निर्वाचनमार्फत संविधान कार्यान्वयनः राष्ट्रपति


प्रकाशित मिति :2017-04-19 11:02:58

काठमाडौं । भारतको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार संविधान कार्यान्वयनमा जुटेको र त्यसका लागि तीन तहको निर्वाचन गराउने तयारीमा लागेको बताएकी छन् । राष्ट्रपतिले त्यसका लागि भारतको सद्भाव आवश्यक पर्ने समेत बताएकी छन् ।

राष्ट्रपति भण्डारीले मंगलबार साँझ भारतीय समकक्षी प्रणव मुखर्जीसँग भेटवार्ता गरिन् । भेटमा आपसी हित, दुईपक्षीय सम्बन्ध सुदृढीकरणलगायत विभिन्न विषयमा कुरा भएको अधिकारीहरूले जनाए । भेटमा राष्ट्रपति भण्डारीले दुई देशबीचको घनिष्ठ सम्बन्धलाई जनस्तरमा पुर्‍याउन आवश्यक भएको बताएकी थिइन् । उनले संविधानको कार्यान्वयनका लागि नेपाल सरकारले गरिरहेका प्रयासबारे भारतीय समकक्षीलाई जानकारी दिएकी थिइन् । भेटमा भारतीय राष्ट्रपति मुखर्जीले नेपालको समृद्धि, विकास र शान्तिमा भारतको सधैं सहयोग रहने बताएका थिए । ‘समाजका सबै तह र तप्काका माग सम्बोधन गरेर निर्वाचन गराउन नेपाल सरकारले गरिरहेको पहलको म सराहना गर्दछु,’ भेटमा सहभागी एक उच्च अधिकारीले मुखर्जीलाई उद्धृत गर्दै भने । मुखर्जीले आफू सधैं नेपालको स्थिरता, शान्ति र विकासको पक्षमा रहेको पनि बताएका थिए । भेटपछि राष्ट्रपति भण्डारी मुखर्जीले आयोजना गरेको रात्रिभोजमा सहभागी भइन् ।

राष्ट्रपति भण्डारीसँगको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले आफ्नो विकाससँगै ‘देव भूमि’ नेपालको विकासलाई पनि अघि बढाउन चाहेको बताए । उनले नेपालको विकास प्रक्रियामा भारतको साथ रहने प्रतिबद्धता जनाए ।

भारतको ५ दिने भ्रमणमा सोमबार नयाँदिल्ली आएकी राष्ट्रपति भण्डारीसँग मंगलबारै प्रधानमन्त्री मोदी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह र अर्थमन्त्री अरुण जेट्लीले भेटवार्ता गरे । भेटमा मोदीले भारत सधैं नेपालको साथमा रहेको बताएको परराष्ट्रमन्त्री प्रकाशशरण महतले जानकारी दिए ।

‘मोदीले म सधैं तपाईंहरूको साथमा छु । हामी तपाईंहरूको विकास चाहन्छौं भन्नुभयो । निर्वाचनबारे के कसरी अघि बढिरहेको छ भन्ने चासो त राख्नुभयो तर स्पेसिफिक रूपमा केही भन्नु भएन,’ महतले भने । राष्ट्रपति भण्डारीले संविधान कार्यान्वयनका क्रममा सरकार तीन तहकै निर्वाचन तयारीमा लागेको र त्यसका लागि भारतको सद्भाव आवश्यक पर्ने बताएपछि मोदीले यस्ता धारणा राखेका थिए । राष्ट्रपति भण्डारीले नेपालको संविधान समावेशी रहेको उल्लेख गर्दै भारतीय समावेशी प्रावधानहरूबारे समेत सुनाएको एक उच्च अधिकारीले जानकारी दिए ।

मोदीले निर्वाचनबारे सामान्य जिज्ञासा मात्रै राखे पनि गृहमन्त्री सिंह र विदेशमन्त्री स्वराजले भने स्थानीय चुनाव र संविधान कार्यान्वयनका विभिन्न पक्षबारे चासो व्यक्त गरेका थिए । कूटनीतिक स्रोतका अनुसार एक पक्षलाई असन्तुष्ट राखेर गर्ने निर्वाचनले कसरी सफलता पाउँछ भन्दै उनीहरूले राष्ट्रपति भण्डारीसँग यसले आफूहरूलाई चिन्तित बनाएको बताएका थिए । भेटवार्तामा सहभागी एक उच्च अधिकारीका अनुसार गृहमन्त्री सिंहले निर्वाचनमा सबैको सहभागिता होला वा नहोला र सहभागी नभए के होला भन्ने प्रश्न गरेका थिए,’ ती अधिकारीले भने ।

भारतीय गृहमन्त्री सिंहले भने भेटमा सुपुर्दगी सन्धि र पारस्परिक कानुनी सहायतासम्बन्धी सम्झौतामा जोड दिएका थिए भने विदेशमन्त्री स्वराजले भारतीय सहयोगमा नेपालमा निर्माणाधीन परियोजनाहरू छिटो सम्पन्न हुन् भन्ने चाहना व्यक्त गरेकी थिइन् । स्वराजले भूकम्पपछिको पुनर्निर्माणमा भारतको सहयोगमा बनिरहेका परियोजनाबारे पनि चासो व्यक्त गरेकी थिइन् । ‘दुई पक्षीय विकास परियोजनाहरूमा प्रधानमन्त्री मोदीको पनि विशेष चासो छिटो सम्पन्न होस् भन्ने रहेको छ,’ स्वराजलाई उद्धृत गर्दै महतले भने । राष्ट्रपतिले मंगलबार जगतपुर सडकस्थित यमुना उद्यानमा वृक्षरोपण गरिन् । ४५७ एकड जमिनमा फैलिएको यमुना बायोडायभर्सिटी पार्कमा उनले मौवाको बिरुवा रोपेकी हुन् । भण्डारीले महात्मा गान्धीको समाधीस्थल राजघाट पुगी श्रद्धाञ्जलि व्यक्त गरिन् । उनको सम्मानमा राष्ट्रपति भवनमा गार्ड अफ अनर दिइएको थियो ।

स्रोतः कान्तिपुर दैनिक

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: