स्वीकारिँदै महिलाको दोस्रो बिहे


प्रकाशित मिति :2017-06-10 09:00:47

गीतालाई सुरेशले विवाहको प्रस्ताव राखे । विधवाले दोस्रो बिहे गर्दा समाजले घृणा गर्छ भनेर गीताले विवाह प्रस्ताव अस्वीकार गरेपछि सुरेश सासूससुरासँग गीताको हात माग्न पुगे ।

कुमार लुइटेल

विराटनगर । सासूससुराले नै ‘विधवा’ बुहारीको विवाह गरिदिँदै छन् रे ! भन्ने हल्ला सुनेर मोरङ लखन्तरीवासीले अचम्म माने । ‘कहीँ लोग्ने मरेर विधवा’ भएका ‘आइमाईको’ पनि विवाह हुन्छ र भन्या ? विधवालाई बिहे गर्ने कस्तो हराम लोग्नेमान्छे होला ? गाउँले धारा, पँधेरा र गोठाला जाँदा यस्तै कुरा गर्थे । तर, लखन्तरीका एक परिवारले बुहारी बनाएर भित्र्याइएकी चेलीलाई छोराको निधनपछि छोरी बनाएर विवाहदान गरिदिए ।

सुनसरीको भलुवाकी गीता चौधरीले मोरङ लखन्तरीका जनकलाल खाँसँग ०६७ मा मागीविवाह गरेकी थिइन् । विवाह भएको एक वर्षपछि गीताका श्रीमान् परिवारको मीठो सपना साँच्दै साउदी अरब उडे । ‘स्काफ होल्डिङ’को काम गर्न साउदी पुगेका जनकलाल काम गर्ने क्रममा दश तला अग्लो घरबाट खसे ।

उनको उपचारको क्रममा साउदीमै निधन भयो । श्रीमान् गुमाउनुको असह्य पीडा लिएर बाँचेकी गीताकी एक छोरी पनि छिन् । ‘माया गर्ने श्रीमान्ले छोडेर जानुभयोे । छोरीको भविष्य सम्झिएर मूर्छा परेँ,’ गीताले भनिन्, ‘एउटी महिलालाई श्रीमान् गुमाउनुभन्दा अर्को ठूलो पीडा के हुन सक्छ र ? मैले जीवनबाटै हरेस खाएकी थिएँ । तर, सासू र ससुराबाट सधैँ छोरीलाई दिइनेजस्तै माया पाएँ ।’ गीता थप्छिन्, भर्खर हुर्कंदै गरेकी छोरी जस्मितालाई हेर्थेँ । आफ्नै जीवनको लामो यात्रा पनि सम्झिन्थेँ । बाँचेर केही हुँदैन, अब आत्महत्या गर्छु भनेर पनि सोचेँ । तर, सासूससुराले दिएको मायाले मेरो सोचाइमा परिवर्तन ल्याइदियो ।’

थारू समुदायमा ‘विधवा’ बुहारीले बाहिर निस्कनु र काम गर्नु निकै चुनौतीपूर्ण थियो । तर, उनले साहस जुटाइन् र सामाजिक संस्थाले आयोजना गरेको कार्यक्रममा जान थालिन् । उनलाई न सासूले रोकिन्, न ससुराले नै । बरु हौसला पो दिए । गीता भन्छिन्, ‘मलाई बाहिर जान रोक्नुभएन, नारी विकास सङ्घको सदस्य बनेँ । साथीहरूले सान्त्वना दिए । मलाई आत्मबल पनि मिल्यो ।’ सामाजिक काममा सक्रिय गीतालाई धेरै पुरुषले मन पराउँथे । तर, गीतालाई भन्ने आँट कसैले गरेनन् किनकि उनी एकल महिला थिइन् । गीतालाई मन पराउने गाउँकै पुरुष सुरेश खाँले एक दिन विवाहको प्रस्ताव राखे । समाजले घृणा गर्छन् भनेर गीताले सुरेशको प्रस्ताव स्वीकार गरिनन् । सुरेश गीताका सासूससुरासँग विवाह प्रस्ताव लिएर गए । अब सुरेशकै कारण घर निकाला हुनुपर्छ भनेर गीता डरले थुरथुर काम्न थालिन् । सुरेशको प्रस्तावलाई सहज रूपमा लिएर उनीहरूले गीतालाई छोरीको रूपमा विवाह गरिदिने बताए ।

गीताले पनि दोस्रो विवाहलाई इन्कार गर्न सकिनन् । सुरेशसँग उनको परम्परागत विधिअनुसार नै दोस्रो विवाह भयो । विवाह गराउन नारी विकास सङ्घकी अधिकृत सरिता अधिकारीले निकै सहयोग गरेकी थिइन् । सरिताले भनिन्, ‘गीताको विवाहले समाजमा एकल महिलाले विवाह गरेर फेरि जीवन चलाउन सक्छन् भन्ने नयाँ थिति बसेको छ ।’ यो विवाह पितृसत्तात्मक सोचबाट ग्रसित भएको समाजलाई एउटा उदाहरण हो । अहिले गीता र उनका श्रीमान् घरजम गरेर रमाइलो जीवन चलाउँदै छन् । गीताकी छोरीलाई सासूससुराले नै पालेका छन् । नयाँ श्रीमान्ले पनि छोरीलाई धेरै माया गर्छन् । उनीहरूको जीवन खुसीसँग चलेको छ । विवाहपछि छोरी श्रीमान्को घरमा पुग्दा बुहारी हुन्छिन् । नेपाली बुहारीको कर्तव्य र जिम्मेवारीको फेहरिस्त निकै लामो हुन्छ । जन्मघरमा न्यानो पाउने छोरीहरूले कर्मघर पुगेपछि धेरै हन्डर खाएका थुप्रै उदाहरण छन् । तर, झापा धरमपुरका उत्तमकुमार गौतमले पनि बुहारी निर्मला कट्टेल (गौतम)लाई छोरीकै दर्जा दिएर कन्यादान गरिदिए । बेहुलीकै रूपमा बिदा हँुदा सासूससुरालाई आमाबुवाको अवतारको रूपमा पाउने उनी भाग्यमानी बुहारी बनिन् ।

‘मेरोे विवाह हुने भन्ने सुनेपछि धेरैले नाक खुम्च्याएका थिए,’ निर्मलाले सम्झिइन्, ‘तर, अहिले हाम्रो जीवन सहज र सुखसँग चलेको छ ।’ ५ वर्षअघि विवाह भएपछि निर्मलालाई घरजमबाट निकै सन्तोष मिलेको छ । धरपुर– २ का गणेशबहादुर कार्कीले निर्मलाको हात थामेका थिए । यो विवाह गराउन निर्मलाका काकाससुरा उत्तमकुमार गौतम र गणेशकी दिदी छविकुमारी निरौलाले तारतम्य मिलाएका थिए । गणेश भन्छन्, ‘हामीले समाजमा मौजुदा चलनलाई चुनौती दिँदै विवाह गरेका हाँै ।’ निर्मलाको पहिलो विवाह तोपगाछीका टंकप्रसाद गौतमसँग भएको थियो । तर, तीन वर्ष पहिले श्रीमान् र सासूससुराको मृत्यु भएपछि उनको एकाङ्गी जीवन सुरु भएको थियो । कालले सबै परिवारलाई लगेपछि उनको एक्लो जीवनले तीन वर्ष मानसिक रूपमा प्रताडित हुनुप¥यो । उनले भनिन्, ‘परिवारका सबैको मृत्यु भएपछि मलाई बाँच्नुपर्ने आधार नै समाप्त भएजस्तो लाग्यो, तर जीवन जिउनेहरूका लागि हो भन्ने पाठ आफन्तले सिकाउनुभयो ।’ आफन्तको विछोडको बज्रपात सहने मनोबल दिन काकाससुरा उत्तमले हौस्याइरहेका थिए । आखिर यही हौसला र साहस बटुलेरै उनले एकल महिलाको ‘पगरी’ खोलेर दोस्रो विवाह गर्ने निर्णय गरेकी थिइन् ।

विवाहका दिन तोपगाछी– ३ मा रहेका उनका घरका आफन्त र माइती पक्ष संलग्न भए, घरपट्टि गौतम परिवारका पनि उल्लेख्य उपस्थित थिए । ‘अब त दुवैपट्टि माइती हुनुभएको छ,’ उनले थपिन्, ‘समय मिलाएर दुवैतिर जान्छौँ, उत्तिकै माया गर्नुहुन्छ ।’ गणेशले विवाहपछि दुल्हन फर्काउन तोपगाछी समयगढस्थित निर्मलाको पहिलो घर नै रोजे । त्यसपछि मात्र निर्मलाको माइतीकहाँ बेहुलाबेहुली पुगे । गणेश भन्छन्, ‘पहिले त मलाई हामीले सामान्य रूपमा विवाह मात्र गरेझैँ लागेको थियो, तर जब ठाउँठाउँमा सम्मान र प्रशंसा गर्न थाले अनि मात्र राम्रो काम गरेँछु भन्ने लाग्दै छ ।’

झापा धुलाबारीका स्थायी बासिन्दा गणेशबहादुर कार्की गरिखान श्रीमती र दुई छोरा लिएर धरमपुर– २ झरेका थिए । तर, उनी वैदेशिक रोजगारीमा गएका बेला श्रीमतीले छोरा छाडेर अन्तै विवाह गरिन् । श्रीमतीको विवाहपछि एक्लै भएका उनी बाँकी जीवन बिताउने र छोरालाई कसरी पढाउने भन्ने औडाहामा थिए । उनलाई पनि छोराको भरणपोषण गर्ने र घर सम्हाल्ने जीवनसङ्गीको साथ चाहिएको थियो । ‘हाम्रो जोडीलाई दैवले नै जुराइदिएका रहेछन्, अनि त उस्तै परिस्थितिमा भेट भएर विवाह भयो ।’ गौतम भन्छन्, ‘आफन्तबाटै विवाहको कुरा चलेपछि उनले पनि नाइँनास्ती गरिनन्, म त तयार नै थिएँ ।’ विराटनगरकी महिला अधिकारकर्मी मञ्जिता उपाध्याय समाजमा बिस्तारै एकल महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन थालेको बताउँछिन् । उनी भन्छिन्, ‘विधवाको मान्यता दिएर अपहेलना गर्ने बुहारीलाई हिजोआज परिस्थिति हेरेर विवाह गरिदिने चलन पनि बढ्दै गएको छ । यसले समाज रूपान्तरणमा बल पुग्दै छ ।’ उपाध्याय कुनै कारणले श्रीमान् गुमाउने एकल महिलाले इच्छा गर्दा फेरि घरजम गरेर बस्दा फरक नपर्ने बताउँछिन् ।

नेपाल महिला सङ्घ मोरङकी सचिव प्रमिला थापा एकल महिलालाई समाजले हेर्ने दृष्टि अझै सकारात्मक नरहेको टिप्पणी गर्दै भन्छिन्, ‘विवाहपछि कुनै कारण श्रीमान्को मृत्यु भए महिलालाई आफन्तबाटै अपहेलना गर्ने प्रवृत्ति अझै घटेको छैन ।’ उनले सासूससुराकै पहलमा कतिपय ठाउँमा बुहारीको पुनर्विवाह गर्ने क्रम बढ्नुले एकल महिलाको जीवन फेरि सुरु हुन सक्छ भन्ने थिति बसाल्न मद्दत पुग्ने बताइन् ।
(संचारिका फिचर सेवा)

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: