घर बनाइदिनेलाई भोट


प्रकाशित मिति :2017-05-04 13:53:35

विदुर आचार्य

सिन्धुपाल्चोक । बलेफी ६ की पुण्यशीला आचार्य (८४) को घर ०७२ वैशाखको विनाशकारी भूकम्पले ध्वस्त पार्यो । नयाँ घरको जग उनले अझै बसाउन सकेकी छैनन् । स्थानीय चुनावमा भोट हाल्न उत्साहित उनी घर बनाउन सरकारी अनुदान ल्याउन सहयोग गर्नेलाई भोट दिने बताउँछिन् । ‘जसले घर बनाउन हामीलाई सहयोग गर्छ, उसैलाई भोट दिने हो’,आचार्य भन्छिन् ।

सोही ठाँउकी एकल महिला मनमाया पराजुली (७०) को अवस्था पनि उस्तै छ । उनले सरकारले आवास अनुदान बापत दिएको ५० हजार रुपैयाँ त पाइन् तर, अहिलेसम्म घर बनाएकी छ्रैनन् । पहिलो किस्ताले जग बसाउन नपुग्ने भएपछि घर बनाउने आँट गर्न नसकेको उनी बताउँछिन् । ‘छिमेकीले घरको छानो छाउँदा समेत दोस्रो किस्ता पाएका छैनन्, अनुदान रकमको भर भएन’, पराजुली भन्छिन्, ‘चुनावका कारण नेताहरु घरघरमा भोट माग्न आउन थालेका छन्, अब जसले हाम्रो कुरा सुन्छ, उसैलाई भोट दिने हो ।’

बाह्रबिसे नगरपालिका गातीका टेम्मा छोयालले पनि भूकम्पले ढालेको घर बनाउन सकेकी छैनन् । ‘हिजो जस्तो लाग्छ, भूकम्पले घर भत्काएर टहरामा बस्न थालेको, दुई वर्ष कटिसकेछ’, छोयालले भनिन्, ‘तर, अहिलेसम्म टहरामा बस्न बाध्य भएका छौं ।’ उनी पनि आफ्नो घर बनाउन सहयोग गर्नेलाई भोट दिने बताउँछिन् ।

जिल्लामा घर बनाएका गाउँलेहरु समेत घर हेर्न इन्जिनियर नआएको भन्दै तनावमा देखिन्छन् । घर सरकारी मापदण्ड अनुसार बन्यो, बनेन भनेर इन्जिनियरले प्रमाणित गरिदिनुपर्ने तर, लामो समयदेखि इन्जिनियर गाउँमा नआएकोले उनीहरु समस्यामा परेका हुन् । ‘घर बनाउन थालेको महिना दिनसम्म इन्जिनियरहरु घर हेर्न आएनन्, कुरेर बस्ने कुरा पनि भएन’, चौतारा साँगाचोकगढी नगरपालिकाका भरतबहादुर सापकोटा भन्छन्, ‘घरको छानो पनि हालिसकियो, अब सरकारी इन्जिनियर आएर के भन्ने हुन्, दोस्रो किस्ता पाइने हो, होइन, साहै्र अन्यौल छ ।’

सरकारले वैशाख ३१ मा स्थानीय तहको निर्वाचन गर्ने मिति घोषणा गरेपछि जिल्लाका तीन नगरपालिका र नौ गाउँपालिकाका स्थानीयवासीमा उत्सुकता सहित चुनावी तयारीले छोपेको छ ।

जग्गा हुनेहरुले घर बनाइरहेका छन् । भूकम्पले घडेरी चिरा परेका, ढलेका, पहिरो लडेका जग्गा हुनेहरु भने चिन्तामा छन् । सबै राजनीतिक दलहरुले आफ्नो पार्टीलाई बलियो बनाउन वडा भेला तथा कार्यकर्तासँगको भेटघाटलाई तीव्रता दिन थालेका छन् । विशेष गरेर ठूला दलहरु काँग्रेस, एमाले र माओवादी केन्द्र र राप्रपाका नेताहरु आफ्ना कार्यकर्ताहरुलाई भेट्ने, वडागत भेला गर्ने काममा तल्लिन हुन थालेका छन् ।

तर, राजनीतिक दलहरुले भूकम्पले थिलथिलो पारेको यो जिल्लामा पुननिर्माणको काममा कसरी सहयोग गर्ने भन्ने नीति लिएको देखिँदैन । पार्टीको बहुमत ल्याउन नेताहरु जागेका छन् तर, पुननिर्माणमा जागेका छैनन् ।

भूकम्पपछि घाइतेको उद्धार, राहत वितरण गर्न भन्दै सयौं संस्थाहरु जिल्ला भित्रिएका थिए । अधिकांश संस्थाहरु राहतको पोका बाँडेर बाटो लागे भने औंलामा गन्न सक्ने संस्थाहरु मात्रै सरकारलाई साथ दिँदै पुनःनिर्माणको चरणसम्म टिकिरहेका छन् ।

दोस्रो किस्ताको बजेट सिन्धुपाल्चोक आइसकेको जिल्ला दैवी प्रकोप उद्दार समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवाल बताउँछन् । अहिलेसम्म सिन्धुपाल्चोकका कुनै पनि भूकम्प पीडितले दोस्रो किस्ताको रकम पाएका छैनन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: