मोफसलमा जमेका पत्रकार महिला


प्रकाशित मिति :2017-03-29 12:21:23

पत्रकारिता गर्दै आफ्नो पहिचान बनाउन सफल लमजुङका पत्रकार महिला सामाजिक र व्यवसायिक चुनौतीलाई चिर्दै अघि बढेका देखिन्छन्। 

बेलिना थापा

कमला केसी

लमजुङ । जिल्लामा पत्रकारिता गर्ने पत्रकार महिलाको नाम लिँदा धेरैले लिने नाम हो, कमला केसी । केसी (४८) लमजुङ जागरण साप्ताहिकका सम्पादक तथा प्रकाशक हुन् । स्नातकसम्म अध्ययन गरेकी केसी जिल्लामै आफ्नो कामले चिनिने थोरै महिलामा पर्छिन् । उनको ज्ञान, अनुभव, क्षमता र खारिँदै गएको व्यक्तित्वले जिल्लामा अरु महिलालाई पनि पत्रकारितामा लाग्न हौस्याउँछ ।

तर, केसीले यो उपलब्धि धेरै संर्घषपछि पाएकी हुन् । तत्कालीन नेकपा माओवादीले सशस्त्र युद्ध छाेडेको समयतिरै अर्थात, ०५५ तिर पत्रकारितामा होमिएकी केसीलाई सुरुवाती दिनहरु नै कष्टकर हुनपुगे । द्वन्द्व शुरु भइसकेकोले स्थापित पत्रकार समेत जोखिमपूर्ण रहेका वखतमा उनको आगमन त्यसैपनि चुनौतिपूर्ण थियो, पुरुषले महिलालाई गर्ने विभेद पनि उत्कर्षमा थियो ।

त्यसमध्ये पनि शुरुकै दिनका कार्यक्रममा एक प्रहरी अधिकृतलाई झपारेको कुरा उनी अहिले पनि सम्झिन्छन् । जिल्लाको एक कार्यक्रममा भेटिएका ती प्रहरी अरुबेला भेट्दा पनि गफ गर्ने, सँगै बस्न खोज्ने, चिया खान होटलमा बोलाउने गर्न थाले । नकारात्मक दृष्टिकोणले हेर्न थालेको चाल पाएपछि केसीले उनलाई त्यस्तो व्यवहार नगर्न चेतावनी नै दिनुपर्यो ।

‘म भर्खरकी थिएँ । म माथि राम्रो नजरले हेर्दै छैन भन्ने लागेपछि बर्दीमा रहेका प्रहरीलाई आइन्दा यस्तो व्यवहार नदेखाउन चेतावनी दिएँ’, केसी भन्छिन्, ‘पछि त्यस्ता घटना प्रहरीबाट मात्रै होइन, अन्य पुरुषबाट पनि भयो, तर आफू अगाडि बढ्न ती कार्यको प्रतिकार गर्दै हिँड्नुको विकल्प थिएन ।’

दुई दशक यता लमजुङमै बसेर पत्रकारिता गर्दै आएकी केसीले बेसिशहरबाट प्रकाशित हुने लमजुङ हाइलाइट साप्ताहिक पत्रिकाबाट पत्रकारिता शुरु गरेकी थिइन् । उनले काम गर्न थालेको धेरै वर्षसम्म मिडियामा काम गर्ने महिलाको संख्या नगन्य थियो । यस्तो हुनुमा महिलाले पनि पत्रकारिता गर्छन् र समाजलाई डोर्याउन सक्छन् भन्ने कुरा त्यतिखेरको समाजका लागि नौलो हुनु नै थियो ।

‘छोरी मान्छे भनेको पराईको घर जाने हो, अरुको दैलो पोत्ने जात हो, लेखेर के पाउँछौ ? भन्ने सुन्नुपथ्र्यो। यस्तो सुनिरहँदा कहिले त पत्रकारिता नै छोडुँ झैं हुन्थ्योे’, उनी सुनाउँछिन्, ‘तर हतोत्साही हुनुको साटो बिस्तारै साहस जुटाउँदै गएँ, त्यसैले त कामलाई निरन्तरता दिन सकें ।’

महिलालाई पत्रकारिता गर्नु सहज नभएको र विवाहपछि लेखन स्वतन्त्रतामा हस्तक्षेप हुने भन्दै उनले विवाहलाई समेत तिलाञ्जली दिएकी छिन् । विवाह नगरेकै कारण उनले धेरै कुरा सुन्नुपरेको छ । तर, उनी यसलाई समाजले महिलाको स्वतन्त्र अस्तित्व स्वीर्कान नसकेको ठान्छिन् । ‘कतिपय अझैपनि पुरुषसँग हिँड्दा, बोल्दा नराम्रो सोच्ने गर्छन् । मलाई चिन्नेहरु भने त्यस्ता कुरामा अल्मलिँदैनन्, तर महिला भएकोले यस्तो गर, उस्तो नगर भन्ने सुझाव अझै पाइरहेको हुन्छु’, उनको भनाइ छ ।

मीना गुरुङ

विगत एक दशकदेखि पत्रकारिता गर्दै आएकी मीना गुरुङ (३४) पुरुषलाई प्रधानतामा राख्ने समाजबाट हैरान छिन् । लमजुङको पहिलो रेडियो, सामुदायिक रेडियो मस्र्याङ्दी ९५ मेगाहर्जकी स्टेसन म्यानेजर उनी, कार्यकारी पदमा भएको कुरा धेरै मानिसले पत्याउँदैनन् । अझै पनि मानिसहरु रेडियोमा कार्यालय प्रमुख पुरुष खोज्दै आउँछन् । गुरुङ यसलाई कार्यालयमा प्रमुख भनेको पुरुषमात्रै हुन्छ भन्ने मानसिकताको उपज भएको मान्छिन् ।

‘महिला र पुरुषलाई हेर्न दृष्टिकोण नै फरक छ । अझै पनि कार्यालयमा आउँदा सर कता हुनुहुन्छ, भनेर सोध्छन् । प्रमुख आफैं हो भन्दा पनि पत्याउन गाह्रो मान्छन्, सर नै चाहियो भन्छन्’, उनी भन्छिन् । गुरुङको अनुभवमा पनि महिला पत्रकारलाई काम गर्न सहज छैन । उनका अनुसार खासगरि, आफ्नो कामले हिँडे, बोलेपनि नकरात्मक कुरा गर्नेहरु प्रसस्तै भेटिने तर कामको बारेमा बुझ्न नखोज्ने प्रवृति देखिन्छ । ‘आफू जिम्मेवार भएर काम गरिन्छ, हाकिम भएपनि समाचार लेख्न, वाचन गर्न, नागरिकसँग संवाद गर्न छोडेकी छैन, यसैले मलाई गर्व र आनन्द दिन्छ’, उनी भन्छिन् ।

केसी र गुरुङ जस्ता अगुवा पत्रकारका कारण अहिले जिल्लामा महिलाले पनि पत्रकारिता गर्न सक्छन् भन्ने मान्यता स्थापित भएको देखिन्छ । यी र विविध कारणले पछिल्लो समय जिल्लामा पनि पत्रकार महिलाको संख्या बढेको देखिन्छ ।

रेडियो मस्र्याङ्दीमै काम गरिरहेकी अन्जु रिमाल (२३) को स्मृतिमा पनि समाचार संकलनको क्रममा पुरुषले गिज्याउने गरेका घटना ताजै छन् । ०६६ देखि पत्रकारिता गर्दै आएकी रिमालसँग शुरुका दिनमा बोल्न मन लागेपनि पुरुषका अगाडि डरले बोल्न नसक्ने अवस्था भएको अनुभव छ । समाचार संकलनको क्रममा खासगरि जनमत लिने क्रममा आफ्नो परिचय दिइसकेपछि पनि नानाथरि सोधेर दिक्क बनाउने पुरुषहरु प्रशस्तै भेटिएको उनी बताउँछिन् । ‘आफ्नो परिचय दिइसकेपनि घर सोध्ने, विवाहबारे सोध्ने, नानाथरी सोध्ने गर्दा धेरैपटक आवाज नलिई फर्केको छु, एक्लै जानुपर्ने भएकाले पनि बोल्ने साहस हुन्थेन । धेरैपछि मात्र बोल्ने साहस जुटाएँ’, उनी सुनाउँछिन् ।

त्यसबाहेक घरदेखि टाढा समाचार संकलन गर्न जाँदा निदाउन नसकेको तीतो अनुभव पनि उनी बिर्सन सक्दिनन् । ‘बास बस्ने गरी रिपोर्टिङमा जाँदा साथी नपाएर कति रात निदाइनँ, त्यो सबै डरकै कारण थियो’, उनी भन्छिन् ।

पत्रकारितामा लागेको दुई वर्षमात्र भएपनि शान्ता कमली (२२) को अनुभव पुराना पत्रकार महिलाको भन्दा कम छैन । खासगरि घर जान केहि ढिलो हुँदा घरका सदस्यको कुरा सुन्नुपर्ने र काम गर्दा पुरुष सहकर्मीले असहयोग गर्ने प्रवृतिले उनले कामबाट आनन्द लिन सकेकी छैनन् । ‘हामी अहिलेका युवा महिलालाई पनि पत्रकारिता गर्न त्यति सहज छैन । खासगरि सुरक्षा र सुचनाको पहुँचका दृष्टिले हामी अझै पछि छौं’, उनको भनाइ छ ।

दुई वर्षदेखि जिल्लामै पत्रकारिता गर्दै आएकी सिर्जना पौडेलको अनुभव पनि फरक छैन । पुरुष साथीसँग काम गर्दा, कामको ‘लोड’ धेरै हुँदा समस्या पर्ने गरेको उनको दुःखेसो छ । ‘धेरै ठाउँमा जानुपर्ने, धेरै हिँड्नुपर्ने, जस्तोसुकै कार्यक्रममा पनि जानुपर्ने हुन्छ, तर यसरी हिँड्दा समाजमा कुरा काट्ने चलन हटेको छैन’, उनी सुनाउँछिन् ।

जिल्लामा घरपरिवार, आफन्त र समाजबाट टाढा रहेर पत्रकारिता गर्दै आएका पत्रकार महिला पनि धेरै छन् । यी मध्ये धेरैजसो बेंसीसहरमै डेरा लिएर बसेका छन् । नेपाल पत्रकार महासंघ लमजुङ शाखाको तथ्यांक अनुसार पत्रकार महासंघको सदस्यता प्राप्त गर्ने ६६ जना पत्रकार मध्ये पत्रकार महिलाको संख्या २० छ ।

शाखा अध्यक्ष आश गुरुङका अनुसार यीमध्ये धेरै पत्रकारितामै निर्भर छन् । महासंघमा सदस्य नरहेकाले पनि पत्रकारिता सुरु गरेका छन् । उनी भन्छन्, ‘पत्रकारितामा महिला अगाडि बढ्नु राम्रो पक्ष हो तर उनीहरुलाई पेशामा टिकाइरहने वातावरण संचारगृहले बनाउनुपर्छ ।’ लमजुङमा हाल ४ वटा रेडियो, एउटा दैनिक पत्रिका, एउटा टेलिभिजन, ७ वटा साप्ताहिक पत्रिका र ४ वटा अनलाइन पत्रिका रहेका छन् ।

(थापा लमजुङकी पत्रकार हुन्)

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: