बलात्कार: पीडित नै विस्थापित


प्रकाशित मिति :2017-04-15 10:00:01

विभेदकारी सामाजिक संरचना, महिलाका लागि असहयोगी न्याय प्रणाली, अन्य अपराध र बलात्कारलाई समान तहको कसुर ठान्ने प्रहरी मानसिकताजस्ता कारणले अहिले पनि बलात्कारपीडित महिलाले न्याय पाउँदैनन् । परिणाम पीडक होइन पीडितले गाउँघरबाट विस्थापित हुनुपर्छ ।

अमृता अनमोल

बुटवल । दुई वर्षअघि सिद्धार्थनगरकी एक बालिका आफ्नै बाबुबाट बलात्कारमा परिन् । बलात्कारमा परेकी १२ वर्षे छोरीको पक्षमा आमाले न्याय खोजिन् । आमाकै उजुरीमा बाबु अहिले जेल सजाय भोग्दै छन् । बालिकाले कानुनी न्याय पाइन् । तर, पारिवारिक रूपमा भने झन् ठूलो अन्याय भोग्नुपर्यो । आफ्नै बाबुलाई फसाएको भन्दै घरपरिवारका अरू सदस्य र आफन्तले बालिकालाई धम्क्याए । सबै आफन्त मिलेर घरपरिवारबाटै बहिष्कार गरे । आफू नै विस्थापित हुने अवस्था आएपछि न्यायका लागि साथ दिएकी आमाले पनि छोरीको साथ छोडिन् । सट्टामा विद्यालय पढ्दै गरेकी किशोरीलाई पढ्न छुटाइन् र घरेलु श्रमिकको रूपमा नेपालगञ्ज पठाइन् । जहाँ उनी ६ जनाको चुलोचौको गरेर बसेकी छिन् । आमा गोमा भन्छिन्, ‘छोरीमाथि ठूलो अन्याय भएको छ । तर, न्यायका लागि घरभित्रै लड्न सकिनँ ।’

तीन वर्षअघि बलात्कारमा परेर गर्भवती बनेकी सालझण्डीकी किशोरी पनि घरपरिवारबाट विस्थापित छिन् । उनी अहिले राजधानीमा घरेलु श्रमिकको काम गरेर गुजारा चलाइरहेकी छिन् । उनी १४ वर्षे किशोरी साथीका बाबुबाट बलात्कारमा परेकी थिइन् । बलात्कारको पोल खुलेपछि आरोपित पक्राउ परे । आरोपितको परिवार र नातेदार भने किशोरीमाथि जाइलागे । किशोरीलाई गाउँनिकाला नगरे उनको परिवारलाई नै बहिष्कार गर्ने धम्की दिए ।

धम्की खप्न नसकेपछि घरपरिवारले तत्काल किशोरीलाई ओरेकको बुटवल कार्यालयमा जिम्मा लगायो । करिब पाँच महिना पुनस्र्थापना गृहमा बसेपछि उनी गाउँ फर्किन् । किशोरीलाई गाउँलेले स्वीकार गरेनन् । आफन्तले समेतले तिरस्कार गर्न थाले । गाउँमा बस्नै नसक्ने अवस्था भएपछि अभिभावकले घरेलु श्रमिकको रूपमा राजधानी पठाएका हुन् । ती किशोरी भन्छिन्, ‘ममीहरूसित कुरा त हुन्छ । तर अझै गाउँ गएकी छैन । डर लाग्छ ।’

४ वर्षअघि छिमेकीबाट बलात्कारमा परेर गर्भवती बनेकी थिइन् मोतीपुरकी एक किशोरी । आरोपित अहिले जेलमा छन् । पीडित किशोरी घरपरिवारमा स्थापित भने हुन सकिनन् । लुम्बिनीमा होटेल मजदुरको काम गरेर गुजारा चलाइरहेकी छिन् । आफन्तका अनुसार किशोरी गाउँलेबाट तिरस्कृत भएपछि सुरुका ६ महिना बुटवलमा रहेको पुनस्र्थापना गृहमा बसिन् । यसैबेला अधिकारकर्मीको पहलमा उनको ७ महिनाको गर्भ काठमाडौंमा जटिल प्रक्रियाबाट फालियो । यसपछि पढ्ने मनसायका साथ उनी घर फर्किन् । किशोरी घर फर्केपछि बलात्कार आरोपीका परिवार र छिमेकले उनी र उनका परिवारमाथि ज्यान लिने धम्की दिए । डराएर उनको परिवार झन्डै एक वर्ष बुटवलको सुकुम्बासी टोलमा आएर बस्यो । विधवा आमाले होटेलमा मजदुरी गरेर दुई भाइ र उनलाई पढाउँदै थिइन् । तिनै आमा पनि बिरामी परेपछि दुःखका दिन सुरु भए । घर जाने अवस्था नभएपछि एक वर्षयता किशोरीले होटेल मजदुरीको काम गरिरहेकी छिन् ।

बलात्कारपछि विस्थापित हुनेमा महिलाभन्दा बालिका बढी छन् । अधिकारकर्मी नम्रता पोखरेल लोभ र डरका कारण बालिका बलात्कारमा पर्ने, तर तत्काल बताउन नसक्ने भएकाले पनि यस्तो भएको बताउँछिन् । ‘पितृसत्तात्मक सोचका कारण समाजमा पुरुषलाई जे गरे पनि छुट हुन्छ,’ उनले भनिन्, ‘यौनमा पनि पुरुषको पुरुषार्थ र महिलाको कमजोरी वा चरित्रसँग जोडेर हेरिन्छ । महिलालाई नै दोष लगाउने प्रचलनले पनि पीडित विस्थापित हुनुपरेको हो ।’

अदालतको लम्बेतान प्रक्रियाका कारण पनि कतिपय पीडक उम्केका छन् । अनुसन्धानमा खट्ने प्रहरीका अनुसार बलात्कारका घटनामा धेरैजसो आफन्त पीडक हुने भएकाले पनि न्याय र सुरक्षामा आफन्त नै विपक्षमा उभिने गरेका छन् । आफन्तले नै प्रमाण लुकाइदिँदा पीडकहरू सजिलै उम्किएका छन् । यसले गर्दा बलात्कारमा परेका धेरैको न्याय प्रक्रिया प्रभावित हुने र पीडित विस्थापित हुने गरेका छन् । ‘पीडितलाई ‘होस्टायल’ गर्ने, पीडित र साक्षीले बयान फेर्ने, प्रमाण फेर्ने कारणले पनि बलात्कारका घटनामा सहज न्याय पाएका छैनन् ।’ रुपन्देही प्रहरीका प्रहरी नायव उपरीक्षक बेलबहादुर पाण्डे भन्छन्, ‘यसले प्रहरीमाथि पनि समस्या निम्त्याएको छ ।’

अदालतले फैसला सुनाएका र क्षतिपूर्तिको आदेश गरेका घटनामा समेत बलात्कारपीडित विस्थापित भएका छन् । यसले गर्दा न्याय र राहतको अनुभूति गर्न पाएका छैनन् । त्यसको उदाहरण हुन्– सामूहिक बलात्कारमा परेकी नवलपरासीको सुनवलकी २२ वर्षे युवती । ४ वर्षअघि अर्थात् ०६९ वैशाखमा रूपन्देहीको केरवानीमा उनी बलात्कृत भइन् । युवतीको मुद्दामा रूपन्देही अदालतले सोही असार पहिलो साता फैसला सुनायो । बलात्कारमा संलग्न चारजनालाई १० वर्ष जेल सजाय र युवतीलाई दुई लाख क्षतिपूर्तिसमेत दिलाउने आदेश भयो । पीडकले सजाय भोगे । युवतीले पाउनुपर्ने क्षतिपूर्ति भने अझै पाएकी छैनन् । घटनापछि उनको घरपरिवारसमेत त्यहाँबाट बसाइँ सरेको छ । बलात्कारको उजुरी फिर्ता नलिएकोमा धेरै छिमेकीले मुख बारेपछि घरबार नै बेचेर अर्को गाउँ सरेको छ ।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क हेर्दा रूपन्देहीमा पछिल्ला साढे ५ वर्षमा २ सय ३६ महिला तथा बालिका बलात्कृत भएका छन् । त्यसमा १४ वर्षमुनिका १ सय २१ बालिका छन् । चालू आर्थिक वर्षको ७ महिनामा ४४ वटा बलात्कारका उजुरी दर्ता भएका छन् । त्यसमा २८ जना बलात्कार र १६ वटा बलात्कार प्रयासका हुन् । १६ वर्षमुनिका बालिका १६ जना छन् ।

बलात्कारमा परेका आधाजसो महिला तथा बालिका शारीरिक तथा मानसिक रूपमा विक्षिप्त हुने गरेका छन् । प्रजनन अङ्गको विकास नभएका कारण अधिकांश बालिका शारीरिक समस्या समेत भोग्न बाध्य छन् । लुम्बिनी अञ्चल अस्पताल बुटवलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. श्रीधर आचार्य प्रजनन अङ्गको विकास नहुँदै सम्पर्क हुँदा उनीहरूमा तत्काल मात्र होइन दीर्घकालसम्म पनि समस्या देखिने बताउँछन् ।

बलात्कारमा परेका महिला तथा बालबालिकालाई स्थापित गर्न के गर्नुपर्ला ? समाजशास्त्रका प्राध्यापक मीनप्रसाद भुसालले कानुनभन्दा बलियो समाज हुने भएकाले सामाजिक अगुवाहरूले नै पीडकलाई विस्थापित र पीडितलाई स्थापित गर्ने काम थाल्नुपर्र्ने बताए । ‘पहिलो चरणमा राज्यतहबाटै सोधीखोजी गरेर पीडितलाई घरपरिवारमा स्थापित गर्न अभियान चलाउनुपर्छ,’ उनले भने, ‘यसपछि भने सामाजिक अगुवालाई जिम्मा लगाउनुपर्छ ।’

(अमृता, रूपन्देहीमा कार्यरत पत्रकार हुन् ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: