प्रमुख पदमा सिफारिस नै भएनन् महिला


प्रकाशित मिति :2017-04-28 17:54:03

सन्दीप विक (काठमाडौं ), धनु राई (ओखलढुंगा), सर्मिला बुढाथोकी (दोलखा), अप्रिल अधिकारी (रामेछाप), विदुर आर्चाय (सिन्धुपाल्चोक) र दीपक घर्ती (जाजरकोट)

काठमाडौं । नारा र भाषणमा समावेशीकरण र महिला सशक्तिकरणको पक्षमा वकालत गर्ने राजनीतिक दलहरु प्रमुखमा महिलालाई उठाउन नसक्ने अवस्थामा पुगेका देखिन्छन् । दलहरुको उम्मेदवार चयनका लागि गरिएको आन्तरिक तयारीलाई विश्लेषण गर्ने हो भने महिला उम्मेदवार प्रमुख पदमा आउन सक्ने संभावना न्यून जतिकै बनेको देखिन्छ ।

कानुनी व्यवस्था अनुसार देशभरका ४७९ गाउँपालिका, २४८ नगरपालिका, १३ उपमहानगरपालिका र ४ महानगरपालिका गरी कूल ७४४ वटा स्थानीय तहहरुमा प्रमुख वा उपप्रमुखमध्ये एक जना अनिवार्य रुपमा महिला उम्मेद्वार बनाउनुपर्ने देखिन्छ । यस्तै, कूल ६,६८० वडाबाट १३,३६० महिला निर्वाचित हुनेछन् । नगर र गाउँपालिकाको प्रमुख र उप प्रमुखमा पनि महिला निर्वाचित बनेर आएमा निर्णायक थलोमा महिलाको संख्या अझ बढ्ने सम्भावना पनि रहेको छ ।

तर, देशैभरीको चुनावी गतिविधी हेर्दा नगर र गाउँपालिकाको प्रमुखमा भन्दा उपप्रमुखमा महिला उम्मेदवार बनाइएका छन् । जबकि, उपमेयर वा उपाध्यक्ष पद पनि सुरक्षित देखिँदैन । काठमाडौं लगायत देशका केही जिल्लामा उम्मेदवारको अवस्था हेर्दा यस्तै देखिन्छ-

काठमाडौं  

काठमाडौं महानगरपालिकामा नेतृत्वको लागि होडबाजी नै चलिरहेको देखिन्छ । प्रमुख राजनीतिक दलहरु उम्मेदवार तय गर्ने कसरतमा जुटिरहँदा प्रमुख पदहरुमा महिलाको चर्चा भने कमै हुने गरेको छ ।

काठमाडौंमा १ महानगरपालिका,१० नगरपालिका र १४१ वडा रहेका छन् ।  निर्वाचनपछि कुल १४१ वडा मध्ये काठमाडौं महानगरपालिकाका ३२ वडाबाट ६४ र  बाँकी १०९ वडाबाट २१८ महिला सदस्य निर्वाचित हुनेछन् । यति धेरै संख्यामा स्थानीय तह हुँदा समेत ठूला दलहरुले महिलालाई प्रमुखमा उम्मेदवार बनाउन प्राथमिकता दिएका छैनन् । नेपाली कांग्रेसबाट मेयरमा आकांक्षी देखिएका हालसम्म सबै पुरुषहरु मात्र छन् । यस्तै, अर्को ठूलो दल एमालेले काठमाडौं महानगरपालिकामा मेयरका लागि ५ जनाको नाम सिफारिस गरेको छ । जसमा एक जना महिला कल्पना रिजाल परेकी छिन् । माअाेवादी केन्द्रले टोखा नगरपालिकामा  कल्पना शर्मालाई मेयरमा उठाएकाे छ ।

यस्तै, चौथो ठूलो दल राप्रपाले पनि काठमाडौं महानगरपालिकाको मेयरमा पार्टीका पूर्वप्रवक्ता राजाराम श्रेष्ठलाई उभ्याएको छ । पछिल्लो समय नेपाली राजनीतिमा चर्चा कमाउँदै गएको विवेकशील नेपाली दलले भने मेयरमा २१ बर्षीय रन्जु दर्शनालाई उम्मेदवार बनाएको छ ।

ओखलढुंगा

जिल्लामा प्रमुख पदमा महिला उम्मेदवारको संख्या एकदमै न्यून देखिएको छ । महिलाहरु आफु प्रमुख पदमा रहेर सफल नेतृत्व दिन सक्ने बताइरहँदा पनि महिला भएकै कारण प्राथमिकतामा पर्न सकेका छैनन् । दलले नै नेतृत्व दिन हिचकिचाउने गरेका कारण महिलाको संख्या न्यून देखिएको मानेभञ्ज्याङ गाउँपालिकामा प्रमुख पदका आकांक्षी सबिता राईले बताउनुभयो ।

पुरुष उम्मेदवारहरुले राजनीतिक दलभित्र प्रमुख पदमा आफूहरु नै हुनुपर्छ भन्ने मानसिकता राखेको कारणले पनि महिला उम्मेदवारहरु उपप्रमुखका आकांक्षी बढि देखिएका छन् । लिखु गाउँपालिकाका उपप्रमुखका दाबेदार शान्ता ढुंगेल प्रमुखमा दिने मनसाय भएपनि नपाएकोले उपमै चित्त बुझाएको बताउनुहुन्छ ।

ओखलढुंगामा हालसम्म सुनकोशी गाउँपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका भेला आयोजक समिति सदस्य चम्पा कार्की मात्रै प्रमुखको उम्मेदवार रहेकी छन् । ओखलढुंगामा एक नगरपालिका, ७ गाउँपालिका र ७६ वडा रहेका छन् ।

दोलखा

दोलखाका प्रमुख राजनीतिक दलहरुले पनि स्थानीय तहको निर्वाचनको लागि गाँउपालिका तथा नगरपालिकामा धमाधम प्रमुख उपप्रमुखको नाम टुङ्गो लगाएको भएपनि महिला प्रमुख भने कुनै पार्टीले पनि बनाएको छैन । दोलखामा सात गाँउपालिका र दुई नगरपालिकाका ७४ वडा रहेका छन् ।

नेकपा एमालेले कालिञ्चोक गाँउपालिकामा कालिका पाठकलाई प्रमुख बनाउने चर्चा चलेको भएपनि उहाँलाई पनि उपप्रमुखको उम्मेदवार बनाएको छ । त्यसैगरी, बिगु गाँउपालिकाको प्रमुखमा दाबी गर्दै आउनुभएकी गोमा केसीलाई पनि उपप्रमुखको उम्मेदवार बनाएको छ । तामाकोसी गाँउपालिकामै प्रमुखमा दाबी गर्ने सिर्जना कार्कीलाई भने एमालेले उम्मेदवार नै बनाएको छैन ।

त्यसैगरी, नेपाली कांग्रेसले घोषणा गरेको उम्मेदवारहरुमा तामाकोसी गाँउपालिकाको उपप्रमुखमा सिर्जना सुवेदीको नाम छनौट भएको जनाएको छ । त्यसैगरी जिरी नगरपालिकामा उपप्रमुख लिलामाया जिरेलको नाम छनौट गरेको जनाएको छ । माओवादी केन्द्रले बैतेश्वर गाउँपालिकाको उपप्रमुखमा हिमानी गोलेलाई उम्मेदवार बनाउन लागेको जनाएको छ । माओवादी केन्द्र र नेपाली कांग्रेसबीच चुनावी तालमेलको लागि छलफल भइरहेकोले दुई पार्टीबाट महिला उम्मेदवार निक्कै कम हुने चर्चा चलेको छ । यस्तै, राप्रपाले हालै भीमेश्वर नगरपालिकाको मेयरमा देवकी बुढाथोकीलाई उम्मेदवार बनाएको छ ।

रामेछाप

२ वटा नगरपालिका र ६ वटा गाउँपालिका रहेको रामेछापमा उपप्रमुख पदमा मात्र महिलाको चर्चा बढि देखिन्छ । दलका नेताहरुले राज्यले कानूनी रुपमा व्यवस्था गरेको हुनाले मात्र उपप्रमुखमा महिलालाई उठाउने पक्का बनेको देखिन्छ । ‘कानुनी व्यवस्था नभएको भए महिला सीट सुनिश्चित गर्न धेरै मुस्किल पर्ने रहेछ’, अखिल नेपाल महिला संघ रामेछापकी अध्यक्ष शान्ता पौडेलले बताउनुभयो । उहाँका अनुसार अधिकारकर्मी र राजनीतीमा लागेका महिला नेताहरुले महिला अधिकारका सवालमा नलडेको भए याे व्यवस्था समेत आउने थिएन ।
महिला उम्मेदवारको अनिवार्य व्यवस्था गर्नुपर्ने प्रावधानले दलहरुलाई महिलालाई राख्नैपर्ने बाध्यता मात्र देखिन्छ । अर्कोतर्फ, पार्टीले तय गरेको उम्मेदवार, आफू बसैकै स्थान र क्षेत्रबाट मिलाउनुपर्ने कारणले जित्ने गरी महिला उम्मेदवार तय गर्न दलहरुलाई हम्मे हम्मे परेको देखिन्छ ।

मन्थली नगरपालिकाको प्रमुख पदका लागि चर्चामा रहेकी नेपाल महिला संघ रामेछापकी अध्यक्ष गंगा अधिकारीलाई समेत काँग्रेसले उम्मेदवार बनाएन । यस्तै, माओवादी केन्द्रबाट मन्थली नगरपालिकाबाट उपमेयर पदकी उमेदवार बन्नु भएकी रिता देवी घिमिरे भने पार्टीहरुले निर्णय गरिनसकेकोले महिला प्रमुखका रुपमा उम्मेदवार बनेर आउन सक्ने संभावना अझै रहेको बताउनुहुन्छ ।

गाह्रो महिलाका कारण नभइ परिस्थतिले बनाएको अखिल नेपाल महिला संघ रामेछापकी अध्यक्ष शान्ता सापकोटा बताउनुहुन्छ । प्रमुख पदमा क्षमता राख्ने महिलाहरुले जिम्मेवारी लिन चाहेको अवस्थामा पनि उनीहरुलाई वेवास्ता गरिएको उहाँको भनाइ छ । ‘किन पार्टीको नेतृत्वले यसो गरिरहेको छ, आफैंमा अन्योलता छाएको छ’, सापकोटाले भन्नुभयो ।

नगर र गाउँपालिका भित्रको वडा तहको प्रमुखमा समेत कानुनी रुपमा व्यवस्था गरिए बाहेक अन्यत्र महिला आउने सक्ने संभावना समेत अत्यन्त कम रहेको छ । जिल्ला स्थित दलहरुबाट हालसम्म उम्मेदवारका रुपमा आएका नाममा अधिकांश पुरुष नै रहेका छन् । केही स्थानमा भने मिलाएर जाने बहानामा पुरुष उमेदवारका कारण महिला उमेदवारको उमप्रमुखमा समेत नाम रोकिएको छ । निर्वाचनपछि जिल्लाका ८ स्थानीय तहमा रहेका ६४ वडाबाट १ सय २८ महिला निर्णायक तहमा चुनिने छन् ।

सिन्धुपाल्चोक

गत हप्ता सदरमुकाम चौतारामा माओवादी केन्द्रले आयोजना गरेको चुनावी सभामा स्थानीय महिला नेताहरुको बाक्लो उपस्थिति थियो । चुनावी सभाको पुर्वसन्ध्यामा निकालिएको ¥यालीको अगाडी व्यानर वोक्ने महिला नै थिए । नारा लगाउने र झण्डा बोक्ने महिला नै थिए । सभामा कार्यक्रम ब्यवस्थापन तथा अथिति सत्कारमा महिला नै थिए । तर केन्द्रले सदरमुकाम समेत रहेको चौतारा साँगाचोकगढी नगरपालिकामा कुनै महिलालाई उमेद्वार बनाएको छैन ।

नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघले स्थानीय तहको निर्वाचनको मिति घोषणा पछि जिल्लाको सबै स्थानीय तहमा संगठन निर्माण गरेको जनाएको छ । महिला नेतृत्वलाई सशक्त उम्मेदवार बनाउन भन्दै जिल्ला तहमा दुई पटक महिला भेला समेत सम्पन्न गर्यो । तर, हालसम्म १ सय ३ मध्ये ८० भन्दा बढी वडामा उम्मेदवार सिफारिस गरेकोमा एक जना पनि महिला उमेद्वार परेका छैनन् ।

तुलनात्मक रुपमा चुनावी प्रचारमा कमै देखिएको नेपाली कांग्रेसले पनि महिला उमेद्वार सिफारिस गरेको छैन । शिक्षण पेशाबाट राजीनामा गरेर आफूलाई चौतारा साँगाचोकगढी नगरको उपमेयरमा जिताउन भन्दै चुनावी प्रचारमा हिँडेकी शोभा उलकको नाम पार्टीले निर्णय गरेको भने छैन । वडा तहमा जिल्लाभर आधा आधी उमेद्वारी सिफारिस गरेको कांग्रेसले पनि महिला उम्मेदवार सिफारिस गर्न सकेन ।

जिल्लामा प्रमुख चार दलको प्रतिस्पर्धा हुने देखिन्छ । प्रतिस्पर्धा रहेका कुनै पनि दलले महिला उम्मेदवार सिफारिस गरेका छैनन् । पार्टीको काम चुस्त दुरुस्त बनाउन तथा जनसंगठन निर्माणमा महिला नेताहरुको भूमिका रहेता पनि अवसर आउँदा पुरुष अघि सर्ने परम्पम्परा नै भएको महिला नेताहरुको अनुभव छ । राजनीतिक इतिहास बोकेका महिला नेताहरु समेत स्थानीय तहको प्रमुखमा नर्पने लगभग निश्चित भएको देखिन्छ ।

कुल १२ स्थानीय तह रहेको जिल्लामा १०३ वडा कायम गरिएको छ । निर्वाचनपछि वडामा मात्रै २०६ जना महिला जनप्रतिनिधि हुनेछन् । चुनावको मिति नजिकिदै जाँदा उम्मेदवारको पनि चर्चा व्यापक छ । तर, उल्लेख्य महिला जनप्रतिनिधी रहने व्यवस्था रहँदा समेत महिला उम्मेदवारको भने निकै कम चर्चा सुनिएको छ ।

जाजरकोट

जिल्लामा वडा अध्यक्ष, गाउँपालिकाको प्रमुख र नगरपालिकाको प्रमुख पदमा महिलालाई टिकट दिएर जित्ने जिताउने त कुरै छोडौं कुनै पनि दलले सिफारिस समेत गरेका छैनन् ।

जाजरकोटमा तीन नगरपालिका र चार गाँउपालिका रहेका छन् । ती सात वटै तहमा गरी ७२ वडा रहेका छन् । त्यसमध्येको एक कुशे गाँउपालिकामा मात्र माओवादी केन्द्रले पार्वती थापा आस्थालाई प्रमुखमा सिफारिस गरेको छ । अन्य सबै स्थानीय तहमा महिला उपमा सिमित भएका छन् ।

जिल्लामा क्रियाशिल नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपा लगायतका दलले महिला सहभागिताका नारा र भाषण दिने गरेपनि व्यवहारमा सबै पार्टीले कुरा एउटा काम अर्को गर्ने गरेको अधिकारकर्मी प्रमिला सिंहको भनाइ छ ।

नेपाल महिला संघकी जिल्ला अध्यक्ष मैना कार्की रावलले महिला उत्थानका कुरा समावेशीका कुरा नारामै सीमित रहेको बताउनुभयो । ‘प्रमुख वा उपप्रमुख मध्ये एक तहमा महिला अनिवार्य उम्मेदवार बनाउनुपर्ने कानुनी बाध्यता नभएको भए कुनैपनि दलले उपप्रमुखमा समेत महिलालाई अवसर दिने अवस्था देखिएन’, उनले भनिन, ‘यो ५१ प्रतिशत महिला प्रतिको अविश्वास हो ।’

हालै माओवादी केन्द्रबाट कुशे गाँउपालिकाको प्रमुखमा सिफारिस भएकी अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय सचिव पार्वती थापा केही गर्न सक्दैनन् भन्ने पुरुषवादी चिन्तनका कारण महिलाहरुले अवसर नपाएको बताउनुभयो । ‘युद्धताका समावेशीका खुबै नारा घन्काउने माओवादी केन्द्रमा पनि अहिले अन्य पार्टी जस्तै अवस्था देखियो । यो दुर्भाग्य हो’, उहाँले भन्नुभयो ।

एमालेको प्रदेश समिति सदस्य कौशिलावती खत्रीले महिलालाई अवसर दिने कुरामा सबै पार्टीको अवस्था उस्तै रहेको धारणा राखिन् । बाध्यकारी कानुनका कारण मात्र महिलाहरुलाई चुनावमा लड्ने स्थान दिइएको छ तर, दोस्रो पदमा मात्र सिमित पारिएको छ’, उहाँले भन्नुभयो, ‘महिलाले पनि पुरुष जस्तै गरेर स्थानीय तह चलाउन सक्षम छन् ।’

प्रमुख पदमा महिलालाई अवसर नदिएपनि निर्वाचनपछि ७२ वडामा १४४ जना र नगर र गाउँपालिकाको प्रमुख र उप प्रमुखमा पनि महिला निर्वाचित भएर थप महिला जनप्रतिनिधि हुनेछन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: