स्थानीय निर्वाचन: महिलाका लागि ‘नयाँ युग’


प्रकाशित मिति :2017-04-09 18:04:57

बुटवल । घोडाघोडी–५, कैलालीकी शुक्लादेवी उपाध्याय (४५) बाढीपीडित हुन् । बर्खा लाग्नासाथ खोलामा आउने बाढीले उनलाई बेघर बनाउने चिन्ता लागिरहन्छ । तर, ३ चैतमा धनगढीमा भेटिएकी उनको अनुहारमा खुशी छाएको थियो । कारण हो, स्थानीय तहको निर्वाचन ।

नेतृत्वमा महिला नभएकै कारण महिलाले धेरै दुःख पाएको भन्ने बुझेकी शुक्लादेवी हरेक दिनजसो हुने निर्वाचनकेन्द्रित कार्यक्रममा सक्रिय भइरहेकी छिन् ।

“यसपटक त धेरै महिला आउँछन् रे, परिवर्तन हुन्छ रे” उनी भन्छिन्, “सके आफैं उठौंला नत्र, अरू महिलालाई जिताऔंला, ठाउँमा महिला हुँदा यस्तो दुःख त नहोला नि ”

शुक्लादेवीले सुनेको सत्य हो । १९ वर्षपछि आउँदो ३१ वैशाखमा हुने स्थानीयतहको निर्वाचनले महिलाका लागि ‘नयाँ युग’ को ढोका खोल्नेछ ।

निर्वाचनमार्फत एकैपटक १३ हजारभन्दा बढी महिला स्थानीयतहमा निर्वाचित भएर आउँदैछन् । जसलाई स्थानीय नीतिनिर्माणको अधिकार समेत हुनेछ । जसमध्ये ६ हजार बढी दलित महिला हुनेछन् ।

“समग्र महिलाका लागि यो ठूलो परिवर्तन होे”, रौतहटकी पूर्व सभासद् सरला यादव भन्छिन्, “कहिल्यै बाहिर निस्किन नपाएका मधेशी महिलाका लागि त यो कहिल्यै नपाएको अवसर हो ।”

ऐतिहासिक फड्को
२०५४ को स्थानीय निर्वाचनमा निर्वाचितमध्ये २० प्रतिशत महिला थिए । त्यति बेला हरेक वडामा कम्तीमा एक जना महिला सदस्य उठाउनै पर्ने व्यवस्था थियो ।

यसपटक महिलाको प्रतिनिधित्व दोब्बर बढेर ४० प्रतिशतभन्दा बढी पुग्दैछ । स्थानीयतह निर्वाचन ऐनमा दलले अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमध्ये पचास प्रतिशत महिला उम्मेदवार रहने गरी मनोनयनपत्र पेश गर्ने व्यवस्था मिलाउनुपर्ने प्रावधान छ ।

यसैगरी, गाउँपालिका वा नगरपालिकाको वडा समितिका महिला वडा सदस्य पदमा मनोनयनपत्र पेश गर्दा दलले कम्तीमा एक जना दलित महिला उम्मेदवार रहने गरी मनोनयनपत्र पेश गर्ने व्यवस्था मिलाउनुपर्नेछ ।

एशियाली विकास ब्यांक (एडीबी) को पछिल्लो प्रतिवेदन अनुसार, महिलाको राजनीतिक प्रतिनिधित्वको हिसाबले एशियाका १६ देशमध्ये नेपाल पहिलो स्थानमा छ ।

अन्तर्राष्ट्रिय पार्लियामेन्ट्री युनियन ९आईपीयू० को पछिल्लो प्रतिवेदन अनुसार, संसद्‌मा महिला प्रतिनिधित्वका हिसाबले नेपाल विश्वको ४८औं स्थानमा छ । राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुखमा महिला छन् भने संसद्‌मा २९ प्रतिशत र निजामती सेवामा ३५.६४ प्रतिशत महिला छन् ।

२०६२ र  ६३ को जनआन्दोलनपछि राज्यका विभिन्न निकायमा महिला प्रतिनिधित्व सुनिश्चित गर्ने कानूनी व्यवस्था भयो । त्यसैको परिणाम, २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा १९७ महिलाले संसद्मा प्रतिनिधित्व गरे ।

अवसरसँगै चुनौती
अनिवार्य निर्वाचित हुने १३ हजार ३०० भन्दा बढी महिलाका लागि प्रायः ठूला दलले सबै ठाउँमा उम्मेदवारी दिएको अवस्थामा ३९ हजार ९०० महिला उम्मेदवारको आवश्यकता पर्दछ ।

अन्य पार्टी र स्वतन्त्र उम्मेदवारहरूको जोड्ने हो भने स्थानीयतहका लागि करीब ५० हजार महिलाको खाँचो पर्छ । त्यस्तै ६ हजारभन्दा बढी दलित महिला उम्मेदवारका लागि तीन ठूला दल र अन्य गरी झण्डै २५ हजार महिला उम्मेदवार आवश्यक हुनेछन् ।

तर के दलहरूले यत्तिका संख्यामा महिलालाई राजनीतिक रूपमा सक्षम र संगठित बनाएका छन् त रु नेकपा माओवादीका पूर्व सभासद् विनोद पहाडी महिलाको प्रतिनिधित्वका क्षेत्रमा आएको परिवर्तन संस्थागत गर्न पनि दलहरूले ध्यान दिनुपर्ने बताउँछन् । “अब यसतर्फ नसोची धरै छैन”, उनी भन्छन् ।

नेकपा मालेकी सांसद् कमला विश्वकर्मा पनि महिलाको बढ्दो उपस्थितिले आशा जगाए पनि गुणात्मक नेतृत्वका लागि काम गर्न बाँकी रहेको बताउँछिन् । “यसका लागि पार्टीहरूले छुट्टै अभियान चलाउनुपर्छ”, उनी भन्छिन् ।

त्यसो त हरेक निकायमा प्रमुख र उपप्रमुख एक पदमा महिला उम्मेदवारी अनिवार्य भनिए पनि उम्मेदवारको विजयको सुनिश्चितता भने छैन । दलहरू महिला उम्मेदवारप्रति उदासीन भए वा उक्त पदमा अर्को पार्टीले प्रभावशाली उम्मेदवार उठाएमा नतीजा अर्कै पनि हुनसक्छ ।

विगतका संसदीय निर्वाचनमा पार्टीको अवस्था कमजोर भएको स्थानमा मात्रै महिलालाई उम्मेदवार बनाएको आरोप पनि लाग्दै आएको छ ।

“यो ऐतिहासिक अवसरलाई सक्दो सदुपयोग गर्न महिला पनि कस्सिनुपर्छ”, सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्मा भन्छिन्, “दलहरूले उम्मेदवारी दिंदा नै इमानदारिता देखाउनुपर्छ ।”

स्रोतः हिमाल खबर

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: