
म्यादी प्रहरी विन्दु, सावित्री र रेजिना
सर्मिला बुढाथोकी
दोलखा । ‘जीवन पनि म्यादी हो, जागीर पनि म्यादी नै मिल्यो’ – दोलखा जिरी नगरपालिकाकी १९ बर्षिया विन्दु जिरेलले ठट्टा गरिन् ।
स्थानीय तहको निर्वाचनमा सुरक्षा सहयोगीको रुपमा सरकारले भर्ना गरेको म्यादी प्रहरीमा सहभागी विन्दु सानैदेखि सुरक्षा क्षेत्रमा रुची भएकाले छोटो समयको लागि भएपनि सेवा गर्न पाएकोमा गर्व लागेको बताउछिन् ।
‘छोटो समयको जागीर भएपनि अनुभव भयो, विन्दुले भनिन्,– ‘अब अवसर मिल्यो भने नेपाल प्रहरीमा भर्ना भएर देशको रक्षा गर्ने ठूलो रहर छ ।’
सदरमुकाम चरिकोटको बजार क्षेत्रमा नेपाल प्रहरीसंगै ड्युटिमा भेटिएकी दोलखा बैतेश्वर गाँउपालिकाकी सावित्री चर्माकार पनि उत्साहित छिन् म्यादी जागीरबाट । निर्वाचनको बेला चुनौती त धेरै थियो सावित्रीले भनिन् – ‘डटेर चुनौतीको सामना गरेकोले छोटो समयको जागीरसंग पनि सन्तुष्ट छु ।’ बेरोजगारीका कारण छोटो समयकै लागि भएपनि म्यादी प्रहरीमा भर्ना भएको बताउने १९ बर्षिय सावित्री अब नेपाल प्रहरीमा जागीर खाने रहर पलाएको बताउछिन् । ‘पैले त सुरक्षा क्षेत्रमा काम गर्ने रहर थिएन ।’ उनले भनिन्, – ‘म्यादी प्रहरीको जागीरले अब त प्रहरी नै बन्ने रहर पलायो ।’ देशको सेवा पनि हुने, इज्जत र रोजिरोटी पनि हुने भएकाले अब प्रहरीमै काम गर्ने उनले बताइन् ।
दोलखा कालिञ्चोक गाउँपालिकाकी २० बर्षिया रेजिना अर्याल पनि म्यादी प्रहरी बनेर चुनावमा खटिईन् । छोटो अवधिको म्यादी प्रहरी भएर स्थानिय चुनाबमा आफुले सकारात्मक भुमिका खेलेकोमा खुशी लागेको उनी बताउछिन् । रेजिना भन्छिन्– ‘सुरक्षा दिने पेशा मेरो ठुलो सपना हो, मिल्यो भने प्रहरी बनेर देशेको सेवा गर्ने चाहना छ ।’
स्थानीय तहको निर्वाचनमा सुरक्षा सहयोगीको रुपमा दोलखा जिल्लामा भर्ना गरिएको पाँच सय ८० जना म्यादी प्रहरीमा दुई सय तीन जना महिला रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । प्रहरीका प्रहरी नायव उपरीक्षक रविन कार्की म्यादी प्रहरीले नेपाल प्रहरीमा जागीर खान चाहेमा प्राथमीकता पाउने बताए ।
दोलाख जिल्लामा भर्ना भएका महिला म्यादी प्रहरीले इमान्दारीता पूर्वक आफ्नो ड्युटि गरेको प्रहरी नायव उपरीक्षक कार्कीको भनाई छ । म्यादी महिलाहरु निडर र इमान्दार देखिए प्रहरी नायव उपरीक्षक कार्कीले भने – कतिपय बुथमा विवाद र झगडा हँुदा समेत उनीहरु ड्युटिबाट पछि हटेनन् ।
Comment Here!