महिलालाई नेतृत्व, फाइदा पुरुषलाई


प्रकाशित मिति :2017-05-10 18:32:24

-सुशीला बुढाथोकी-

‘शेरबहादुर स्यालबहादुर भएका छन्, पुष्पकमल फुस्सकमल भएका छन्’, काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएकी रञ्जु दर्शना (न्यौपाने) ले दिएको यस्तो अभिव्यक्तिले उनको राजनीतिक धरातल र खासगरी पुराना नेतृत्वलाई आदर गर्न नसकेको भन्ने टिप्पणी आइरहेका छन् । तर, यर्थाथ जे भएपनि रञ्जुको सो अभिव्यक्तिमा पुराना राजनीतिक नेतृत्वलाई हेर्ने र बुझ्ने आम युवाको दृष्टिकोण प्रतिबिम्वित भएको भने पक्कै हो ।

यो किनपनि भने, राजनीति नेपालको सन्र्दभमा विकासको मानक हुन सकेको छैन । कतिपय देशमा राजनीति दर्शन वा समाजसेवाको रुपमा अघि बढिरहँदा हामीकहाँ यसले संस्थागत रुप समेत हासिल गर्न नसकेको अवस्था छ । खासगरि, ‘व्यक्ति प्रवृत्ति’ हावी हुँदा पुराना दलको ओज कम हुँदै गएको यर्थाथ कतै लुकेको छैन । यसले अन्ततः सिंगो दल नै आफ्नो मूल्य मान्यता र सिद्धान्तभन्दा प्रभावशाली पुरुष नेताहरुको बलमिच्याँइमा पर्न बाध्य भएको देखिन्छ ।

नेपाली राजनीतिलाई अहिले मार्गदर्शनको खाँचो छ । यो महिला नेतृत्वले मात्र दिनसक्छ । यो कुरा पुरुष नेतृत्वले बुझ्न ढिलो भइसकेको छ । सधैं महिलाको सहयोगले यात्रा तय गर्ने तर, नेतृत्वमा सधैं राजनीति गर्ने परिपाटीले दलभित्र महिलाको योगदान कहिल्यै संस्थागत हुन सकेन । यो कुरा दलभित्र र बाहिर जाँदा वा प्रत्यक्ष देखिँदा समग्रमा पार्टीकै इज्जत धुमिल गराएको छ ।

पुराना दलभित्र पुरुष नेतृत्व, दबदबा र प्रभाव यति मजबुत छ कि, एउटा शक्तिशाली नेताले अर्को शक्तिशाली नेतालाई नगन्ने परिपाटी नै बसेको देखिन्छ । यस्तो द्वन्द्वले मौका पर्दा एउटा पुरुष नेताले अर्को पुरुष नेता (जस्तोसुकै भ्रष्ट्राचारी नै किन नहोस् !) लाई बचाउ गर्ने, संस्थागत सुरक्षा दिने र आफूभन्दा शक्तिशाली हुने वा अगाडि बढ्ने सम्भावना भएमा पोल खोलिदिने, अनेक हत्कण्डा अपनाई उसलाई राजनीतिबाट नै बाहिर जान बाध्य बनाउने गरेको देखिन्छ । आफू माथि उठ्न पुरुष नेताहरुले गरेका यस्ता क्रियाकलाप प्रतिस्पर्धी पार्टी वा नेतालाई नीच देखाउन झन् धेरै प्रकारले गर्ने त भइहाल्यो ।

नेपालमा प्रमुख चार राजनीतिक दलमध्येको एक माओवादी पार्टीमा माओवादी जनयुद्धलाई पुरुष नेताले उपलब्धिमूलक मान्छन् । तर, कुनैदिन त्यो जनयुद्ध पुरुष नेतृत्वकै दम्भ र हठको कारण हुन पुगेको इतिहासले प्रमाणित गरे आश्चर्य मान्नुपर्दैन । किनकी, मलाई लाग्दैन महिला नेताहरुले कहिल्यै युद्ध चाहेका थिए । त्यतिखेरको नेतृत्वमा महिला भएको भए, शायद देश त्यो खालको द्वन्द्वबाट गुज्रिनुपर्ने थिएन । अनि, सारा जनता र राज्यले नै युद्धको ठूलो मूल्य चुकाउनुपर्ने थिएन । हुन त माओवादी मात्र होइन नेपाली काँग्रेस, नेकपा एमालेको आज र इतिहास खोतल्दा पनि विभिन्न खाले द्वन्द्व, पुरुष दम्भ र दबदबाको लामो फेहरिस्त नै तयार हुन्छ ।

पुरुष नेतृत्वबारे यति भनिरहनुको अर्थ उनीहरुको नेतृत्वमा प्रश्न गर्नु पक्कै होइन । पुरुष नेतृत्वका कारण धेरै ऐतिहासिक कामहरु सम्पन्न भएका छन्, समाजमा सकरात्मक उर्जा कायम रहेकाे छ । तर, अहिले चाँहि पुरुष नेतृत्व दलभन्दा धेरै अगाडि बढेको तर, केही गर्न नसकेको अवस्था हो । खासगरि, नेतृत्वमा सधैं घम्साघम्सी पर्दा अन्य एजेन्डा ओझेलमा परिरहेको देखिन्छ, यसले पनि उनीहरुलाई अघि बढ्न दिएको छैन । र, परिणाम संविधानसभाको चुनावदेखि नै देखिएको हो।

विद्या भण्डारीलाई राष्ट्रपति बनाउँदा एमालेको उचाई बढेकै हो । सीतादेवी यादवलाई पार्टी प्रवेश गराउँदादेखि नै काँग्रेस नेतृत्वको प्रशंसा भएकै हो । माओवादीले जनयुद्धमा महिला मुद्धाका कारण ठूलो जनसर्मथन पाएको जगजाहेरै छ । त्यस्तै, धेरै महिलालाई सहभागी गराएको तथा महिला मुद्धा उठाएकोले मधेसवादी दलपनि छिटै उचाइमा आए । यी सबै पछिल्ला घटनाक्रमले महिला मुद्धा सबैभन्दा पेचिलो बनेको स्पष्ट देखिन्छ ।

हुन त, दक्षिण एसियामै महिला प्रतिनिधित्वमा हामी अगाडि बढिसकेका छौं, विश्वमा हेर्दा झण्डै युरोपको दाँजोमा पुग्न लागिसक्यौं भनेर फुर्ति लगाइन्छ । तर, यस्तो नेतृत्व देखाउनका लागि मात्र हो भने घाटा देशलाई नै छ । किनकी, व्यवहारिक रुपले नलागेसम्म हामी कतैपनि पुग्न सक्दैनौं । महिलालाई अगाडि देखाएर पुरुष नेतृत्वले मनोमानी गर्दा घाटा कसलाई भइरहेको छ ? पुरुष नेतृत्वले बुझुन् ।

बहुदलीय राजनीतिमा एउटा नागरिकले भोट हाल्नु भनेको उसले आँखा चिम्लेर नेतृत्वलाई विश्वास गर्नु होइन, अनेक दल र तिनका एजेन्डा बुझ्दै नेतृत्व छनौट गर्नु हो । अहिले भोट दिनेले दल होइन, व्यक्ति हेर्न थालेका छन् । खराब पक्ष कम भएको र पुरुष नेताजस्तो स्वेच्छाचारी नभएकोले महिलालाई किन विश्वास नर्गने भन्ने सोच सर्वसाधारणमा व्याप्त देखिन्छ । यहि चुरो कुरो बुझेर साना दल तथा भर्खरै उदाउन लागेका दलहरुले महिला उम्मेदवार जोडतोडले उठाइरहेका देखिन्छन्।

तर, भोट पाउन अहिले पुरुष नेतृत्वका दलका चुनावी नारा कतिपय त हाँसो लाग्ने खालका देखिन्छन् । राज्यले गर्नुपर्ने काम कारबाही, विकास निर्माणका कामलाई नारा बनाउनुको कुनै तुक छैन । यसमाथि नेपाली जनताले यसअघिका अनेकथरी नारा पूरा नभएको भुलेका छैनन् । अर्को कुरा, राष्ट्रिय प्राथमिकता र विकासका काम सर्वसहमतिमै हुने हो, कुनै पार्टीको एजेन्डामा मात्र भएर त्यसले स्वरुप हासिल गर्ने पक्कै होइन।

अझ, घोषणापत्रमा महिलाको सहभागिता र नेतृत्वको कुरा छैनन् । बरु, त्यहाँ महिलालाई विभिन्न कुरा ‘दिने’ उल्लेख गरिएको छ । तर, अधिकार कसैले दिने र लिने कुरा होइन, राज्यले बनाएको व्यवस्थासँग सम्बन्धित कुरा हो । यस्ता कुराले महिलालाई आर्कषित गर्न सक्दैन, किनकी महिला मतदाता मात्र होइनन् ।

हो, महिला पीडित छन् । दुःखी छन् । तर यो राज्यले गरेको व्यवस्थाका कारण हो । अनि महिला सुखी हुँदा अन्ततः फाइदा हरेक तप्का र तहका पुरुषलाई नै हुने हो । भनिन्छ नी, जुन घरका नारी खुसी हुन्छन्, त्यहाँ परिवारको सबै सदस्यको अनुहार उज्यालो हुन्छ ।

हामीले अहिले चाहेको त सुशासन हो । तर, सुशासनका लागि कुनै दल प्रतिवद्ध देखिँदैनन् । कसैले भन्लान्, राजनीतिक स्थिरता भएपछि स्वतः सुशासन आउँछ । तर, त्यसो होइन, यो पनि नेतृत्वको कुरा हो । यो महिला नेतृत्वबिना असंभव छ, किनकी महिला स्वाभाविक रुपमा इमान्दार र कर्तव्यनिष्ठ हुन्छन् ।

खासगरी, महिला नेता आउँदा पहिले त दललाई नै व्यवस्थित हुन सहयोग पुग्नेछ । नेतृत्वमा दाबी गरिरहेका महिलाले घर गृहस्थी पनि सम्हाल्ने हुँदा उनीहरु कुशल व्यवस्थापक समेत हुन् । अहिले नै हेर्दा पनि स्थानीय स्तरमा महिलाको सक्रियता विभिन्न वन, आमा तथा महिला समूहमा संगठित हुनेदेखि दलका कार्यक्रमलाई सफल बनाउने सम्मका छन् । उनीहरु तल्लो संगठनदेखि दलको उपल्लो तहसम्म सक्रिय सम्बन्ध राख्न सक्षम देखिन्छन् ।

यसबाहेक, महिला नेता आउँदा महंगी नियन्त्रण गर्न पनि सहयोग पुग्नेछ । आयातको तुलनामा एक तिहाइ मात्र निर्यात हुँदा नेपाली रुपैयाँको मोल खस्कँदै गएको जगजाहेर छ । दशकौंदेखि ठूलो परिमाणमा व्यापार घाटा सहेका छौं, हामीले । अहिले महिला अधिकांश तल्लो तह खासगरी कृषि, घरेलु तथा निर्यातजन्य साना उद्योगमा कार्यरत छन् । यो महिलाको आधार तल्लो तहदेखि बलियो छ भन्ने प्रमाण हो । यस्तोमा महिला नेतृत्व हुँदा महिला लक्षित धेरै कार्यक्रम वडा, गाउँ, नगरमा सुरु हुनेछ, जसले कृषि, लघु उद्योग लगायतमा टेवा पुग्नेछ, फलतः उत्पादन बढ्ने र स्वदेशमै बजारीकरण र खपत हुँदा देशकै व्यापार घाटा घटाउन मद्दत पुग्नेछ ।

व्यक्तिले न्याय किन सहजै पाउँदैनन्, पाइलैपिच्छे ठगी किन भइरहेको छ, सत्य बोल्न डराउनुपर्ने किन ? यो पुरुष नेतृत्वमा उत्तर नपाइने प्रश्न हो । समाजमा ठगी, घुसपैठ यति बढेको छ कि अब पुरुष नेतृत्वले मात्रै चाहेर पनि यसलाई नियन्त्रण गर्न सक्दैनन् । किनकी, एउटा पुरुषले अर्को पुरुषको लागि ल्याएको व्यवस्था हटाउँदा घाटा उसलाई पनि हुन्छ । तर, सर्वसाधारण ठगलाई तुरुन्त कारवाही भएको, घुस्याहा कर्मचारी बर्खास्त गरिएको, सबैलाई समान नियम र कानुन भएको हेर्न चाहन्छन् । यी सबैको निराकरणका लागि पनि महिला नेतृत्व आवश्यक देखिन्छ ।

सधैं पुरुष मात्रै अगाडि आउँदा समाजका सबै तह, तप्काको नेतृत्वमा पुरुष मात्रै छन्, उनीहरुकै स्वार्थ लादिएको छ । सबै ठाउँ पुरुष अनुकुल बनेका छन् । गुटबन्दी, फुटबन्दी सबै भइरहेको छ । यसले महिला र पुरुषबीच असमानता बढाएको छ नै, पुरुष समेत अघि बढ्न नसकेको अवस्था छ । किनकी, आधा जनसंख्या विभिन्न राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक रुपमा पीडित भइरहँदा पुरुष मात्रै कसरी अघि बढ्न सक्छन् ?

त्यसैले, जनताप्रति विश्वास गुमाउँदै गएका दलहरुलाई अहिले ठूलो अवसर मिलेको छ, महिला प्रतिनिधिलाई अगाडि बढाउने । किनकी, यो चुनाव जनताको धैर्यता र सहनशीलताको परिक्षा लिने बेला होइन, उनीहरुको मन र विश्वास जित्ने मौका हो ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: