‘एकल महिलाका सवाल नीतिगत रूपमै समेटिनुपर्छ ’ 


प्रकाशित मिति :2017-03-31 10:44:14

एकल महिलालाई सामाजिक सुरक्षा भत्ता बापत राज्यले मासिक एक हजार रुपैयाँ उपलब्ध गराउँछ । यसबाहेक प्रत्यक्ष रूपमा एकल महिलाका सवाल सम्बोधन गर्न सकेको छैन । यसै सन्र्दभमा एकल महिलाका समस्या र उनीहरुप्रति राज्यको उत्तरदायित्व विषयमा मानवअधिकार लागि महिला, एकल महिला समूह कपिलवस्तुका अध्यक्ष कल्पना महतसँग महिला खबरले गरेको कुराकानीको सांरांश ।

तपाईँ कसरी एकल हुन पुग्नुभयो ?

श्रीमान् वितेपछि म एकल भएकी हुँ । मेरो ०५२ सालमा १६ वर्षकै उमेरमा गाउँकै नारायण महतसँग विवाह भएको थियो । श्रीमानसँगै जीवनभर साथ रहने अभिलाषा थियो तर, विवाहको चार वर्ष नपुग्दै जीवनमा नसोचेको घटना भयो ।

श्रीमान् बित्दा म २० वर्षकी थिए । हाम्रो सानी छोरीको जन्म भइसकेको थियो । पेटमा अर्को छोरो थियो । पीडाले छट्पटिँदै ती दुई कलिला बालबालिकाको स्याहार कसरी गरेँ होला, अहिले अरूलाई सुनाउदा पनि पिडा हुन्छ ।

कलिलै उमेरमा एकल हुनुभएछ । त्यसपछि तपाईँ कसरी अगाडि बढ्नुभयो?

जुनबेला म श्रीमानको मृत्युले निकै पीडामा छटपटिएकी हुन्थें, त्यतिखेर कसैबाट मलाई सान्त्वना दिने काम भएन । कतिखेर के गरुँ भन्ने निकै समस्या आइलाग्थ्यो ।

आफन्तहरुले नै पीडा दिन्थे । गाउँमा, अब यो अर्को बिहे गरेर जान्छे भन्ने जस्ता थुप्रै कुरा काट्ने गर्थे । त्यस्ता कुराले मलाई पीडा दिइरहन्थ्यो । धेरै पीडा हुँदा छोरा छोरीलाई हेरेर चित्त बुझाउँथें र आफूलाई पनि सम्हाल्थें । त्यसमाथि, कलिलै उमेरमा एकल भएपछि लगाउने पहिरन फेर्नुपर्यो । सेतो लुगा लगाएर हिँड्दा समाजले यो विधुवा महिला हो भनेर हेप्ने धेरै थियो । कपडा लगाउन, यताउति जान पनि समाजको डर मान्नुपर्ने अवस्था थियो ।

मैले थुप्रै समस्याहरू एकल भएकै कारण झेल्नु पर्‍यो । यतिसम्मकी, मेरो एउटा लगाउने नीलो रङ्गको कपडामा रातो फुल थियो । त्यो कपडाको रातो फुल हटाउन नीलो रङ्गले पोतेकी थिएँ । तर, पनि त्यो कपडा लगाउँदा मलाई निकै डर लाग्थ्यो । घरमा सासु, ससुरा र समाजले केही भन्छन् कि भन्ने डरले मलाई निकै सताउँथ्यो ।

विगत र अहिले तपाईँमा के परिवर्तन आएको छ ?

विगतमा म आफू एक्लै भएको महसुस गरेकी थिएँ । अहिले एकल नभएको र स्वतन्त्र भएर बाँच्ने अवसर पाएकी छु, जस्तो लाग्छ ।

यस्ताे परिवर्तन कसरी अायाे ?

मेरो जीवनमा परिवर्तन ल्याउन अगुवा दिदी स्वर्गीय रुक्मिणी कुँवर र एकल महिला टीका अधिकारीको ठूलो भूमिका छ । उहाँहरूले मलाई सम्झाउनु हुन्थ्यो । जसका कारण म घरबाट बाहिर निस्कन सक्ने भएँ, घर परिवारले पनि कुनै अवरोध गरेन । बाहिर सक्रियता बढ्दै गएपछि ०६८ सालमा मानवअधिकारका लागि एकल महिला समूह गठन गरेँ । त्यसलाई संस्थागत रूपले अगाडि बढाउन स्थानीय सिद्धार्थ सामाजिक विकास केन्द्र र अधिकारकर्मी चेतना अधिकारीले पनि सहयोग गर्नुभयो । आज म मेरो मात्र होइन सम्पूर्ण एकल महिलाहरूको हक अधिकारका कुरामा बोल्न सक्ने भएकी छु । यो कुराले मलाई गर्व लाग्छ । अहिले म आफूले पनि रातो कपडा लगाउँछु र एकल भएका अन्य महिला दिदी बहिनीलाई पनि लगाउन भन्छु ।

तपाईँको समूह र जिल्लामा एकल महिलाका समस्याबारे केही बताइदिनुस् न ।

एकल महिला सञ्जालले ०६८ सालमा जिल्लामका एकल महिलालाई सङ्गठित गर्दै समूह दर्ता गर्‍यो । हाल १० गाविसमा यस समूहले काम गर्दै आएको छ । जिल्लाको वाणगंगा नगरपालिकाका सबै वडामा र वुद्ध वाटिका नगरपालिकाको एक वडामा समूह गठन भई एकल महिलाका अधिकारका बारेमा काम गर्दै आएको छ । जिल्लामा एकल महिलालाई धैरै समस्या हुने गरेको छ । अधिकांश एकल महिलाको आर्थिक अवस्था कमजोर छ । यसले गर्दा उनीहरूलाई घर परिवार चलाउन, छोराछोरी पढाउन समस्या हुने गरेको छ । अरू नदेखिएका थुप्रै समस्या छन् । यसैले एकल महिलाका सवाललाई नीतिगत रूपमा राज्यको मूल प्रवाहमा समावेश गरिनुपर्छ । उनीहरूलाई राज्यका हरेक निकायमा उनीहरूको संख्याका आधारमा समावेश गरिनुपर्छ । उनीहरूको क्षमताका आधारमा रोजगारीको ग्यारेन्टी गरिनुपर्छ । साथै, उनीहरूलाई सीपमूलक र रोजगारमूलक विभिन्न कार्यक्रमहरू बिस्तार गरिनुपर्छ ।

अन्त्यमा, केही भन्न चाहनुहुन्छ ?

सर्वप्रथम त एकल महिलालाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन गर्न सबैलाई आग्रह गर्न चाहन्छु । राज्यले पनि एकल महिलाको समस्यालाई विशेष सम्बोधन गर्नुपर्दछ । एकल महिलाका हक अधिकारको ग्यारेन्टी गरिनुपर्छ । साथै, मेरा भनाइलाई जनमानसमा पुर्‍याउन अवसर प्रदान गरेकोमा धन्यवाद दिन चाहन्छु ।

प्रस्तुतिः पार्वती पाण्डे

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: