नागरिकता छैन, कसरी गर्ने मतदान ?


प्रकाशित मिति :2017-05-24 16:59:14

-यमुना खनाल- 

सिरहा । पतारी गाउँपालिकाकी ककुल्ती देवी रामले फोटो सहितको मतदाता परिचयपत्र लागू भएपछि मतदान गर्न पाएकी छैनन् । फोटो सहितको मतदाता परिचयपत्र लागु भएपछि उनले मात्र होइन, उनको परिवारले नै मतदान गर्न पाएको छैन । ककुल्ती देवीका देवर र देउरानीको पनि नागरिकता छैन ।

समूहमा बसेर काम गर्न थालेकी उनले त्यहाँ नागरिकता बनाउने कुरा आवश्यक भएको थाहा पाइन् । यसपछि उनले श्रीमानको नागरिकता त बनाइन् तर, आफ्नै भने बनाउन सकेकी छैनन् ।

ककुल्ती देवीको परिवारले नै नागरिकता नपाउनुको कारण पैत्रिक सम्पत्ति भएको उनले हालै मात्र थाहा पाएकी पाइन् । उनका जेठाजु, काका ससुराले सगोलमा रहेको घर, जग्गा दिनुपर्छ भनेर नागरिकता बनाउन सहयोग नगरेकोले उनका पति समेत नागरिकता विहिन हुन पुगेका थिए । श्रीमानको नागरिकताले आफ्नो पनि नागरिकता बन्ने सुनेपछि उत्साहित भएकी ककुल्ती देवी स्थानीय तहको निर्वाचनमा भोट हाल्न नपाउने कुराले भने दुःखी हुन्छिन् ।

‘पहिला त भोट दिन नागरिकता चाँहिदैन थियो । हामीले पनि भोट दियांै । अहिले नागकिता खोज्छन्, भोट दिन नपाइने भयो,’ ककुल्ती देवी भन्छिन्, ‘भोट दिन पाए पो गरिब दुःखीको काम गरिदिने नेता पनि रोज्न पाउँछौं ।’

नागरिकता नहुँदा ककुल्ती देवीका ३ छोराछोरी र उनका देवर श्री लालका ४ छोराछोरीको जन्मदर्ता पनि हुन सकेको छैन । जन्मदर्ता नहुँदा उनीहरु सबै स्कुल जानबाट वञ्चित भएका छन् । ककुल्ती देवीकी जेठी छोरी हाल १५ वर्षकी भइसकेकी छिन् ।

उनीहरुको परिवारमा महिला पुरुष कसैको पनि नागरिकता नभएको ककुल्ती देवीका देवर श्री लाल राम भन्छन् । भन्छन्, ‘आमाबुबा बिति हाल्नुभयो, काका काकीले नागरिकता नबनाइ दिँदा हामी कसैको पनि नागरिकता छैन । छोराछोरीले पढ्न पाएनन् ।’

ककुल्ती देवी, उर्मिला र श्रीलाल मात्र होइन, सिरहाका ग्रामीण क्षेत्रमा ठूलो संख्यामा अझै पनि महिलाहरुको नागरिकता नहुँदा सरकारले दिने सेवा सुविधा लगायत मतदानबाट समेत वन्चित भएका छन् । तर, कतिसँग नागरिकता छैन, तथ्याङ्क पाइँदैन ।

पर्सा पोखरभिन्डा साविक वडा नं ४ की रीता मोचीको पनि नागरिकता छैन । नागरिकता नभएकाले उनको पनि मतदाता नामावलीमा नाम छैन । ‘सबैले भोट दिन्छन् तर, आपूmुले भोट दिन नपाउने भएपछि साह्रै दुःख लागेको छ ।’ गरिब दलित वस्तीमा चुनाव हँुदा टीका टाँसी नमस्कार गर्दै आउने नेताले उनीहरुको नागरिकताको समस्या कहिल्यै गम्भीर रुपमा नलिएको उनको भनाइ छ ।

दलित जनकल्याण युवा क्लब लहानले सिरहाका दुईवटा नगरपालिका र दुईवटा गाविसमा आर्थिक वर्ष २०७३-०७४ मा गरेको एक अध्ययनमा सो क्षेत्रमा नागरिकता नभएकाहरुको पहिचान गरिएको थियो । सो अध्ययनमा सिरहाको मझौरा र मौवाही गाविस, लहान नगरपालिकाको ११, १२ १३ १४, र २२ नं वडा र धनगढीमाई नगरपालिकाको बिष्णुपुरकटी र धनगढी गरी दुई वटा वडामा गरी एक हजार महिला पुरुषको नागरिकता नभएकोमा आधा भन्दा बढी महिला भएको क्लबका कार्यकारी निर्देशक बिनोद बिसुंखे बताउँछन् ।

यस्ता महिलामा पनि धेरैजसो एकल महिला र हिंसा पिडित महिलाहरु रहेका छन् । यहाँका प्रत्येक गाविस र नगरपालिकाका वडामा नागरिकता नभएकाहरु उल्लेख्य मात्रामा भेटिन्छन् । एकल महिलाले नागरिकता बनाए अंश लिन्छन् र पछि अर्को विवाह गरेर जान्छन् भन्ने भयले पनि उनीहरु नागरिकता विहिन भएका देखिन्छन् ।

त्यस समयमा क्लबको पहलमा आवश्यक कागजपत्र जुटाएर ८० जना स्थानीयले नागरिकता बनाएका थिए । नागरिकता नभएकामध्ये महिलाको संख्या धेरै रहेको क्लबका अध्यक्ष बिसुंखे बताउँछन् ।

कलबका कार्यकारी निर्देशक बिसुंखेले नागरिकता नभएका कारण हिंसामा परेका महिलालाई न्यायमा पहुँच नभएपछि संस्थाले डाटा संकलनको काम गरेको बताउनुभयो । ‘नागरिकता नभएका कारण उनीहरुका छोराछोरीले पढ्न पाएका छैनन् । सरकारले दिने सेवा सुबिधाबाट पनि उनीहरु बन्चित छन्, मतदान गर्ने अधिकार पनि खोसिएको छ’, उनी भन्छन् ।

उनका अनुसार गरिब, विपन्न, दलित, शिक्षाबाट वन्चित भएका, हिंसामा परेका महिलाहरु बढी नागरिकता बिहिन छन् । नागरिकता बनाउने प्रकृया झन्झटिलो हुने, सार्वजनिक सेवामा नागरिकको सहज पहुँच नहुने कारणले नागरिकता नभएकाहरुले बनाउन नसकेको क्लबका अध्यक्ष बिसुंखेको भनाई छ । ‘नागरिकता बनाए सम्पत्ति दिनुपर्छ भन्ने डरले समेत नागरिकता बनाउन सहयोग नर्गने प्रवुतिले धेरै महिला नागरिकता विहिन छन्’, उनको भनाइ छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: