बालविवाहले पछुतो


प्रकाशित मिति :2017-04-30 12:43:06

सिन्धुपाल्चोक । साँगाचोककी स्वरूपा पुरीले १५ वर्षमै विवाह गरेकी थिइन् । गाउँकै दिदीको सल्लाहमा ललितपुर टङ्गुनका २४ वर्षीय युवकसँग विवाह गरेकी उनले १६ वर्षमा एक छोरी जन्माइन् । राजधानीमा भाडाको कोठामा बसिरहेकी थिइन् ।

सुत्केरी भएको भोलिपल्टै पति अर्कै पत्नी लिएर बेपत्ता भए । वर्ष दिनसम्म कुनै सम्पर्क नभएपछि बुबाले उनलाई घरमा ल्याएर राखे । हाल पुरी बिचल्लीमा परेकी छन् । सानै उमेरमा विवाह गरेकाले उनले पढ्न पाइनन् । पढाइ बीचैमा छाडेकाले मजदुरीभन्दा अरू केही काम पाउन सकिनन् ।

सधैं बुबाका घरमा बस्न गाह्रो भएपछि पुरी राजधानी फर्किएको बताउँछिन् । ‘कसैको घरमा काम गर्न थालेकी छु, जे भए पनि बाँच्नैपर्ने रहेछ,’ उनले भनिन्, ‘पश्चत्तापमा जलिरहेकी छु, बेकार सानैमा विवाह गरेछु ।’ उनले माइतबाट पाएको नागरिकताबाट छोरीको जन्मदर्ता नबनेकाले विद्यालय भर्ना गर्न सकेकी छैनन् । वडाले सबै कुरा मिले पनि कानुनी जटिलता भएकाले जन्मदर्ता नबनेको बताएको छ ।

इचोककी रीमा तामाङले १४ वर्षमै विद्यालयकै सहपाठीसँग भागीविवाह गरेकी थिइन् । काठमाडौंमा गएर बसेको १ वर्षपछि १७ वर्षको उमेरमा उनले एक छोरी र छोरा जन्माइन् । सन्तान भएलगत्तै पति अर्कै प्रेमिका लिएर हराए । धेरै दिनसम्म पनि सम्पर्क नभएपछि भाडामा बसिरहेकी उनी जीविकोपार्जनका लागि होटलमा भाँडा माझ्न थालिन् । हाल उनले इँट्टाभट्टामा काम गरी छोराछोरी पालिरहेकी छन् । सानै उमेरमा विवाह गरेकामा उनलाई पछुतो छ ।

जिल्लामा हालसम्म बालविवाहले गर्दा ५० भन्दा बढी महिला अलपत्र परेको घटना भेटिएको महिला तथा बालबालिका कार्यालयले जनाएको छ । जिल्लाभर हजारौं महिला बालविवाहले अलपत्र परेको हुन सक्ने महिला बालबालिका कार्यालयकी अधिकृत सन्ध्या सिंह बताउँछिन् ।

बालबालिका जागरुक

भोजपुर– खावा गाउँमा १५ वर्षीया र २० वर्षीय जोडीको गत फागुन २९ मा हुन लागेको विवाह रोकियो । सिर्जनशील बालक्लब र इलाका प्रहरी दिल्पाको सक्रियतामा विवाहको अघिल्लो दिनमा रोकियो । लगत्तै सदरमुकाम नजिकै टक्सारकी १७ वर्षीया, अन्नपूर्णकी १६ वर्षीया र रानीवासकी १५ वर्षीयाको विवाह पनि रोकियो ।

शारीरिक, मानसिक र सामाजिक तवरले परिपक्व नभई परिवारको दबाब र आफूखुसी हुने बालविवाहलाई रोक्न बालबालिका आफैं जागरुक भएका छन् । बालबालिकाहरूको छाता संगठन जिल्ला बालक्लबको नेतृत्व महिला तथा बालबालिका कार्यालय, जिल्लास्थित सरकारी तथा गैरसरकारी संघसंस्था र प्रहरीबीचको साझेदारीमा बालविवाह रोक्न थालिएको अध्यक्ष लक्ष्मण चौहानले बताए ।

गरिबी, अशिक्षा र अभिभावकको दबाबले अधिकांश बालिकाको विवाह हुने गरेको छ । गाउँ तथा दुर्गममा बालिका बढी प्रभावित रहेको महिला तथा बालबालिका अधिकृत पुष्पलता उप्रेतीले बताइन् । बालविवाह रोक्न जिल्लातहमा प्रयासका थुप्रै निर्णय भए पनि व्यावहारिक रूपमा लागू हुन सकेको छैन । यसैपालादेखि बालक्लबको मुख्य नेतृत्वमा अभियान थालिएको छ ।

साबिकको जिविसले तयार पारेको जिल्ला प्रोफाइलअनुसार ५० प्रतिशत बालविवाह हुने गरेको आँकडा छ जसमध्ये ९९ प्रतिशत बालिकाको कम उमेरमा विवाह भएको छ । गएको वर्ष ११ सय ५ बालबालिकाको बालविवाह भएको उल्लेख छ । सामान्यतस् विवाहका लागि महिला र पुरुष दुवै २० वर्ष पुग्नुपर्ने प्रावधान छ । संविधानको भाग ३ को मौलिक हकअन्तर्गत बालविवाह गर्ने गराउन नपाइने व्यवस्था भए पनि पालना हुन सकेको छैन ।

पश्चिम तराईमा बढ्दै

नेपालगन्ज– श्री माध्यमिक विद्यालयमा ९ कक्षा पढ्दै गरेकी नेपालगन्ज–२४ लग्दहवाकी १७ वर्षीया पुष्पा खटिकको ५ वर्षअघि बिहे भयो । उनको सैनिकगाउँका २० वर्षीय विक्रम खटिकसँग बिहे भएको थियो । अभिभावककले उनलाई बिहे गरेको घर पठाउन ‘गौना र थौना’ को तयारी गरेका थिए । तर, किशोरी सशक्तीकरण समूहको दबाबपछि उक्त कार्य रोकिएको छ । उनकै छिमेकी १२ वर्षीया अमृता शकरको बिहे भएको ३ वर्ष भयो । उनीहरू मात्र होइन, लग्दहवाकै १४ वर्षीया सीता खटिक र १३ वर्षीया मनीषा रैदासको पनि बिहे भइसकेको छ । उनीहरू सबैको ‘गौना र थौना’ को काम सञ्जालको दबाबमा रोकिएको हो ।

मधेसी समुदायमा सानैमा छोरीको विवाह गर्ने परम्परा कायमै छ । विवाहको केही वर्षमा गौना र थौना भएपछि मात्र उनीहरूलाई पतिको घर पठाउने गरिन्छ । मुस्लिम समुदायमा पनि बालविवाह व्याप्त छ । उनीहरूको किशोर अवस्थामा प्रवेश नगर्दै विवाह गरिदिने चलन छ । मुस्लिम समुदायका क्षेत्रमा क्रियाशील मुस्लिम समाज विकास जनचेतना केन्द्रका अनुसार यो समुदायमा करिब ६० प्रतिशत बालविवाह हुने गरेको छ । केन्द्रका अध्यक्ष मोहम्मद शेर बागबानले मुस्लिम समुदायको बाहुल्य नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न वडा, जयसपुर, परसपुर, रनियाँपुर, बेतहनी, लक्ष्मणपुर, गंगापुरलगायत क्षेत्रमा बालविवाह धेरै हुने गरेको बताए । ‘सामान्यतस् मुस्लिम समुदायमा धार्मिक संस्कारका कारण बालविवाह बढिरहेको छ,’ अध्यक्ष बागबानले भने, ‘मुस्लिम समुदायमा करिब ६० प्रतिशत बालविवाह हुने गरेको छ । सबैभन्दा बढी ८ देखि १० वर्षको उमेर समूहमा हुन्छ ।’

चालु आवमा प्रहरीले १९ बालविवाह रोकेको इन्स्पेक्टर वीरबहादुर थापाले बताए । उनका अनुसार बालबालिकाले दिएको उजुरीका आधारमा विभिन्न धार्मिकस्थलमा गएर विवाह रोकिएको हो । बालबालिकाका क्षेत्रमा कार्यरत संस्था सिबिनले गरेको सर्भेक्षणका आधारमा १ वर्षमा १५ सय ८९ बालिका तथा २६५ बालकको विवाह भएको पाइएको छ । बाल हेल्पलाइनमा १ वर्षमा बालविवाहका २४ उजुरी दर्ता भई रोकिएको सिविनका संयोजक सिद्धराज पनेरूले बताए । उनका अनुसार बालविवाहका कारण सानै उमेरमा बच्चा जन्माउने र पढाइलगायत आधारभूत आवश्यकताबाट वञ्चित हुनुपर्ने बाध्यता छ ।

स्रोतः कान्तिपुर दैनिक

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: