स्थानीय तहकाे प्रमुख पदमा महिलाको उम्मेदवारी ५ प्रतिशत
जम्मा १४ प्रतिशत महिला उम्मेदवार पुरुषसँग भिड्दै
महिला खबर
काठमाडौं । वैशाख २२ गतेको उम्मेदवारी फिर्तापछि दर्ता भएको अन्तिम नामावली अनुसार तीन प्रदेशका स्थानीय तह अर्थात नगर/गाउँपालिका र वडाको प्रमुख पदमा ९५ प्रतिशत उम्मेदवारी पुरुषले र ५ प्रतिशत उम्मेदवारी महिलाले दिएका छन् ।
निर्वाचन आयोगले वैशाख २५ मा दिएको जानकारी अनुसार ३१ वैशाखमा हुन लागेको पहिलो चरणको निर्वाचनमा प्रदेश नं ३, ४ र ६ का ३४ जिल्लाबाट कुल ४९ हजार ३३७ ले विभिन्न पदमा उम्मेदवारी दिएका छन् । जसमा महिला उम्मेदवारको सख्या १९ हजार ३३२ र पुरुष उम्मेदवार ३० हजार ५ को संख्यामा छन् । यसरी हेर्दा कुल उम्मेदवारको ३९ प्रतिशत महिला र पुरुष उम्मेदवार ६१ प्रतिशत रहेका छन् ।
तर, उम्मेदवारी दिएका कुल १९ हजार ३३२ महिलामध्ये नगर प्रमुख/अध्यक्षमा जम्मा ८ प्रतिशत (१५७) जनाको मात्र उम्मेदवारी परेको देखिन्छ । यस्तै, वडा अध्यक्षमा पनि ४ प्रतिशत (४४८) जनाको उम्मेदवारी परेको देखिन्छ । यी तीनै पद स्थानीय तहमा अत्यन्तै महत्वपूर्ण मानिएको छ । यी तीन पदमा मात्र कुल १२ हजार ६ सय २४ जनाको उम्मेदवारी परेको छ, जसमा महिला ५ प्रतिशत (६०५) र पुरुष ९५ प्रतिशत (१२,०१९) रहेका छन् ।
तीन वटा प्रदेशका ३४ जिल्लाका २८३ स्थानीय तहको निर्वाचनका लागि वैशाख १९ गते उत्साहका साथ महिलाहरुले उम्मेदवारी दर्ता गराएका थिए । तर, विभिन्न स्थानमा दलहरुबीचको तालमेल हुँदा प्रमुख पदबाट मात्रै दर्जन महिला पछाडि हट्नुपरेको थियो ।
स्थानीय तह निर्वाचन ऐन २०७३ को धारा १७ को उपधारा ४, ५ र ६ मा भएको व्यवस्था अनुसार राजनैतिक दलले उम्मेदवारी दर्ता गर्दा अनिवार्य रुपमा प्रमुख वा उपप्रमुख, अध्यक्ष वा उपाध्यक्ष मध्ये ५० प्रतिशत महिला उम्मेदवार हुनुपर्ने व्यवस्था गरेको छ ।
उपप्रमुख/उपाध्यक्षमा ८१ प्रतिशत
तथ्याङ्क केलाउँदा, धेरै महिलाले उपप्रमुख/उपाध्यक्ष र वडा सदस्यमा उम्मेदवारी दिएका छन् । यी तीनै पदमा परेको कुल २० हजार ६४ उम्मेदवारीमध्ये महिला १० प्रतिशत (२,०७८) र पुरुष ९० प्रतिशत (१७, ९८६) रहेका छन् । उपप्रमुखमा मात्रै कुल १ हजार ३८४ जनाको उम्मेदवारी परेको छ, जसमा ८१ प्रतिशत (१,१२७) महिला र १९ प्रतिशत (२५७) पुरुष रहेका छन् ।
यस्तै, २ हजार ५ सय ९८ वडा अध्यक्ष पदका लागि ९६ प्रतिशत पुरुष (१०, २९६) र ४ प्रतिशत महिला (४४८) ले उम्मेदवारी दिएका छन् । वडा सदस्यमा पनि पुरुष ९६ प्रतिशत (१०,२९६) र महिला ५ प्रतिशत (९५१) उम्मेदवार रहेका छन् ।
वडामा पाँच सदस्यमध्ये एक दलित सहित दुई जना अनिवार्य महिला हुने व्यवस्थाले कुल ५ हजार १ सय ९८ महिलाको पद सुनिश्चित गरेको छ । यस अन्र्तगत महिला सदस्यमा ९ हजार ८३ र दलित महिला वडा सदस्यतर्फ ७ हजार ५२६ जना गरी दुवै पदमा कुल १६ हजार ६०९ महिलाको उम्मेदवारी परेको छ । यो कुल उम्मेदवारी दिएका महिलाको ८६ प्रतिशत हो । यो हिसाबले यी दुई पद बाहेक जम्मा १४ प्रतिशत (२७२३) महिलाले मात्र अन्य पदमा पुरुषसँग प्रतिस्पर्धा गर्नेछन् ।
Comment Here!