रामेछापका दुई नगरपालिकामा उपमेयरका महिला उम्मेदवार


प्रकाशित मिति :2017-05-11 23:49:56

अप्रिल अधिकारी

रामेछाप  । यही बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लाको रामेछाप नगरपालिकामा ३ र मन्थली नगरपालिकाबाट ३ गरी कुल छ जना महिलाले उपमेयरमा उम्मेदवारी दिएका छन् ।  मन्थली नगरपालिकाको उपमेयरमा नेपाली काँग्रेसबाट गंगा अधिकारी, नेकपा एमालेबाट माया कार्की र माओवादी केन्द्रबाट रीतादेवी घिमिरे उम्मेदवार छन् ।  यस्तै, रामेछाप नगरपालिकामा भने कांग्रेसबाट सृजना खड्का, नेकपा एमालेबाट  शान्ता पौडेल सापकोटा र माओवादी केन्द्रबाट इन्दिरा बख्रेल उपमेयरको दौडमा छन् ।

यस्ता छन्, यी उपमेयरका एजेन्डाहरु-

मन्थली नगरपालिका

‘नगरभित्रका सडकलाई १२ महिना यातायात सञ्चालन गर्न सकिने बनाउनेछु’

ग‌ंगा अधिकारी,  नेपाली कांग्रेस

मन्थलीलाई नमुना नगरपालिका बनाउने योजना छ । यसको लागि नगरमा सुशासन प्रत्याभुति गराउने, हरेक स्रोत र साधन नगरपालिकामा हुने र राज्यले समेत सोही बमोजिमको व्यवस्था गर्ने व्यवस्था गर्नेछु । विकट वडामा केन्द्र र एक अर्कासँग जोड्ने सडक निर्माण गर्ने, सडक खानेपानी सिंचाइ, बिजुली, शिक्षा र स्वास्थ्यको आवश्यकतालाई व्यवस्थित गर्ने तथा खानेपानीको व्यवस्थापन गरि नगरवासीको घर, घर र कोठा कोठासम्म पुर्याउने व्यवस्था गर्नेछु ।
नगरभित्रका सडकलाई १२ महिना यातायात सञ्चालन गर्न सकिने बनाउने, लिफ्ट प्रणालीबाट सिंचाइको प्रबन्ध गर्ने, बेरोजगारी हटाउन कृषि, उद्योग र व्यावसायलाई प्रर्वद्धन गर्ने, महिलालाई आर्थिक, सामाजिक र राजनैतिक रुपमा सशक्त बनाउने काम गर्नेछु । यसैगरी, नगरभित्रका सिमान्तकृत वर्ग र त्यस भित्रका महिलालाई प्राथमिकता दिएर छात्रवृति प्रदान गरी प्राविधिक शिक्षामा पहँुच वृद्धि गर्ने योजना छन् । अहिलेको निर्वाचनमा जस्तो महिला र दलित खोजेर उमेदवार बनाउनुपर्ने अवस्थाको अन्त्य गर्न महिला सशक्तिकरणको कार्यक्रम गरी आगामी निर्वाचनका लागि महिला स्वयं सक्षम हुनसक्ने वातावरण तयार गर्नेछु । पदीय जिम्मेवारीका हिसाबले कानुनी अधिकारहरुको उपयोग गर्दै कानुनी रुपमा न्यायिक, सक्षम र समृद्ध नगर बनाउने योजना छ ।

‘स्त्रीरोग परिक्षण गर्ने सुविधा सम्पन्न केन्द्रहरुको स्थापना गर्नेछु’

माया कार्की,  नेकपा एमाले

नगरभित्रका मुख्य मानिएका १४ वटा सडक सञ्जालको स्तरोन्नति र कालोपत्रे गर्ने, नगरभित्रका गाउँ, बस्ती र घरघरमा विद्युत, स्वच्छ खानेपानीको प्रबन्ध गर्नेछु । महिलाहरुको स्वास्थ्यमा देखिएका समस्याहरु न्यूनीकरण गर्न प्रसुति तथा प्रजनन केन्द्रको स्थापना र व्यवस्थापन, विशेष स्त्रीरोग परिक्षण गर्ने सुविधा सम्पन्न केन्द्रहरुको स्थापना गरी २४ घण्टे प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न व्यवस्था गर्नेछु । भूकम्प पीडितलाई ३ महिना भित्र गुनासो दर्ता गराएकाहरुलाई अनुदान दिने व्यवस्था र अनुदान लिन लाभग्राहीको सुचीमा रहेकाहरुलाई एकमुष्टमा रकम दिने व्यवस्था मिलाउनेछु । महिलाहरुका लागि क्षमता विकास, सशक्तिकरण र आयआर्जन वृद्धि गर्ने कार्यक्रम नगरका वडा तहसम्म सञ्चालन हुने प्रबन्ध मिलाउनेछु । नगरभित्रका संभावित स्थानमा खेलकुद मैदानको निर्माण गरी खेलक्षेत्र र खेलाडी उत्पादनमा काम गर्नेछु । मनोरन्जनात्मक स्थल तथा पार्कहरु निर्माण गरी सुन्दर नगर बनाउने छु । नगरभित्रका साँस्कृतिक सम्पदा र ऐतिहासिक स्थलहरुको संरक्षण र प्रवद्र्धन गरी नगरलाई पर्यटकिय नगरको रुपमा विकास गरी आयआर्जन बढाउन काम गर्नेछु ।

‘सिंचाइको उचित प्रबन्ध गर्नेछु’

रीतादेवी घिमिर,माओवादी केन्द्र

पहिलो कुरा त सम्बन्धित पार्टीले अघि सारेका योजना नै उम्मेदवार बन्नेहरुको योजना हुन्छ । त्यस्तै योजनालाई अघि सार्दै म पनि चुनावी मैदानमा उत्रिएको छु । आफू उपमेयरमा चुनाव लड्दै गर्दा नगरका मतदातासँग मेरा प्रतिबद्धता पनि छन् । पहिलो कुरा, म महिला उम्मेदवार भएको नाताले महिलाका सवालहरु मेरो प्राथमिकताका विषय हुन् । महिलाको अधिकार सुनिश्चित गरी नगर भित्रका महिलालाई समान अवसर र सहभागिताको प्रत्याभुति गराउनेछु । महिलाका सन्दर्भमा गरिएको कानुनी व्यवस्था अक्षरस पालना गर्ने परिपाटी बसाल्नेछु । महिलाहरुलाई आयआर्जनमा संलग्न गराउन क्षमता र चाहना अनुसारको तालिम दिई उनीहरुलाई आवश्यक पर्ने उपकरण र सहुलियतको प्रबन्ध गर्नेछु । घरघरमा खानेपानीको प्रबन्ध गरी पानीको संकट हटाउनेछु । तामाकोशी नदी आसपासका क्षेत्रमा सिंचाइको उचित प्रबन्ध गरी हरियाली बनाई खेतीयोग्य जमिनहरुमा उत्पादन वृद्धि गर्ने, कृषि व्यवसाय र उद्योग सञ्चालनको उचित प्रबन्ध मिलाउनेछु । नगरभित्र विपन्न र सिमान्तकृतहरुलाई सहज रुपमा निःशुल्क शिक्षाको व्यवस्था गर्नेछु । व्यवस्थित रुपमा विद्यालय सञ्चालन र गुणस्तरीय उत्पादनमा विशेष ध्यान दिँदै व्यवसायिक र सीपमूलक शिक्षा दिने व्यवस्था मिलाउनेछु । नगरवासीको स्वास्थ्य संस्थासँग पहुँच बढाउने र स्वास्थ्य केन्द्रहरुलाई विस्तार र व्यवस्थित बनाई सुविधा सम्पन्न बनाउनेछु ।

रामेछाप नगरपालिका

‘पुर्वधार निर्माण गरेर नगरलाई सम्मुनत बनाउनेछु’

सृजना खड्का, नेपाली कांग्रेस

सर्वप्रथम पुर्वधार निर्माण गरेर नगरलाई सम्मुनत बनाउनेछु । महिला, ज्येष्ठ नागरिक,  अपांग, अल्पसंख्यक जनजाति, एकल महिलालाई सहज र सुलभ रुपमा सामाजिक सुरक्षा भत्ता र आयमुलक सीपका कार्यक्रम संचालन गर्नेछु । महिला हिंसा विरुद्ध उचित कानुन बनाइ सम्बोधन गर्नेछु । फोहोर बोक्ने गाडी र दमकलको व्यवस्था गर्ने तथा नगरपालिकालाई आवश्यक पर्ने खानेपानी, शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात, विद्युत र ढलको व्यवस्था मेरो पहिलो प्राथमिकता हुनेछ । कानुन निर्माण, स्रोत पहिचान र परिचालन गरी राजश्व संकलन गर्ने, सरकारी र गैर सकरकारी संस्थासँग समन्वय गरी नगरलाई व्यवस्थित गर्ने, स्थानीय, राजनैतिक दल, वुद्धिजीवि र सरोकारवालासँगको सहकार्यमा रणनतिक योजना बनाएर अघि बढनेछु ।

यसका साथै, कर संकलनको दायरालाई बलियो र प्रभावकारी बनाउनेछु । वित्तिय साक्षरतासँगै यसमा पहुँच वृद्धि गर्नेछु । साना तथा मझौला उद्योग सञ्चालन गर्नेछु । आर्यआर्जन सम्बन्धी सीप विकास तालिमको व्यवस्था गर्नेछु । सहज कृषि, ऋण अनुदान, कृषि बीमा, सडक स्तरोन्नती गर्ने, कालोपत्रे गर्ने पनि योजना छन् । कानुनको शासन लागू गर्ने, चुस्तदुरुस्त सेवा प्रवाह, सुशासन, आधुनिक प्रणालीबाट कार्यालय संचालनको प्रबन्ध र स्थानीय उत्पादनलाई प्राथमिकता दिनेछु । यस्तै, निःशुल्क माध्यमिक शिक्षा, छात्रवृत्ति, छात्रावासको व्यवस्था लगायतका काम गर्नेछु । नगरभित्रका ऐतिहासिक स्थलहरुलाई पर्यटकीय स्थलहरुका रुपमा विकास गरी पर्यटन प्रवद्र्धनमा जोड दिनेछु । विभिन्नखाले विभेद र हिंसा मुक्त नगर बनाइ नमुना प्रस्तुत गर्ने सोच छ ।

‘जनताका आधारभूत आवश्यकतालाई पूरा गर्नेछु’

शान्ता पौडेल सापकोटा, नेकपा एमाले

नयाँ नगरपालिकाको रुपमा घोषणा गरिएको रामेछाप नगरपालिका र त्यहाँको प्रत्येक वडा तहको अवस्था हेर्ने हो भने विकासले ओझेल परेको जतिकै बनेको छ । नगरभित्र हुनपर्ने आधारभूत कुराहरुमा कमि छ । नगरको समग्र अवस्था दयनीय रहेको छ । जनताले दुःखजिलो गरेरपनि आधारभूत आवश्यकता पुग्न नसकेको अवस्था भएकोले सुरुमा त्यस्ता आवश्यकतालाई पूरा गर्ने काम गर्नेछु । भोट माग्न गाउँमा पुग्दा आफंैले समेत पानी खान नपाएको अवस्था देखेकोले त्यस्ता ठाउँमा खानेपानीको उचित प्रवन्ध गर्नेछु ।

यातायातका पहुँचबाट टाढा रहेका नगरका वडाहरुमा नियमित चल्ने गरी सडक निर्माण र भएको सडकको स्तरोन्नती र कालोपत्रे गर्ने काम गर्नेछु । शिक्षालाई न्यून आएका भएका परिवारहरुको समेत पहुँच हुनेगरी शैक्षिक क्षेत्रको विकास गर्नेछु । वडा तहमा डाक्टर सहितको स्वास्थ्य सेवाको प्रवन्ध गर्नेछु । महिलाको श्रमको उचित मूल्याँकन हुने प्रवन्ध मिलाउनेछु । विदेश पलायन रोक्न नगर भित्र उद्यम संचालन र कृषि कार्यका माध्यमबाट आयआर्जन बढाउन प्रोत्साहन गरी आवश्यक प्रबन्ध मिलाउने छु । लैङ्गिक विभेद मुक्त नगर बनाउनेछु । नगरका हरेक गतिविधिमा महिलाको सम्माजनक प्रतिनिधित्व र सहभागिताको ग्यारेन्टी गरी महिला सम्बन्धी भएका कानुनी व्यवस्थाहरुलाई लागू गर्नेछु । यसैगरि, आवश्यकता अनुसार कानुन परिमार्जनमा आवाज उठाउनेछु । हिंसामुक्त नगर बनाइ महिला बालबालिका र फरक क्षमतामैत्री नगर बनाउने परिकल्पना गरेको छु ।

‘स्वास्थ्य, शिक्षा, रोजगारी र अवसर बढाउनेछु’

इन्दिरा बख्रेल, माओवादी केन्द्र

 जनताका न्युनतम मानिएका अधिकारहरु स्थापित गराउनु पहिलो आवश्यकता हो ।  सरकारले नगरपालिका घोषणा गरेता पनि यो नगर अभाव नै अभावमा झेलिएको छ । नगरवासीलाई सामान्य कुरा पाउन समेत मुस्किल र महंगो पर्ने गरेको छ । स्वास्थ्य, शिक्षा, रोजगारी र अवसर कम छ । अर्थात, त्यसबाट नगरवासी वन्चित जतिकै छन् । बालबालिकाहरु विद्यालय जानबाट वन्चित छन् । उनीहरुलाई विद्यालयसम्म ल्याएर सहज पढने वातावरणको सृजना गर्नेछु । महिलाको प्रजनन स्वास्थ्यका हरेक कुरामा विशेष ध्यान दिँदै प्रत्येक वडा तहमा स्वास्थ्य सेवाको पहुँच बढाइ सुलभ र प्रभावकारी सेवाको प्रबन्ध गर्नेछु ।

विकास निर्माणका काम नियमित र आवश्यकताका आधारमा पालैसँग गर्दै लैजाने छु । सहकार्य र सहमतिमा विकास र सेवा प्रवाहलाई जनतासम्म न्यायोचित तवरले पु¥याउनेछु । अधिकांश सुख्खा ग्रस्त क्षेत्र रहेको यस नगरमा लिफ्ट प्रणाली, आकाशे पानी संकलन लगायतका नगरभित्रकै स्रोत साधनको उपयोग गर्दै घरघरमा खानेपानीको व्यवस्था मिलाउने छु । महिलालाई शसक्तिकरण गरी उनीहरुको स्तरलाई माथि उकास्ने छु । पर्यटनमा उच्च संभावना रहेकोले यसलाई नमुना नगर बनाइ नगरको आय समेत बढाउने र रोजगारी सृजना गर्नेछु ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: