जेब्राक्रसमा मारिएकी छोरी, मिलापत्रको दबाब दिने प्रहरी


प्रकाशित मिति :2017-06-07 17:55:28

सरकारले पैदलयात्रीमाथि कारबाही चलाएको एक साता नबित्दै सोमबार राजधानीमै २३ वर्षीया युवती रविना चौधरीको मृत्यु बसको ठक्करबाट भएको छ, त्यो पनि जेब्राक्रसमै। जथाभाबी बाटो काट्दा सडक दुर्घटना बढेको निष्कर्षका साथ प्रहरीबाट कारबाही अभियान थालिएकै बेला पैदलयात्रीकै लागि भनेर बनाइएको जेब्राक्रसमै यस्तो दुर्घटना भएको हो।
हामीकहाँ एसियाकै अन्य ठूला सहरका तुलनामा पैदलयात्रीका लागि सरकारले सबैभन्दा कम सुविधा उपलब्ध गराउँछ। यति हुँदाहुँदै काठमाडौं सबैभन्दा बढी पैदलयात्री भएको सहर हो, जहाँ यो पछिल्लो दुर्घटनाले पैदलयात्रीहरू कतिसम्म आक्रान्त छन् र उनीहरूलाई हेर्ने सरकारको प्राथमिकता कतिसम्म गैरजिम्मेवार छ भन्ने छर्लङ्ग पारेको छ। घटनाको दोस्रो दिन अर्थात् मंगलबार महाराजगन्ज प्रहरी चौकीमा मान्छेको घुइँचो थियो। धुम्बाराहीबाट आएका बासिन्दाले चौकीका डिएसपी गोविन्द पुरीलाई घेरेर प्रश्न–उत्तर गरिरहेका थिए।
‘अनुसन्धान पूरा नभइकन केही भन्न मिल्दैन,’ डिएसपी भनिरहेका थिए, ‘मुचुल्काको भरमा अन्तिम निष्कर्ष निकाल्न मिल्दैन।’ लगत्तै उनी सेतोपाटीसँग कुरा गर्न तयार भए। ‘प्रत्यक्षदर्शीका भनाइ र त्यसै स्थानमा जेब्राक्रससमेत रहेका आधारमा हाम्रो पनि प्रारम्भिक बुझाइ जेब्राक्रसमै घटना भयो भन्ने छ,’ डिएसपी पुरीले भने, ‘थप अनुसन्धान र ट्राफिकबाट स्केच आएपछि बल्ल निष्कर्षमा पुग्छौं।’
उनले उक्त दुर्घटना गराउने सुपर वर्षा बसका चालकलाई हिरासतमा राखिएको जानकारी दिए। वीरगन्जबाट आएको बस कलंकीबाट सातदोबाटो हुँदै चक्रपथ परिक्रमा गरेर गोंगबु बसपार्क जाँदै गर्दा बसुन्धरामा दुर्घटना भएको थियो।
यतिबेला दुर्घटनामा मारिएकी युवतीको शव टिचिङ अस्पतालमा राखिएको छ। मृतकका परिवार र आक्रोशित टोलबासीले प्रहरी कार्यालयमा गएर दबाब दिइरहेका छन्। दोषीमाथि कारबाही र क्षतिपूर्ति तिराउने प्रयासमा लागेका उनीहरू मंगलबार भने प्रहरीसँग केही निराश देखिन्थे। घटना जेब्राक्रसमै भएको यकिन भइसक्दा पनि मंगलबार प्रहरीले बोली फेरेको भन्दै उनीहरू आक्रोश प्रकट गरिरहेका थिए।
‘यो सडक अहिले नै छेकेर आन्दोलन गर्नुपर्छ,’ एक जना तन्नेरीले छेउको चक्रपथ देखाउँदै भन्न थाले, ‘जे गर्ने हो अहिल्यै गर्नुपर्छ साथी हो, नत्र यिनीहरूले हामीलाई थकाउँदै लगेर भोलि भीड कम भइसकेपछि जबर्जस्ती सम्झौता गर्न लगाउँछन्।’
त्यो भीडमै दुर्घटनामा मारिएकी युवतीका पिता सूर्यनारायण चौधरी पनि रहेछन्। ‘न्याय देला भन्ठानेको यस्तो जिम्मेवार पुलिसले पनि हामीलाई मिल्ने हो कि भनेर पो सोध्दै छन्,’ उनले आक्रोश पोख्दै सेतोपाटीसँग भने, ‘तपाईं नै भन्नुस् न कसरी मिल्ने?’ एकैछिनमा डिएसपीसँगको भीडबाट निस्केका अर्का व्यक्ति मोबाइल समातेर हामी भएतिरै आए।
‘यो बस व्यवसायी समितिको नम्बरमा फोन गर्नु भनेर डिएसपीले नम्बर दिएका छन्,’ यति भन्दै उनले फोन लगाए र कुरा सकेपछि सुनाए, ‘भोलि साढे आठ बजे बैठक बस्ने भनेका छन्।’  त्यसपछि विस्तारै भीड घट्दै गयो।
मृतक रविना

चाहे जतिसुके अव्यवस्थित किन नहोस्, यहाँका सडकसम्बन्धी नीति निर्माताहरूले भनेजस्तै काठमाडौं तीव्र सहर भइसकेको छ।

अघिल्लो दिन मात्रै त्यत्रो दुर्घटना भएको बसुन्धरामा मंगलबार त्यही जेब्राक्रस नजिक पुग्दा स्थिति उस्तै अव्यवस्थित थियो। त्यही अव्यवस्थित सडकमा गाडीहरू नीति–निर्माताकै तालमा तीव्र गतिले हुइँकिरहेका देखिन्थे। अघिल्लो दिनको त्यो वीभत्स दुर्घटना त्यहाँ कतिपयलाई त थाहा पनि थिएन।
छेउकै क्षितिज म्यानपावरमा काम गर्ने खगेन्द्र घिमिरे भने आँखै सामुन्नेको त्यो दृश्य सम्झेर अझै पनि झस्किरहेका थिए। उनी त्यसदिन गोंगबुस्थित घरबाट चाँडै अफिस आएपछि छेवैमा बसेर चिया पिइरहेका थिए।
‘साढे नौ बजेको थियो होला,’ उनले भने, ‘टाउकोमा स्कार्फजस्तो लगाएकी युवती चक्रपथ भित्रबाट उतातिर जान थालिरहेकी देखिइन्।’
स्कार्फ समातेर फटाफट हिँडिरहेकी उनी जेब्राक्रसमा पुगेर मोडिइन्। त्यतिबेलै एक्कासि महाराजगन्जतिरबाट आएको बस देखियो। ‘त्यो बसले जेब्राक्रसमै हिँडिरहेकी ती युवतीलाई हिर्कायो,’ खगेन्द्र भन्छन्, ‘ड्याम्म आवाजसहित ठोक्किएर उछिट्टिएको देखेँ।’
प्रत्यक्षदर्शीकै हवाला दिएर मृतकका आफन्तले बताएअनुसार रविनाले बाटो काट्न लाग्दा जेब्राक्रसकै छेउमा अर्को बस रोकिएको थियो। उनले बसको अगाडिबाटै जेब्राक्रस प्रयोग गर्न खोज्दा उतैतिरबाट त्यहाँ रोकिएको बसलाई उछिन्दै आएको अर्को बसले हिर्काएको थियो।
यसरी हिर्काएपछि रविनाको शरीर करिब दस मिटर पर पछारिएर छट्पटाइरहेको थियो। खगेन्द्रका अनुसार त्यसपछि पनि बस थामिएन। उल्टै आफ्नै गतिमा अघि बढ्यो जसले रविनाको शरीर बसको चक्का भित्र पस्यो।
खगेन्द्रजस्तै घटनाका अर्का प्रत्यक्षदर्शी छेवैको रेस्टुरेन्टमा काम गर्ने हरिजंग परियार पनि थिए। उनी त्यतिबेला रेस्टुरेन्टको शिशा पुछिरहेका थिए, जहाँबाट अगाडि चक्रपथको फराकिलो दृश्य देखिन्थ्यो।
‘अचानक अगाडि उभिएकी एक दिदीले दुवै हात कानमा लगेर आबुई भन्दै चिच्याउनुभयो,’ हरिजंगले भने, ‘मैले ठ्याक्कै उतातिर हेर्दा जेब्राक्रसमै बाटो काटिरहेकी युवतीलाई बसले ठोकेर पर उछिट्याइदिएको थियो।’
त्यसपछि होहल्ला मच्चियो।
त्यो बस केही मिटर पर गएर रोकियो। त्यतिञ्जेल चियाको कप छाडेर खगेन्द्र बसतिर कुदिसकेका थिए। ‘एउटा ठूलै ढुंगा उठाएर मैले त्यो बसलाई अगाडिबाटै हिर्काइदिएँ,’ उनी भन्छन्, ‘त्यसपछि मान्छे जम्मा भएर सबैले बसमा ढुंगा हिर्काउन थाले।’
गाडी हाँक्ने अन्दाजी २४ वर्षीय केटो ओर्लिएर भाग्न खोजेका थिए। तर, छेउछाउबाट मोटरसाइकलमा आउनेहरूले उनलाई तल उतारेर पिट्न सुरु गरे। सबैको पिटाइ खाएको त्यो केटोलाई बचाउँदै एक महिलाले छोप्न खोजिन्। त्यतिबेलै प्रहरी टोली आइपुग्यो। दस मिनेट पनि नपुग्दै आइपुगेको प्रहरीले सबैभन्दा पहिले ती युवकलाई भीडबाट बचाएर अन्तै लगेको र लगत्तै सडकबाट शव पनि लगेको खगेन्द्रले बताए।  मेरो जिज्ञासा बसले जेब्राक्रसमै हिर्काएको भनाइ पक्का गर्नु थियो। भेटिएका दुवै प्रत्यक्षदर्शीले जेब्राक्रसको सेतो लाइनमै हिँडिरहँदा घटना भएको ठोकुवा गरे।
रविनाको घर सुनसरीको खनार हो। धरानमा मोटर मेकानिकको काम सिकिसकेपछि सुनसरी खनारका सूर्यनारायण चौधरी २०४७ सालमा परिवारसहित काठमाडौं आएका थिए। ‘सुरुमा साथीहरुको समूहमा आएको थिएँ,’ उनी भन्छन्, ‘त्यसको एक महिना नबित्दै श्रीमती र एक महिनाकी जेठी छोरीलाई पनि काठमाडौं ल्याएँ।’
उनका बाआमा अहिले पनि उतै बस्छन्। आउनेबित्तिकै उनले कमलपोखरीस्थित दुर्गा इन्जिनियरिङमा काम पाएका थिए। नौ वर्ष जागिरे जीवन बिताएपछि बितेको १७ वर्षयता उनले आफ्नै वर्कसप खोलेका छन्। चक्रपथकै सुकेधारास्थित राजधानी पेट्रोलपम्पको छेवैमा।
यता चक्रपथ वारिको टोल धुम्बाराहीमा उनी परिवारसहित अझै डेरा लिएर बस्दै आएका छन्। वर्कसपबाट मासिक ३० देखि ४० हजार रुपैयाँसम्म कमाइ हुने गरेको उनले बताए। ५० वर्षे सूर्यनारायण दम्पतीको काठमाडौं आएपछि तीनवटा थप छोरी जन्मिए। जेठी सविता (२६) बाहेक माइली सविना (२५), साहिँली रविना (२३ मृतक) र कान्छी रञ्जना (२१)।

हेर्नुहोस् सेतोपाटीले गरेका शृंखलाहरू

धुम्बाराहीस्थित चौधरी परिवारको डेरा पुग्दा मधेसी मध्यमवर्गीय परिवारको चित्रण त्यहाँ थियो। आमा अर्धबेहोस अवस्थामा एकोहोरो छोरीलाई भेट्न जाने कुरा गरिरहेकी थिइन् भने उनलाई सम्हालेर बसेका अन्य महिला छोरी अस्पतालमा रहेको बताउँदै थुम्थुम्याइरहेका थिए।
‘हामी कालोपुलमा डेरा लिएर बसेको बेला साहिँली छोरी रविना जन्मेकी थिई,’ सूर्यनारायणले भने, ‘सानैदेखि पढाइमा असाध्यै मनगर्ने र घरपरिवारको पनि हेरचाह गर्ने उसको गुण थियो।’
घटनाकै दिन बिहान सबैभन्दा पहिले उठेकी रविना घरमा कुचो लगाइसकेपछि कलेज गएकी थिइन्। पशुपति क्याम्पसबाट बिबिएस चौथो वर्षको परीक्षा दिइसकेपछि उनले ‘रिसर्च पेपर’ बुझाउनुपर्ने थियो।
माइली दिदीको पोखरातिर बिहे भइसकेको र कान्छी बहिनी खुर्कोटस्थित सामुदायिक अस्पतालमा ल्याब टेक्निसियन रहेकाले रविनाको सबैभन्दा नजिक जेठी दिदी सविता थिइन्। सँगसँगै स्कुलमा पनि पढाउने भएकाले उनीहरू साथीजस्तै थिए।
रविनाले एसएलसी र प्लस टु दुवै प्रथम श्रेणीमा उत्तीर्ण गरेपछि उनी पढेकै सुकेधारास्थित दीक्षान्त स्कुलले शिक्षिकाको प्रस्ताव राख्यो। सविता र रविना दुवैले तीन वर्षसम्म त्यस स्कुलमा पढाए। रविनाले पाँच कक्षासम्मका केटाकेटीलाई पढाउँथिन्।
‘काम गर्दा आफ्नो पढाइ बिग्रियो भनेर त्यसपछि त्यो स्कुलको जागिर छाड्यौं,’ सविता भन्छिन्, ‘बिबिएसको फाइनल परीक्षा दिएपछि फेरि बसुन्धरास्थित पञ्चायन बोर्डिङ स्कुलमा काम पाएको थियो।’
 कुनै शिक्षिकाको सट्टामा काम पाएकी रविनाले त्यस स्कुलमा बिहान साढे नौ बजेदेखि साढे तीन बजेसम्म पढाउने गर्थिन् भने पार्टटाइम शिक्षिका रहेकी सविताले दिउँसो एकदेखि साढे तीनसम्म पढाउँथिन्। ‘महिनाको आठ–दस हजारजति कमाइ हुन्थ्यो,’ सविता भन्छिन्, ‘हाम्रा साना–साना आवश्यकताको निम्ति बुवाआमालाई भनिरहन इच्छा नभएकाले स्कुलमा पढाउने काम गरेका थियौं।’
बिहानको क्याम्पस पढेपछि फुर्सदको समय स्कुल पढाउने गरेकाले कुनै अप्ठेरो पनि नपरेको र कहिलेकाहीँ बचेको पैसा आमालाई दिने गरेको सविताले सुनाइन्। स्नातकको रिजल्ट आएपछि कतै राम्रो जागिर खाने दिदीबहिनीको योजना थियो। यस्तै क्रम चलिरहेका बेला सोमबारको दुर्दिन आइपुग्यो।
‘नुहाइधुवाइ घर बढारेपछि पशुपति क्याम्पसमा पेपर र बाँकीरहेको फी पनि बुझाउने भनेर ऊ साढे आठ बजेतिर निस्केको थियो,’ सविता भन्छिन्, ‘पशुपति कलेजको काम सकेर उतैबाट आफू पढाउने स्कुल जाने भन्दै हिँडेको थियो।’ त्यसपछि एकैपटक ९ बजेर २० मिनेट जाँदा सविताको फेसबुकमा रविनाले म्यासेज पठाइन्। सविताको आइडी कार्ड आफ्नै झोलामा फेलापरेको जानकारी उनले त्यो म्यासेजमा दिएकी थिइन्।
त्यसको केही समयमै प्रहरीको फोन आएको थियो।  ‘चक्रपथ वारी डेरा र पारी बुवाको वर्कसपदेखि स्कुलसम्म थियो,’ सविता भन्छिन्, ‘सम्पूर्ण बाल्यकाल सडक वारपार गरेरै बिताएका हामी दिदीबहिनीले कहिल्यै सामान्य दुर्घटना पनि बेहोर्नुपरेको थिएन।’
सूर्यनारायणले प्रहरीको फोन उठाउनेबित्तिकै उताबाट एकैपटक सडक दुर्घटनामा छोरीको मृत्यु भएको जानकारी पाएका थिए। सविताका अनुसार आफूहरूमध्ये बुवा सूर्यनारायणलाई रविनाले असाध्यै माया गर्थिन्। ‘रिजल्ट आएपछि राम्रो ठाउँमा नोकरी गरेर बुवालाई सघाउँछु भन्थ्यो,’ सविताले सुनाइन्, ‘बुवालाई आर्थिक भार भयो भनेरै उसले नै कर गरेर क्याम्पसको पढाइ सरकारी कलेजमा गरेको थियो।’
त्यस्ती छोरीको अचानक जेब्राक्रसिङमै हिँडिरहँदा गाडीले हिर्काएर मृत्यु भएको सुनेपछि सेतोपाटीसँग कुरा गरुञ्जेल सूर्यनारायणको छटपटी स्पष्ट देखिन्थ्यो।
सूर्यनारायणसँग बुधबार विहान फेरि फोनमा सम्पर्क भयो। उनीहरूको टोली बिहान तोकिएको समयमै बस व्यवसायी समितिसँग वार्ता गर्न पुगिसकेको रहेछ।
‘ख्वै बैठक भने पनि अहिलेसम्म समितिका कुनै मानिस आएका छैनन्,’ साढे १० बजे उनले फोनमा निराश हुँदै भने, ‘यता प्रहरी पनि सक्दो घटनाको विवरण अस्पष्ट पार्ने र एकोहोरो समितिसँग मिल्नुपर्छ भन्दै आइरहेको छ।
साभार: सेताेपाटी

 

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: