नेतृत्वका लागि महिलालाई प्रोत्साहन गर्छौः पोखराका राजनीतिक दल


प्रकाशित मिति :2017-04-27 14:36:27

-स्मीता अधिकारी-

पोखरा । कास्कीमा प्रमुख राजनीतिक दलका जिल्ला अध्यक्षहरुले आसन्न स्थानीय निकायको चुनावमा महिला उम्मेद्वारलाई प्रोत्साहन गरी स्थानीय निकायको संरचनामा अर्थपूर्ण सहभागिता गराउन पहल गर्ने जनाएका छन् ।

संचारिका समूहले कान्तिपुर टेलिभिजनबाट हरेक शुक्रबार प्रसारण गर्दै आएको समकोण कार्यक्रमका लागि मंगलबार ‘स्थानीय निकायको चुनाव र महिला सहभागिता’ विषयमा आयोजित छायांकन कार्यक्रममा सहभागी दलहरुले कानुनमा भएको व्यवस्था अनुसार नै महिलालाई जिम्मेवारी दिन तयार भएको बताउँदै नेतृत्वका लागि महिला आकांक्षी भने आइनसकेको बताएका छन् ।

दलहरुले महानगर, गाउँपालिका तथा वडाहरुमा सहायक नेतृत्वका लागि मात्र महिला आकांक्षी देखिएको प्रष्ट्याएका छन् । कार्यक्रममा दिइएको जानकारी अनुसार हालसम्म पोखरा लेखनाथ महानगरपालिकाको मेयर पदमा एमालेले मात्र एक जना महिलालाई सिफारिस गरेको छ । यसबाहेक अन्य कुनै मुख्य पार्टीले महिलालाई प्रमुखमा सिफारिस गर्ने संभावना छैन । त्यस्तै, गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका तर्फबाट मात्र एकजना महिला सिफारिसमा परेकी छन् ।

त्यस्तै, वडाध्यक्षका लागी महानगरका ३३ वटा वडामा कांग्रेसबाट तीन जना, एमालेबाट तीन जना र मओवादी केन्द्रबाट ७ जना मात्र महिला आकांक्षीलाई वडा कमिटीले सिफारिस गरेको छ । स्थानीय निकाय निर्वाचन ऐन तथा नेपालको संवैधानिक व्यवस्था अनुसार जम्मा ३६ हजार निर्वाचित उम्वेदवारमध्ये १५ हजार ३०० महिला निर्वाचित हुनैपर्ने प्रावधान छ । तर, उम्मेदवार सिफारिसको अहिलेको आँकडाले प्रायः सबै महिला सहायक नेतृत्वमा मात्र आउने संभावना देखिएको छ ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस कास्कीका अध्यक्ष कृष्ण केसीले वडास्तरबाटै महिला आकांक्षीका लागि सिफारिस नआएकोले नेतृत्वका लागि महिलाको सोचे जति सहभागिता गराउन नसकिएको बताउनुभयो । उहाँले महिलालाई राजनीतिमा प्रोत्साहन गर्न उनीहरुको चुनावी खर्च समेत पार्टीले व्यहोर्ने गरी तयारी भइरहेको जानकारी दिनुभयो । त्यस्तै, नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले स्थानीय स्तरबाट सिफारिसमा परेका महिलाकै पक्षमा पार्टी नेतृत्व समक्ष पहल गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो । उम्मेदवारीका लागि महिला आकांक्षीलाइ प्रोत्साहन गर्न हरतरहले पैरवी भइरहेको उहाँले बताउनुभयो । नेकपा मओवादी केन्द्रका नेता विश्व प्रकाश लामिछानेले ३३ वटा वडामा ५० प्रतिशत महिलाको अनिवार्य नेतृत्व गराउन आफूहरु लागिपरेको बताउनुभयो ।

हार्ने संभावना भएको ठाउँमा मात्र महिलाको उम्मेदवारी स्वीकृत गर्ने प्रवृति अझै हावी रहेकोले यसका विरुद्ध सबै महिला एकजुट भई रणनीति बनाउनुपर्ने पूर्व निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले महिला उम्मेदवारलाई सुझाएका थिए ।

उहाँले स्थानीय निकाय संरचनाको मुख्य नेतृत्वमा महिलाको सन्तोषजनक सहभागिता सुनिश्चित गर्न राजनीतिक र सामाजिक संरचनामा रुपान्तरण गर्नुपर्ने उल्लेख गर्नुभयो । ‘स्थानीय स्तरबाट सिफारिस आएन भन्नु भन्दा पनि निश्चित नेतृत्वमा महिला नै हुनुपर्छ भनेर पार्टीले किटान गरेको भए महिला आकांक्षी पनि धेरै हुने थिए’, पूर्व निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले भन्नुभयो ।

कार्यक्रममा पूर्व प्रमुख निर्वाचन आयुक्त उपे्रती सहित गएको संविधानसभा निर्वाचन २०७० मा प्रत्यक्ष निर्वाचित सांसद शारदा पौडेल र सीता गिरी वलीले मुख्य वक्ताको रुपमा बोलेका थिए । त्यसैगरी, कास्की जिल्लाको महानगर, गाउँपालिका र विभिन्न वडाका लागि आकांक्षी तथा सिफारिस भएका महिला उम्मेदवारहरुले आफ्ना विचार, गुनासा तथा सुझावहरु राखेका थिए । उक्त छायांकन कार्यक्रम संचारिका समूहकी अध्यक्ष निर्मला शर्माको प्रस्तुतिकरणमा भएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: