नानीलाई कामको भारी


प्रकाशित मिति :2017-04-10 11:54:13

जिल्लाका दुर्गम बस्तीमा बसोबास गर्ने अधिकांश विपन्न परिवारका बालबालिका विद्यालय जानुको साटो दिनहुँ घरधन्दा गर्ने र घाँस दाउरा काट्न वन जंगल धाउने गर्दछन् ।

-राजेन्द्र बहादुर सिंह-

तस्वीरः रन्जना पाेखरेलकाे फेसबुकबाट साभार ।

‘बिहान बेलुका घाँस काट्दै ठीक हुन्छ, कतिखेर विद्यालय जानु ?’ पिठिउँमा घाँसको भारी बोकेर घर फर्किरहेकी राम प्यारी कठाएत (१२) ले एकैसासमा भनिन् । त्यसो भनिरहँदा, स्कुल जान नपाएको पीडा उनको अनुहारमा प्रष्टै देखिन्थ्यो ।

बाबुआमा बुढा भइसकेका र घरका अन्य सदस्य रोजगारी गर्न भारत गएकाले उनलाई नै घरको हर्ताकर्ता हुनुपरेको छ । बिहान घाँस काट्ने, फर्केर आएपछि चुलोचौको र घरधन्दा गर्दै उनको दिन बित्छ । घरधन्दा सकिएपछि उनी प्रायः दाउरा बिक्री गर्न सदरमुकाम चैनपुर बजार झर्छिन्, अनि बेलुका फेरी चुलोचौको । सधैं कामकै चटारो हुँदा स्कुल भर्ना हुने समय जहिले पनि छुट्छ । कहिल्यै फुर्सद नभएपछि हिजोआज उनले पढ्ने आस नै मारेकी छिन् ।

स्कुल गइरहेकी सुनिता बोहरा (१३) पनि घरायसी कामकै व्यस्तताले पढाइ छोड्न बाध्य भइन् । स्थानीय देवस्थली निमाविमा कक्षा ७ मा पढ्ने सुनिता गत साउनदेखि घरकै काममा व्यस्त देखिन्छन् । पढाइ नियमित नभएपछि उनले यसपालीको वार्षिक परिक्षा पनि दिइनन् । ‘आफूसँगैका साथी कक्षा ८ मा जाने भए, आफूलाई भने काम नगरी खान पुग्दैन’, गहभरी आँशु पार्दै उनले सुनाइन्, ‘बाबा बिरामी हुनुहुन्छ, आमा काम गर्न जानुहुन्छ । बिहान–बेलुका घाँसपात र भान्साको काम नगरे घरधन्दा नै चल्दैन ।’

आर्थिक रुपले कमजोर परिवारमा अभिभावकहरु कामको खोजीमा हिँड्ने र छोराछोरीले घर, वस्तुभाउ सम्हाल्ने हुँदा उनीहरु स्कुल जानबाट वञ्चित भएका देखिन्छन् । परिवारको संख्या बढ्दै जाँदा स्कुल गएका बालबालिका समेत पढाइ छोडी घरधन्दा र भाइबहिनी स्याहार्दै बसिरहेका देखिन्छन् । जिल्लास्थित हलिया मुक्ति समाजले गत वर्ष गरेको एक अध्ययनमा जिल्लामा करिब ४८ सय गरिब घरपरिवार रहेका छन् । ती परिवारका झण्डै २१ सय बालबालिका विद्यालय नगई घरायसी काम गर्दै आएका छन् ।

जयपृथ्वी मार्गमा पर्ने झोता बजार नजिकै खाली जमिनमा त्रिपाल राखेर बस्दै आएका सुरेन्द्र नेपालीका ४ छोरी र २ छोरा पनि विद्यालय जाँदैनन् । सबै छोराछोरी विद्यालय जाने उमेरकै भएपनि आयस्रोत नभएपछि उनीहरु स्कुल जानुभन्दा बाबुआमालाई काममा सघाइरहेका भेटिन्छन् । ‘घरमा के खाउँ, के लाउँ भन्ने अवस्था छ, बालबच्चाका आङ समेत ढाक्न सकेको छैन, कसरी स्कुल पठाउनु ?’ भावुक हुँदै सरेन्द्रकी जहान राधाले दुःखेसो पोखिन् ।

उनीहरुकी सबैभन्दा ठूली छोरी सुमित्रालाई घरधन्दासँगै भाइबहिनी स्यार्हानुपर्ने जिम्मेवारी समेत छ । उमेरले १० वर्ष पुगेकी सुमित्राले हालसम्म विद्यालय प्रवेश गरेकी छैनन् । विद्यालय किन नगएको भन्ने प्रश्नमा सुमित्रा उल्टै प्रश्न गर्छिन्, ‘म स्कुल गएँ भने भाइबहिनीलाई कसले हेर्छ ?’

सुवेडा गाउँकी एकल महिला सिउरी देवी सिंहले पनि आफ्ना छोराछोरी पढाएकी छैनन् । उनका दुई सन्तानमध्ये जेठा छोरा सुरेश अहिले ११ वर्षका भएका छन् र छोरी प्रमिला ७ वर्षकी छिन् । श्रीमान् हंसबहादुरको निधन भएपछि उनको परिवार अहिले सिउरी देवीकै कमाइमा निर्भर छ । बिहान बेलुकाको हातमुख जोर्न सिउरीदेवी एकाबिहानैदेखि भारी बोक्न जान्छिन्, अनि छोरा सुरेश दिनभर बहिनीको हेरविचार गर्दै बस्छन् । ‘स्कुल जाने लुगा छैन, कापी कलम पनि छैन, त्यसैले स्कुल गइनँ’, सुरेश भन्छन् ।

जयपृथ्वी नगरपालिकास्थित श्री बालमन्दिर निमाविका सहायक प्रधानाध्यापक टेक बहादुर सिंह विपन्न परिवारका बालबालिकाको उपस्थिति न्यून रहेको बताउँछन् । उनका अनुसार ३३१ जना बालबालिका भर्ना भएकोमा ३०९ जना मात्र यस वर्षको अन्तिम परिक्षामा सहभागी भएका थिए । परिक्षामा सहभागी नभएका २२ जना विद्यार्थीमा १४ जना छात्रा र ७ जना छात्र विपन्न परिवारका रहेका छन् । यी बालबालिका बीचमै पढाइ छोडेर घरायसी काम गर्दै आएको उनको भनाइ छ ।

जिल्ला शिक्षा कार्यालयको तथ्याङ्क अनुसार बझाङ जिल्लामा ३४२ सामुदायिक प्राथमिक, ३८ सामुदायिक निम्न माध्यमिक, ७९ माध्यमिक र ६० निजी गरी जम्मा ५१९ वटा विद्यालय रहेका छन् । कार्यालयकै सूचना अनुसार अन्य परिवारका बालबालिकाको विद्यालय भर्नादर ७० प्रतिशत रहेको छ भने विपन्न परिवारका बालबालिकाहरुको विद्यालय भर्नादर २० प्रतिशत मात्र रहेको छ । यसबाहेक अन्य १० प्रतिशत बालबालिका विद्यालयमा भर्ना भएका छैनन् ।

विद्यार्थीहरुको भर्ना दर कम भएकोले कार्यालयले बालबालिका विद्यालयमा उपस्थित गराउन स्थानीय रेडियोबाट जनचेतना मुलक कार्यक्रम प्रसारण गर्ने, स्रोत केन्द्रमा अभिभावक भेला गराइ छलफल गर्ने र बालक्लव मार्फत गाउँमा अनिवार्य शिक्षाको कार्यक्रमबारे सचेत गराउँदै आएको छ । यसबाहेक, गरिब विद्यार्थीलाई छात्रवृतिको व्यवस्था, साक्षरता कक्षा संचालन तथा दिवा खाजा समेत सञ्चालनमा ल्याएको देखिन्छ । तर, यसले पनि खासगरि विपन्न परिवारका बालबालिकालाई नियमित विद्यालयमा आउन सहयोग गरेको छैन ।

कार्यक्रम गर्दै जाने तर विपन्न परिवारका विद्यार्थी नआउँदा समस्या समाधान हुन सकेको छैन । यहिकारण, कार्यालयले आगामी दिनमा अनिवार्य शिक्षा कार्यक्रमलाई निरन्तरता दिने र बालबालिकालाई विद्यालय नपठाउने अभिभावकलाई सामाजिक बहिस्कार गर्ने तथा दण्डित गर्नेसम्मको योजना बनाएको जिल्ला शिक्षा अधिकारी सुरेन्द्र बहादुर कठायत बताउँछन् । ‘परिवारमा आर्थिक अभाव त छ नै अविभावकमा बालबालिका विद्यालयमा पठाउनुपर्छ भन्ने चेतना छैन, स्कुल गएर के हुने हो र ? भन्ने खालको सोच छ’, कठायत भन्छन् ।

केही अभिभावकले छोराछोरीलाई पढाउनुभन्दा तत्काल आयआर्जन हुने काममा लगाउने गरेका समेत देखिन्छ । यसले कतिपय बालबालिका सदरमुकामका होटलहरुमा भाँडा माझ्ने तथा भारी बोक्ने जस्ता कठिन श्रम गर्न बाध्य देखिन्छन् भने कतिपय कुलतमा समेत फस्ने गरेका देखिन्छन् । नागरिक समाजका अगुवा धर्मजंग बहादुर सिंह भने बालबालिका गरिबीकै कारण श्रम गर्न बाध्य भएको बताउँछन् । सरकारले यस्ता परिवार पहिचान गरी त्यहाँका बालबालिकालाई समयमै विद्यालयसम्म ल्याउने वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।

(राजेन्द्र, बझाङका पत्रकार हुन्।)

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: