वर्ष २०७३ चर्चामा आएका महिला खेलाडीहरु


प्रकाशित मिति :2017-04-13 10:53:49

काठमाडौं,

गौरिका सिंह, पौडी

 

पौडीकी किशोरी खेलाडी गौरिका सिंहका लागि वर्ष २०७३ निकै सुखद रह्यो र उनी सर्वाधिक चर्चामा रहने खेलाडी भइन् । उनको चर्चा नेपालमा मात्र सीमित रहेन, अन्तर्राष्ट्रिय क्षेत्रमै देखियो । उनले नेपालको प्रतिनिधित्व गर्दै रियो ओलम्पिकमा सहभागिता जनाएकी थिइन् र त्यसक्रममा उनी पूरा प्रतियोगिताकै सबैभन्दा कान्छी खेलाडी थिइन् । त्यति बेला उनको उमेर १३ वर्ष २ सय ५५ दिन मात्र थियो । यस्तोमा उनलाई सारा विदेशी मिडियाले पछ्याए र लगातार समाचार बनाए । लन्डनमा रहेर अभ्यास गर्ने गौरिकालाई ओलम्पिक स्तरमै पदक जित्नेसक्ने खेलाडीका रूपमा हेरिएको छ ।

 

कान्छीमाया कोजु, एथलेटिक्स

नेपाली एथलेटिक्सका सर्वाधिक सफल खेलाडी हुन्– कान्छीमाया कोजू । कोजु दक्षिण एसियाली खेलकुदमा रजत पदक जित्ने एक मात्र नेपाली महिला खेलाडी हुन् । मध्यमदूरीकी धाविकाबाट हाफ म्याराथन र म्याराथनमा प्रतिस्पर्धा गर्न थालेकी कान्छीमायाले यो वर्ष भएका लगभग सबै प्रतिस्पर्धा जितेर आफूलाई अब्बल सावित गरिन् । उनी कान्तिपुर हाफ म्याराथन र पिंकाथनमा पनि विजेता रहिन् ।

सावित्री भण्डारी, फुटबल

नेपाली महिला फुटबलकी नयाँ स्टार हुन्— सावित्री भण्डारी । टिमको आक्रमणको जिम्मेवारी लिएकी सावित्रीलाई नेपाली महिला फुटबलको गोल मेसिन भने पनि हुन्छ । उनले त्यसलाई सावित गरिन्, भारतमा भएको वुमेन्स साफ च्याम्पियनसिपमा । नेपाल उक्त प्रतियोगिताको फाइनलमा पुग्न सकेन र यस अर्थमा असफल भयो, तर व्यक्तिगत प्रदर्शनका आधारमा सावित्री अगाडि रहिन् । उनले पूरा प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडीका रूपमा १२ गोल गरिन् ।

 

फुपु ल्हामु खत्री, जुडो

ओलम्पिकजस्तो बृहत् खेल महोत्सवमा आफ्नो देशको झन्डा बोकेर उद्घाटन समारोहमा भाग लिन पाउनु ठूलो उपलब्धि हो । जुडोकी फुपु ल्हामु यस्तै भाग्यमानी खेलाडी हुन् । फुपुले यो उपलब्धि रियो ओलम्पिकका क्रममा हात पारिन् । उनले रियोमा आफ्नो चुनौती पनि पेस गरिन् र अन्तिम ३२ को प्रतिस्पर्धामा क्युबाली खेलाडीविरुद्ध पराजित भइन् । हारका बावजुद उनले भिडन्तमा दरिलो प्रतिस्पर्धा गरिन् । फुपु ल्हामुकै कारण लगभग ओझेलमा परिसकेको नेपाली जुडो फेरि ब्युँतिएको छ ।

 मीरा राई, अल्ट्रा रेस
 अन्तर्राष्ट्रिय रूपमा चर्चामा रहने अर्की खेलाडी हुन्— मीरा राई । अल्ट्रा धाविका मीराका लागि प्रदर्शनका आधारमा वर्ष २०७३ ले धेरै ठूलो उपलब्धि लिएर आएन, किनभने यो वर्ष उनी चोटग्रस्त रहिन् । सुरुवाती दिनकी माओवादी लडाकु मीरा लगातार चर्चामा आइन् जसको कारण थियो, नेसनल जियोग्राफीले उनलाई एडभेन्चरर अफ द इयर घोषित गर्नु । यसका लागि मीराले अनलाइन भोटिङमा सर्वाधिक मत प्राप्त गरिन् जुन आफैंमा ठूलो उपलब्धि थियो ।

 

 

स्रोतः कान्तिपुर साप्ताहिक 

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: