‘प्रमुख पदमा महिला पन्छाइँदै’


‘सकेसम्म महिलालाई जित्नै नदिने, जिते पनि उपप्रमुखमा खुम्च्याउने तयारी भइरहेको छ’

प्रकाशित मिति :2017-03-30 12:10:27

 दुर्गालाल केशी

संविधानले स्थानीय तहको प्रमुख या उपप्रमुखमध्ये एक महिला हुनुपर्ने व्यवस्था गरे पनि आसन्न निर्वाचनको उम्मेदवार छनोटमा पार्टीहरूले महिलालाई दोस्रो पदमा मात्र खुम्च्याउने सम्भावना बढेको भन्दै आकांक्षी चिन्तित छन् । महिलालाई उपप्रमुखमा खुम्च्याएर अधिकांश स्थानीय तहको प्रमुख पदमा पुरुष उम्मेदवार उठाउने तयारी भइरहेको महिलाहरू बताउँछन् ।

‘उपप्रमुख पद पनि गुम्ला भन्ने खतरा छ । कुनै पार्टीले पुरुष र कुनैले महिला उम्मेदवार बनाएर अन्त्यमा दुवै पदमा पुरुष नै जिताउलान् भन्ने खतरा छ,’ महिला मानवअधिकार रक्षक सञ्जालकी जिल्ला अध्यक्ष सुषमा गिरीले भनिन्, ‘महिला नै पदमा पुग्ने निश्चित भएन । पहिलो कुरा त प्रमुख पदमा उम्मेदवारी नै पाउने अवस्था छैन ।’ सधैं महिलाको कार्यदक्षतामा प्रश्न उठाएर नेतृत्व नदिने चलन रहेको घोराही महिला जेसिजकी पूर्वअध्यक्ष विन्दु कुँवरले बताइन् । ‘अहिले महिलालाई उपप्रमुख पदमा मात्र चर्चा गर्नुको कारण के हो ? कुनै पनि पार्टीले प्रमुख पदमा महिला लैजाने चर्चा गरेका छैनन्,’ उनले भनिन् ।

महिला प्रमुख पद पनि सम्हाल्न सक्षम भएकाले उपप्रमुखमा थन्क्याउन नहुने महिला संघकी जिल्ला अध्यक्ष गोमा रावतले बताइन् । जसले जिते पनि महिला आउने वातावरण निर्माण गर्नुपर्ने तुलसीपुर नगरस्तरीय महिला सञ्जालकी अध्यक्ष यमुना शाहको भनाइ छ । ‘महिला–महिलाबीच मात्रै प्रतिस्पर्धा गराउन राजनीतिक दल तयार हुनुपर्‍यो,’ उनले भनिन्, ‘एउटै पदमा कसैले महिला र कसैले पुरुषलाई उम्मेदवार बनाइदिनुभएन ।’

महिलामा पनि बादीजस्ता पिछडिएका समुदायबाट प्रतिनिधित्व गराउनमा दलहरू गम्भीर हुनुपर्ने तुलसीपुरकी सितारा नेपाली बादीले बताइन् । ‘बादी महिलाको अवस्था झनै दयनीय छ । नेतृत्व तहमा जान सकेका छैनन्,’ उनले भनिन्, ‘नेतृत्वमा दलित समुदायका महिलालाई पनि सहभागी गराउन तयार हुनुपर्‍यो ।’ अवसर पाए महिला नेतृत्व गर्न सक्षम रहेको २०५४ सालको स्थानीय निर्वाचनमा साबिक पुरन्धारा गाविसमा सदस्य जितेकी सावित्रा विकले बताइन् । ‘हामीले निर्वाचनमा प्रतिस्पर्धा गर्ने अवसर पाए जितेर पनि देखाउन सक्छौं,’ उनले भनिन्, ‘अवसर नै नपाए कसरी काम गर्नु ?’ जिल्लामा पुरुषभन्दा महिला मतदाता बढी रहेको प्रसंग उल्लेख गर्दै प्याब्सन केन्द्रीय सहकोषाध्यक्ष सरिता देवकोटाले महिलालाई नेतृत्व दिन दलहरूले कन्जुस्याइँ गर्न नहुने बताइन् । जिल्लामा २ लाख ९१ हजार ९ सय २१ मतदातामध्ये महिला १ लाख ४८ हजार ३ सय ३१ छन् । 

यसपटकको निर्वाचनमा महिला सहभागिताबारे राजनीतिक दल गम्भीर रहेको एमाले जिल्ला अध्यक्ष टीकाराम खडकाले बताए । जिल्लाका १० स्थानीय तहमध्ये कम्तीमा दुईमा महिला मात्रै उठाउन लागिएको उनले जानकारी दिए । ‘सबै पार्टी तयार हुने हो भने दुईवटा स्थानीय तहलाई नमुना बनाउन सकिन्छ,’ उनले भने, ‘अन्य तहमा पनि प्रमुख, उपप्रमुखमध्ये एकमा महिला मात्रै प्रतिस्पर्धा गर्ने वातावरण बनाउन हामी तयार छौं ।’ माओवादी केन्द्रका जिल्ला सह–इन्चार्ज निर्मल आचार्य पनि महिला सहभागिताका लागि पार्टी गम्भीर रहेको बताउँछन् । ‘महिलालाई सम्पत्तिमा अधिकार नहुँदासम्म पछि परिरहने अवस्था हुन्छ,’ उनले भने, ‘यो अधिकार स्थापित गर्दै महिलालाई नेतृत्वमा अघि सार्नुपर्छ । निर्वाचनपछि महिलाको पद सुरक्षित हुने गरी योजना बनाउँदै छौं ।’ महिलालाई उम्मेदवार बनाउने मात्रै नभई जिताउने गरी अघि सार्नुपर्ने कांग्रेस नेता केशव आचार्यले बताए ।

महिलाको चर्चा छैन
रामेछाप– चुनाव नजिकिँदै जाँदा पुरुष उम्मेदवारको चर्चा जसरी भइरहेको छ, महिलाको हकमा भने छैन । दलहरूले पनि अहिलेसम्म महिला उम्मेदवारको खाका नै तयार पार्न सकेका छैनन् । ‘हामीले सम्भाव्य व्यक्तिको सूची तयार गर्न महिला संघलाई भनेका छौं,’ कांग्रेसका सचिव लेखबहादुर कार्की भन्छन्, ‘जो पठाइन्छ, त्यसैलाई उम्मेदवार बनाउँछांै ।’ कार्कीका अनुसार जिल्लामा राजनीतिक पृष्ठभूमिका महिला थोरै छन् । ‘सबै पार्टीको अवस्था त्यस्तै छ,’ उनले भने ।

साभारः कान्तिपुर दैनिक

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: