‘न्याय पाउने आस मर्दै गयो’


पीडितले राहत मात्र नभएर समाजमा सम्मानपूर्वक बाँच्न पाउने वातावरण पनि तयार गरिदिनुपर्ने माग राखेका छन्

प्रकाशित मिति :2017-03-30 12:05:48

भवानी भट्ट,

कञ्चनपुर . सत्य निरूपण तथा मेलमिलाप आयोगले उजुरी लिन थालेपछि शुक्लाफाँटा नगरपालिका–१ वंशाका पल्टु चौधरीलाई द्वन्द्वकालमा मारिएका छोराको हत्यारा पत्ता लाग्ने आस जाग्यो । उत्साही हुँदै उजुरी पनि दिए । तर, वर्ष दिन पुग्नै लाग्दा पनि उजुरीको टुंगो नलागेपछि उनी अहिले निराश छन् । 

 आयोगले गरिरहेका कामबारे कुनै जानकारी नहुँदा पीडितहरू न्याय पाउनेमा ढुक्क हुन सकेका छैनन् । ‘आयोगको म्याद थपिएको मात्रै सुनियो तर उजुरी अध्ययन गर्‍यो कि गरेन, केही थाहा छैन,’ सातौं सत्य दिवसका अवसरमा न्यायका लागि द्वन्द्वपीडित समाज कञ्चनपुरले गत साता आयोजना गरेको छलफलमा पल्टुले भने, ‘उजुरी मात्रै लियो, दर्ता भयो कि भएन त्यो पनि जानकारी आएन ।’ छोरा सुन्दरलाललाई २०५७ मा सुरक्षाकर्मीले स्कुलबाटै लगेर हत्या गरेको उनले बताए । ‘ऊसँगका केटाकेटी डिग्री पास गरेर नोकरी गरिरहेका छन्,’ पल्टुले भने, ‘तर मेरो छोरा के कति कारणले मारियो भन्ने पनि थाहा छैन ।’ अहिले पनि सुन्दरलालका सहपाठी देख्दा कतैबाट छोरो पनि आइहाल्छ कि भन्ने लाग्छ उनलाई ।

देखतभुलीकी लक्ष्मी चौधरी गाउँमा नयाँ युवती आउँदा छोरी नै हो कि भनरे झस्कन्छिन् । २०५९ मा स्कुल गएकी छोरी परमलौटी घर नफर्केपछि उनले धेरै ठाउँ खोजिन् । कहिले प्रहरी त कहिले सेनाकहाँ धाउँदैमा वर्षौं बित्यो । ‘छोरी कहाँ राखेका छौ भन्दै धेरै दिन आर्मी र प्रहरीकहाँ धाएँ’ उनले भनिन्, ‘तर कतै पनि पत्तो लागेन ।’ उनलाई पनि आयोगले छोरीको अवस्था पत्ता लगाउने आस मर्दै गएको छ । उजुरी दिएको ७/८ महिनापछि आयोगबाट थप प्रमाण पेस गर्न भन्दै दर्ता नम्बरसहितको पत्र आएको चौधरीले बताइन् । ‘छोरीको अवस्था पत्ता लाग्ला भनेको त थप प्रमाण पठाऊ भनेर पत्र आएको छ,’ उनले भनिन्, ‘अब कहाँबाट के प्रमाण दिऊँ, भएजतिका प्रमाण उजुरी दिने बेला नै बुझाइसकें ।’ स्थानीय शान्ति समिति संयोजक गगन सिंहलाई पनि पीडितले न्याय पाउनेमा आशंका छ ।

आयोगभित्रै चलखेल भएर पीडितको माग सम्बोधन नहुने जोखिम सिर्जना भएको उनको भनाइ छ । ‘यसतर्फ सबैले सजग रहनुपर्छ,’ उनले भने, ‘दुवै आयोगको म्यादसँगै उजुरी लिने समय पनि थप भएको छ, छुटेकाहरूले उजुरी दिन थालेका छन् ।’ समितिका अनुसार कञ्चनपुरबाट सत्य निरुपण तथा मेलमिलाप आयोगमा १ हजार ८ सय र बेपत्ता छानबिन आयोगमा ९३ उजुरी परेका छन् । उजुरी दिने अधिकांशले आफन्त गुमाउनु वा बेपत्ता पारिनुको कारण जान्न पाउनु आफ्नो अधिकार रहेको भन्दै दुवै आयोगले छिटोभन्दा छिटो सत्यतथ्य पत्ता लगाउनुपर्ने माग गरेका छन् ।

‘स्कुल गएकी बहिनीलाई अपहरण शैलीमा लगेर मारेको सुनियो,’ बैतडी डिलासैनीबाट बसाइँ सरी आएका सोवानसिंह ठगुन्नाले भने, ‘मेरी बहिनी मारिनुको कारण के हो, कसले मारेको हो, यो जान्न पाउनुपर्छ ।’ उनकी बहिनी कल्पनाको २०५९ जेठमा सुरक्षाकर्मीले हत्या गरेका थिए ।

अझै ओभाएनन् आँखा
गुल्मी– तुलबहादुर कुँवरका आँखा अझै रसाउन छाडेका छैनन् । मदाने गाउँपालिका–६ पुर्कोटदहका ६८ वर्षीय कुँवरका दुई छोरा सशस्त्र द्वन्द्वमा मारिए । देश र जनताका लागि भन्दै द्वन्द्वमा होमिएका छोरा सम्झँदा उनी अहिले पनि भक्कानिन्छन् । ‘व्यवस्था परिवर्तन त भयो तर मेरा छोरा फर्किआउने भएनन्,’ हालै तम्घासमा स्थानीय शान्ति समितिले गरेको द्वन्द्वपीडितका लागि सम्मान तथा पुनर्मिलन कार्यक्रममा उनले भने, ‘मजस्ता कति धेरै आमाबुबा होलान्, सबैलाई यस्तै लाग्दो होला ।’ जेठा छोरा कृष्ण २०५६ मा धुर्कोट चौकी आक्रमणमा र माइला जगत २०५८ मा रोल्पाको थबाङ आक्रमणमा मारिएका थिए ।

शान्ति प्रक्रियापछि सिंगो व्यवस्था परिवर्तनसँगै सर्वसाधारणले घरदैलोबाटै राज्यका सेवासुविधा उपभोग गर्ने दिन नजिकिँदै छ । तर, सशस्त्र द्वन्द्वका बेला राज्य र विद्रोही पक्षबाट पीडित परिवारमा भने असन्तुष्टि उस्तै छ । ‘सरकारले केही पैसो सहयोग पनि दियो,’ उनले भने, ‘व्यवस्था परिवर्तन पनि भयो तर सन्तान गुमाएको पीडा भुल्न नसकिने रहेछ ।’ उनले राज्यबाट राहतस्वरूप १० लाख रुपैयाँ बुझेको बताए ।

धुर्कोट गाउँपालिका–३ हाडहाडेकी ७३ वर्षीया मनकला काउछाको पीडा पनि उस्तै छ । कार्यक्रममा प्रजिअ कृष्णप्रसाद ढुंगानाले निधारमा टीका लगाइदिएर सल ओढाइदिँदै गर्दा उनी भक्कानिइन् । तीन भाइ छोरामध्ये कान्छा इन्द्रबहादुर प्रहरीमा भर्ती भएका थिए ।

त्यसको १८ महिनामै २०५९ कात्तिक २८ मा गोरखाको टाकुकोट इप्रका आक्रमणमा विद्रोही पक्षबाट मारिए ।

‘तालिम सकेपछि घर आएर फर्केको २२ दिनमै आक्रमणमा पर्‍यो,’ उनले भनिन्, ‘आमा अब म तलब बुझेपछि आउँछु भनेर गएको, कहिल्यै फर्किएन ।’ आक्रमणमा परेर भाइ मारिएपछि माइला नारायणले पनि प्रहरीको जागिर छाडेका थिए । अहिले उनको परिवारलाई दैनिक गुजारा टार्नै समस्या छ ।

द्वन्द्वकालमा विस्थापित भएका कतिपय परिवार अझै गाउँमा बस्न सकिने अवस्था नरहेको गुनासो गर्छन् । ‘सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्‍यो’, छत्रकोट गाउँपालिका–५ खज्र्याङकी लक्ष्मी श्रेष्ठले भनिन्, ‘अझै पनि हामी द्वन्द्वपीडितका लागि गाउँमा बस्ने वातावरण तयार भएको छैन ।’ पति विद्रोही पक्षबाट मारिएपछि उनी २०५८ सालमा गाउँबाट विस्थापित भएकी हुन् ।

द्वन्द्वकालमा जिल्लाबाट २ सय ३ परिवार विस्थापित भएका थिए । १ सय ३३ ले ज्यान गुमाए । ९ जना अहिलेसम्म पनि बेपत्ता छन् । ६६ जना अंगभंग भएका छन् । सरकारले मृत्यु भएका १ सय ७ जनाको परिवार, बेपत्ता ९, सम्पत्ति क्षतिमा १ सय ७७, अंगभंगका ४९, अपहरणमा परेका २३ र विस्थापित १ सय ३७ लाई राहत दिएको शान्ति समितिका संयोजक जनार्दन घिमिरेले बताए । ‘राहतले मात्र पुग्ने अवस्था छैन’, उनले भने, ‘समाजमा सम्मानपूर्वक बाँच्न पाउने वातावरण पनि तयार गरिदिनुपर्छ ।’ साबिकका १ नगरपालिका र ७५ गाविसमा स्थानीय शान्ति समिति गठन गरेर शान्ति प्रवद्र्धन कार्यक्रम गर्ने गरे पनि पीडितको पुन:स्थापना प्रभावकारी हुन नसकेको उनले औंल्याए ।

साभारः कान्तिपुर दैनिक

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: