निजी क्षेत्रको नेतृत्व गर्दै भवानी


निजी क्षेत्रको नेतृत्वमा अाजबाट महिला 

प्रकाशित मिति :2017-04-10 21:21:49

काठमाडौं । बाह्र वर्षअघि मनोनित केन्द्रीय कार्यसमिति सदस्यका रूपमा नेपाल उद्योग वाणिज्य महासंघमा प्रवेश गर्दा भवानी राणालाई सरकारपछि सबैभन्दा बढी सञ्जाल भएको निजी क्षेत्रको सबैभन्दा ठूलो संगठनको केन्द्रमा पुग्छु जस्तो लागेको थिएन। तिनै भवानी महासंघको अध्यक्षका रूपमा निर्वाचित हुँदैछिन्। हाल वरिष्ठ उपाध्यक्ष रहेकी राणा चैत २९ गते मंगलबार ५१ औं साधारणसभाबाट अध्यक्ष नियुक्त हुनेछिन्।

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाजस्ता राज्यका अंग मात्र होइन, नीति–निर्माण तहमा महत्वपूर्ण हस्तक्षेप गर्नसक्ने निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था महासंघको अध्यक्षमा पनि अब महिला नियुक्त हुँदैछिन्। महासंघको आधा शताब्दी लामो इतिहासमा राणा पहिलो महिला अध्यक्ष हुन्। उद्योग व्यवसाय क्षेत्रमै महिलाको उपस्थिति नै कम रहँदै आएको परिवेशमा महासंघजस्तो संस्थाको नेतृत्व नै महिलाको हातमा जानु उपलब्धिपूर्ण भएको राणा बताउँछिन्।

‘हामीकहाँ महिलाहरू आज पनि सानातिना क्षेत्रमै रमाउँदै आएका छन्, यस्तोमा निजी क्षेत्रको छाता संगठनको नेतृत्व महिलाको हातमा जाँदैछ, म खुसी छु,’ राणाले सेतोपाटीसँग भनिन्, ‘पुरुष हाबी रहँदै आएको संस्थामा महिला नेतृत्व हुनु गौरवको विषय हो भन्ने मलाई लाग्छ।’ उनी आफू महिला भएर मात्र महासंघको अध्यक्षसम्मको यात्रा सम्भव भएको मान्दिनन्। आफूभित्रको आत्मविश्वास, अग्रजहरूको प्रेरणा र सहयात्रीको सहयोगले नै यो सम्भव भएको उनको बुझाइ छ।

घरपरिवारदेखि समाज र अन्य सबैतिर सफल हुनलाई महिला र पुरुषबीच आपसमा सद्भाव, सहयोग हुनुपर्छ भन्ने धारणा राख्ने राणा आफ्नो सफलताको सूत्र यसैलाई मान्छिन्। आफूलाई जिताउने मतदाता मात्र होइन, सबै सफलतामा साथ दिने पनि पुरुष नै भएकाले महिला–पुरुष सँगसँगै बढ्नुपर्ने उनले बताइन्। साथ र सहयोग मात्र होइन, यहाँसम्म आइपुग्न चुनौतीको चाङ छिचोलेको उनको भनाइ छ। ‘यो ठाउँमा पुग्न मसँग सपना थियो, त्यसका लागि मैले मेहनत गरेँ, सकारात्मक सोचका साथ काम गरेँ,’ उनले भनिन्, ‘यहाँसम्म पुग्न मैले धेरै संघर्ष गरेँ, त्यसमा मेरो आत्मबलले सहयोगी भूमिका खेल्यो।’

अध्यक्षसम्मको यात्रा

भवानी राणाको महासंघको यात्रा संयोगपूर्ण रहेको कतिपयको बुझाइ छ। २०५० सालदेखि नेपालगन्ज उद्योग वाणिज्य संघ र बर्दिया उद्योग वाणिज्य संघसँग जोडिएकी भवानी महासंघको कार्यसमितिमा २०६१ सालमात्र प्रवेश गरेकी हुन्, त्यो पनि मनोनित सदस्यका रूपमा। २०६४ सालमा जिल्ला नगर क्षेत्रबाट लोकप्रिय मतसहित कार्यसमिति सदस्यमा विजयी राणाले महासंघभित्रका विभिन्न समितिमा नेतृत्व गर्ने अवसर पाइन्। त्यही अवसरले नेतृत्वमा पुग्न सहयोग गरेको उनको बुझाइ छ।

२०६७ सालमा महासंघको इतिहासमै पहिलोपटक प्रत्यक्ष निर्वाचनबाट जिल्ला नगर क्षेत्रको उपाध्यक्ष विजयी भएकी राणा पशुपति मुरारका अध्यक्ष भएको समितिमा वरिष्ठ उपाध्यक्ष छिन्। यही पालामा महासंघको वरिष्ठ अध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधानसहितको विधान संशोधन भएपछि उनी अध्यक्ष हुन लागेकी हुन्। यद्यपि यो प्रावधान नभएको भए पनि अध्यक्षमा उठ्ने योजना बनाएको उनी बताउछिन्। महासंघको अध्यक्षमा पुग्ने पहिलो महिला भए पनि राणाको पारिवारिक पृष्ठभूमि भने प्रशासनिक थियो। ‘मेरो बुवा अञ्चलाधीश हुनुहुन्थ्यो, तर मेरो मुवा जहिले पनि उद्यमशिलतामा प्रेरित गरिरहनुहुन्थ्यो,’ उनले भनिन्, ‘बुवाको संगतले जहाँ पनि नेतृत्व तहमा जानुपर्छ भन्ने मलाई लाग्थ्यो।’

यसरी उद्यमशिलता र नेतृत्वको अभिप्रेरणा घरबाटै पाएको उनको भनाइ छ। हाल नेपालगन्जमा होटल, बर्दियामा रिसोर्ट र कृषिमा आधारित व्यवसायका साथै बैंक तथा विमान क्षेत्रमा लगानी गरिरहेकी राणा आगामी दिनमा उत्पादनमूलक व्यवसायमा प्रवेस गर्ने योजनामा छिन्। ‘विवाहभन्दा अगाडि पनि हामी दिदीबहिनी मिलेर गार्मेन्ट, इभेन्ट म्यानेजमेन्टको काम सुरु गरेका थियौं। सन् २००० पछिको अवस्थामा गार्मेन्ट बन्द भयो। मैले गार्मेन्टकै लागि भनेर भारतमा फेसन डिजाइन अध्ययन गरेर आएँ, तर त्यो काम लागेन,’ उनले भनिन्।

यस्ता छन् उनका योजना

दुई दशक लामो महासंघको राजनीतिमा भिजेकी राणाले आफू अध्यक्ष भएपछि महासंघलाई एकताबद्ध, चुस्त र व्यावसायिक हितमा लगाउने बताएकी छिन्। सचिवालय व्यवस्थापनदेखि आर्थिक विकासमा निजी क्षेत्रको भूमिका जबर्जस्त रूपले स्थापित गर्ने उनको योजना छ। लामो समयदेखि महासंघमा रहेको, जिल्ला–नगरदेखि वस्तुगतसम्म सबै क्षेत्रका समस्या पहिचान गरेकाले यी सबै योजनामा सफल हुने उनको दाबी छ।

‘मैले लामो समयदेखि विभिन्न समिति, फोरममा नेतृत्व गर्दै आएकी छु,’ उनले भनिन्, ‘समस्या पनि बुझेकी छु, यसकारण म महासंघलाई आर्थिक विकास र व्यावासयिक हितमा लगाउँछु।’ देशभित्र लगानीको वातावरण बनाउन सरकारलाई नीतिगत रूपान्तरणका लागि दबाब दिने, विदेशी लगानीको वातावरण बनाउने र औद्योगिक तथा आर्थिक विकासको थिंक ट्यांक महासंघलाई बनाउने उनको योजना छ।

साभार: सेतो पाटी

    Comment Here!

Related NEWS
मुख्य खबर

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: