नाम मात्रको महिला सहभागिता


प्रकाशित मिति :2017-03-20 13:59:24

अप्रिल अधिकारी

कानुनी रुपमा महिला उपस्थिति सुनिश्चित गरिएकोले कागजी रुपमा पनि त्यसलाई पूर्णता दिइएको पाइन्छ तर, उनीहरुको सिकाइको स्तर भने उठ्न सकेको छैन ।

जिविस कार्यालय बाहिर बसेका महिला । सबै तस्वीरः अप्रिल अधिकारी

रामेछाप । जिल्ला विकास समितिमा भेटिएकी रामेछाप नगरपालिकाकी बच्चु माया तामाङले आफू त्यहाँ आउनुको कारण खुलाउन सकिनन् । उनले मुश्किलले मन्दिर निर्माणका लागि पैसा लिन आएको बताइन् तर, निकासा भएको बजेटबारे सोध्दा केहि भन्न सकिनन् । उनी आफूसँगै आएका टाठा बाठा पुरुषहरुको पछि लाग्दै जता सहि गर भन्यो त्यतै सहि गर्दै काम सकेर हिँडिन् ।

मन्थली नगरपालिका पुराना गाउँकी नरी माया थापा मगर चिसापानी–पुरानगाउँ–थानापति मन्दिर सडक उपभोक्ता समितिकी अध्यक्ष छिन् । उनलाई योजनाका बारेमा सामान्य केही जानकारी छ तर, समितिमा उनको भूमिका छैन । उनले अध्यक्षको हैसियतले गर्ने काम समितिका अन्य पुरुषले गर्दै आएका छन् ।

जिविसमा गाउँका पुरुषहरुसँगै योजना सम्झौता गर्न आएकी दोरम्बा गाउँपालिका डडुवाकी गोमा लामाले सो योजनाको बारेमा खासै जानकारी नभएको जनाइन् । जिविस परिसरमै भेटिएकी जिल्लाको दुर्गम मानिने गोश्वाराकी नम्रता तामाङले पनि आफ्नो नाम उल्लेख भएको ठाउँमा हस्ताक्षर गरिन् र बाहिर निस्किन् । उनलाई पनि योजनाबारे विस्तृत जानकारी थिएन ।

काम कतिबेला सकिएला र हिँडौला भनेर कुरी बसेका महिला ।

जिल्लामा सञ्चालित विभिन्न कार्यक्रमहरुमा सहभागी धेरै महिलाको अवस्था यस्तै देखिन्छ । जिविसमा काम लिएर आउने महिलाको संख्या उल्लेख्य बढेको देखिएपनि धेरै महिला आफू त्यहाँ आउनुको उदेश्यबारे अनभिज्ञ देखिन्छन् । महिलालाई संख्यामा देखाउने प्रवृतिले जिल्लामा भित्रिएका योजनामा उनीहरुको सक्रिय सहभागिता नदेखिएको हो । यहिकारण, जिविसमा योजना सम्झौता गर्न आउने महिलाको संख्या भन्दा पुरुषको संख्या नै बढी रहने गरेको छ ।

अरु त अरु, उपभोक्ता समितिको मुख्य तीन पदमा बसेर सदरमुकाम सम्म कामका लागि आएका महिलालाई समेत योजना, संचालन प्रक्रिया र कुन निकायमा कसरी काम हुन्छ भन्ने कुराको सामान्य जानकारी समेत हुनसक्ने अवस्था देखिँदैन ।

सहभागिताको हिसाबमा पहिलाको तुलनामा महिलाको संख्या सबैजसो योजना र कार्यक्रममा देखिएपनि यसलाई नै उपलब्धी मानेर बस्न सकिने अवस्था नभएको समितिका प्रशासन तथा लेखा सहायक दिलकुमार मानन्धर बताउँछन् । उनका अनुसार कानुनी रुपमा गरिएको व्यवस्था कार्यान्वयन भएपनि महिलाहरुमा खासै परिवर्तन भने आउन सकेको छैन ।

‘महिलाहरु कार्यालय बाहिर बसेका हुन्छन्, भित्र सबै काम सकेर पुरुषहरुले सहि गर्न मात्र महिलालाई बोलाउने गरेको देखिन्छ । महिलाको सक्रियता देखिन्न’, उनी भन्छन् ।

कानुनी रुपमा महिला उपस्थिति सुनिश्चित गरिएकोले कागजी रुपमा पनि त्यसलाई पूर्णता दिइएको पाइन्छ तर, उनीहरुको सिकाइको स्तर भने उठ्न सकेको छैन । जिल्लामा गठित विभिन्न समितिहरुमा महिलाले गर्ने काम जति टाठाबाठा पुरुषहरुले गरिदिँदा कार्यक्रम सञ्चालनमा सहज भएपनि सिकाइको हिसाबमा महिलाहरु निकै पछि परेका छन् । धेरै महिलालाई कामको सामान्य प्रक्रिया र विधिको जानकारी समेत बुझ्न मुस्किल देखिन्छ । जिल्लाका धेरै कार्यालयहरुको काम उपभोक्ता समितिबाट नै हुने गर्दछ तर तिनै उपभोक्ता समितिमा महिलाको सिकाइ सहितको सहभागिता भने दयनीय देखिन्छ ।

जिल्ला विकास समितिमा विभिन्न काम लिएर गएका पुरुषहरु ।

महिला सशक्तिकरणका कुरा व्यापक उठिरहेको र यसका लागि सरकारी तथा गैरसरकारी क्षेत्रका विभिन्न कार्यक्रममा प्रशस्तै खर्च भएका छन् । तर, महिला सहभागिता सरकारी तथा गैरसरकारी तवरले सञ्चालित सबैजसो कार्यक्रममा औपचारिकतामा सिमित बने जतिकै देखिन्छ ।

खासगरि, सरकारले विकास निर्माणसँग सम्बन्धित रहेर बन्ने उपभोक्ता समितिहरुको मुख्य ३ पद (अध्यक्ष, सचिव र कोषाध्यक्ष) मध्ये एक महिला अनिवार्य हुनुपर्ने कानुनी प्रावधान अनुरुप औपचारिकता प्रदान गर्नका लागि मात्र त्यस्ता समितिहरुमा महिला सहभागिता बढाइएको देखिन्छ । कानुनी व्यवस्था अनुसार नजाँदा समितीका कार्यक्रमको स्वीकृतीदेखि हरेक काम प्रभावित हुने हुँदा महिलालाई औपचारिक रुपमा भएपनि ल्याउनैपर्ने बाध्यता देखिन्छ ।

यसले उपभोक्ता समितिहरु समावेशी बनेपनि महिलाको सक्रियता बढेको देखिँदैन । समितिमा पुरुषकै सक्रियता बढि हुने हुँदा पुरुषकै हालीमुहाली हुने र महिलाले सहभागितामै चित्त बुझाउनु परेको देखिन्छ । यो हिसाबले कानुनी प्रक्रिया र व्यवस्थालाई मात्र अनुसरण गर्दै संचालन हुने योजनाहरुबाट व्यवहारिक रुपमा लाभ पाउन महिलालाई अझै निकै समय लाग्ने देखिन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: