नागरिकताको जटिलता


प्रकाशित मिति :2017-03-25 08:21:22

देविका घर्तीमगर

काठमाडौँ । मकवानपुरकी सुकुमाया लामा वाइबा १२ वर्षको उमेरमा बेचबिखनमा परिन् । बेचबिखनमा परेर सर्कसमा पु¥याइएकी सुकुमायाको सर्कसमै जबर्जस्ती भारतीय नागरिकसँग विवाह भयो । दुई सन्तान भएपछि श्रीमान्को मृत्यु भयो । श्रीमान्को मृत्यु भएपछि १२ वर्षसम्म काम गरेको सर्कसमा पनि उनलाई सहयोग भएन । त्यसपछि उनी दुई बच्चा बोकेर आफ्नो जन्मभूमि नेपाल फर्किइन् ।

सुकुमायाले नेपाल आएर म नेपाली छोरी हुँ भनेर नेपालको नागरिकता पाउँ भन्दै प्रशासनमा निवेदन दिइन् । तर, विदेशीसँग विवाह भएकाले नागरिकता दिन नमिल्ने भन्दै उनलाई फर्काइयो । चार वर्ष भयो, सुकुमायाले नागरिकताका लागि मकवानपुरमा हारगुहार गर्न थालेको । उनका दुई सन्तानमध्ये जेठी छोरीले गत वर्ष कक्षा ८ को जाँच दिँदा निकै दुःख पाइन् । बल्लतल्ल विद्यालयले मिलाइदिएपछि अहिले कक्षा नौमा पढिरहेकी छिन् । म मकवानपुरका कान्छाराम वाइबाकी छोरी हुँ भनेर गाउँ, वडाबाट सिफारिस दिइसकेको छ, तर गाविसमा रोकिएको छ । प्रशासनमा गृह वा सर्वोच्चमा मुद्दा दायर गर्न भनिएको सुकुमायाले बताइन् । ‘म नेपाली छोरी हुँ । मेरो जन्मदर्ता, नागरिकता केही छैन । मलाई बाँच्ने आधार चाहियो,’ उनले भनिन् । श्रीमान्को मृत्यु भएपछि सर्कसमालिक र उनकै घरकाले पनि साथ नदिएपछि उनी नेपाल आएकी हुन् । भनिन्, ‘म नेपालमा जन्मेँ, यहाँ  नआएर कहाँ जाऊँ ?’

कास्कीका सुरज हजारेका बाबु पनि भारतबाटै नेपाल आए र नेपाली महिलासँग प्रेमविवाह गरी यतै बसे । तर, उनको बुवाको अहिले मृत्यु भइसक्यो । आमासँग वंशजको नागरिकता छ । सुरज नेपालमै जन्मिए, यतै हुर्के, पढे, लेखे । अहिले उनी नागरिकताका लागि भौँतारिरहेका छन् । ‘म नेपालमै जन्मेँ, हुर्केँ र बढेँ । मेरी आमा नेपाली, तर मैले अहिलेसम्म नागरिकता पाएको छैन । म वंशज कि अंगीकृत ?’ उनले प्रश्न गरे, ‘मसँग नागरिकता होस् या नहोस् म यहीँ जन्मिएँ, त्यसैले यहीँ नै मर्छु । तर, विदेशबाट बिहे गरेर ल्याएकी बुहारीले तुरुन्तै नागरिकता पाउने । अनि हामी नेपालमै जन्मेका नेपाली आमाका सन्तानले चाहिँ नागरिकता नपाउने ?’
महोत्तरीका अर्जुन साहको तीन पुस्ता नेपालमै बस्दै आयो । तर, अहिलेसम्म बाबुबाजे कसैको नागरिकता नहुँदा उनी पनि नागरिकताबाट बन्चित भएका छन् ।

उनले आमाको नामबाट नागरिकता पाऊँ भन्दै सर्वोच्चमा मुद्दा नै दायर गर्नुप¥यो । नागरिकताका लागि अनेक सास्ती खेपिरहेका अर्जुन गाविससचिवले सिफारिस दिए पनि जिल्ला प्रशासन कार्यालयबाट ऐन बनेपछि मात्र नागरिकता दिने भन्ने उत्तर पाएपछि फर्के । ‘मधेसवादी दलहरू विदेशी बुहारीका पक्षमा आवाज उठाउँछन् । नेपाली आमाबाट जन्मेकाले नागरिकता नपाएको कुरा किन बोल्दैनन् ?’ उनले भने । २०६८ सालको जनगणना र जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिनेहरूको तथ्याङ्कलाई आधार मानेर नेपाल कानुन र विकास मञ्चले नागरिकता प्रमाणपत्र नभएका व्यक्तिहरूको अनुमानसम्बन्धी नेपालमा गरेको अध्ययनले २०६८ असार मसान्तसम्म १६ वर्षमाथिका उमेर समूहका कुल जनसङ्ख्यामध्ये २३.६५ प्रतिशत जनसङ्ख्यासँग नागरिकता छैन । जो ४३ लाख ४६ हजार ४६ जनसङ्ख्या हो । अध्ययनअनुसार २०६८ सालमा ४३ लाख ४६ हजार ४, २०६९ सालमा ४८ लाख ९२ हजार पाँच सय ३०, २०७० सालमा ४४ लाख २७ हजार २९ र २०७१ सालमा ४६ लाख ७७ हजार ५३ जना १६ वर्षभन्दा माथिका उमेर समूहसँग नागरिकता छैन । तर, नेपालको संविधान २०७२ को धारा १० मा कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिनेछैन भनी उल्लेख गरिएको छ ।

अधिकारका सन्दर्भमा नेपाली महिला र पुरुष बराबरी हो कि होइन भन्ने प्रश्न बारम्बार उठ्ने गर्छ । नागरिक शब्दको आफैँमा कुनै लिङ्ग हँुदैन, तर यसको कार्यान्वयनको विषय आउँदा भने पुरुष नागरिक हो कि महिला नागरिक भन्ने सवाल बारम्बार उठ्ने गर्छ । नेपाली महिलाको नामबाट नागरिकता दिँदा राष्ट्रियता जाने, तर नेपालको राष्ट्रियता नै छाडेर विदेश गएर बसेको बाबुको पर्खाइमा रहनु भनेको विडम्बना भएको महिला कानुन र विकास मञ्चका निर्देशक अधिवक्ता सविन श्रेष्ठ बताउँछन् ।

हामीले राष्ट्रगानदेखि मातृभूमि नेपाल भनेर सदियौँदेखि गाउँदै आएका छौँ । तर, नागरिकताको सन्दर्भमा पितृभूमि नेपाल भन्नुपर्ने अवस्थाजस्तै छ । साँच्चिकै मातृभूमि भए आमाको वंशजको पनि त मान्यता दिनुपर्ने अधिवक्ता मीरा ढुङ्गाना बताउँछिन् । नेपाल आमाको सन्तान नेपाली हुने, तर नेपाली आमाको सन्तान किन नेपाली नहुने ? नेपाल आमाको सन्तान नेपाली हुन्छ भने नेपाली आमाको सन्तान पनि त नेपाली हुनुप¥योे नि । अधिवक्ता श्रेष्ठले भने, ‘नयाँ संविधानमा महिलाका नाममा नागरिकता दिँदा विगतभन्दा अहिले अलिकति सकारात्मक व्यवस्था गरिएका छन् ।’

आज पनि नेपालको संविधानले महिला र पुरुषलाई समान नागरिक मानेन । पुरुष स्वतन्त्र नागरिक जसले आफ्नो सन्तान र पत्नीलाई पनि नागरिकता दिन सक्छ, तर महिला परनिर्भर नागरिक जसले न त सन्तानलाई स्वतन्त्र रूपले नागरिकता दिन सक्छे, पतिलाई त झन् दिन सक्ने कुरै भएन । देशमा नेपाली महिला र नेपाली पुरुष समान छन् भनेर स्थापित भएपछि मात्र समानताको अधिकारको कुरा स्थापित हुन सक्ने श्रेष्ठको भनाइ छ । नागरिकताको कुरा गर्दा खुला सिमानाको कुरा सँगसँगै उठ्ने गरेको छ ।

तर, विषय खुला सिमानाको नभएर खुला सोचको भएको उनले बताए । एउटा अङ्गीकृत बाबुले आफ्नो सन्तानलाई सजिलै नागरिकता दिन सक्छ, किनभने ऊ पुरुष हो । तर, एउटा वंशजको आमा जसले आफ्नो सन्तानलाई नागरिकता दिन सक्दिन किनभने ऊ महिला हो । अङ्गीकृतले यो देशको प्रमुख स्थान हासिल ग¥यो भने हाम्रो राष्ट्रियता नै खतरामा पर्छ भनिरहेका छौँ । तर, एउटा वंशजको महिलाले आफ्नो सन्तानलाई नागरिकता दिन सक्दिनन् । तर, अङ्गीकृत पुरुषले दिन सकेको छ । राष्ट्रियताको परिभाषा राष्ट्रियता नै हो कि पितृसत्ता हो भनेर सोच्नुपर्ने बेला आएको अधिवक्ता ढुङ्गाना बताउँछिन् ।
(सञ्चारिका फिचर सेवा)

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: