मेलमिलाप नै प्राथमिकतामाः प्रनाउ कार्की


प्रकाशित मिति :2017-03-27 16:16:57

रविन कार्की, प्रहरी नायव उपरीक्षक, जिल्ला प्रहरी कार्यालय दोलखा

जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार जिल्लामा महिला हिंसा र घरेलु हिंसाका घटना बढेका छन् । कार्यालयका अनुसार आर्थिक वर्ष ०७० /०७१ मा ५ वटा, ०७२ /०७३ मा १४ वटा र ०७३ /०७४ को हालसम्म ५ वटा बलात्कारका घटना दर्ता भएका छन् । यसैगरि, आर्थिक वर्ष ०७१ /०७२ मा ८५ वटा घरेलु हिंसाको मुद्दा दर्ता भएकोमा ०७२ /०७३ मा १०१ वटा र ०७३ /०७४ को हालसम्ममा ३४ वटा मुद्दा दर्ता भएका छन् । यसै सन्दर्भमा, जिल्लामा घरेलु हिंसा नियन्त्रणमा प्रहरीको भूमिकाबारे कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक रविन कार्कीसँग महिला खबरले गरेको कुराकानी संक्षेपमा–

भूकम्पपछि महिला हिंसाका घटना वृद्धि भएको देखिन्छ, किन होला?

हो, तपाईले भने जस्तै भूकम्पपछि तथ्याङ्कहरुले जिल्लामा हिंसाका घटना बढेको देखाएको छ । यसलाई प्रभाव पार्ने धेरै आधार छन् । यी मध्ये चेतना स्तर चाँहि मुख्य हो । तुलनात्मक रुपमा पछिल्लो समय घटना भएपछि उजुरी गर्ने पद्धति बढेको छ । पहिले घटना भएपनि जानकारीमा आउँदैन थियो । तर, अहिले न्याय माग्न आउने क्रम बढेको छ । उजुरी गर्नुपर्छ, र न्यायको पहुँचमा पुग्नुपर्छ भनेर उजुरी बढेको हो । भूकम्पपछि हाम्रो सामाजिक, आर्थिक जनजीवन प्रभावित छ । यसकारण पनि हिंसाका घटना बढेको हुनसक्छ ।

यसैगरि, जिल्लामा व्याप्त अशिक्षा, आर्थिक विपन्नता, कानुनको अनभिज्ञता, बेरोजगारी, जातिय परम्परा, कुसंस्कार, पितृसत्ता आदी पनि हिंसा बढाउने कारणमा पर्छन् । धेरैजसो जिल्लाका ग्रामीण भेगमा यस्ता घटना बढी हुने गरेका छन् ।

पीडित महिला प्रहरीमा स्वयं उपस्थित भई उजुरी गर्ने अवस्था छ कि छैन ?

जिल्ला प्रहरी कार्यालय अन्तर्गतका प्रहरी कार्यालयहरुमा समेत महिला स्वयं उपस्थित भई उजुरी दिन सक्दछन तर, जिल्लामा महिला प्रहरीको अभाव रहेकाले सबै ठाँउमा गुनासो राम्रोसँग पोख्न भने पीडित महिलालाई गाह्रो छ । जिल्ला प्रहरी कार्यालय दोलखामा भने महिला तथा बालबालिका सेवा केन्द्र रहेकाले पीडित महिलाले आफ्नो कुरा राख्न सक्छन् ।

महिला हिंसाका अधिकाशं घटना मिलापत्रमा टुङ्गिने गरेको र त्यस्तोमा प्रहरीले नै पीडित महिलालाई मिलापत्रका लागि दबाब दिने गरेको आरोप छ नी ?

महिला हिंसाका घटनाहरु प्रायः श्रीमान् र श्रीमती बीच र घरभित्र नै हुने कारणले प्रहरीको चाहना पनि घर विगार्ने भन्दा मेलमिलाप होस भन्ने नै हुन्छ । कानुनले पनि मेलमिलापलाई नै प्राथमिकतामा राखेको छ । कुनै कुनै महिला हिंसाका घटना दुवै पक्षको मञ्जुरीमा मिलापत्र हुने गरेका छन् । यसरी मिलापत्र गर्दा मेलमिलापको अवधारणा अनुसार दुवै पक्षलाई उचित हुने देखिएमा मात्र मिलापत्र गर्ने गरिएको छ । कुनै पक्षलाई पनि मिलापत्रका लागि दबाब दिन मिल्दैन र जघन्य प्रकृतिका कुनै पनि महिला हिंसाका घटनामा कानुनी कार्वाही मात्र हुन्छ । महिला हिंसा र घरेलु हिंसा एकै हो कि भनेर बुझ्दा यस्तो समस्या देखिएको हो ।

तर, प्रहरीमा दर्ता भएका उजुरीको तुलनामा जिल्ला अदातलमा निकै कम उजुरी पुग्छन् नी !

मुख्य कुरा सबै उजुरी अदालतमा पुग्नुपर्छ भन्ने होइन । घटनाको प्रकृतिको आधारमा अदालतसम्म पुग्ने हो । जुन घटना जघन्य छ, त्यस्ता घटना कुनै कसुरमा पनि अदालत पुग्छन् नै । सामान्यत विचारमा वैमन्यस्य भई हुने घरेलु हिंसा, वादविवादका सबै घटना अदालन नपुग्न सक्छन् । अति सामान्य प्रकृतिका घटना सम्वन्धित निकायमा आएपछि दुवै पक्ष वसेर पीडितको समस्या विश्लेषण गरी दुवै पक्ष सहमत भएको खण्डमा मिलापत्र हुन्छ, यस्तो अवस्थामा उजुरी अदालत पुग्नु पर्दैन । गम्भीर प्रकृतिका घटना सबै अदालत पुग्छन् । घरेलु हिंसाकै कुरा गर्दा यस सम्बन्धी घटना कमै मात्र अदालत पुग्ने गरेको तथ्याङ्क छ । यसको कारण दुवै पक्षको सहमति हो । मेलमिलाप नै हो ।

मिलापत्र गराँउदा पीडितले न्याय पाउँछन् त?

मिलापत्र न्याय निरुपणकै पाटो हो । मिलापत्र हुँदा अन्याय हुने भन्ने होईन । यसको पनि विधी, प्रकृया हुन्छन् । दुवै पक्ष बसी विचार विमर्श गरी, अवसर, क्षति सबै कुराहरु विश्लेषण गरी मिलापत्र हुने गर्छ । मिलापत्र गर्दा पीडितले न्याय पाउने र दुवै पक्ष प्रष्ट हुन्छन् ।

महिला हिंसाका घटना प्राय ढिलो गरी प्रहरीमा पुग्ने गरेको देखिन्छ, यसमा के भन्नुहुन्छ?  

महिलाहरुलाई कस्तो केसमा उजुरी गर्ने भन्ने जानकारी नहुनु, पारिवारीक सम्बन्ध बिग्रने डर, पारिवारिक दवाब आदी कारणले प्रहरीकोमा ढिला आएका हुन् । तर, हालका दिनमा महिला शसक्तिकरणका कार्यक्रम, महिला तथा बालबालका सम्बन्धी प्रहरी लगायत सरकारी तथा गैर सरकारी संघसंस्थाद्धारा संचालित विभिन्न कार्यक्रमका माध्यमले पीडित महिलाहरु आफैं वा अरु मार्फत उजुरी गर्ने प्रवृति बढेको छ ।

पीडित महिलाले कानुनी र व्यवहारिक रुपमा न्याय पाउन सकेका छन् त ?

कानुनले निर्दिष्ट गरेका हदमा न्याय पाएपनि अझै धेरैजसो पीडित महिलाले व्यवहारिक रुपमा न्याय पाउन सकेको जस्तो मलाई लाग्दैन । सामाजिक परिवेश, रहनसहन र सामाजिक व्यवहारले यसलाई असर पार्छ ।

अन्तिममा, घरेलु हिसांको कारक मान्दै घरेलु मदिरा नियन्त्रण अभियान सुरु गर्नु भएको छ, यसमा कतिको सफलता मिलेको छ ?

नेपालमा हुने घटनामध्ये ८० प्रतिशत मदिरा सेवनको कारणले हुन्छ भन्ने केन्द्रीय सर्वेक्षण छ । घरेलु मदिरालाई कानुनले अवैद्य मानेको छ । त्यसैले विगतमा पनि घरेलु मदिरा नियन्त्रणको कार्य भएका छन् । तर, अहिले हामी जिल्लालाई घरेलु मदिरा निषेधित गर्ने अभियानमा लागेका छौं ।

अभियानलाई निरन्तरता दिन प्रत्येक महिनाको १० गते आमा समूह, महिला समूह लगायतका सरोकारवाला विभिन्न निकायसँग छलफल तथा शान्ति सुरक्षाको विषयमा छलफल हुने गर्छ । घरेलु मदिरा, जुवा तास नियन्त्रणको यो अभियानमा अपेक्षा अनुसार सफलता हासिल गर्न नसकिए पनि नियन्त्रणको संजालले व्यापकता पाउँदै छ ।

प्रस्तुतिः सर्मिला बुढाथोकी /दोलखा

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: