महिला उम्मेदवारको चर्चा कम


दलहरू भन्छन्, नेतृत्वमा ल्याउन व्यापक छलफल भइरहेको छ ।

प्रकाशित मिति :2017-04-05 11:39:35

अप्रिल अधिकारी

रामेछाप । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा नेतृत्वमा पुरुषहरुको चर्चा परिचर्चा भैरहदा, महिलाको आरक्षित सिटमा समेत उम्मेदवार को उठ्ने वा उठाउने भन्नेमा राजनीतिक दलभित्र नै बहस बन्न सकेको छैन । मुख्य पदमा सामान्य खाका बनाएर बसेका दलहरू समेत वडा तहमा महिला उम्मेदवार कसरी ल्याउने भनेर छलफल गरेको देखिन्दैन ।

दलहरू नगरपालिका र गाउँपालिकाको प्रमुख र उपप्रमुखमा केन्द्रित रहेका कारण वडा तहको नेतृत्व छायाँमा परेको हो । नगर र गाउँपालिकामा महिला अनिवार्य उम्मेदवार हुनुपर्ने व्यवस्था भए पनि महिलाको सिट सुरक्षित छैन । निर्वाचनको कानुनी व्यवस्था अनुसार हरेक वडामा दुईजना महिला र त्यसमध्ये पनि एक जना दलित महिला अनिवार्य हुनुपर्ने उल्लेख छ । यो व्यवस्था अनुसार जिल्लाका ८ स्थानीय तहमा रहेका ६४ वडाबाट १ सय २८ महिला निर्णायक तहमा चुनिने छन् । यसको अलावा नगर र गाउँपालिकाको प्रमुख र उप प्रमुखमा पनि महिला निर्वाचित बनेर आएमा निर्णायक थलोमा महिलाको संख्या अझ बढने सम्भावना देखिएको छ ।

दलहरू महिला नेतृत्वका पक्षमा सकारात्मक देखिएपनि जिल्लादेखि वडा तह सम्म पुरुष उम्मेदवारकै चर्चा बढी देखिन्छ । जिल्लाका सम्भावित महिला उम्मेदवारबारे दलहरू लगायत महिला नेताहरु नै अलमलमा देखिन्छन् । खासगरि, जिल्लाका अधिकांश दलहरू वडा तहमा दलित महिला उठाउन मुस्किल हुने आँकलन गरिरहेका छन् । दलित महिला नभएको अवस्थामा सो सिट खाली नै रहने बताइएको छ ।

महिला नेतृहरु योग्य भएर पनि उम्मेदवारको टिकटका लागि पार्टीमै भर पर्नुपर्ने बाध्यताका कारण पनि खुलेर आउन नसकेको हो । नेताहरू भने महिला नेतृत्वलाई महत्व दिइरहेको बताउँछन् । महिलालाई सशक्त बनाउन आन्तरिक गृहकार्य भइरहेको नेकपा एमाले रामेछापका अध्यक्ष शान्ति प्रसाद पौडेलले बताउनुभयो । ‘विगतमा निर्वाचित प्रतिनिधिको संख्या ठूलो हुन्थ्यो, अहिले वडामा ५ जना मात्र निर्वाचित हुने हुँदा जिम्मेवारी र कार्यबोझ बढ्छ, त्यसलाई सम्हाल्न सक्ने महिला उम्मेदवार तय गर्न पार्टी लागि परेको छ’, पौडेलले भन्नुभयो । महिला उमेद्वारको चर्चा कम भएको भन्ने जिज्ञासामा उहाँले स्थान र तह अनुसार सबैतिर उत्तिकै चर्चा भएको दाबी गर्नुभयो ।

महिला उम्मेदवारका विषयमा पार्टीभित्र बहस चलिरहेको र उमेदवार छान्न महिला संघलाई जिम्मेवारी दिएको नेपाली काँग्रेस रामेछापका सभापति लवश्री न्यौपानेले बताउनुभयो । उहाँले महिला उम्मेदवारको खडेरी नरहेकोले सबै सम्भावित उमेदवारहरु तह अनुसार योग्य नै रहने दाबी गर्नुभयो । यस पटक कानुनी व्यवस्थाले गर्दा महिलाले धेरै अवसर पाएको र यसले महिला सशक्त बन्दै जाने अखिल नेपाल महिला संघ रामेछापका अध्यक्ष शान्ता पौडेलले बताउनुभयो । उहाँले आरक्षण बाहेक खुल्ला पदमा समेत महिला आउन सक्ने दाबी गर्नुभयो । पार्टीले जिम्मेवारी दिए आफू पनि जुनसुकै पदमा चुनाव लड्न सक्ने बताउनुभयो ।

महिला संघ रामेछापका अध्यक्ष गंगा अधिकारी आफू पार्टीले दिएको जिम्मेवारीका आधारमा प्रभावशाली र क्षमतावान महिला उम्मेदवार छान्ने आन्तरिक अभियानमा लागि परेकोले त्यस्ता उम्मेदवारलाई टिकट दिन पार्टीमा सिफारिस गर्ने बताउनुभयो । उहाँले आफू लगायत जिल्लाका धेरै महिला विभिन्न पदमा उम्मेदवार बन्न सक्षम भएको धारणा समेत व्यक्त गर्नुभयो ।

जिल्लामा पछिल्लो समयमा नगर र गाउँपालिकामा चर्चामा रहेका महिला उम्मेदवारहरुमा काँग्रेसबाट अध्यक्ष अधिकारी सहित उषा कार्की, चिना खड्का, विनिता खड्का, रामकुमारी डाँगी, मीना कार्की, जमुना कार्की, कल्पना खड्का, निर्मला घिमिरे, उर्मिला बस्नेत र रमा दाहाल बस्नेत लगायतको नाम चर्चामा आएको छ । यसै गरी, एमालेमा अखिल नेपाल महिला संघ रामेछापका अध्यक्ष शान्ता सापकोटा, माया कार्की, दीपा कार्की, गंगा कार्की लगायतको नाम चर्चामा छ । यसै गरी, माओवादी केन्द्रमा भने सिर्जना गौतम, सरिता कार्की लगायतको नाम चर्चामा आउन थालेको छ ।

तर, आफू उठ्न पाउने, नपाउने टुंगो नभएपनि जिल्लाका केही महिला नेताहरू पार्टीका लागि भोट माग्दै हिड्न थालिसकेका छन् । ‘पार्टीले उम्मेदवार बनाउला या नबनाउला तर, पार्टीभित्रै कसैले त जित्नेछ, यसैले उम्मेदवारको घोषणा नहुँदै भोट माग्न गाउँ गइरहेका छौँ’, महिला संघ रामेछापकी एक नेताले भन्नुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: