तालमेल महिलाका लागि क्षति


१४ स्थानीय तहको प्रमुख उपप्रमुख पद महिला बिहिन

प्रकाशित मिति :2017-06-05 10:33:05

खेमा बस्नेत

काठमाडौं । पहिलो चरणको स्थानीय निर्वाचनमा १४ वटा स्थानीय तहमा महिलाले उम्मेदवार हुने मौका नै पाएनन् । दलहरुले तालमेल गरेर एउटा दलले प्रमुखमा पुरुष र अर्को दलले उपप्रमुखमा पनि पुरुष नै उम्मेदवार बनाएकोले महिलाहरु उम्मेदवार बन्नबाटै बञ्चित भएका हुन् ।

स्थानीय तह निर्वाचन ऐन २०६३ को दफा १७ (४) ले मनोनयनपत्र पेश गर्दा दलले अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमखख र उपप्रमुखमध्ये पचास प्रतिशत महिला उम्मेदवार रहने गरी मनोनयनपत्र पेश गर्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख गरेको छ । तर, सोही दफाले ‘दलले एकजना मात्र उम्मेदवारी दिएमा यो उपदफाको प्रावधान लागु हुने छैन’ भनी व्यवस्था पनि गरेको छ ।

सोही व्यवस्थालाई टेकेर तालमेल गरेका दलले एक दलबाट एकजना मात्रै उम्मेदवार बनाएर उक्त व्यवस्था छलेका हुन् । जसका कारण ६ वटा नगरपालिका र ८ गाउँपालिकामा महिलाहरुले मुख्य पदमा उम्मेदवारी दर्ता नै गर्न पाएनन् । प्रदेश नम्बर ३ को तीन जिल्ला, प्रदेश नम्बर ४ को तीन जिल्ला र प्रदेश नम्बर छ का तीन जिल्लाका ६ नगरपालिका र ८ गाउँपालिकाका पद महिला विहिन भएका हुन्् । ति स्थानीय तहबाट निर्वाचित हुँदा पनि प्रमुख, उपप्रमुख र अध्यक्ष उपाध्यक्ष पदमा पुरुषमात्रै निर्वाचित भए ।

२८३ स्थानीय तहमा भएको निर्वाचनमा भरतपुर महानगरपालिका बाहेक वडा अध्यक्षसहित ३८ जना महिला प्रमुख पदमा चुनिएका छन् । २३८ महिला उपप्रमुख निर्वाचित भएका छन् ।

संकल्पका अध्यक्ष लिलि थापाले महिलाले प्रमुख पदमा आउन सक्दैन भन्ने मानसिकता दलहरुमा देखिएको बताउनुभयो । ‘दलहरुको तालमेलका कारण धेरै महिला उम्मेदवारी दिनबाट बन्चित भए,तालमेल गर्दा पनि पुरुष छान्ने प्रवृति देखिएको जस छ,यसले महिलाले प्रमुख पदमा आउन सक्दैन भन्ने मानसिकता दलहरुमा रहेको देखिन्छ ।’

अध्यक्ष थापाले तालमेलका कारण महिला मारमा परेकाे भन्दै आगामी निर्वाचनमा तालमेल नगरी खुल्ला प्रतिस्प्रर्धामा जानुपर्ने बताउनुहुन्छ ।

प्रदेश नम्बर ३

दोलखाका बिगु गाउँपालिकाका र वैत्येश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा दुवैमा पुरुष आएका छन् । यि दुई गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले चुनावी तालेमल गरेर दुबै पदमा पुरुष उम्मेदवार बनाएका थिए ।

विगु गाउँपालिकाको प्रमुखमा काँग्रेसका युधिष्ठिर खड्का र उपप्रमुखमा माओवादीका सञ्जीव वली विजयी भएका छन् ।

वैत्येश्वर गाउँपालिकामा काँग्रेसका छवी लामा अध्यक्षमा चुनिँदा उपाध्यक्षमा माओवादी केन्द्रका रविचन्द्र आचार्य विजयी भएका छन् ।

धादिङको नीलकण्ठ नगरपालिकामा पनि काँग्रेस र माओवादी केन्द्रको तालमेल भएका कारण मेयर र उपमेयर पदमा पुरुष उम्मेदवार बनाएका थिए । मेयरमा कांग्रेसका भीम ढुंगाना र उपमेयरमा माओवादी केन्द्रका मनराज भण्डारी विजयी भएका छन् ।

बेनीघाट रोराङ गाउँपालिका माओवादीका पित्तबहादुर डल्लाकोटी अध्यक्षमा विजयी भएका छन् भने उपाध्यक्षमा कांग्रेसका देवीप्रसाद सिलवाल विजयी भएका छन् ।
त्यसैगरी मकवानपुरको थाहा नगरपालिकामा मेयर माओवादी र उपमेयर काँग्रेस विजयी भएका छन् । चुनावी तालेमल पछि माओवादीका लवशेर विष्ट मेयर र कांग्रेसका खड्ग नेपाली उपमेयर उम्मेदवारी दिएका थिए ।

प्रदेश नम्बर ४

लमजुङका नगरपालिकाका र दुई गाउँपालिकामा दलहरुवीचको तालमेलका कारण कुनै पदमा महिला आउन सकेनन् ।

मध्यनेपाल नगरपालिका र दोर्दी गाउँपालिका, मस्र्याङ्दी गाउँपालिकामा एमाले र माओवादीको तालमेलका कारण कुनै पदमा महिला आउन सकेनन् ।
मध्यनेपाल नगरपालिका माओवादीले मेयर र एमालेले उपमेयरमा उम्मेदवारी दिएको थियो तर मेयरमा काँग्रेसका रमेशकुमार पाण्डे विजयी भएका छन् भने उपमेयरमा एमालेका राजकुमार श्रेष्ठ विजयी भएका छन् ।

त्यसैगरी बागलुङ नगरपालिकाको मेयरमा नेकपा एमालेका नेता जनक पौडेल र उपमेयरमा राप्रपाका नेता सुरेन्द्र खड्का विजयी भएका छन् ।
बाग्लुङ्गकै बडीगाड गाउँपालिकामा कुनै दलबीच तालमेल नभएपनि महिला आउन सकेनन् । बडीगाड गाउँपालिकामा अध्यक्षमा एमालेका मेयरसिँह पाईजा र उपप्रमुख काँग्रेसका अमर बहादुर श्रीषले विजयी भएका छन् । पाईजा प्रतिद्धन्द्धी कांग्रेसकी गण्डकी थापाले हार्नुभएको थियो ।

म्याग्दीको बेनी नगरपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र तथा नेकपा एमाले र राप्रपाले तालमेल गरेका थिए । जसका कारण महिला कुनै पदमा आउन सकेनन् । बेनी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका हरिकुमार श्रेष्ठ विजयी र उपमेयरमा राप्रपाका सन्जु थापा बरुवाल विजयी भएका थिए ।

प्रदेश नम्बर ६

डोल्पाको ठूलीभेरी नगरपालिका र शेफोक्सुण्डो गाउँपालिकामा तालमेलका कारण प्रमुख उपप्रमुख पद महिला विहिन भएको छ । एमालेले राप्रपाबीच चुनावी तालमेल गरेका थियो ।

ठूलीभेरी नगरपालिका मेयरमा एमालेका गणशबहादुर शाही र उपमेयरमा राप्रपाका योगेन्द्रबहादुर शाही चुनिएका छन् ।

शेफोक्सुण्डो गाउँपालिकाको अध्यक्षमा तासी तुन्डुक गुरुङ चुनिँदा उपमेयरमा स्वतन्त्र उम्मेदवार धावासन्दुक गुरुङ विजयी भएका छन् ।

हुम्लाको नाम्खा गाउँपालिकको अध्यक्ष र उपाध्यक्ष पद महिला विहिन भएको छ । गाउँपालिका प्रमुखमा माओवादीका विष्णु लामा विजयी हुँदा उपमेयरमा स्वतन्त्र उम्मेदवार पुरी लामा चुनिएका छन् ।

कालिकोटका मवाहै गाउँपालिकाको अध्यक्षमा काँग्रेसका नन्द सिँह र उपाध्यक्षमा एमालेका मनराज शाही चुनिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: