बेपत्ता कहाँ छन् ?


प्रकाशित मिति :2017-04-01 09:00:41

सुनिताको श्रीमान् बेपत्ता भएको चिन्ताले सासूको पनि निधन भयो । ससुरा र तीन आमा छोराको लालनपालनको जिम्मा पनि यतिखेर सुनिताकै थाप्लोमा छ ।

शिवराज खत्री

अछाम । कान्छो छोरा जन्मेको तीन महिना मात्र भएको थियो । असोजको महिना देशमा सङ्कटकालको बेला, सुनिता विष्ट घरमा छोरालाई दूध खुवाइरहेकी थिइन् । त्यहीबेला जेठो छोरा पसलबाट दगुर्दै आएर भन्यो, ‘आमा बुबालाई त माओवादीले अभियानमा जानुपर्छ भन्दै लगे ।’ पसल बन्द गरी साँचो छोराको हातमा दिएर ०६० साल असोज १० गते दिउँसो माओवादीको अभियानमा हिँडेका अछामको घोडासैन–५ का सुनिताका श्रीमान् टेकबहादुर विष्ट अहिलेसम्म पनि फर्केर आएनन् ।

श्रीमान् कहाँ कुन अवस्थामा छन् सुनितालाई अहिलेसम्म केही थाहा छैन । सकुशल छन् या मृत्यु भइसक्यो घरपरिवारलाई कुनै अत्तोपत्तो छैन । ‘श्रीमान् जिउँँदै भए त अहिलेसम्म फर्केर आइहाल्थे होलान् । बेपत्ता भएको १३ वर्ष पुगिसक्यो, अब त जिउँदो हुनुहुन्नजस्तो छ,’ सुनिताले भनिन् ।

अभियानमा जाने समयमा समेत भेट नभएका श्रीमान् फर्किने बाटोे हेर्दाहेर्दै सुनिताका १३ बर्ष बिते । छोराले ‘आमा हाम्रा बुबा कहिले आउनुहुन्छ’ भनेर बारम्बार प्रश्न गर्छन्, तर सुनितासँग त्यसको जवाफ छैन । ‘अभियानमा गएकाहरू पनि कोही भागेर भारत जाने गर्थे भने कोही घर आउँथे, मेरा श्रीमान् पनि कतै भारत जानुभयो कि भन्ने सोचेकी थिएँ, भारत गएकाहरू पनि फर्किएर घर आए, तर मेरा श्रीमान् आएनन्,’ उनले भनिन्, ‘अब भने श्रीमान् जिउँदै छन् भन्ने विश्वास त छैन, तर आस पनि मरिसकेको छैन ।’ जिउँदै भए कहाँ छन् ? मरेका भए लास कहाँ छ ? उनी प्रश्न गर्छिन् । हुन त तत्कालीन माओवादी पक्षले पनि टेकबहादुरको बारेमा परिवारलाई केही भनेको छैन । अभियानमा लिने समयमा को थिए भन्नेबारेमा आफूले देख्न नपाएकाले कसले लिएर गए भनेर पत्ता लगाउन नसकेको उनी बताउँछिन् ।

घरमा कमाउने एक मात्र टेकबहादुर बेपत्ता भएपछि परिवारलाई साँझ–बिहान दुई छाक टार्र्न पनि निकै गाह्रो छ । ‘श्रीमान्ले बिहान–बेलुकी खेतबारीको काम र दिउँसो पसल चलाएर परिवारको गुजारा चलाउनुभएको थियो, तर अहिले भने दुःख भनिनसक्नु छन्,’, गहभरि आँसु पार्दै सुनिताले भनिन्, ‘छोरो बेपत्ता भएको चिन्ताले सासू पनि बित्नुभयो, बूढा ससुरा र तीन आमा छोराको लालनपालनको जिम्मा मेरै थाप्लोमा छ ।’ श्रीमान् बेपत्ता भएपछि कुनै पक्षबाट केही राहत नपाएको उनले बताइन् । एकातर्फ श्रीमान् बेपत्ता भएको पीडा अर्कोतर्फ चारजना परिवारको लालनपालन कसरी गर्ने भन्ने पीडा । ‘आफैँ मर्न त सकिँदैन, के गर्ने सास रहँदासम्म जीवन गुजारा गर्ने उपाय खोज्नैपर्‍यो,’ उनले भनिन् । उनले राहतका लागि दुई वर्ष पहिले जिल्ला प्रशासनमा निवेदन दिए पनि अहिलेसम्म कुनै सहयोग पाएकी छैनन् ।

लुङ्ग्रा–३ की देवसरा पाण्डेय पनि बेपत्ता पति चन्द्रराज पाण्डेयको वियोगमा छटपटिएर बाँचिरहेकी छिन् । २०६१ साल चैतको अन्तिमतिर भारतमा नोकरी गरेर घर फर्किरहेका पाण्डेय डोटीको बुडरबाट नेपाली सेनाको गिरफ्तार परेको खबर परिवारकहाँ पुग्यो । दुई–तीन दिनमै घर पुग्छु भनेर खबर पठाउने पाण्डेय १२ वर्षसम्म पनि घरमा पुगेका छैनन् । ‘उहाँ कहाँ कुन अवस्थामा हुनुहुन्छ, अहिलेसम्म हामीलाई अत्तोपत्तो छैन,’ देवसराले भनिन्, ‘श्रीमान्को बाटो हेर्दाहेर्दै १२ वर्ष बितिसक्यो । उहाँको अवस्थाबारे केही थाहा छैन ।’

बम्बै गएर पैसा कमाएर ल्याउने श्रीमान् बेपत्ता भएपछि एक छोरा, एक छोरी र बूढी सासूको लालनपालन गर्न देवसरालाई निकै गाह्रो भएको छ । ‘कुनै आयस्रोत छैन, कसरी छोराछोरी पढाउने र घरखर्च चलाउने,’ देवसराले भनिन्, ‘एकातर्फ श्रीमान् बेपत्ता हुँदाको पीडा, अर्कोतर्फ घरपरिवारको लालनपालनको समस्या, दुःखको कुरा गरेर साध्य नै छैन ।’ पति जिउँदो हुने आशा मारेर देवसराले त गत वर्ष कुशको शव बनाएर अन्तिम संस्कारसमेत गरिसकिन् ।

माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धबाट अछाम सबैभन्दा धेरै प्रभावित जिल्लामध्येमा नै पर्छ । यहाँका थुप्रै महिला बेपत्ता श्रीमान्को पीडामा छटपटिएर बाँचिरहेका छन् । ‘बेपत्ता व्यक्तिका श्रीमतीको अवस्था हेर्दा ज्यादै दयनीय छ,’ स्थानीय शान्ति समिति अछामका संयोजक तेजबहादुर विष्टले भने, ‘एकातर्फ श्रीमान् बेपत्ताको पीडा त छँदै छ भने अर्कोतर्फ घरपरिवारको लालनपालन र समाजमा एकल भएर बाँच्नुपर्दाका विभिन्न कठिनाइले गर्दा उनीहरूको जीवन कष्टकर छ ।’

द्वन्द्वकालमा राज्य पक्ष र विद्रोही दुवै पक्षबाट जिल्लामा थुप्रै व्यक्ति बेपत्ता पारिएका छन् । बेपत्ता छानबिन आयोगमा अछामबाट ५० भन्दा बढी उजुरी दर्ता भएको तथ्याङ्क शान्ति समितिसँग छ । युद्धकालमा ज्यान गुमाउने तथा अङ्गभङ्ग हुने प्रायःलाई राज्यले राहत प्रदान गरे पनि बेपत्ता परिवारको हकमा भने राहतको व्यवस्था गरेको छैन ।

(सञ्चारिका फिचर सेवा)

(शिवराज, अछामका पत्रकार हुन् ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: