२२ वर्षीया राममाया उत्कृष्ट कृषक


प्रकाशित मिति :2017-06-13 11:22:05

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१८ डकाहाकी राममाया तामाङको समय बिहानैदेखि पशुपालनमा बित्ने गरेको छ । घरको आर्थिक अवस्था कमजोर रहेकी २२ वर्षीया राममायाले कक्षा १२ को परीक्षामा विषय लागेपछि पढाइ छाडिन् । अविवाहित राममायाका बुबा रौता तामाङले छोरीलाई घरको आर्थिक अवस्था कमजोर भएकै कारण नेपालमा जागिर खुवाउन नसकेपछि वैदेशिक रोजगारीमा पठाउने निधो गरेपछि राममाया तयार भइन् ।

२०७० सालतिर राजधानीबाट कृषि अभियान सञ्चालन गरी जिल्लालाई आधुनिक कृषि प्रणालीको हबका रूपमा विकास गर्ने उद्देश्य बोकेर तराई झरेका दिनेश कार्कीसँग राममायाको भेट भएपछि उनको जीवनले नयाँ मोड लियो । नेपालमै श्रम गर्ने हो भने विदेशमा कमाउने पैसा सजिलै कमाउन सक्ने प्रेरणा दिने कार्कीको सहयोग र परामर्शमा उनले २०७१ सालमा प्रशंसा बहुउद्देश्यीय कृषि फर्म प्रालि दर्ता गरिन् ।

सुरुमा भैंसीपालनबाट यात्रा सुरु गरेकी उनले यसबाट राम्रो आम्दानी लिन नसकेपछि केही लगानी डुबाउनुप¥यो । केही महिनापछि भएका केही भैंसी बेचेर गाई पालनतर्फ लागेकी राममायाका अहिले गोठभरि गाईहरू छन् । उनलाई आर्थिक रूपमा कार्कीको केही सहयोग छ भने स्थानीय एकजनाले राममायाको फर्ममा लगानी गरिदिएका छन् ।

जागिर नपाएपछि विदेश जानुपर्ने बाध्यता थियो तर पशुपालनमा

लागेर मासिक १ लाख सजिलै कमाउन सक्ने भए“

अर्काको जग्गा भाडामा लिएर पशुपालन सुरु गरेकी राममायाको फर्ममा अहिले माउ र बाच्छी गरी जर्सी, होलिस्टेर र अन्य जातका ४० बढी गाई छन् । उनले दैनिक बिहान र बेलुका गरी करिब ३ सय ५० लिटर दूध स्थानीय डेरीमा बिक्री गर्ने गरेकी छन् । मासिक ३ लाखको हाराहारीमा दूधबाट आउने रकमबाट आधा खर्च भए पनि आधा बचत हुने उनी बताउँछिन् । उनको फर्ममा अहिले एकजना पशु प्राविधिकसहित चारजनाले रोजगारी पाएका छन् । कामदारसँगै उनी पनि बिहानैदेखि गोठको काममा सँगै लाग्ने गरेकी छन् ।

केही समयअघि मात्रै उनलाई जिल्लाका केही सहकारी संस्थाले उत्कृष्ट कृषकका रूपमा पुरस्कृत पनि गरेका छन् । यस्तै, जिल्ला कृषि कार्यालय बाराबाट पनि उनी सम्मानित भएकी छन् । सुरुमा कहीँ कतैबाट कुुनै पनि कृषिसम्बन्धी तालिम नपाएकी राममाया अहिले भने पशुपालनको विज्ञजस्तै बनिसकेकी छन् । उनी विभिन्न भ्रमण तथा देशका विभिन्न स्थानमा पुगेर तालिममा सहभागी भएपछि उनी अहिले गाईको कुनै पनि समस्या हातैले छामेर थाहा पाउँछिन् ।

राममायाले जिल्लाका सबै कृषकका लागि नमुना अभियानस्वरूप आगामी वर्ष घाँस उत्पादन प्रणालीको सुरुवात गर्ने भएकी छन् । कुनै पनि कृषकले प्रशस्त घाँसको व्यवस्था नगरेसम्म पशुपालनमा लाग्न नहुने प्रेरणा दिने उनले आगामी वर्षदेखि पाँच बिघा जग्गा भाडामा लिएर घाँस उत्पादन पद्धतिको समेत नमुना अभ्यास गरेर देखाउने प्रण लिएकी छन् । हालसालै मात्र उनले दुग्ध संकलन तथा भण्डारणका लागि १० लाखको लगानीमा चिस्यान केन्द्र पनि आफंैले व्यवस्थापन गरेकी छन् ।

राममाया जिल्लाबाट कृषि पेसाका लागि पाइने कुनै पनि अनुदान नलिएको बताउँछिन् । अनुदानमा विभिन्न झन्झट र सास्ती बेहोर्नुपर्ने भएकाले उनले सरकारले कृषकलाई आवश्यक ऋण दिए राम्रो हुने बताइन् । अनुदान लिनेहरू देखावटी पेसा गरेर अनुदान दुरुपयोग हुने तर सरकारी कार्यालयहरूले ऋण दिए पेसामा लाग्ने किसानलाई सुलभ हुने उनको तर्क छ । अहिले राममायाले ऋण र किस्ता तिरेर बाँकी रकमले कक्षा १० मा पढ्ने भाइको पढाइ खर्च, बुबा र घरपरिवारको खर्चको जोहो आफैं गर्छिन् ।

स्रोतः राजधानी राष्ट्रिय दैनिक

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: