घुम्ती पसलले बदल्यो जीवन


प्रकाशित मिति :2017-04-29 10:00:01

किशोरी संवाद केन्द्रले जीवनोपयोगी सीप र आत्मनिर्भर बन्ने उपाय सिकाएपछि किशोरीहरू आर्थिक उत्पादनतर्फ लागेका छन् । आयआर्जनमा जुटेपछि उनीहरूको आर्थिक अवस्था र आत्मविश्वाससमेत बलियो भएको छ ।

 गीता थापा

सुर्खेत छिन्चुकी मंगली परियारको १३ वर्षको उमेरमा विवाह भयो । दुई वर्ष पुग्दानपुग्दै १५ वर्षमा सम्बन्धविच्छेद भयो । कलिलै उमेरमा विवाह गर्दा उनको पढाइ रोकियो । बाआमाले हतारमा बिहे गरिदिए । मंगलीको न पढ्ने रहर पूरा भयो, न घरबार राम्रो हुन सक्यो ।

यसमाथि आर्थिक अभाव, उनले धेरै पीडा भोग्नुप¥यो । माइतीले उनलाई उल्टो घर गरेर खान नसकेकी भनेर वास्ता गरेनन् । उनी पढाइलाई निरन्तरता दिन चाहन्थिन्, तर कुनै उपाय थिएन । उनको मनमा आत्महत्या गर्नेसम्मको सोच पलाएको थियो । उनले भनिन्, ‘धेरैपटक आत्महत्या गर्न कोसिस गरेँ । औषधि किन्ने पनि पैसा भएन । पासो लगाउन आँट आएन ।’

 उनले जीवन बदल्ने साहस गरिन् । सहयोगी हातहरू उनका अगाडि आइपुगे । किर्डाक नेपाल संस्थाले छिन्चुमा सञ्चालन गरेको स्थानीय दीपशिखा किशोरी संवाद केन्द्रका किशोरीले मंगलीलाई सहयोग गरे । असफलता र अभावले जीवनदेखि नै निराश मंगलीले तिनै किशोरीको सहयोगमा सिलाइकटाइ तालिम सिकिन् । उनले अहिले कपडा सिलाउने पसल नै खोलेकी छिन् ।

कुनैबेला हेलाको पात्र बनेकी मंगलीमा अहिले गज्जबको साहस पलाएको छ । उनी भन्छिन्, ‘पहिला सबैले हेला गर्थे, मलाई पनि केही गर्न सक्दिनँ जस्तो लाग्थ्यो । तर, संवाद केन्द्रमा गएपछि आँट आयो ।’ अहिले उनी आफ्नै पसलमा बसेर दिनमा चार जोर कपडा सिलाउँछिन् । कपडा सिलाउन थालेपछि खर्च टर्न थालेको छ । अहिले कुनै–कुनै महिनामा त २५ हजार रुपैयाँसम्म आम्दानी गर्छिन् उनी ।

मैनतडाकी २१ वर्षीया तिलसरा विकको पनि सानैमा विवाह भयो । पढाइ छुट्यो । घरखर्च धान्न मुस्किल थियो । अभावसँग लड्न यो जोडी मजदुरीका लागि घरबारी नै त्यागेर दुई वर्षसम्म भारतको सिमला पुग्यो । उनले परदेशमा नसोचेको दुःख पाइन् । धेरै दुःख पाएपछि उनी श्रीमान्लाई लिएर आफ्नै थातथलो फर्किन् । गाउँमै केही काम गर्ने सोच बनाइन् । किशोरी संवाद केन्द्रले दिएको १० हजार ऋणले घरनजिकै कपडा सिलाउने मेसिन किनेर लुगा सिलाउन थालिन् । अहिले उनको पसलमा दुई लाखभन्दा बढीको सामान छ । संवाद केन्द्रको ऋण पनि उनले फिर्ता गरिसकेकी छिन् । विगत सम्झँदै तिलसराले भनिन्, ‘हतारमा बिहे गर्दा धेरै दुःख पाइयो, आम्दानी नहुँदा त छाक टार्नै मुस्किल भयो । जब साथीहरूले गाउँमै व्यवसाय गर्न सहयोग गरे, त्यसपछि मात्र हाम्रा सुखका दिन सुरु भए ।’ पहिला अरूसँग सापटी मागेर घरखर्च चलाउने उनी अहिले अरूलाई अप्ठ्यारो पर्दा सहयोग गर्ने भएकी छिन् । कपडा सिलाउने पसल सुरु गरेपछि आफ्नो दुःखको बाटो मोडिएको उनको भनाइ छ ।

छिन्चुकै सीता विकले पनि सानै उमेरमा भागेर विवाह गरिन् । आफैँले मन पराएर बिहे गरे पनि श्रीमान्सँग उनको सम्बन्ध लामो समयसम्म टिक्न सकेन । बिहे गरेको तीन वर्ष नपुग्दै श्रीमान् टाढिए । सहपाठी विशाल नेपालीसँगको प्रेममा परेकी सीताले कक्षा ९ मै पढाइलाई बिट मारिन् । विगत सम्झँदै सीता भन्छिन्, ‘त्यतिबेला विशालको माया पाए अरू केही चाहिँदैन भन्ने लाग्यो, तर अहिले थाहा भयो, जीवनमा पढाइ ठूलो रहेछ ।’ कमाउन भारत गएका विशालले उतै अर्को बिहे गरेपछि सीता घर र माइती दुवैतिर हेलामा परिन् । यहीबीचमा सीता सिलाइ पसलतिर आकर्षित भइन् । उनले सिलाइकटाइ तालिम लिएर सानो पसल खोलिन् । अहिले उनको घर र सानो छोराको पढाइखर्च पु¥याएर महिनामा केही पैसा बचत हुन थालेको छ ।

नेरा निम्नमाध्यमिक विद्यालय तल्लो थानीचौर भेरीगंगा– ८ छिन्चुका शिक्षक डिल्लीराम घर्तीले बालिकाको घरको आर्थिक अवस्था कमजोर भएकाले सानै उमेरमा पढाइ छोडेर विवाह गर्ने गरेको बताए । आर्थिक विपन्नताकै कारण बालबालिकाले सानै उमेरमा बालविवाह गर्ने गरेको उनको भनाइ छ । बालबालिकामा सचेतनाको कमी र साथीहरूको देखासिखीका कारण पनि सानै उमेरमा विवाह गर्ने गरे पनि पछिल्लो समय यस क्षेत्रमा बालविवाहमा कमी आएको घर्तीको भनाइ थियो ।

जिल्ला बाल अधिकार अधिकृत रमादेवी भण्डारीले बालविवाहमुक्त जिल्ला बनाउने अभियान सुरु भएपछि चेतना अभिवृद्धिसँगै बालविवाह गर्ने÷गराउने प्रवृत्तिमा कमी आएको बताइन् । जिल्ला बाल कल्याण सुर्खेतको तथ्याङ्कअनुसार जिल्लाका मैनतडा, घुमखहरे, दहचौर, लेखफर्सा, कल्याण, छिन्चु, लेखपराजुल, साटाखानी र सालकोट गाविसमा एक वर्षको अवधिमा तीन सय ४० बालविवाह भएको छ । तथ्याङ्कअनुसार सबैभन्दा बढी मैनतडामा एक सय ४२ र सबैभन्दा कम घुमखहरेमा २९ वटा बालविवाह भएका छन् । त्यस्तै, दहचौरमा ४०, लेखफर्सामा ४६, कल्याणमा ९६, छिन्चुमा ९२, लेखपराजुलमा ३४, साटाखानीमा ४६ र सालकोटमा ३९ वटा बालविवाह भएका छन् । जिल्ला बाल अधिकार अधिकृत भण्डारीले बालविवाहमुक्त जिल्ला बनाउने अभियान सुरु भएपछि चेतना अभिवृद्धिसँगै बालविवाह गर्ने–गराउने प्रवृत्तिमा तुलनात्मक रूपमा कमी आएको बताइन् ।

किर्डाक नेपाल संस्थाले छिन्चुलगायत विभिन्न गाविसमा किशोरी संवाद केन्द्र स्थापना गरेर किशोरीलाई जीवनोपयोगी सीप र आत्मनिर्भर बन्ने उपाय सिकाउन थालेपछि किशोरीहरू आर्थिक उत्पादनतर्फ लागेका हुन् । ग्रामीण क्षेत्रका किशोरीले टिनको छानो भएको सानो घुम्ती पसल, सिलाइकटाइ, तरकारी खेती र अन्य आयआर्जनका क्रियाकलाप सञ्चालन गरिरहेका छन् । किर्डाक नेपालका जिल्ला कार्यक्रम संयोजक अनुप नेपालीले किशोरीलाई आफ्नो संस्थाले जीवनोपयोगी सीप प्रदान गरेर आत्मनिर्भर बनाउने प्रयास गरिरहेको बताए । उनका भनाइमा आयआर्जनमा जुटेपछि किशोरीको आर्थिक अवस्था र आत्मविश्वाससमेत बलियो भएको छ ।

(संचारिका फिचर सेवा)

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: