महिनावारीले पढाइ छुट्छ


प्रकाशित मिति :2017-04-08 09:00:25

‘मुन्तिर मन्दिर भएकाले पुल तर्न मिल्दैन । खोलामा बगिएला भन्ने डरले महिनावारी भएका किशोरी पढ्नै जाँदैनन् । यसरी महिनामा एक सातासम्म किशोरीहरूको पढाइ छुट्छ ।’

  दुर्गालाल केसी

 असीग्राम गाविसकी एक किशोरी विद्यालयमै महिनावारी भइन् । नौ कक्षामा पढ्ने ती किशोरीलाई घर फर्कंदा समस्या भयो । कारण थियो बाटोमा पर्ने भागादेउ खोला । पुलमुनि देवताको मन्दिर छ । अब महिनावारी भएका कारण पुल तर्न पाइँदैन । त्यसपछि उनी दुई साथीका साथ खोला तर्न पानीमा पसिन् ।

वर्षात्को समय खोलाको बीचमा पुगेको बेला एक्कासि बाढी आयो । उनीहरू न वारि आउन सके न पारि जान । खोलाबीचको ठूलो ढुङ्गामा चढे । वरिपरि बाढीले घे¥यो । धेरैबेर रोइकराइ गरे । कसैले उद्धार गर्न सकेन । गुहार मागिरहेका तीनैजनालाई खोलाले बगाएर लग्यो ।

असीग्राम उमाविमा नौ कक्षा अध्ययनरत असीग्राम– ८ बापुरका मञ्जु देउवा, सावित्रा देउवा र भगवती देउवाको यसरी मृत्यु भयो । कसैको तीन दिन र कसैको एक सातापछि मात्र शव फेला प¥यो । विद्यालयबाट घर फर्कने बाटोमा पुलमुनि असीग्राम अर्थात् असिउ देउपाल मन्दिर छ । बाटोमा तीन ठाउँमा मसानी देवताका प्रतीक छन् । ०७१ साउन २९ मा भएको यो घटना छाउपडी प्रथाको क्रूर परिणाम देखाउने एक उदाहरण हो ।

सुदूरपश्चिममा कायम छाउपडी प्रथाले महिलाको ज्यान लिइरहेको छ । कतिपय छाउगोठमा बस्दा यौनहिंसाको सिकार भएका छन् । कति सर्पले डसेर मरेका छन् । भागादेउ खोलामा तीन किशोरीको मृत्यु भएपछि पानी पर्न थाले महिनावारी भएका किशोरी पढ्नै नजाने गरेको असीग्राम अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष गोवदी जोशीले बताइन् । ‘मुन्तिर मन्दिर भएकाले पुल तर्न मिल्दैन । खोलामा बगिएला भन्ने डरले अहिले महिनावारी भएका किशोरी पढ्नै जाँदैनन्,’ उनले भनिन्, ‘कि त जोखिम मोलेर खोला तर्नुप¥यो, कि पढाइ नै छोड्नुप¥यो । महिनावारीकै कारण एक सातासम्म किशोरीहरूको पढाइ छुट्छ ।’

यस क्षेत्रमा महिनावारी हुँदा महिलालाई दूध, दहीसमेत खान दिइँदैन । देवता रिसाउँछन्, अनिष्ट हुन्छ भनेर एक सातासम्म महिलाले पोषिलो खानेकुरा खान पाउँदैनन् । देवताको कारण देखाएर अनेक डर हालिदिएपछि महिला आफँै पनि खान डराउने गरेको असीग्राम–६ स्थित निगरानी समूहकी संयोजक लक्ष्मी नाथले बताइन् । ‘दूध, दही खाए देवताले सहँदैनन् । मन्दिरको बाटो हिँडे नराम्रो हुन्छ भन्ने कुरा सुनाएपछि बालिका सानैदेखि त्रसित हुन्छन्,’ उनले भनिन्, ‘ठूला मानिसले डर भरिदिएपछि सानैदेखि महिलामा देवताको त्रास हुन्छ । दूध, दही पाए पनि खान नसक्ने अवस्था हुन्छ ।’

महिनावारीको समयमा समाजले रोक लगाएको कुनै काम गर्ने साहस महिलामा हुन्न । घरमा कुनै पनि नराम्रो काम भयो भने त्यसको दोष महिलामाथि जान्छ । असीग्राम–८ वडा नागरिक मञ्चकी संयोजक बसन्ती विक भन्छिन्, ‘हामीले अटेर गरेर महिनावारीको विभेद तोड्न खोज्यौँ भने घरमा कुनै कारणले नराम्रा घटना भएमा यसकै कारण भयो भन्ने दोष आउँछ । अनि महिला डराएर आफँै पछि हट्ने अवस्था छ ।’

पहिले–पहिले सार्वजनिक कार्यक्रममा समेत महिनावारी भएका महिला छुट्टै बस्ने चलन थियो । त्यही अप्ठ्यारोका कारण सामाजिक सङ्घसंस्थाहरूमा महिलाको सहभागिता न्यून हुने गरेको असीग्राम–७ स्थित निगरानी समूहकी संयोजक टिकेश्वरी भट्टले बताइन् । भट्ट भन्छिन्, ‘अहिले हामीले निगरानी समूहमार्फत चेतना जगाउने र नियमित बहस गर्ने गरेपछि यसमा कमी आएको छ । सार्वजनिक काममा पनि महिलाको सहभागिता बढ्दै गएको छ ।’ उनका भनाइमा महिनावारी महिलालाई पछि धकेल्ने अस्त्र बनेको छ ।

महिनावारीका समयमा महिला छाउगोठमा बस्नुपर्ने बाध्यता छ । छाउगोठ बस्दा महिला असुरक्षित भएपछि यस्ता गोठ भत्काउने अभियान चलाइयो । कतिपय गाविसलाई छाउगोठमुक्त घोषणा पनि गरियो, तर अझै अधिकांश ठाउँमा घरछेउमै गोठ बनाएर राख्ने गरिएको छ । पहिलेजस्तो घरदेखि टाढा जङ्गलमा गोठ बनाउने चलन त हटेको छ, तर अझै पनि बारीको छेउमा साँघुरा र असुरक्षित गोठ कायमै छन् ।

गोठ भत्काएपछि देवता रिसाएको, घरमा अनिष्ट भइरहेकोजस्ता धार्मिक कारण देखाएर फेरि गोठ बनाउन थालिएको महिला बताउँछन् । देवता रिसाएकै कारण फेरि गोठ बनाएर बसेको आलिताल– ७ रज्यौडा डडेल्धुराकी ३० वर्षीया लक्ष्मी विकले बताइन् ।

महिनावारीको समयमा चर्पी प्रयोग गर्नसमेत कठिन हुुने गरेको रज्यौडाकै अगुवा महिला पार्वती विकले बताइन् । ‘महिनावारीको समयमा चर्पी पनि छुन नहुने भन्ने बुझाइ छ । ‘धामी, झाँक्री भएका घरमा त कि त धामी चर्पीबाहिर कि महिला बाहिर जानुपर्छ,’ उनले भनिन्, ‘यसले सरसफाइ अभियानलाई समेत प्रभावित गरेको छ । खुला दिसामुक्त गाउँघर बनाउन कठिन भएको छ ।’

डडेल्धुरा जिल्लामै आलितालका महिलाको स्वास्थ्य अवस्था सबैभन्दा जोखिममा रहेको स्वास्थ्य चौकी आलितालका इन्चार्ज धनबहादुर क्षेत्रीले बताए । उनका भनाइमा असुरक्षित प्रसूतिका कारण गत वर्ष आलितालमा मात्रै तीन महिलाको मृत्यु भएको थियो । ‘डडेल्धुरा जिल्लाभर ६ आमाको मृत्यु भएकोमा ३ जना आलितालका छन् । पूरै जिल्लाभरको मृत्यु बराबर यहाँको मृत्यु सङ्ख्या छ ।’

खत्रीका अनुसार एक वर्षमा गाविसभर ३ सय ९८ आमा सुत्केरी भएकोमा २ सय ३१ जना मात्र स्वास्थ्य चौकीमा आएका छन् । १ सय ६७ जनाले घरमै सुत्केरी गराएका छन् । अर्थात् गाविसमा अझै ३८ प्रतिशत महिला घरमै सुत्केरी भइरहेका छन् । ५८ प्रतिशत महिलाले मात्रै चारपटक गर्भजाँच गराएको उनले बताए ।

आलितालमा गर्भावस्था र सुत्केरी अवस्थामा महिलाको स्याहार नगर्दा गर्त वर्ष १४ नवजात शिशुको मृत्यु भएको खत्रीले बताए । ‘यस वर्षको माघसम्म चार शिशुको मृत्यु भइसकेको छ । अन्धविश्वासले गर्दा आमा र शिशुको मृत्यु भइरहेको छ,’ उनले भने, ‘धार्मिक परम्परा र संस्कारका नाममा आमा र बच्चाको ज्यान जोखिममा परिरहेको छ । छाउपडी प्रथाले पनि महिलाको स्वास्थ्य खतरामा परिरहेको छ ।’ महिनावारी भएको बेला सुत्केरी महिला पनि सानो बच्चासहित छाउगोठमा बस्न बाध्य छन् । यस्तो अवस्थामा बच्चाहरू उचित स्याहारको अभावमा जोखिममा पर्ने गरेको खत्रीको भनाइ छ ।

(संचारिका फिचर सेवा)
(दुर्गालाल, दाङमा कार्यरत पत्रकार हुन् ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: