महिनावारी बारे मौनता तोड्न साइकल र्‍याली


प्रकाशित मिति :2017-05-28 10:46:53

कविता थापा

काठमाडौं । ‘मौनता तोडौं र महिनावारीको बिषयमा कुरा गरौं’ भन्ने नाराका साथ एक्सपोज नेपालले बृहत साइकल र्‍याली आयोजना गरेको छ । मे २८ तारिखका दिन विश्वभर मनाइने अन्तर्राष्ट्रिय महिनावारी दिवसको अवसरमा शनिवार आयोजित र्याली करिव दुई सय पचासभन्दा बढी साइकल यात्रीको सहभागीता रहेको थियो ।

बसन्तपुरबाट शुरु भई कान्तिपथ, कमलादी, पुतलीसडक, माइतीघर मण्डला, कुपन्डोल हुँदै मंगलबजारमा गएर टुंगिएको ¥यालीमा ब्यवसायिक र सौखिन साइकल यात्रीदेखि स्टाफ नर्स, ब्यवसायी, विभिन्न संघसंस्थाका प्रतिनिधीलगायतका ब्यक्तिको सहभागीता रहेको थियो । र्यालीका सहभागीहरुले ‘हरेक पुरुष बन्छ जिम्मेवारी जब बोल्छ स्वस्थ महिनावारी’, ‘स्वस्थ महिनावारी हामी सबैको कर्तब्य हो’, ‘स्वस्थ महिनावारी हाम्रो अधिकार हो’ भन्ने जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर महिनवारी सम्बन्धि चेतना जनमानसमा फैलाए ।

नेपाल साइकल संघको प्राविधीक सहयोगमा भएको र्‍यालीमा साइकलिङमा अन्तराष्ट्रिय रुपमा ख्याति प्राप्त संस्था कोराको पनि समर्थन रहेको थियो । महिनावारीका बारेमा चेतना जगाउनका लागि विभिन्न खाले कार्यक्रम हुने गरे तापनि पुरुषको समेत सहभागितामा अझै बढी जनतामाझ महिनावारी सचेतना फैलाउने उदेश्यले र्‍याली  आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष ज्ञान महर्जनले बताउनुभयो । सामाजिक अधिकारकर्मीका रुपमा यस वर्षको ओस्कार अवार्ड विजेता एवं गत वर्ष एनपीस अवार्डको मनोनयनमा परेका महर्जनले नेपाली समाजमा महिनावारीलाई पाप होइन यो एक प्राकृतिक प्रक्रिया हो भन्ने सन्देश प्रवाह गर्न पुरुषले पनि उत्तिकै महत्वपूर्ण भूमिका निर्बाह गर्नुपर्नेमा जोड दिनुभयो ।

मंगलबजारमा गएर टुंगिएको र्‍यालीमा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालका राष्टिय अध्यक्ष राजेन्द्र अर्यालले महिनावारी हुँदा बढी आराम चाहिने बेलामा गाउँका महिलाले घरधन्दा गर्नु हुँदैन भन्दै घाँस दाउरा र खेतिपाती गर्न पठाइने हुनाले यस्ता खालका जनचेतनामुलक अभियान गाउँगाउँसम्म पुर्याउनुपर्ने विचार राख्नुभयो । त्यसैगरी काठमाडौं मोडेल हस्पिटल स्कुल अफ नर्सिंगकी प्रिन्सिपल सानु तुलाधारले आफूले नबुझुन्जेल परिवारमा भनिएअनुसार महिनावारी बार्ने गरे तापनि नर्सिंग विषय पढेर यो एक शाररीक प्रक्रिया मात्रै हो भन्ने बुझे पछि आफूले पनि बार्न छाडी अरुलाई समेत यस विषयमा चेतना दिने काममा लागि परेको बताउनुभयो ।

करिव सात बर्षको उमेरदेखि नै महिनावारीको विषयमा चासो राखी , १४ वर्षको उमेर पहिलो पटक महिनावारी हुँदा घर छाडेर हिँड्नुभएकी महिनावारी अधिकारकर्मी राधा पौडेल हाल यसै विषयमा विद्याबारिधी गर्दै हुनुहुन्छ । उहाँले महिनावारी अधिकार भनेको मानव अधिकार भएकाले यो सबैको सरोकारको विषय भएको जनाउनुभयो । समाजमा शान्ति, शशक्तिकरण, मानव अधिकार र दिगो विकासकै लागि महिनावारी सम्बन्धि समाजमा रहेको कुसंस्कारलाई हटाएर लैजानुपर्ने धारणा उहाँले राख्नुभयो ।

शहरमा बस्ने महिलाले महिनावारीलाई स्वस्थ र सुरक्षित बनाउनुको साथै यस्तो बेलामा खाना नबारी शरीरलाई आवश्यक पर्ने सम्पूर्ण खाना खान हुने एक्सन अगेन्स्ट हंगरकी प्रतिनिधी कमला केसीले बताउनुभयो । उहाँले महिनावारी हुँदा प्रयोग गरेको प्याडको सही तरिकाले डिस्पोजल र कपडालाई राम्रोसँग धोएर मात्रै प्रयोग गर्ने विषयमा पनि सबैलाई सचेत गराउनुभयो । त्यसैगरी कोडेफकी उपाध्यक्ष यभलक्ष्मी श्रेष्ठले महिनावारी भएको छु भनेर हामी गर्व गरौं भन्दै कार्यक्रममा सहभागीलाई पनि यही नारा दोहोर्याउन लगाउनुभयो ।

कार्यक्रममा सहभागी साइकलयात्रीमध्येका दिपेन्द्र बजाचार्यले र्यालीमा धेरै ब्यवसायिक साइकल यात्रीले समेत सहभागीता जनाएको खुसी ब्यक्त गर्नुभयो । नेपालमा पहिलोपटक भएको एसियन च्याम्पियनसीपमा समेत भाग लिनुभएको बजाचार्यले महिनावारीको बारेमा बोल्न कसैले पनि लाज नमानी आफूले जानेको कुरा सबैलाई बुझाउनुपर्ने बताउनुभयो । त्यसैगरी र्यालीमा सहभागी हस्तकला ब्यवसायी सुनिल पासा पनि शहरी क्षेत्रमा पुरुषले खासै यसलाई बार्न नलगाए पनि सासु , आमालगायतका परिवारका सदस्यले नै यस्ता कुरितीलाई निरन्तरता दिन लगाउने हुनाले सबैभन्दा पहिले उहाँहरुलाई महिनावारी सम्बन्धि चेतना दिनु आवश्यक रहेको औल्याउनुभयो । कार्यक्रममा सहभागी साइकल यात्रीलाई प्रमाणपत्र समेत दिइएको थियो ।

महिलामाथि हुने यौनदुब्र्यवहारमा काम गर्दै आएको एक्सपोज नेपालले विगत १० वर्षदेखि विशेषगरी शहरी क्षेत्रमा हुने गरेका दुब्र्यवहारलाई कम गराउने उदेश्यले विभिन्न कार्यक्रम गर्दै आएको छ । संस्थाले उपत्यकाका ४० वटा विद्यालयका विद्यार्थीलाई घरेलु हिंसा र यौन हिंसाका विषयमा सचतेता कार्यक्रम संचालन गर्दै आएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: