम्म खेदिरह्यो, अर्थात् अहिले उनले औषधि खान छोडेको नौ महिना मात्र भयो । बढीमा दुई वर्षसम्म रहने समस्या निको हुन उनलाई १५ वर्ष लाग्यो ।

भट्टको एउटा बच्चा भए पनि चार बच्चा जन्माउँन नपाउँदै गर्भपतन गराउनुपर्यो । बच्चा जन्माउने लाख कोसिस गर्दा पनि उनलाई परिवारका सदस्यले गर्भपतन गराउन बाध्य बनाए । आफ्नै स्याहार गर्न नसक्नेले कसरी बच्चाको स्याहार गर्छे भन्दै गर्भपतन गराउँन बाध्य बनाएको कुरा सम्झँदै उनी भन्छिन्, ‘जतिपटक गर्भपतन गराए त्यति नै पटक झन्झन् समस्या बल्झिँदै गयो ।’ बच्चा जन्मँदा मात्र नभएर गर्भपतन गर्दा पनि यो समस्या बल्झिरह्यो । दाइजो नल्याएकी बुहारी, त्यसमाथि डिपे्रसनको सिकार । परिवारका सदस्यले तनाव दिन कुनै कसर बाँकी राखेनन् । आफैँले मनोविमर्श पढेकाले भट्टले परिवारका सदस्यलाई धेरै सम्झाउने प्रयास त गरिन्, तर परिवारले उनको कुुनै कुरा सुनेन । अहिले सामान्य अवस्थामा रहेकी भट्टले गाउँगाउँमा पुगेर सुत्केरी आमाको अवस्थाबारे अध्ययन गर्न थालेकी छिन् ।

राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन सङ्गठन (कोसिस) का अध्यक्ष मातृका देवकोटा अहिले पनि मानसिक समस्या देखिएका महिलालाई उपचार गर्नुको साटो सडकमा छोडिदिने समस्या रहेको बताउँछन् । बच्चासहितका आमालाई सडकबाट उद्धार गरेर उपचार गरिरहेका देवकोटा ‘मारे पाप, पाले पुन्य’ भनेर विवाह गरिदिने नेपाली संस्कारको गहिरो प्रभाव महिला र उनका नवजात शिशुले भोग्नुपरेको बताउँछन् । सुरुको लक्षण देखिँदा बेवास्ता गर्ने र रोग बढ्दै जाँदा उपचारको साटो अपहेलना गर्नाले पनि महिलाले आत्महत्यासम्मको बाटो अपनाउन बाध्य भएको अध्यक्ष देवकोटाको तर्क छ ।

मानसिक रोग विशेषज्ञ डा. कपिलदेव उपाध्यायले उपचारपछि निको हुने भए पनि पोस्टपार्टम डिपे्रसनमा परेका महिलालाई परिवारको साथ पाउन निकै मुस्किल भएको बताए । डा. उपाध्यायका अनुसार बच्चा जन्मिएको दोस्रोदेखि चौथो दिनसम्म ‘पोस्टपार्टम बेबी ब्लुज’ देखिए पनि यो बिस्तारै हराएर जान्छ । यदि दुई हप्तासम्म हराएन भने समयमा अस्पताल लैजानुपर्छ । गर्भवती र सुत्केरी अवस्थामा हुने हर्मनको परिवर्तन, बच्चा जन्मिएपछि हुने तनाव, परिवारले सहयोग नगरेको अवस्थामा पोस्टपार्टम डिपे्रसनको समस्या आउँछ । यस्तो अवस्थामा निराशा लाग्ने, निद्रा नलाग्ने, खानामा अरुचि हुने, नकारात्मक सोच्ने, बच्चाको वास्ता नगर्ने, शरीरमा शक्ति नै छैन कि जस्तो लाग्नेजस्ता लक्षण देखिन्छन् । यस्तो अवस्थामा रोग निको पार्नलाई डाक्टरी उपचारसँगै पारिवारिक सहयोग आवश्यक हुन्छ । बच्चा र आमाको सबैभन्दा राम्रो सम्बन्ध विस्तार हुने समय बच्चा जन्मिसकेपछि दूध खुवाउने समय हो, तर यही समयमा आमा बिरामी भएर स्तनपान गराउन सकिनन् भने दुवैलाई समस्या हुन्छ ।

मानसिक अस्पताल लगनखेलका प्रमुख कन्सल्टेन्ट डा. अनन्त अधिकारी मानसिक रोग लाग्यो भने अहिले पनि घरमा थुनेर राख्ने चलन कायमै रहेको बताउँछन् । यसो गर्दा बिरामी निराशाले भरिएको पीडादायी जीवन बाँचिरहेका हुन्छन् । अन्धविश्वासले गर्दा अहिले पनि धेरै परिवार अस्पताल जानुको साटो धामीको भर परेका हुन्छन् । धामीझाँक्रीलाई बोका, कुखुरा, पैसा चढाएर अन्तिममा अस्पताल पुग्दा बिरामी बेखर्ची भएका धेरै उदाहरण छन् । यो समस्याको कारण सामाजिक, आर्थिक, सांस्कृतिक, जैविक साथसाथै पोषणसँग पनि जोडिएको हुन्छ । पोस्टपार्टम डिपे्रसनको उपचार गर्दा विवाह गरेर नयाँ परिवारमा प्रवेश गरेको दिनदेखिको अवस्था अध्ययन गर्नुपर्छ ।

अनिच्छित गर्भ रहेका, पहिला डिपे्रसन भएका, गर्भपतन गराएका, अपे्रसन गरिएकालाई यो समस्या देखिन्छ । कतिपय महिलालाई कहिलेकाहीँ (संस्कारजन्य बोझ, इच्छा विपरीत बच्चा जन्माउनुपर्ने, छोरी जन्मँदा तिरस्कार हुनुपर्ने), अपाङ्ग बच्चा जन्मँदा, बच्चाको मृत्यु भएका कारणले पनि डिप्रेसन हुने गरेको पाइएको छ ।

(सञ्चारिका फिचर सेवा)

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: