‘दलहरू महिलाको क्षमता स्वीकार्न तयार छैनन्’


‘साम, दाम, दण्ड, भेद अपनाएर चुनाव जित्ने परम्परागत विकृतिलाई महिलाले तोड्नुपर्दछ’

प्रकाशित मिति :2017-04-24 12:33:18

कमला रोक्का मगर, पूर्व युवा तथा खेलकुद मन्त्री र पूर्व सभासद् हुनुहुन्छ । हाल उहाँ नेकपा माओवादी केन्द्रको महिला विभाग इन्चार्ज र अन्तरपार्टी महिला सञ्जालको सचिव समेत हुनुहुन्छ ।

२०४६ सालदेखि राजनीतिमा लाग्नुभएका रोक्का  माओवादी जनयुद्धको सुरक्षा दलमा भर्ती भएपछि कक्षा १० को परीक्षा नदिदै भूमिगत हुनुभएको थियो । रुकुमबाट पहिलो महिला छापामारको रूपमा पार्टी प्रवेश गरेका उहाँ २०५३ मा जिल्ला सदस्य हुदै २०६१ मा केन्द्रीय सदस्य हुनुहुभएको थियो । पार्टीभित्र र बाहिर समेत महिलाको आवाज बुलन्द पार्ने र राज्यका हरेक संरचनामा महिलाको अर्थपूर्ण सहभागिता हुनुपर्ने अडान राख्दै आउनुभएका उनै सहासी नेता मगरसगँ स्थानीय निर्वाचनमा महिला नेताको तयारीका विषयमा महिला खबरका लागि खेमा बस्नेतले गर्नुभएको कुराकानी  ।

स्थानीय तहको निर्वाचनको मिति नजिक आइसकेको छ, महिला नेतृहरुको तयारी कस्तो छ ?

चुनावका लागि टिकट पार्टीले दिने हो । हामीले सबै महिलाहरूलाई आ–आफ्नो पार्टीभित्र उम्मेदवारीका लागि टिकट लिन व्यापाक दबाब र्सजना गर्ने सल्लाह गरेका छौ । पार्टी भित्र जतिसक्दो दबाब सिर्जना गर्न सक्यो उपलब्धि हात पर्छ । आफू कुन पदमा सक्षम छ, त्यस विषयमा पार्टी भित्र छलफल र बहस गर्न भनिसकेका छौँ । टिकटका लागि सबै प्रदेश,जिल्लास्तरमा छलफल,बहस चलिरहेको छ । पहिलो चरणमा हामी टिकट पाउनका निम्ति तयारी गरिरहेका छौं ।

महिलाको चर्चा उप–मेयर (सहायक पद) मा मात्रै चलेको देखिन्छ, प्रमुखमा किन आउन नसकेको होला?

संविधानसभाको निर्वाचनमा प्रमुख र उप–प्रमुख मध्ये एक पदमा अनिवार्य महिला हुनुपर्ने भन्ने उल्लेख थिएन । तर पनि त्यति बेला सबै पार्टीको महिला संगठनले आ–आफ्नो पार्टीभित्र सघर्ष ग¥यौ । हामी सबै महिला अधिकारकर्मीले प्रमुख वा उप–प्रमुख मध्ये कुनै एक महिला पद सुनिश्चित नभए महिलाहरू पछाडि पर्छन भन्ने निष्कर्ष भएपछि राज्य व्यवस्था समितिले प्रमुख र उप–प्रमुख मध्ये कुनै एक पदमा अनिवार्य महिला हुनुपर्ने भन्ने निर्णय ग¥यो । त्यसपछि सदनमा स्थानीय निर्वाचन ऐनमा आरक्षण पास भयो । पास गर्दाखेरी पहिला त दुई जना महिला आरक्षण भनिएको थियो । वडाको हकमा त्यति बेला नै समितिले बदमासी ग¥यो । वडा अध्यक्षमा एक तिहाई महिला पुग्ने गरेर सबै पार्टीले राख्नुपर्दछ भन्ने स्थानीय निर्वाचनको ऐनमा सशोधन गर्दाखेरी हालेको भएदेखि अहिले वडाको अध्यक्ष उठ्ने बेलामा पार्टीहरूले अनिवार्य कुनै न कुनैमा वडा अध्यक्ष उठाउथे । त्यहानेर संविधानले पनि त्यो गरेन । स्थानीय निकायको निर्वाचनको ऐन बनाउदा पनि यी कुरा बोलेन एउटा बदमासी त्यहाभयो ।

दोस्रो, प्रमुख र उप–प्रमुखमा महिला त भन्यो तर सबै पार्टीहरू प्रमुखमा नै सीमित भए । अझै पार्टीभित्र महिलालाई विश्वास नगर्र्ने,महिलाको क्षमतालाई नजरअन्दाज गर्ने देखियो । महानगरपालिका, नगर र गाउँपालिकामा महिलालाई प्रमुखमा नभएर उप वा सहायक पदमा राखिएको छ । एकदुई ठाउँमा महिलाहरू प्रमुख पदमा दाबी गरेका छन् । सोही पदमा पुरुष पनि छन् । पार्टीले नियर्ण गर्दा पुरुषको नाम आउने भइरहेको छ । सहायक पदमा महिलालाई सीमित बनाउने,वडामा महिलालाई दिदैनदिने भएको छ । त्यसैले यदिनीतिगत रूपमा संविधानले नै बाध्यकारी नबन्ने हो भने महिलालाई अधिकार नपाईने रहेछ भन्ने अनुभव हामीले गरेका छौं ।

अर्काे कुरा, वडामा दलित महिलाको उम्मेदवारी नपरेमा पिछडिएको अन्य महिलाले अवसर पाउनुपर्छ भनेर अझै लडाइ गरिरहेका छौँ । जहासम्म उप–प्रमुख वा प्रमुखको कुरा छ, दलहरुमा पृतिसतात्मक सोच र सामन्ती चिन्तन कायमै भएसम्म महिलाको क्षमतालाई स्वीकार नगर्ने अवस्था देखेका छौँ । यसको परिणाम हेर्ने हो भने महिलालाई उपमा नै सीमित राख्ने देखिन्छ ।

महिलालाई नेतृत्व दिन नचाहानुमा महिला नेतृको क्षमता अभाव होकि पुरुषबादी चिन्तन?

महिलाहरू नेतृत्व लिन तयार छन् । क्षमता पनि छ । दलहरूले महिला उम्मेदवारलाई विभेद गरेका छन्, महिलाको क्षमता स्वीकार गर्न तयार छैनन् । महिला उम्मेदवारलाई चुनावमा शक्ति प्रदर्शन गर्नुपर्दछ । पैसा खर्च गर्नुपर्दछ भन्ने जस्ता मानसिक तनाव र डर देखाइ पन्छाउने गरेका छन् । काठमाडौँ महानगरपालिकामा पनि महिलालाई मेयर उठाइए जित्छ, तर पार्टीले महिलालाई टिकट दिन मानिरहेका छैनन् ।

त्यसोभए, महिला किन उप–मेयरमा मात्र आकांक्षी देखाएका हुन् त ?

धेरै महिलाहरू सघर्ष गरिरहेका छन् । महिलाहरू मेयरमा आकाक्षी देखिएका छन् । तर पार्टीको नीति निर्माण गर्ने, निर्णय गर्ने ठाउँमा पनि बढी पुरुष भएकाले उनीहरूले महिलालाई प्रमुख पदमा टिकट दिदैनन् । यतिसम्मकी प्रमुख पद पुरुषको लागि र उपप्रमुख पद महिलाको लागि हो भन्ने गलत बुझाई छ । केही जिल्लामा महिलाहरु मेयर पदको नेतृत्व लिन सक्षमता पनि देखाएका छन् । तर, पार्टी भित्रैबाट सोही पदमा पुरुष आकांक्षी हुँदा महिलाले नपाउने गरेको गुनासो छ । पार्टीका नियर्ण गर्ने ठाउँमा महिलाको सहभागिता नहुने र महिलाले भनेको उप–मेयर पदमा मात्र हो भन्ने पुरुषको सोचले महिलाहरुमा प्रमुख पदप्रतिको आकर्षणमा कमी देखिएको हो ।

अब महिलाको जित सुनिश्चित गर्न के गर्नुपर्ला ?

अहिले महिलालाई टिकट पाउन फलामको चिउरा चपाउनु जस्तो भइरहेको छ । पहिलो लडाई हामीले यो जित्नुपर्दछ । दोस्रो लडाई जित्नका निम्तीसाम,दाम,दण्ड, भेद अपनाएर चुनाव जित्ने परम्परागत विकृति छ, त्यसलाई महिलाले तोड्नुपर्दछ । संविधान निमार्णपछि पहिलो पटक केन्द्रीय सरकार स्थानीय स्तरमा जाने भएको छ । संविधानलाई कार्यान्वय गर्ने र आफ्नो अधिकार प्रयोग गर्ने स्थानीय तहको निर्वाचन गरेर पहिलो पटक आफ्नो अधिकार सुनिश्चित गर्ने मौका हो । हिजो जोसँग पैसा र शक्ति छ, उसले चुनाव जित्ने परपरम्परा थियो । तर अब जो इमान्दार छ,जो जनताको सेवामा सधैँ लागिरहेको छ र जो भ्रष्टाचारमुक्त छ त्यस्ता व्यक्तिलाई जनताले जिताउँछन् । यस्ता उम्मेदवार भनेका अहिलेको चुनावमा महिला उम्मेदवार हुन् ।महिला उम्मेदवारले राज्य,स्थानीय सत्तामा महिलालाई सहभागी बनाउन सक्छौ भने त्यो नै हाम्रो समाज विकसित हुन्छ, भन्ने नारालाई साझा बताउँदै स्थानीय स्तरसम्म लग्नु पर्छ । र चुनावमा विजयी हुन महिला उम्मेदवारले प्रत्येक घरघरमा गएर आफ्नो सही विचार दिन पनि सक्नु पर्छ ।

दलहरू बिच आन्तरिक गठबन्धनको कुरा पनि छ,यदि गठबन्धन भयो र साझा उम्मेदवारी दिइयो भने महिलालाई के असर पर्ला ?

पार्टीगत एकता कुरा त चुनावमा भैहाल्छ । तर पार्टीभित्र सहमति गर्दाखेरी महिला, दलित उम्मेदवारहरुलाई पनि जित्नेखालको वतावरणको लागि पहल गर्नुप¥यो । यदि त्यस्तो भएन भने हामी महिला एकढिक्का भएर लड्छौं ।

महिलालाई नेतृत्व दिने कुरा आउँदा महिलाको क्षमतामा प्रश्न उठाइन्छ किन?

महिलाहरूलाई घरेलु काम गर्ने,बच्चा जन्माउने मेसिनको रूपमा मात्र हेरिन्छ । पुरुषहरू दिने दाता जस्तो महिलाहरू माग्ने मगन्ते हुन भन्ने सोच पार्टीभित्र देखिएको छ । दश वर्षीय जनयुद्ध र मधेश आन्दोलनमा महिलाहरूले यति धेरै बलिदान र त्याग गरेपछि मात्रै महिलाहरू पनि सक्छन् भन्ने चेतना पुरुषहरुलाई भएको छ । दश वर्षीय जनआन्दोलनले महिलाहरुमा धेरै जागरण ल्याएको थियो । म आफै पनि भूमिगत भएँ । चालिस प्रतिशत महिलाहरू त बन्दुक बोक्के मात्रै थिए । माओवादीमा धेरै महिला छन् भन्ने लागेपछि तत्कालीन शाही सेनाले २०५८ सालमा ५ प्रतिशत महिलालाई सेनामा भर्ती गरेको थियो ।

महिलाहरू बन्धुक बोकेर मर्न किन तयार भए भन्दा २४० वर्षको लामो सामन्ती राजतन्त्रले महिलालाई गरेको दमन,उत्पीडन नै मुख्य कारण हो । त्यसैले अझै पनि हाम्रो लडाई बाँकी छ । यती मात्र गरेर सकिएको छैन । राजतन्त्र अन्त्य भए पनि सामन्तीबादी सोच अन्त्य नभएकोले त्यसका लागि लडाई र संघर्ष अझै आवश्यक छ । महिलाहरूले सघर्ष पछि केही उपलब्धि पाएपनि जनसंख्याको आधारमा समान र अर्थपूर्ण राजनैतिक सहभागिता कुनै पार्टीमा पनि छैन । राज्यका हरेक निकायमा र पार्टीभित्र महिलाको सहभागीतामूलक प्रतिनिधितको लागि एक तिहाईको हुनु आवश्यक छ । यो पुरा गर्न संघर्ष नगरी सम्भव छैन ।

यति बेला दलहरू चुनावी घोषणपत्र सार्वजनिक गर्ने क्रममा छन् । महिला सम्बन्धी कस्ता विषयवस्तु घोषणपत्रमा उठाउनुपर्ला ? 

समावेशीका आधार जस्तै: स्वास्थ्य, शिक्षा, रोजगारीका कुरा संविधानले बोलेको छ । त्यसलाई कार्यान्वयन गर्न दलहरूले आफ्नो घोषणपत्रमा समावेश गर्नुपर्छ । संविधानले आमाको नाममा नागरिकता पाउने भनेको छ । तर, व्यवहारिक रूपमा धेरै जटिलता छ । त्यसै गरी तेस्रो लिङ्गीका हक अधिकार सम्बन्धमा संविधानले बोलेको छ त्यसलाई पनि कार्यान्वयन गर्न दलहरूले घोषणपत्रमा जोडका साथै समावेश गर्नु पर्छ जस्तो लाग्छ । त्यसै गरी महिलालाई शिक्षा तथा आर्थिक रूपमा सशक्त बनाउने कार्यक्रम समेट्नुपर्दछ ।

आर्थिक समस्या भएका तर क्षमतावान महिलाले चुनाव लड्ने वातावरण कत्तिको छ ?

पैसाले चुनावी गतिविधिलाई पक्कै पनि असर पार्छ । आर्थिक अवस्था कमजोर भएका महिला उम्मेदवारलाई मुख्य गरी चुनाव प्रचारमा समस्या आउँछ । त्यसैले निर्वाचन आयोगले खर्चको कुरालाई कडाई गर्नुपर्छ । इमान्दार तथा आर्थिक हैसियत कमजोर भएका महिला उम्मेदवारका लागि पार्टीले समेत खर्च व्यहोर्नुपर्छ । ताकी उनीहरूले पनि प्रस्पिर्धात्मक चुनावी वातावरण निर्माण गर्न सकोस । महिलाको एजेन्डा, विचारलाई र इमान्दारीतालाई मुख्य आधार बनाउन सकेमा महिलाको जित्ने सम्भावना हुन्छ । त्यसको लागि अरू महिलाले पनि कसरी सहयोग गर्ने त्यो वतावरण बनाउनु जरुरी छ ।

यो निर्वाचनमा युवा महिला आउने सम्भावना कति देख्नुहुन्छ ?

अहिलेसम्म हेर्दा युवा महिलाहरूको उत्साहा बढी नै देखिन्छ तर, पार्टीले टिकट दिने वा नदिने भन्ने चिन्ता छ । त्यसका लागि लडाई गर्नुपर्छ । टिकट पाएका महिला उम्मेदवारले वडादेखि महानगरपालिकासम्मका जित्ने, विजयी हुने मानसिकतातयार पार्नुपर्छ । अवश्य पनि यो पटक युवा जमातको प्रवेश हुनेछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: